बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक लाख चिनियाँ हाँसलाई पाकिस्तानमा ‘शिकारी’का रुपमा पठाउने तयारी

शनिबार, १७ फागुन २०७६, १० : ५९
शनिबार, १७ फागुन २०७६

बेइजिङ । चीनले एक लाख हाँसलाई पाकिस्तान पठाउने तयारी गरेको छ । ती हाँसलाई पाकिस्तानमा शिकारीका रुपमा पठाउन लागिएको हो ।

समाचार एजेन्सीहरुका अनुसार पाकिस्तानका केही क्षेत्रमा फट्याङ्ग्राको आतङ्कले किसानहरु हैरान भएका छन् । ठूलो संख्यामा फट्याङ्ग्राले खेतमा लगाइएका बाली नष्ट गरेका कारण किसानहरु चिन्तित भएका छन् भने यसबाट खाद्य संकट सिर्जना हुनसक्ने तर्फ पनि विज्ञहरुले औँल्याएका छन् ।

यसै महिना पाकिस्तानले फट्याङ्ग्राको कारण कृषि सङ्कट निम्तिएको भन्दै ‘आपतकाल’ समेत घोषणा गरेको थियो । विगत दुई दशक यता पाकिस्तानमा फट्याङ्ग्राको यो नै सबैभन्दा ठूलो आतङ्क रहेको बताइन्छ ।

विज्ञहरुकै सुझावअनुसार फट्याङ्ग्राको सामना गर्नका लागि चीनको सहयोग लिन थालिएको पाकिस्तानी अधिकारीहरुको भनाइ छ । एउटा हाँसले दिनभरमा दुई सय फट्याङ्ग्रा खान सक्ने भएकाले पनि फट्याङ्ग्रा नियन्त्रणका लागि हाँस प्रयोग गर्न थालिएको हो ।

चीनको झेझियाङ्ग एकेडेमी अफ एग्रिकल्चर साइन्सेसका वरिष्ठ शोधकर्ता लू लीझीका अनुसार हाँसले जैविक हतियारको काम गर्दछन् । एउटा कुखुराले दिनभरमा ७० वटा फट्याङ्ग्रा खान सक्ने तर एउटा हाँसले यसको तीन गुणा बढी फट्याङ्ग्रा खान सक्ने भएकाले फट्याङ्ग्रा नियन्त्रणमा हाँस प्रभावकारी हुने उनको भनाइ छ ।

पश्चिमी शिनजियाङ्गका ती हाँसको परीक्षण गरेर पाकिस्तान पठाइने चिनियाँ अधिकारीहरुको भनाइ छ । ती हाँसलाई पाकिस्तानको सिन्ध, बलुचिस्तान र पञ्जाव प्रान्तमा फट्याङ्ग्राको शिकार गर्न परिचालन गरिनेछ ।

यद्यपि यसमा एउटा चुनौती पनि छ । हाँसलाई पानी चाहिने तर पाकिस्तानको फट्याङ्ग्रा प्रभावित क्षेत्र सुख्खा क्षेत्र भएकाले पनि त्यहाँ हाँसलाई कसरी टिकाउने भन्ने समस्या रहेको अधिकारीहरु बताउँछन् ।

पाकिस्तानका अतिरिक्त भारत, पूर्वी अफ्रिका लगायतमा पनि फट्याङ्ग्राको आतङ्क बढ्दै गएको छ । बाली सखाप पार्ने गरी फट्याङ्ग्राको प्रकोप बढेका कारण संयुक्त राष्ट्रसंघले गत महिना अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप