शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस रिभ्यूः एमसीसीमा नेपालको १३ अर्ब किन ? ओली उडानमै, दबाब दिँदै दाहाल

शनिबार, १७ फागुन २०७६, ०७ : १९
शनिबार, १७ फागुन २०७६

आज मिति २०७६ फागुन १७ गते देशका ठूला राष्ट्रिय दैनिकहरुले एमसीसी, कोरोना भाइरस र विशेषगरी नेकपाभित्रको विवादका विषयलाई लिएर समाचार प्रकाशित गरेका छन् । 

नयाँ पत्रिका दैनिकले नेकपा विवाद ‘विन–विन’ मा टुंगिने भन्दै विवाद समझदारीनजिक पुगेको समाचारमा उल्लेख गरेको छ । यसैगरी, नागरिक दैनिकले भने नेकपाको अन्तरविवादमा माधव नेपाल सहमति जुटाउन दौडधुप गरिरहेको समाचारलाई मुख्य बनाएको छ । अन्नपूर्ण पोस्ट् दैनिकले पनि नेकपाको विवादकै सेरोफेरोमा रहेर ओलीको उडानमा प्रचण्डको दबाब शीर्षक दिएको छ । 

कान्तिपुर दैनिकले भारतमा रोजगारीका लागि गएका युवाहरुको आगलागीमा ज्यान गुमाएपछि परिवारले न्याय नपाएको विषयलाई प्राथमिकता दिएको छ । भने एमसीसीमा नेपालको १३ अर्ब किन भन्ने विषयमा पनि समाचार छापेको छ । नेकपाको कार्यदलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सँगको सम्झौताअन्तर्गत सञ्चालन हुने परियोजनामा नेपालको तर्फबाट १३ अर्ब रुपैयाँ लगानी गर्न नहुने सुझाव दिएको छ । एमसीसी ‘इन्डो–प्यासिफिक’ रणनीति (आईपीएस) अन्तर्गत होइन भनेर अमेरिकाले लिखित रुपमै भन्नुपर्नेसमेत कार्यदलको सुझाव छ ।

ओली उडानमै, दबाब दिँदै दाहाल

नेकपा वरिष्ठ नेता माधव नेपालले गत सोमबार आफ्नै निवासमा संविधान संशोधन कार्यदलको बैठक बोलाए। कार्यदलका सदस्यद्वय सुवास नेम्बाङ र खिमलाल देवकोटासँग कार्यदलका विषयमा छलफल चल्दै गर्दा नेता नेपालको मोबाइलमा ‘इमेल’ आयो।

इमेल पठाएका थिए, नेता वामदेव गौतमले। गौतमले संविधान संशोधनको ‘ड्राफ्ट’ नै इमेल गरेका थिए। ‘ड्राफ्ट आयो, यसमा थपघट गरेर छिटो गरिदिनुर्पयो’ भन्ने सन्देश आयो भन्दै नेपालले कार्यदलका सदस्यद्वयलाई सुनाएका थिए।

सचिवालयले निर्णय गरेको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओलीबाट निर्णय उल्लंघन हुने सन्देशले नेकपाभित्र तीव्र विवाद उत्पन्न भयो। प्रधानमन्त्री ओलीमाथि दबाब बढाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल र गौतमबीच लगातार वार्ता र भेटघाट भए।

चितवन पुगेका दाहालले सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्ने धारणा सार्वजनिक गरे। अर्थमन्त्री खतिवडालाई ६ महिनाम्म दोर्होयाउन सकिने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै दाहालले मध्यमार्गी प्रस्तावप्रति लचिलो भएको सन्देश पनि दिए।

नेकपा अन्तरविवादः सहमति खोज्न नेपालको दौडधुप
 
सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन्। सचिवालय सदस्य एवं वरिष्ठ नेता माधवकुमार नेपालले ओली र अन्य नेताहरुसँग समन्वय गर्दै सचिवालयको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका हुन्।

‘युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने र गौतमलाई राष्ट्रियसभामा लैजाने तहबाट छलफल अघि बढिरहेको छ। यो विषयमा प्रधानमन्त्री ओली र अन्य नेताहरु पनि सहमत हुने अवस्थामा पुग्नुभएको छ’, नेता नेपाल निकट स्रोतले भन्यो।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा शुक्रबार बिहान भएको छलफलबारे बालुवाटारमा नेपालले ओलीलाई जानकारी गराएका थिए। उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो। शीर्ष नेताहरुको सुझावपछि ओलीले दबाब महसुस गरिरहेको स्रोतले जनाएको छ। ‘नेता नेपालले ल्याएको सुझावपछि प्रधानमन्त्री अलि लचिलो बन्नुभएको छ, जसले गर्दा यही बाटो अवलम्बन हुने अवस्था बनेको छ’, बालुवाटार निकट स्रोतले भन्यो।

नेकपा विवाद ‘विन–विनतर्फ
 
नेकपाको विवाद ‘विन–विन’मा टुंगिने भएको छ । नेताहरू उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि निरन्तरता दिने विकल्पमा सहमतिनजिक पुगेका छन् ।

गत बुधबार नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष गौतमलाई लैजाने निर्णय गरेको थियो । तर, अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने योजनामा रहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी निर्णय नमान्ने चुनौती दिएपछि विवाद उत्कर्षमा पुगेको थियो । वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेलले गौतम र डा. खतिवडालाई व्यवस्थापन गर्ने गरी संकट टार्ने मध्यमार्गी उपाय सुझाएका हुन् । त्यसमा प्रधानमन्त्री ओली पनि सकारात्मक देखिएका छन् । 

स्रोतका अनुसार नेताहरूले दुई विकल्पमा छलफल गरिरहेका छन् । पहिलो, गौतमलाई राष्ट्रिय सभामा लैजाने र खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने । संविधानतः सांसद नभएको व्यक्तिलाई पनि ६ महिनासम्म मन्त्री बनाउन सकिन्छ । प्रधानमन्त्री ओलीको रुचिअनुसार यही व्यवस्थामा टेकेर खतिवडालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरिनेछ । खतिवडाको कार्यकाल २४ फागुनमा सकिँदै छ । उनले २५ फागुन ०७४ मा राष्ट्रिय सभा सदस्यको शपथ लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप