शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसका कारण शुक्रबारसम्म विश्वभर २ हजार ८७३ को मृत्यु (अपडेट)

शुक्रबार, १६ फागुन २०७६, २२ : २६
शुक्रबार, १६ फागुन २०७६

एजेन्सी । नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल  ८३ हजार ८५३ व्यक्तिमा सङ्क्रमण भएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्याङ्कमा बताइएको छ । 

सम्बन्धित मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा जनाइएको छ । बिहीबार साँझपछि उक्त भाइरसको सङ्क्रमण एक हजार २९३ थप व्यक्तिमा देखिएको छ । मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भैसकेको छ । ग्रीनवीच समय अनुसार बिहबिार साँझ ५ बजेपछि शुक्रबार दिउसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ । 

यसबाहेक विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्ति सङ्क्रमित भएका छन् भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा सङ्क्रमण पुष्टि भएको छ । चीनबाहेक सङ्क्रमण बढी देखिएका मुलुकहरूमा दक्षिण कोरिया अग्रस्थानमा रहेको छ ।

दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई सङ्क्रमणको पुष्टि भएकोमा थप ५७१ जनामा विगत २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको हो । दक्षिण कोरियामा सङ्क्रमणपछि उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै इटलीमा १२२ नयाँ सङ्क्रमित व्यक्तिसहित ६५० जनाले सङ्क्रमणपछि विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन् । यस सङ्क्रमणका कारण इटलीमा १७ जनाको मृत्यु भइसकेको छ ।

इरानको सरकारी तथ्याङ्कमा उल्लेख भएअनुसार शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको छ भने कूल १४३ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । इरानमा सङ्क्रमितको सङ्ख्या ३८८ पुगेको छ । 

त्यस्तै यसबाहेक जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र आठ जनाको मृत्यु भएको बताइएको छ । जापानमा विगत २४ घण्टामा २३ नयाँ विरामीमा कोरोना भाइरसको पुष्टि भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप