शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचारः प्रचण्डलाई जुत्ता हान्ने विप्लवका कार्यकर्ता, प्रधानमन्त्रीको बुधबार मिर्गौला प्रत्यारोपण

आइतबार, १८ फागुन २०७६, १८ : ४३
आइतबार, १८ फागुन २०७६

प्रचण्डमाथि जुत्ता प्रहार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्रहारको प्रयास भएको छ । 

आइतबार राजधानीको राष्ट्रियसभामा स्वर्गीय नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो ।

  प्रचण्डलाई प्रहार गरेको जुत्ता मञ्चसम्म भने पुगेन । जुत्ता प्रहार गर्ने विप्लवका कार्यकर्ता रतन तिरुवा भएको बताइएको छ ।  आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।  

नेकपा जुम्लाले आइतबार एक विज्ञिप्ति जारी गर्दै तिरुवासँग नेकपाको कुनै  साइनो नभएको प्रष्ट पारेको छ । नेकपा जुम्ला जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त अराजनैतिक, उदण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला, सिंजा गाउँपालिका निवासी मुन तिरुवाको छोरा, कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहिद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको, उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गराउन चाहान्छु ।’ विज्ञप्तिमा तिरुवा जुम्लामा पनि पटक–पटक अराजनीतिक कार्यमा संलग्न रहेको र नेपाल प्रहरीले पनि खोजी गरिरहेको व्यक्ति समेत रहेको जनाइएको छ ।  

आक्रामणकारीले प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफूलाई आक्रोशित बनाएको बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले भाषणको क्रममा गरेको बर्गसंघर्षको कुरा आफूलाई चित्तै नबुझेको बताए । उनले यही आवेगमा प्रचण्डमाथि जुत्ता हानेको बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण 

प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो बुधबार मिर्गौला प्रत्यारोपण  हुने भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उक्त जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।  प्रधानमन्त्री ओली मिर्गौला

प्रत्यारोपणका लागि सोमबार नै महाराजगंज स्थित त्रिभुवन शिक्षण अस्पतालमा भर्ना हुने प्रवक्ता श्रेष्ठले बताए । 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुने भएपछि सचिवालय बैठकमा अन्य कुनैपनि विषयमाथि छलफल नभएको उनले बताए । 

उनले प्रधानमन्त्री ओलीको मिर्गौलाको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको लागि सचिवालय बैठकले शुभकामना ब्यक्त गरेको जानकारी दिए । 

शेरबहादुर देउवा
प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन बित्दा पनि छानबिन सुरु नहुनु गम्भीर विषयमा भएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व मन्त्री बाँस्कोटामाथि छानबिन सुरु नहुनुको पछाडि गम्भीर नियत लुकेको बताए । उनले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए ।  छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे । 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र ल्याएको आरोप समेत लगाए । 
 
उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफू प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टीकरण दिए । 

 राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए । 

उनले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे । 

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गरे ।  


इन्जा पत्रकारिता पुरस्कार वितरण

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । 

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले सत्ता परिर्वतन नभई व्यवस्था नै परिर्वतन भएकाले परिर्वतित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्न संचारमाध्यमको ध्यानाकर्षण गराएका हुन् ।  अदृश्य स्रोतबाट सञ्चालित मिडियाहरु जनता र मुलुकप्रति  उत्तरदायी हुनु भन्दा स्रोतको सेवामा समर्पित हुने गरेको आरोप पनि उनले बताए । 

कार्यक्रममा १ हजार डलर राशीको इञ्जा स्रष्टा सम्मानबाट नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणी रेग्मीलाई प्रदान गरिएको थियो । त्यसैगरी इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । 

कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो समय कार्यरत पत्रकारहरु नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट, राष्ट्रिय सुचना अयोगका पुर्व आयुक्त किरण पोख्रेल, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, समाचार पत्र दैनिकका सम्पादक कपिल काफ्ले, नेपाल प्रेस काउन्सिलकी सदस्य संगीता खड्कालाई इञ्जा सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा ब्लड क्यान्सरबाट पीडीत पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उहाँकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २ सय ४४ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको थियो । 

भारतीय राजदूत
नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । 

गत महिना जनवरी ३० मा भारतीय विदेश मन्त्रालयले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । तीन दशकदेखि भारतीय विदेश सेवामा रहेका क्वात्रासँग यसअघि संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्स लगायतका मुलुकमा काम गरेको अनुभव छ । 

त्यसैले पनि उनलाई अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा समेत लिने गरिन्छ । शालिन कुटनीतिको छवि बनाएका पूर्व राजदूत मन्जिभसिंह पुरीको अवकाशसँगै भारतले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गरेको हो । क्वात्राले यसअघि २००६ देखि २०१० सम्म नेपाल स्थित सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त व्यूरो प्रमुखको रुपमा प्रतिनिधित्व गरेका थिए । 

प्रतिनिधिसभा बैठक सरिता गिरी

समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । 

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टीका सांसद सरिता गिरीले सरकारले आफ्नो असफलता लुकाउन करको दायर बढाएको भन्दै फिर्ता लिन माग गरिन् ।  संसदको सार्वभौमिकता मिचेर चोरबाटोबाट मन्त्रिपरिषदले कर थप्ने निर्णय गर्न नसक्ने भन्दै उनले पूर्वाधार विकास करको नाममा पेट्रोलमा सतप्रतिशत कर बढाउने निर्णयको आलोचना गरिन् । 

आयल निगमले प्रदुषण कर, रोड करका नाममा उपभोक्ताबाट कर लिइरहेको उल्लेख गर्दै उनले सरकारले जनतालाई मुर्ख बनाएर दोहोर कर लगाइएको बताइन् ।  गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वधार विकास करको दर परिमार्जन गर्दै पेट्रोलियम पदार्थमा ५ रुपैयाँ कर बढाउने निर्णय गरेको थियो । 

सार्वजनिक महत्वको प्रस्ताव दर्ता

सांसदहरुले बोक्सा—बोक्सी, दाइजो लगायतका कुरिती र एसिड प्रहार जस्ता आपराधिक कार्य अन्त्यका लागि कानूनी कारवाही गरी र विशेष अभियान सञ्चालन गर्न माग गरेको छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागि सांसदहरुले यस्तो माग गरेका हुन् । सांसद विन्दा पाण्डेले ‘बोक्सा—बोक्सी, दाइजो लगायतका कुरिती र एसिड प्रहार जस्ता आपराधिक कार्य, कुरीति र विकृतिको अन्त्यका लागि कानूनी कारवाही गर्न विशेष अभियान सञ्चालन गर्न आवश्यक भएकाले’ जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् । 

प्रस्तावको समर्थन गर्दै सांसद नवराज सिलवालले कानून निर्माण भएपनि व्यवहारिक रुपमा प्रयोगमा आउन नसकेको बताए । 

सांसद सरिता कुमारी गिरीले छोरीलाई दाइजोको सट्टा शिक्षा देउ भन्ने अभियान प्रभावकारी रुपमा अगाडी बढाउनुपर्ने बताइन् ।  महिलामाथि हुने हिंसा अन्त्यका लागि बेटी बचाउ बेटी पढाउ अभियान मात्रै प्रयाप्त नभएको उल्लेख गर्दै उनले छोरीहरुका लागि शिक्षा विमाको आवश्यकता औंल्याइन् । 

रघुजी पन्त

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तले पार्टीभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी भएको बताएका छन् । 

काठमाडौंमा भएको एक कार्यक्रममा पन्तले सरकार र पार्टीबाट समृद्धि र सुशासनको अपेक्षा गरिरहेका मतदाताहरु दुःखी भएको बताए । 

उनले प्रधानमन्त्री स्वास्थ्यलाभ गरेर फर्किपछि सबै समस्याहरुको समाधान हुने विश्वास पनि व्यक्त गरे ।  शीर्ष नेतृत्वले आत्मचिन्तन गरेर अगाडी बढ्नुपर्नेमा उनँले जोड दिए । 

पन्तले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय लोकतान्त्रिक नभएको पनि बताए । 

उनले संविधान संशोधनको कुरा गलत समयमा गलत एजेण्डाका लागि पार्टीले बहसमा ल्याएको समेत बताए । 

नेपाल बंगलादेश व्यापार

सरकार स्वदेशी वस्तुहरुको निर्यात बढाउने विषयमा केन्द्रीत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

‘नेपाल बंगलादेश व्यापार प्रबन्ध र कनेक्टिभिटी’ सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलाय र सावती नामक संस्थाले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यापारको सन्दर्भमा उठेका कुराहरुलाई ध्यानमा राखेर कसरी निर्यात गर्ने भन्ने विषयमा मन्त्रालय केन्द्रीत भएको बताएका छन् । 

 उनले बंगलादेशसँग व्यपारको सम्भावना उच्च रहेको र बंगलादेशबाट लगानी समेत आउन सक्ने भएकाले सरकारले दुईदेश बीचको कनेक्टिभिटिमा ध्यान दिएको बताए । 

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रले बंगलादेशसँग व्यपार वृद्धि गर्नका लागि डेडिकेटेड कोरिडोरको विषय उठाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप