शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अर्थमन्त्री रहेपनि गएपनि, अब शेयर बजार दोब्बर पुग्छ’

शनिबार, १७ फागुन २०७६, १४ : ३१
शनिबार, १७ फागुन २०७६

नेपालको पुँजीबजारमा केही दिनदेखि एक प्रकारको नयाँ उत्साह सुरु भएको छ । पछिल्लो दुई हप्तामा भएको १० कारोबार दिनमा बजार २८७ अंकले बढेको छ । बजारमा पछिल्लो उतारचढाव आउनुलाई जसले जसरी विश्लेषण गरे पनि बजारले सही दिशा भने लिइरहेको छ । 

पुँजीबजारको कारोबारमा बुलिस र बियरिस ट्रेन्ड भन्ने हुन्छ । बियरिस ट्रेन्डले बजारको घट्दो गतिलाई जनाउँछ भने बुलिस ट्रेन्डले बजार बढ्दो अवस्थामा रहेको जनाउँछ । पछिल्लो समयको बजारले बुलिस ट्रेन्डलाई समातेको देखिन्छ । अहिलेको समय बुलिस ट्रेन्ड आउने उपयुक्त पनि हो । 
 
बजारले लामो समयदेखि बेयरिस ट्रेन्ड व्यहोर्‍यो । २०७३ साउनमा १८८१ अंक पुगेको नेप्से त्यसपछि यो अवधिसम्म आइपुग्दा बेयरिस प्रवृत्तिलाई नै समातेको थियो । क्षणिक समयको लागि शेयर बजारको घटबढ सामान्य भए पनि ३ वर्षसम्म बजारले घट्दो गति लिँदा धेरै लगानीकर्ता ‘पेनिक’ अवस्थामा पुगेका थिए । त्यो अवस्था अब सकिएको छ । 

हामीले बुलिस ट्रेन्डको सुरुवात केही समय अघिनै हुन्छ भन्ने सोचेका थियौं । बजारमा आएका सकारात्मक परिवर्तनको कारणले त्यसमा ढिलाइ भएपनि अहिले त्यो ट्रेन्ड सुरु भएको छ भन्ने हाम्रो बुझाइ छ ।

बजार एकदिन घट्यो वा अर्कोदिन बढ्यो भन्ने आधारमा बजारको ट्रेन्ड अनुमान गर्न सकिँदैन । बुलिस बजारमा पनि कहिलेकाहीँ शेयर बजार घट्छ, बेयरिस बजारमा पनि कहिलेकाँही शेयर बजार बढ्छ । तर समग्रमा चाहिँ बुलिस बजारले उन्नोत्तर दिशालाई नै समातिरहेको हुन्छ । अहिलेको बजारले त्यो समातेको छ भन्ने हाम्रो बुझाइ छ । 

शेयर बजार नै त्यस्तो ठाउँ हो जहाँ कमाउँदा सबैले कमाउँछन्, कसैले गुमाउँदैनन् । त्यसैगरी गुमाउँदा सबैले गुमाउँछन् कसैले कमाउँदैनन् । बजार २० खर्बको नजिक पुग्दा वा १३ खर्बमा झर्दासम्म पनि अवस्था त्यही हो । त्यसैले कारोबारमा हुने सामान्य लाभ र हानीलाई छाड्ने हो भने शेयर बजार बढ्दा सबै खुसी हुने वातावरण सिर्जना हुन्छ । 

अहिले बढ्दै गएको बजारले कति अंक भेट्ला भन्ने सम्बन्धमा पनि सबैका आ–आफ्ना तर्कहरु हुन सक्छन् । ती तर्कहरु आफैंमा विश्वसनीय हुन वा नहुन पनि सक्छन् । कोही बजार ४ हजार अंक छुन्छ भन्छन्, कोही ५ हजारलाई छुनेगरी अघि बढ्यो भन्छन् । उनीहरुले दिएका प्रमाण विश्वसनीय हुन वा नहुन पनि सक्छन् । तर अहिलेको बजारले कम्तीमा पनि दोब्बरको वृद्धिलाई धान्न सक्छ भन्ने मलाई पनि लाग्छ, त्यो भनेको करिब ३ हजारको बिन्दु हो । 

तर त्यसको आधार के हो भन्ने प्रश्न पनि आउन सक्छ । त्यसका प्रमुख ३ वटा कारण छन् । पहिलो सूचीकृत कम्पनीहरु सबल बन्दै जानु, दोस्रो, नियामक निकायहरुको क्षमता बढ्दै जानु र तेस्रो बजार अनुकुल बन्दै जानु । 

बजारमा सूचीकृत कम्पनीहरु अहिले बलियो बन्दै गएका छन् । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीको बजार अहिले निकै विस्तार भइसकेको छ । यसले पुँजी बजारमा राम्रो हिस्सा ओगटेको छ । यो क्षेत्र बाहेकका अरु क्षेत्रहरुमा पनि अवस्था राम्रो नै छ । यसले बजारलाई सकारात्मक दिशातिर डोहोर्‍याइरहेको छ । त्यसबाहेकका क्षेत्रहरु पनि अहिले सुधारोन्मुख अवस्थामा छन् । हाइड्रो क्षेत्रमा पनि अवस्था पहिलेको भन्दा सुधार हुँदै गएको छ । निर्धाणधीन आयोजनाहरु द्रुत गतिमा अघि बढिरहेका छन् । उत्पादमूलक र अन्य क्षेत्रको अवस्था पनि राम्रो हुँदै गएको छ ।

अर्को भनेको नियामक निकायको क्षमता हो । अहिले साधन स्रोत र जनशक्तिका आधारमा नियामक निकायहरु बलिया हुँदै गएका छन् । राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड लगायत संस्थाहरु कानूनी, संरचनागत र जनशक्तिका हिसाबले बलियो हुँदै गएका कारण पछिल्लो समय ती नियामकहरुको नियमनमा रहेका निकायहरु सदृढ हुँदै गएका हुन् । संस्थाहरु ठूलो बन्दै जाँदा अहिले अप्राकृतिक कारोबार गर्ने क्रम हराउँदै गएको छ । बजारसम्बन्धी पूर्वाधार निर्माण हुँदै जाँदा अहिले विदेशमै बसेर कारोबार गर्ने अवस्था सिर्जना भएको पनि छ । 

त्यतिमात्रै होइन । नियामकहरुसँग नयाँ कामका लागि योजना र प्रतिवद्धता समेत छ । धितोपत्र बोर्डका अध्यक्षले पनि हामीसँगको भेटमा अब बजारलाई रियल टाइम सेटलमेन्ट सिस्टममा लैजानुपर्छ, त्यसका लागि मैले हरसम्भव प्रयास गर्छु भन्नुभएको छ । अहिले नेप्सेले लागू गरेको सिस्टमबाटै पनि ठूलो कारोबार हुन थालेको तथ्यांक सार्वजनिक गर्दै आएको छ । पछिल्लो दिनमा हुँदै गएका ठूला कारोबारको कारण अनलाइन ट्रेडिङ पनि हो । 

तेस्रो कारण भनेको बजार हो । अहिले बजार जुनकुनै कारणले पनि सकारात्मक नै बन्दै गएको छ । बैंकिङ क्षेत्रको व्याजदर अहिले घटिरहेको छ । निक्षेप र कर्जा दुबैको व्याजदर घट्दै जाँदा बजारलाई सकारात्मक प्रभाव पर्छ । निक्षेपको ब्याजदर घट्दा लगानीकर्ताले उच्च प्रतिफलका लागि बजारमा लगानी गर्न खोज्छन् । कर्जाको ब्याजदर घट्दा ऋण लिएर शेयर बजारमा लगानी गर्नेको संख्या बढ्दै जान्छ । यसले बजारमा माग पक्षलाई बढाउँछ । माग बढ्दा मूल्य पनि बढ्छ । अर्कोतिर देशको वृहत् आर्थिक परिसूचक पनि सन्तोषजनक नै छन् यसले पनि बजारलाई थप सहयोग गर्ला । 

अर्थमन्त्री र बजारको सम्बन्ध

धेरैले अहिलेको बजार वृद्धिलाई अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमनसँग जोडेर पनि हेर्ने गरेका छन् । तर अर्थमन्त्री रहनु वा नरहनुसँग बजार वृद्धि धेरै ठूलो भूमिका छैन । पहिले उहाँको लगानीकर्ताप्रतिको जुन धारणा थियो त्यही धारणालाई आधार बनाएर उहाँ गएपछि बजार राम्रो हुन्छ भन्ने बहस हुनसक्ला । तर पछिल्लो समय अर्थमन्त्रीबाट बजारका लागि अवरोध भन्दा सहयोग नै धेरै भएको छ ।

त्यसैले अर्थमन्त्री रहेपनि, गएपनि अहिलेको बजारको बुलिस गति रोकिँदैन भन्ने मेरो अनुमान हो । नयाँ अर्थमन्त्र आए पनि बजार सुधारका लागि अर्थ मन्त्रालयको तर्फबाट गर्नुपर्ने खासै ठूलो काम छैन । किनकी बजारका लागि चाहिने आवश्यक कानूनी संरचना र नीतिगत निर्णयहरु भइसकेका छन् । 

अघिल्लो वर्ष पुँजीबजारको समस्या समाधानको लागि गठन भएको समितिले दिएका ५८ बुँदे सुझावमध्ये केही सुझाव कार्यान्वयन हुन बाँकी छन् । ती सुझावहरु कार्यान्वयन गर्न अब नियामक निकायहरुलाई कुनै रोकतोक पनि छैन । ती बुँदाहरु कार्यान्वयन गर्न हामीले सम्बन्धित निकायलाई आवश्यक सुझाव र दवाव पनि दिँदै आएका छौं । त्यसैले अब सरकारले बजारलाई अवरोध गर्ने काम मात्रै नगरिदिए पनि बजारले लिएको गति अघि बढ्न रोकिँदैन । त्यसैले बजारलाई सकारात्मक रुपमा लिएर अहिले लगानी गर्ने जोकोहीले पनि निकट भविष्यमै राम्रो प्रतिफल पाउँछन् भन्ने लाग्छ । 

(शेयर बजार लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलसँग गरिएको कुराकानीमा आधारित)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ताराप्रसाद फुल्लेल
ताराप्रसाद फुल्लेल
लेखकबाट थप