शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानसिक रूपमा स्वस्थ बच्चा जन्माउन यसो गर्नुहोस्

आमाको सोचले गर्भमा रहेका बच्चाको मानसिक विकासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ
आइतबार, १८ फागुन २०७६, १७ : ३५
आइतबार, १८ फागुन २०७६

मानसिक स्वास्थ्य भन्ने वित्तिकै हाम्रो दिमागमा नकारात्मक धारणा आइहाल्छ । तर मानसिक स्वास्थ्य भन्नाले मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ रहनु हो । जीवनयापन गर्ने क्रममा विभिन्न उतारचढावमा आउने तनावलाई सकारात्मक तवरबाट बहन गरेर अगाडि बढ्नुलाई पनि मानसिक स्वास्थ्य भनिन्छ । 

विश्वमा दोस्रो ठूलो रोगका रूपमा मानसिक स्वास्थ्य रहेको छ । मानसिक रोगबाट बच्न तथा बचाउन आमाको गर्भदेखि नै विचार पु¥याउनुपर्छ । गर्भ रहेदेखि बच्चा जन्मेको दुई वर्षसम्मको अवधि मानसिक स्वस्थ्यका लागि महत्त्वपूर्ण हुने मानसिक रोग विशेषज्ञ डाक्टर सरोज ओझा बताउँछन् ।

गर्भ रहेदेखि दुई वर्षको अवधिमा बच्चाको ९० प्रतिशत मानसिक विकास हुने उनको भनाइ छ । त्यसैले गर्भदेखि दुई वर्ष बच्चाको मानसिक विकासको सुनौलो अवधि हो । त्यसैले यो अवधि अत्यन्तै महत्त्वपूर्ण हुने डाक्टर ओझा बताउँछन् ।

गर्भवतीले ध्यान दिनुपर्ने कुरा

रुखमा हाँगाबिँगा झाँगिएको वा फल लागेको प्रत्यक्ष देख्न सकिन्छ । त्यसका हाँगाबिँगाको फैलावट र फल लाग्नका लागि जमिनमुनि रहेको जराको महत्त्वपूर्ण भूमिका रहन्छ, जो प्रत्यक्ष देखिँदैन, बच्चाको मानसिक विकासका लागि पनि आमाको गर्भावस्था त्यस्तै हो ।

जन्मिनुपूर्व बच्चालाई मानसिक रूपमा स्वस्थ राख्न अन्य कुरा पनि ख्याल गर्नुपर्छ । तसर्थ भविष्यमा बच्चा मानसिक रूपमा स्वस्थ होस् भन्नका लागि गर्भवती आमाले निम्न लिखित कुरामा ख्याल गर्नुपर्छ ।

–गर्भ रहनुभन्दा अघि र गर्भ बसिकेपछि आमाले कस्ता कस्ता कुरा मनमा खेलाउँछिन्, त्यसले बच्चाको मानसिक विकासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । जन्मिएर बाहिरी संसारमा आएपछि समेत आमाको सोचको प्रत्यक्ष प्रभाव बच्चामा पर्छ । त्यसैले गर्भवती महिलाले सकारात्मक सोचको विकास गर्नुपर्छ ।

–मनमा आउने  विचार, व्यवहार नै सोच हो । त्यसैले गर्भवती महिलाको श्रीमान्, घरपरिवारले सहज र सरल वातावरण सिर्जना गरिदिनुपर्छ ।

—आमाले खाएको खानाको प्रत्यक्ष प्रभाव गर्भमा रहेको बच्चालाई पर्छ । त्यसकारण प्रशस्त पोषण दिने गेडागुडी, दुग्धजन्य पदार्थ, माछा, मासु, अन्डा, भिटामिन ए पाइने फलफूल, गाँजर, फर्सी, मेवा जस्ता कन्दमूल पनि खानुपर्छ । गर्भवतीले खाएको खानाको माध्यमबाट गर्भमा रहेको बच्चाको स्वस्थ मानसिक तथा शारीरिक विकास हुन्छ ।

डाक्टर सरोज ओझा

चिकित्सकको सल्लाहबिना गर्भवतीले औषधि सेवन गर्नु हुँदैन । जथाभावी औषधिको सेवन गरेमा बच्चाको मानसिक विकासलाई असर गर्छ तथा बच्चाको मानसिक तथा शारीरिक समस्या देखिन सक्छन् ।

–बच्चा जन्माउँदा सावधानी अपनाउनुपर्छ । असुरक्षित तरिकाले बच्चा जन्माउँदा मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ । त्यसैले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सुत्केरी गराउनुपर्छ । 
जन्मेदेखि दुई वर्षको अवधिमा बच्चाको ९० प्रतिशत मानसिक विकास हुन्छ । अरू १० प्रतिशत सकारात्मक मानसिक विकास अभिभावक, शिक्षक, शिक्षिका र उसको सरसङ्गतले महत्त्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् । 

यो ९० प्रतिशत मानसिक विकासमा आमा, बुबा र घरपरिवारको भूमिका महत्त्वपूर्ण हुन्छ । यही अवधिमा भविष्यमा हुने शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक मनोविज्ञानको विकास हुने मानसिकता तयार हुनेगर्छ । 

दुई वर्षको अवधिमा दिमाग जति बलियो हुन्छ, त्यति नै भविष्यमा मानसिक, शारीरिक, सामाजिक, आध्यात्मिक क्षेत्रमा लाग्ने मानसिक विकास बलवान् भएर जान्छ । गर्भवती हुँदा, बच्चा जन्माउँदा र जन्मेपछिको दुई वर्षको अवधिमा टाउकोमा कुनै चोट लाग्यो भने दिमाग कमजोर पनि हुन सक्छ । जन्मेको दुई वर्षको अवधिमा बच्चाको मनोविज्ञान जति बलियो हुन्छ, त्यहीअनुसार भावी दिनहरुमा उसको मानसिक, शारीरिक, सामाजिक र आध्यात्मिक स्वास्थ्य पनि बलियो हुन जान्छ ।

बच्चा जन्मिएको दुई वर्षसम्म यी कुरामा ध्यान दिनुपर्छ 
बच्चा जन्मेको दुई वर्षसम्ममा प्रष्ट बोल्ने र सक्रिय भएर हिँड्डुल गर्न नसक्ने भए पनि अभिभावक तथा घरपरिवारले उसलाई गर्ने व्यवहार सकारात्मक हुनुपर्ने डाक्टर ओझा बताउँछन् । यो अवधिमा बच्चाप्रति सकारात्मक व्यवहार गर्नु भनेको उसको दिमागको संरचना बनाउनु हो । 

भविष्यमा मानसिक रूपमा स्वस्थ राख्नका लागि त्यो समयमा टाउकोमा चोटपटक लाग्न दिनुहुँदैन । बच्चाको अगाडि गरिने व्यवहार र खानपान सकारात्मक भएमा बच्चाको दिमाग इन्टेलिजेन्ट बन्न सक्ने उनको भनाइ छ । जन्मेको दुई वर्ष नपुग्दा पनि बच्चाको दिमागमा बौद्धिकता, सोच र इमोसन अनुभूतिहरु हुन्छन् । यो सबै मनोविज्ञानभित्रको कुरा भएको मानसिक रोग विशेषज्ञ ओझा बताउँछन् ।

उनका अनुसार त्यो सुनौला दिनहरुमा बच्चाको दिमागमा बौद्धिकता, सोच र भावनात्मक अनुभूति जति बलियो बन्यो त्यति नै उसको भविष्य राम्रो हुने गर्छ । भविष्यमा आइपर्ने तनावहरुलाई बहन गर्ने तरिका, अप्ठ्यारा परिस्थितिलाई सामना गर्ने अब्बल क्षमता त्यही अवधिमा हुने भएकाले अभिभावक तथा घरपरिवारले पनि विशेष ख्याल गर्नुपर्ने उनी बताउँछन् ।

मानसिक स्वास्थ्य भनेकै मानसिको सकारात्मक मनोविज्ञान अर्थात् ‘ह्युमन पोजेटिभ साइकोलोजी’ हो । सकारात्मक मनोविज्ञान नै मानसिक स्वास्थ्य हो । त्यसैले मानसिक रोग लाग्न नदिन अभिभावकको महत्त्वपूर्ण भूमिका रहन्छ । 

गर्भ बसेदेखि जन्मेको दुई वर्षसम्मको अवधिमा बच्चाको मानसिक स्वास्थ्यको ख्याल गरेको खण्डमा भविष्यमा शारीरिक, मानसिक, सामाजिक र अध्यात्मिक रूपमा स्वस्थ रहन सक्ने मानसिक रोग विशेषज्ञ डाक्टर ओझा बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप