मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा कोरोना कहर ! के भन्छन् कोरियाका नेपाली ?

शनिबार, १७ फागुन २०७६, १३ : १६
शनिबार, १७ फागुन २०७६

-राजु श्री 

दक्षिण कोरिया । केही समय पहिला चीनको हुबेइ प्रान्तस्थित ऊहान शहरबाट फैलिएको कोरोना (कोभिड–१९) भाइरस संसारभर फैलने क्रममा छ । छोटो समयमा धेरै मानिसको ज्यान लिन सफल कोरोनाले यतिबेला संसारलाई चिन्तित तुल्याउनका साथै विज्ञानलाई समेत चुनौती थपिदिएको छ । किनकी हालसम्म यसको कुनै पनि निश्चित औषधि पत्ता नलागेको वैज्ञानिकहरुको भनाइ छ ।

अहिलेसम्म चीनसहित ५१ देशमा कोरोनाभाइरस फैलिएको तथ्याङ्क फेला परेको छ भने संक्रमित संख्याका आधारमा कोरिया दोश्रो नम्बरमा छ । कोरियामा एक हप्तामा पच्चीस सय नयाँ संक्रमित थपिदैँ हाल ३ हजारको हाराहारीमा कोरोना पीडित छन् । यो संख्यामा दैनिक ५ सयभन्दा बढीको दरले वृद्धि भइरहेको छ ।

मृतक संख्याका आधारमा चीन र इरानपछि कोरिया तेश्रो नम्बरमा छ । यो आलेख तयार पार्दासम्म कोरोनाबाट एक विदेशीसहित १६ जना कोरियन नागरिकको मृत्यु भइसकेको छ ।

कोरोना एक प्रकारको मौसमी सरुवा रोगजस्तै भए पनि दिन प्रतिदिन संक्रमित संख्या बढ्दै जाँदा यसले महामारीको रुप लिदैँ गएको बुझिन्छ । संक्रमित क्षेत्रमा ऊहान शहर कै अनुपातमा मानिसहरुको मृत्यु हुँदै गएमा कोरोनाबाट विश्वभर ४ करोड मानिस मर्न सक्ने विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।

यस्तो डरलाग्दो चेतावनीसँगै बेलैमा औषधि पत्ता लाग्न नसक्दा सर्वत्र चिन्ताको ग्राफ बढेको छ । कतिपय वैज्ञानिकले कोरोना धेरै चिसोमा मात्र सक्रिय रहने हुनाले तापक्रम वृद्धि हुनासाथ यो स्वतः निष्क्रिय हुने बताएका छन् । सिङ्गापुरमा अहिले ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहँदा त्यहाँ कोरोना उत्साहजनक रुपमा नियन्त्रण भइरहेको देखिन्छ । यसबाट उच्च तापक्रममा कोरोनाको असर त्यति सक्रिय नरहने पुष्टि हुँदै पनि गएको छ ।

शुरुवाती चरणमा कोरोनाले विशेष गरी दीर्घ रोगी र निकै उमेर भइसकेका वृद्ध मानिसहरुलाई आक्रमण गरेको पाइए पनि हाल युवाहरुको शरीरमा समेत सजिलै कोरोना प्रवेश गरेको देखिएको छ । अहिले कोरोनाले कुनै पनि उमेर समूह नहेरेको र यो विशेष प्रकारको घातक भाइरस रहेको चिकित्सकहरुले बताउन थालेका छन् । संक्रमितहरुमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, स्वासप्रस्वास प्रणालीमा समस्या हुने, अत्यधिक मात्रामा ज्वरो आउने, मुटु, कलेजो किड्नी जस्ता मुख्य अङ्गहरुलाई तत्कालै निष्क्रिय बनाइदिने जस्ता लक्षण पाइन्छ ।

राजु श्री

कोरोनाबाट कसरी बच्ने ? 
कोरोनाभाइरस ठ्याक्कै यसरी नै उत्पत्ति भयो भन्ने कुनै ठोस आधार अहिले सम्म नभेटिए पनि चीनको ऊहान शहरमा एक चिनियाँ युवतीले चमेरोको सुप बनाएर खाएपछि उक्त युवतीमा कोरोना भाइरस देखा परेको भन्ने हल्ला व्यापक छ । यो हल्लाको वास्तविकता पुष्टि नभए पनि कोरोना मृत पशुपन्छी बाटै मानव शरीरमा प्रवेश गरेको भन्ने वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । 

त्यसकारण यसबाट बच्नका लागि केही समय फ्रोजन नगरिएका पशुपन्छीको मासुबाट टाढा रहनु पनि एक उपाय हो । कोरोना अत्यन्तै कडा खालको भाइरस भएकोले संक्रमित एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्ने हुँदा सावधानी अपनाउँदै मास्क प्रयोग गर्ने, निरन्तर हात धुने, तातो ठाउँमा बस्ने, सूर्यको किरण शरीरमा पार्ने, धेरै भिडभाडमा नजाने, अल्कोहल स्प्रे प्रयोग गर्नेजस्ता प्राथमिक सुरक्षा अपनाउन सकिने कुरा चिकित्सकहरुले बारम्बार बताएका छन् ।

कस्तो छ कोरियाको अवस्था ? 
केही दिन अगाडि राष्ट्रपति मुन जे इन ले ‘अभुतपूर्व साहस’ बटुलेर राज्यका सम्पूर्ण संयन्त्रहरुलाई कोरोनाविरुद्ध लागि पर्न आदेश दिएका थिए । तर यस्तो उच्च सावधानी, पर्याप्त श्रोत साधन र उचित परिचालन हुँदा हुँदै पनि कोरोनाले कोरियालाई अत्यन्तै आक्रान्त बनाएकोमा दुईमत छैन ।

कोरोना नियन्त्रण गर्न कोरिया सरकारले कुनै कसर बाँकी नराख्ने जनाए पनि एक÷डेढ हप्ताको अवधिमा यहाँ विकराल स्थिति सिर्जना भइसकेको छ । कोरियाको राजधानी सोलबाट झन्डै ३ सय किलोमिटर टाढा रहेको पाँचौँ ठूलो शहर थेगु कोरोनाबाट सबैभन्दा बढी प्रताडित बनेको छ । थेगु शहरमा अहिले २ हजारभन्दा बढी कोरोना संक्रमितको पुष्टि भइसकेको छ भने कोरिया सरकारले उक्त शहरलाई आंशिक रुपमा ‘लक डाउन’ घोषणा गरेको छ । अन्य शहरमा छिटफुट संख्यामा संक्रमित देखिएका छन् । 

थेगु शहर आसपासमा करिब ५ हजारभन्दा बढी नेपाली रहेको आँकलन गरिएको छ । उक्त स्थानमा रहने नेपालीहरु जोखिमको रातो घेराभित्र छन् । कोरिया सरकारले उक्त क्षेत्रभित्र भेला तथा सामूहिक भेटघाटमा रोक लगाएको छ । तर यातायात, कम्पनी, सपिङ्ग सेन्टर, बैङ्कहरु निर्वाध रुपमा चलिरहेका छन् । प्रायः कोरियन नागरिकमा सामान्य सावधानी अपनाउनु बाहेक अन्य कुनै मनोवैज्ञानिक त्रास नरहेको देखिन्छ ।

के भन्छन् नेपालीहरु ? 
केही दिन अघि कोरियास्थित नेपाली दुतावासले विज्ञप्ति जारी गर्दै अहिलेकै अवस्थामा कुनै चिन्ता नलिन र तोकिएका सावधानीहरु अपनाएर सुरक्षित रहन  आग्रह गरेको थियो । कुनै पनि समस्या आइहालेमा दुतावासलाई जानकारी गराउनसमेत आग्रह गरिएको थियो । त्यसपछिका दिनहरुमा पनि सामाजिक सञ्जालमार्फत दुताबास र दुताबासका प्रतिनिधिले निरन्तरजस्तै सचेत रहन आग्रह गरिरहेकै पाइएको छ ।

यो पंक्तिकारले थेगुसहित अन्य शहरमा रहेका र सम्पर्कमा आएका केही नेपालीसँग सम्पर्क गर्दा अधिकांश चिन्तित रहेको पाइयो भने कोरोना त्रासका कारण केही नेपालीहरु कोरिया नै छोडेर हिँडेको समेत पाइयो ।

नाम उल्लेख नगर्ने शर्तमा स्याङ्जाका एक युवकले कोरोना त्रासका कारण कोरियाको बाँकी भिसा छाडेर हिँड्न ठिक्क परेको बताए । कम्पनीले बिदा नदिने र अन्यत्र काम गर्न चाहिने लेटर समेत नदिने भनेकाले कोरिया नै छोड्नु परेको उनको भनाइ थियो । उनका अनुसार उनीसहित ५ जनाले नेपाल फर्कनका लागि प्लेनको टिकटसमेत लिइसकेका छन् ।

तर धेरै नेपालीहरु यही अवस्थामा त्रसित हुनु नपर्नेमा विश्वस्त बनेका छन् । सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोनाबाट संक्रमित भइहालेको खण्डमा कोरियाको विश्वस्तरीय उपचार पद्धति, सरकारको जिम्मेवारी र जवाफदेहिता देखेर पनि तत्काल कोरियाप्रति सशंकित बन्नु पर्ने अवस्था नरहेको उनीहरु बताउँछन् ।

कोरोनाबाट स्वस्थ्य ब्यक्तिहरुले खासै चिन्ता मान्नु पर्ने अवस्था नरहेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । यदि कुनै पुराना रोगबाट पीडित ब्यक्ति छन् र नियमित औषधि सेवन गरिरहेका छन् भने त्यस्ता ब्यक्तिका लागि कोरोना अत्यन्तै हानिकारक हुने बताइन्छ ।

केमा चिन्ता छ नेपालीहरुलाई ? 
कोरियामा रहेका शत प्रतिशत नेपालीहरु नेपालप्रति अत्यन्तै चिन्तित छन् । अधिकांश नेपालीहरु नेपाल सरकारको गैरजिम्मेवारपन र कोरोनाप्रतिको हेलचेक्र्याइ देख्दा अत्यन्तै दुःखी छन् । चीन, इरान, सिङ्गापुर, कोरियाजस्ता श्रोतसाधन सम्पन्न मुलुकले समेत कोरोनालाई नियन्त्रण गर्न सकेका छैनन् भने केही गरि नेपालमा यो रोग सल्कियो भने यसले कुन रुप धारण गर्ला भन्ने चिन्ता सबैमा पाइएको छ । यही विषयलाई लिएर सामाजिक सञ्जालहरुमा सबैले आ–आफ्ना चिन्ता सार्वजनिक गरिरहेका छन् । 

ऊहानबाट १८० जना नेपालीलाई ब्यवस्थापन गर्न नेपाल सरकारलाई दुई हप्ताभन्दा बढी समय लागेको थियो भने भोलि कोरियाबाट नेपाल फर्कनु परेको खण्डमा यति धेरै नेपालीलाई कसरी ब्यवस्थापन गर्ने भन्नेबारे नेपाल सरकारले अहिले नै पूर्वाधार खडा गरेर राखोस् र खुल्ला सीमा तथा विमानास्थलबाट भित्रिने जो कोहीलाई उच्च निगरानीमा राखोस् भन्ने कोरियामा रहेका नेपालीहरुको साझा भनाइ देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप