बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन शेयर कारोबारले गति लिँदै, ब्रोकरबाट भन्दा तेब्बर कारोबार

सोमबार, १९ फागुन २०७६, १० : ३७
सोमबार, १९ फागुन २०७६

काठमाडौँ । सञ्चालनमा आएको करिब डेढ वर्षपछि अनलाइन कारोबारले गति लिन थालेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ल्याएको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) मा आबद्ध भइ कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो ।

आइतबार नेप्सेमा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम नेप्सेको इतिहासमै सबैभन्दा बढी हो । त्योमध्ये २ अर्ब १५ करोड रुपैयाँको कारोबार नट्सबाट भएको नेप्सेले जनाएको छ । यो प्रणालीबाट भएको कारोबार कुल कारोबारको ४४.४७ प्रतिशत हो । नेप्सेले अनलाइन कारोबारको यो रकम र हिस्सा पनि अहिलेसम्मकै सबैभन्दा धेरै भएको जनाएको छ ।

नेप्सेको अनलाइन कारोबार प्रणालीमा आवद्ध भएर भएको कारोबार रकम भन्दा कारोबार सङ्ख्याको हिस्सा उच्च देखिएको छ । आइतबार ३९ हजार २ सय ८९ कारोबार भएकोमा २० हजार १ सय ४७ कारोबार अनलाइनबाट भएको थियो । यो करिब ५१.२८ प्रतिशत हिस्सा हो । त्यस्तै, कुल १ लाख ६४ हजार ४ सय ७२ कारोबारको आदेशमा ६२ हजार ७ सय ९८ ओटा आदेश यो प्रणालीमार्फत् भएको समेत नेप्सेले जनाएको छ । यो करिब ३८.१८ प्रतिशत हो ।

शेयर बजारमा कारोबार रकमसँगै र कारोबार भएको शेयर सङ्ख्या र आदेश सङ्ख्या धेरै भए पनि कारोबारमा संलग्न लगानीकर्ताको सङ्ख्या भने ज्यादै न्यून देखिएको छ । आइतबार १६ हजार ७ सय ५२ जना व्यक्ति त्यस्तो किनबेचमा संलग्न भएकोमा ३ हजार ८ सय ६ जना मात्रै अनलाइन कारोबारमा संलग्न छन् । यो करिब २२.७१ प्रतिशत मात्रै हो ।

ब्रोकरबाट भन्दा अनलाइनबाट तेब्बर कारोबार !

आइतबार ३ हजार ८ सय ६ जना अनलाइन प्रयोगकर्ताले २ अर्ब १७ करोडको कमरोबार गरे । यो प्रतिव्यक्ति ५ लाख ७० हजार रुपैयाँ हो । तर एउटै कारोबारमा क्रेता र विक्रेता गरी दुई पक्ष समावेश हुने भएकोले एउटा व्यक्तिले गर्ने कारोबार करिब ११ लाख ४० हजार रुपैयाँ बराबर हुन आउँछ ।

उता ब्रोकरलाई अर्डर टिपाएर हुने लगानीकर्ताको सङ्ख्या भने आइतबार १२ हजार ९ सय ४६ जना रह्यो । उनीहरुले २ अर्ब ६८ करोड ९० लाख ८० हजारको कारोबार गरे । यो २ लाख ७ हजार रुपैयाँ हो । यसरी हुने कारोबारमा पनि क्रेता र बिक्रेता दुवै समावेश हुने भएकोले प्रतिव्यक्ति कारोबार रकम करिब ४ लाख १५ हजार रुपैयाँ हुन आउँछ । यो हिसाबले अनलाइनबाट कारोबार गर्नेले ब्रोकरबाट कारोबार गर्नेभन्दा २.७५ गुणा बढी कारोबार गर्ने गरेको पाइएको छ ।

कसरी भयो यति धेरै कारोबार ?

ब्रोकरमार्फत् कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या धेरै भए पनि प्रतिव्यक्ति कारोबार भने अनलाइन ट्रेडिङबाट बढी हुनुको भने दुईओटा कारण छन् । पहिलो, म्यानुअल कारोबारमा हुने झन्झट घट्नु र उपत्यका बाहिर वा विदेशमा बसेर पनि कारोबार गर्न सक्नु ।

‘अनलाइनबाट कारोबार गर्दा ब्रोकर कार्यालयमा जाने वा ब्रोकर कार्यालयमा फोन गरेर अर्डर टिपाउने झन्झट हुँदैन । यसले गर्दा एकैपटक दर्जनौँ कारोबार गर्न पनि सम्भव हुन्छ । बजारको उतारचढावअनुसार अर्डरलाई परिवर्तन गर्न सकिने भएका कारणले पनि यो भएको देखिएको छ’ शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्, ‘अर्कोतिर ब्रोकरहरुबाट लिएको युजरनेम र पासवर्डका आधारमा विश्वको जुनसुकै ठाउँमा बसेर पनि त्यस्तो कारोबार गर्न सकिने भयो । यसले गर्दा इन्टरनेट सुविधा भएका तर ब्रोकरको कार्यालय नभएका ठाउँ र विदेशमा काम गर्न गएका नेपालीले समेत अनलाइन मार्फत् कारोबार गर्न थालेको पाइएको छ ।’

अहिले अनलाइनबाट हुने अधिकांश कारोबारमा बिक्री भन्दा खरिदको आदेश बढी भएको समेत नेप्से स्रोतले जनाएको छ । विदेशमा रहने नेपालीहरुको बचत नेपालमा हुनेको भन्दा बढी हुने भएकोले बजारमा पछिल्लो समय विदेशमा रहेका नेपालीहरुले लगानी बढाउँदै गएको समेत बताइएको छ । 

‘म्यानुअल’ कारोबारको हिस्सा खोस्दै

कारोबार प्रणाली एउटै भए पनि ब्रोकरलाई अर्डर टिपाएर हुने कारोबारलाई अहिलेपनि म्यानुअल कारोबारकै रुपमा सम्बोधन गरिन्छ । पछिल्लो समय कारोबार रकम दिन प्रतिदिन बढ्द जाँदा अनलाइन कारोबारले म्यानुअल कारोबारको हिस्सा खोस्दै गएको छ । अघिल्लो बुधबार नेप्सेमा ४ अर्ब १५ करोडको कारोबार भएको थियो । उक्त कारोबारमध्ये १ अर्ब ५७ करोडको कारोबार अनलाइनबाट भएको थियो ।

दुई कारोबार दिनपछि अर्थात् आइतबार कारोबार बढेर ४ अर्ब ८४ करोड पुग्यो, यो करिब १७ प्रतिशतको वृद्धि हो । तर यो अवधिमा अनलाइन कारोबार करिब ३६.६१ प्रतिशतले बढ्दा अनलाइन म्याजुअल कारोबार भने यो अवधिमा ४ प्रतिशतले मात्रै बढेको छ । यसको अर्थ जतिपनि कारोबार बढेको छ त्यसमा अनलाइन कारोबारकै हिस्सा बढी छ, म्यानुअल कारोबार स्टेगनेटेड अवस्थामा छ ।

बजारमा उच्च कारोबार हुन थालेसँगै अहिले युजरनेम र पासवर्ड लिनेको सङ्ख्या पनि बढेको छ । ३ दिनको अवधिमा मात्रै ७६४ जना लगानीकर्ताले नयाँ युजरनेम र पासवर्ड लिएको नेप्सेले जनाएको छ । आइतबारसम्ममा मात्रै २२ हजार ९ सय ३३ जना नट्स प्रणालीमा आवद्ध भएका छन् ।

कसरी गर्ने अनलाइन कारोबार ?

अनलाइन कारोबार गर्न कुनैपनि लगानीकर्ताले आफ्नो कारोबार खाता भएको ब्रोकरमा गएर युजरनेम र पासवर्ड लिनुपर्छ । त्यसका लागि आफ्नो खाताको केवाईसी अद्यावधि गर्न ब्रोकरले लगाउन सक्छ ।

ब्रोकरबाट उक्त युजरनेम र पासवर्ड पाएपछि नेप्सेले दिएको म्यानुअल अनुसार त्यसलाई बैङ्क इन्ट्रिगेसन गर्ने लगायत प्रक्रिया पूरा गरेर क्रियाशील गराएपछि अनलाइन कारोबार सुरु गर्न सकिन्छ । अनलाइन कारोबार भएसँगै बजार खुलेको समयमा कारोबार गर्न सकिन्छ ।

नेप्सेले २०७५ कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याएको थियो । तर प्राविधिक त्रुटी र बजार ‘वियरिस ट्रेन्ड’मा हुँदा त्यस्तो कारोबारमा आवद्ध हुनेको सङ्ख्या अपेक्षित देखिएको थिएन । पछिल्लो समय सो सिस्टममा भएको प्राविधिक समस्याहरु हल भइसकेका छन् भने बजार परिसूचक र कारोबार रकम पनि बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप