बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको जर्नेलको घरमा आन्दोलन गर्ने ४ महिला पक्राउ

शुक्रबार, १६ फागुन २०७६, २० : ५६
शुक्रबार, १६ फागुन २०७६

ललितपुर । ललितपुरको भैसेपाटीस्थित नेपाली सेनाका अवकास प्राप्त सहायक रथी (जर्नेल)को हेम घरमा गएर आन्दोलन गर्ने ४ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोमा केसी, माला शाह, रुपा घिसिङ र शोभा खड्का रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

जर्नेल हेम खत्रीको घरमा महिलाहरु प्रवेश गरेर तोडफोडमा उत्रिएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । 
 
एक महिला र जर्नेलबीच सम्बन्ध रहेको र सोही विवादका क्रममा ती महिलाले अन्य महिलालाई लगेर तोडफोडमा उत्रिएको बताइएको छ।  

‘हेम खत्रीको घर कम्पाउण्ड तथा घरकोठा भित्र केही महिलाहरु अनाधिकृत रुपमा प्रवेश गरी घर कम्पाउण्ड तथा कोठा भित्र रहेको टेवुल, गमला लगायतको धनमालहरु तोडफोड गरी क्षति पुर्याउनुको साथै घरकोठामा रहेका हेम खत्रीको श्रीमति तथा छोरी समेतलाई जथाभावी व्यबहार गरीरहेका छन् भन्ने सूचनाको आधारमा तत्काल महानगरीय प्रहरी प्रभाग बुंगमती (भैसेपाटी) ललितपुरवाट खटिएको प्रहरी टोलीले त्यस्तो कार्यमा संलग्न महिलाहरुलाई त्यस्तो गतिविधी नगर्न भनि सम्झाई बुझाई गर्दा उल्टै झन् आक्रोशित भई प्रहरी टोली समेतलाई जथाभावी वोली अभद्र व्यबहार गरी काम कर्तव्य समेतमा वाधा अवरोध पु¥याएकोले निजहरुलाई नियन्त्रणमा लिइ अभद्र व्यबहार मुद्धामा थप अनुसन्धान भईरहेको छ’, महानगरीय प्रहरी परिसर ललितपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  
सो क्रममा प्रहरी इन्स्पेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिला हेमा श्रेष्ठलाई लाठी समेत प्रहार गरेका थिए । सो लाठी प्रहारको भिडियो भाइरल बनेको छ । 
खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले श्रेष्ठलाई लाठीचार्ज गरेको बताइएको छ । 

खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै माला श्रेष्ठसहित केही महिलालाई साथमा लिएर खत्रीको घर पुगेकी थिइन् । महिलाहरुको भीड देखेपछि खत्रीले प्रहरीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेका इन्सपेक्टर पौडेलले महिलामाथि बल प्रयोग गरेका हुन् । 

भिडियोमा देखिएका बेला बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्रहरीले गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको छ । काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहेका देखिन्छ । 

यता, इन्सपेक्टर पौडेलले आफूले लाठी हानेको स्वीकारेका छन् । अर्काको घरभित्र छिरेर तोडफोड गरेपछि सामान्य बल मात्र प्रयोग गरिएको इन्सपेक्टर पौडेलको भनाइ छ । घटना हुँदा महिला प्रहरी पनि घटनास्थलमै रहेको बताएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले घटनामा दोषी देखिए कानुनअनुसार सशक्त रुपमा कारबाही हुने बताए । उनले भने, ‘दोषी देखिए कसैलाई पनि छोडिन्न । पौडेलमाथि अनुसन्धान सुरु भइसकेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप