केन्द्रीय संस्करण
खगोलयात्रा

चन्द्रमा : पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह

चन्द्रमाकै कारण पृथ्वीमा अहिलेको अवस्थामा दिन र रात हुन सम्भव भएको हो

person explore access_timeफागुन १९, २०७६ chat_bubble_outline0

 

हामीले आफ्नो आखाँले आकाशमा सूर्यपछि दोस्रो जुन ठूलो पिण्ड देख्छौं, त्यो चन्द्रमा (पृथ्वीको प्राकृतिक उपग्रह ) हो ।

हुन त खर्वौ खरब पिण्डले भरिएको आकाशमा चन्द्रमा कुनै पनि दृष्टिकोणले ठूलो पिण्ड होइन । ठूलो देख्नुको जम्मा जम्मी कारण यत्ति नै हो, चन्द्रमा हामी बसेको पृथ्वीदेखि सबैभन्दा नजिकको प्राकृतिक खगोलीय पिण्ड हो । चन्द्रमा पृथ्वीदेखि जम्मा ३ लाख ८४ हजार ४ सय किमी मात्र टाढा छ । पृथ्वीले सूर्यको परिक्रमा गरे झैं चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । ग्रहको परिक्रमा गर्ने पिण्डलाई उपग्रह भनिन्छ ।

चन्द्रमा दीर्घवृत्तीय (Elliptical) कक्षमा पृथ्वीको परिक्रमा गर्छ । यसलाई पृथ्वीको एउटा परिक्रमा गर्न २७.३२ दिनको समय लाग्छ । चन्द्रमाको परिक्रमा पथमा गति १.०२२ किमी प्रति सेकेण्ड रहेको छ ।

https://i0.wp.com

पृथ्वीबाट सधै चन्द्रमाको ५९% भाग मात्र देखिन्छ, बाँकीको ४१% भाग हामी पृथ्वीवासीले कहिल्यै देख्दैनौं । यसको कारण चन्द्रमाले आफ्नो अक्षमा गर्ने परिक्रमामा लाग्ने समय र पृथ्वीको परिक्रमामा लाग्ने समय बराबरी भएको कारणले गर्दा हो । पृथ्वीबाट सधैं चन्द्रमाको यही ५९ प्रतिशत भाग मात्रै देखिन्छ ।

चन्द्रमाले पृथ्वीको दीर्घवृत्तीय परिक्रमा गर्ने कारणले गर्दा पृथ्वी र चन्द्रमा बीचको दूरी सधैँ परिवर्तन भइरहन्छ । दीर्घवृत्तीय परिक्रमा पथमा परिक्रमा गर्ने कुनै पनि वस्तु कहिले परिक्रमा गर्ने वस्तुको नजिक हुन्छ त कहिले टाढा । चन्द्रमा पृथ्वीको नजिक आउँदाको स्थितिलाई अपसौरिक अवस्था (Periapsis Or Perigee) भनिन्छ भने टाढाको स्थितिलाई उपसौरिक (Apoapsis Or Apogee ) अवस्था भनिन्छ । ‘पेरिगी’ मा चन्द्रमा पृथ्वीदेखि ३ लाख ५६ हजार ४ सय किमीसम्म नजिक आउँछ । र 'अपोगी’ मा पृथ्वी र चन्द्रमाको दूरी बढेर ४ लाख ६ हजार ७ सय किमीसम्म पुग्छ । तिमीहरुले पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक भएको स्थिति हेरेका छौ, होइन ? चन्द्रमा पृथ्वीको नजिक हुँदा भएको पूर्णिमालाई 'सुपर फुलमून' भनिन्छ । ' सुपर फुलमून' हुनलाइ पृथ्वी र चन्द्रमाको दूरी औसत दूरी ३,८४४०० किमीबाट घटेर ३,६५००० किमी भन्दा कम हुनुपर्छ । औसत दूरीभन्दा बढ़ी दूरीमा 'फुलमून' हुँदा खेरीको अवस्थालाइ 'माइक्रोमून' भनिन्छ ।

https://cdn.mos.cms.futurecdn.net

चन्द्रमाको उत्पत्ति ४.५१ अर्ब वर्ष पहिला भएको मानिन्छ । सौर्यमण्डलको उत्पत्तिको झण्डै ६ करोड वर्षपछि मात्रै चन्द्रमा उत्पत्ति भएको वैज्ञानिक मान्यता छ । मानवले पृथ्वी बाहेक अरु कुनै खगोलीय पिण्डमा पाइला टेकेको छ भने त्यो पिण्ड चन्द्रमा मात्रै हो ।

हजारौं वर्षदेखि रात्रिको अन्धकारमा मानव मनलाई लोभ्याइरहेको चन्द्रमामा २१ जुलाई १९६९ को रात्रि २ बजेर ५६ मिनेट जाँदा नील आर्मस्ट्रङले पाइला राखेका थिए । पृथ्वी बाहेक अन्य कुनै खगोलीय पिण्डमा पाइला टेक्ने पहिलो मानिस अमेरिकी नागरिक नील आर्मस्ट्रङ थिए । आर्मस्ट्रङ चन्द्रमामा ओर्लेको २० मिनेटपछि अर्का अमेरिकी नागरिक एल्ड्रिन वजले चन्द्रमामा पाइला राखेका थिए ।

यी दुई जनाबाहेक पछिका चन्द्र अभियानमा सम्मिलित अन्य दसजना अमेरिकी नागरिकले चन्द्र धरातल छुने सौभाग्य प्राप्त गरेका छन् । अमेरिकाबाहेक अन्य कुनै देशले मानवसहितको चन्द्रयात्रा गरेका छैनन् ।

https://www.history.com

चन्द्रमामा वातावरणको पूर्ण अभाव छ । वातावरण नभएका कारण चन्द्रमामा कुनै प्रकारको आवाज पनि सुन्न सकिन्न । वातावरण नभए कै कारण चन्द्रमाको सतहमा अत्यधिक मात्रामा उल्कापिण्ड खसिराख्छन् । उल्कापिण्ड खस्नाले चन्द्र धरातलमा धेरै खाल्डाहरू (Crater ) बनेका छन् । चन्द्रमामा एकातिर जहाँ लाखौंका संख्यामा खाल्डाहरु रहेका छन् भने अर्कोतिर अगला पहाडहरु पनि छन् । चन्द्रमाको सबैभन्दा अग्लो पहाडको उचाई ‘माउण्ट एभरेष्ट’ भन्दा पनि बढी ३५ हजार फिट रहेको छ ।

वातावरणकै अनुपस्थितिले गर्दा चन्द्रमाको तापमान दिउँसो १०० डिग्री सेल्सियससम्म हुन्छ भने रात्रिमा तापमान घटेर माइनस १८० डिग्री सेल्सियससम्म पुग्छ । वातावरणको अनुपस्थितिले चन्द्रमामा जीवन हुने कुनै सम्भावना छैन । चन्द्रमा पृथ्वीको तुलनामा धेरै सानो भएका कारण त्यहाँको गुरुत्वाकर्षण पनि कम छ । त्यो पृथ्वीको तुलनामा झण्डै ६ गुणा कम्ती छ । यसको अर्थ यदि तिम्रो वजन पृथ्वीमा ६० किलोग्राम छ भने चन्द्रमामा तिम्रो वजन जम्मा १० किलोग्राम मात्र हुनेछ ।

पृथ्वीमा १२ घन्टाको दिन र १२ घन्टाको रात्रि (सरदर) हुने गर्छ । यसो हुनुमा चन्द्रमाको महत्वपूर्ण भूमिका छ । चन्द्रमा नभएको खण्डमा पृथ्वीमा दिनको अवधि ६ घन्टाको मात्र हुनेथियो । चन्‍द्रमाको गुरुत्वाकर्षणले पृथ्वीको अक्षीय गतिलाई नियन्त्रित गर्छ। चन्द्रमा नभएको खण्डमा पृथ्वीको अक्षीय गति बढेर हाम्रो पृथ्वीमा एक दिन (दिन+रात )को अवधि ६ देखी १२ घण्टा को मात्रै हुने थियो । चन्द्रमा प्रति वर्ष पृथ्वीदेखि १.५ इन्च टाढा हुँदै गरहेको छ। यसले गर्दा पृथ्वीको अक्षीय गतिमा वृद्धि भइरहेको छ। नासा का अनुसार प्रत्येक १०० वर्षमा यसमा २ मिली सेकेण्डको दरले वृद्धि भइरहेको छ । आफ्नो परिक्रमा पथमा चन्द्रमा पृथ्वीको नजिक आउँदा समुद्रमा ज्वारभाटाको (Tide ) स्थिति उत्पन्न हुन्छ ।

वैज्ञानिकहरूका अनुसार चन्द्रमा प्रत्येक वर्ष पृथ्वीबाट १.५ इन्च टाढा हुँदै गइरहेको छ र यसले गर्दा पृथ्वीको आफ्नो अक्षमा घुम्ने समय वृद्धि हुँदै गइरहेको छ । ‘एटमिक’ घडीद्वारा गणना गरिए अनुसार प्रतिवर्ष यो वृद्धि दर १५ माइक्रोसेकेण्ड रहेको छ ।

https://www.clocksandchimes.co.uk/

चन्द्रमाले पृथ्वीको परिक्रमा २७.३२ दिनमा पुरा गरे पनि पृथ्वीले सूर्यको परिक्रमा गर्ने कारणले पृथ्वीबाट पूर्ण चन्द्रमा हेर्नलाई २९.५ दिनको समय लाग्छ । यस अवधिमा चन्द्रमा विभिन्न आकार प्रकारको देखिन्छ । यसलाई नै चन्द्रमाको कला (Moon Phases)   भनिन्छ । चन्द्रमासँग प्रकाशको आफ्नो कुनै स्रोत छैन । सूर्य कै प्रकाशका कारणले चन्द्रमा देखिन्छ । सूर्य प्रकाश नहुँदो हो अथवा चन्द्रमाको सतहमा नपुग्ने भएको भए हामी चन्द्रमा देख्न सक्ने थिएनौं ।

https://moon.nasa.gov

चन्द्रमाको सतहबाट अथवा चन्द्रमाबाट देखिने आकाश सधैं कालो देखिन्छ । यसको कारण पनि चन्द्रमामा वायुमण्डल नहुनु नै हो ।


चन्द्रमाको सतहबाट अथवा चन्द्रमाबाट देखिने आकाश सधैं कालो देखिन्छ । यसको कारण पनि चन्द्रमामा वायुमण्डल नहुनु नै हो ।

चन्द्र ग्रहण र सूर्य ग्रहण हुनुको कारण सूर्य पृथ्वी र चन्द्रमाको स्थितिले गर्दा हुन्छ । चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइदिँदा हामी पृथ्वीवासीको लागी चन्द्र ग्रहण हुन्छ । चन्द्रमामा सूर्य प्रकाश नपुग्दा हामीले चन्द्रमा देख्दैनौं र यस घटनालाई हामी चन्द्र ग्रहण भन्छौं ।

 

तर यदि यही बेला कोही चन्द्र धरातलमा हुन्छ भने उसका लागि यो बेला सूर्य ग्रहणको स्थिति हुन्छ । ठीक यसै भाँतिले पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आइदिँदा पृथ्वीबाट सूर्य छेकिन्छ । यो नै पृथ्वीवासीका लागि सूर्य ग्रहणको स्थिति हो । तर चन्द्रमाका लगी यो पृथ्वी ग्रहण को स्थिति हुन्छ ।

 हामी पृथ्वीवासीलाई आकाशमा देखिने सबै खगोलीय पिण्डमध्ये सबैभन्दा बढी चन्द्रमा कै विषयमा जानकारी प्राप्त छ । चन्द्रमाबारे केही रोचक जानकारी पनि पढ़ -

चन्द्रमाको 'मास' ७.३५ इन टू टेन टू पावर २२ किलोग्राम छ । यो पृथ्वीको 'मास'को जम्मा १.२ प्रतिशत मात्रै हो । तिमी भन्न सक्छौ पृथ्वी चन्द्रमा भन्दा झण्डै ८१ गुना भारी छ । चन्द्रमा आकारमा पृथ्वीको २७% मात्रै छ । पूर्णचन्द्र, अर्धचन्द्रको तुलनामा ९ गुणा बढी चम्किलो हुन्छ । ‘सुपर फुलमून’ हुँदा चन्द्रमाको आकार झण्डै १४% ठूलो र ३०% बढ़ी चम्किलो हुन्छ ।

https://www.nasa.gov

चन्द्र धरातलमा चन्द्रयात्रीले टेकेको पाइलाको डोब अझै यथावत छन् । चन्द्रमामा वायुमण्डल नभएका कारण अझै लाखौं वर्षसम्म ती रहिरहने छन् ।


एकजना चन्द्रयात्री एलन शेपर्डले चन्द्रमामा ‘गोल्फ’ खेलेका थिए । चन्द्रमामा पुगेको ६ वटा अपोलो यानका चन्द्रयात्रीहरूले त्यहाँबाट ३८२ किलो ग्राम ढुंगा, माटो नमूनाका रुपमा ल्याएका थिए । पृथ्वीमा चन्द्रमा ल्याएर राख्ने हो भने ४९ वटा चन्द्रमा राख्न सकिन्छ । चन्द्र धरातलमा चन्द्रयात्रीले टेकेको पाइलाको डोब अझै यथावत छन् । चन्द्रमामा वायुमण्डल नभएका कारण अझै लाखौं वर्षसम्म ती रहिरहने छन् । चन्द्रमाको कुल क्षेत्रफल अफ्रिका महादेश भन्दा बढ़ी र एशिया महादेश भन्दा थोरै छ । चन्द्रमाको कुल क्षेत्रफल झण्डै ३ करोड़ ८० लाख वर्गकिमी छ । आकारमा सानो, कम 'मास' र घनत्व पनि कम भएका कारण चन्द्रमाको गुरुत्वाकर्षण शक्ति पनि पृथ्वीभन्दा कम छ । र,गुरुत्वाकर्षण कम भएका कारण चन्द्रमाको पलायन वेग पनि पृथ्वीको तुलनामा झण्डै ६ गुना कम छ ।चन्द्रसतहबाट २.३८ किमीको गतिले माथि उफ्रेको खण्डमा त्यो व्यक्ति चन्द्रमाको भूमि छाड़ी अन्तरिक्षमा पुग्छ ।

 चन्द्रमाको यसै गुणका कारण वैज्ञानिकहरु चन्द्र धरातलबाट अन्य ग्रहको यात्रा गर्ने 'लॉन्चिंग स्टेशन' बनाउने योजनामा छन् ।यस कार्यमा सफलता पाइयो भने सौर्यमण्डलका अन्य ग्रहमा जान निकै कम खर्चिलो हुनेछ । चन्द्रमामा रूस, अमेरिका तथा चीनले सफलता पूर्वक आफ्ना यान ओरालिसकेका छन । इजरायल तथा भारतका चन्द्रयान चन्द्रमामा ओर्लिनुभन्दा पहिला दुर्घटग्रस्त भएका थिए ।चन्द्रमामा मानवले गरेको झण्डै २ लाख किलो फोहोर जताततै फिजिएर रहेको छ । यस फोहोरमा सफलतापूर्वक ओर्लेका चन्द्रयान, दुर्घटनाग्रस्त भएर खसेका चन्द्रयान यहाँसम्म कि एउटा गोल्फ बल पनि रहेको छ । पृथ्वीबाट चन्द्रमाको नदेखिने भागमा चीनले मात्रै आरोहण गर्ने सफलता पाएको छ ।


चन्द्रमा पृथ्वीको तुलनामा सानो भए पनि अन्य ग्रहका चन्द्रमाको तुलनामा हाम्रो चन्द्रमा सबैभन्दा ठूलो छ । यहाँनिर ख्याल गर है हाम्रो चन्द्रमा सौर्यमण्डलको सबैभन्दा ठूलो चन्द्रमा (उपग्रह ) होइन । आफूले परिक्रमा गर्ने ग्रहको आकारसंग तिनका उपग्रहको (चन्द्रमा ) तुलनात्मक दृष्टिकोणले हिसाब गर्दा मात्रै हाम्रो चन्द्रमा सबैभन्दा ठूलो हो ।


चन्द्रमा पृथ्वीको तुलनामा सानो भए पनि अन्य ग्रहका चन्द्रमाको तुलनामा हाम्रो चन्द्रमा सबैभन्दा ठूलो छ । यहाँनिर ख्याल गर है हाम्रो चन्द्रमा सौर्यमण्डलको सबैभन्दा ठूलो चन्द्रमा (उपग्रह ) होइन । आफूले परिक्रमा गर्ने ग्रहको आकारसंग तिनका उपग्रहको (चन्द्रमा ) तुलनात्मक दृष्टिकोणले हिसाब गर्दा मात्रै हाम्रो चन्द्रमा सबैभन्दा ठूलो हो । सबैभन्दा ठूलो चन्द्रमा बृहस्पति ग्रहको गैनिमीड (Ganymede ) हो । यसको डायमिटर ५२६२ किमी छ । यो हाम्रो चन्द्रमा भन्दा झण्डै डे गुणा ठूलो छ । गैनिमीड चन्द्रमाको आकारमा बुध ग्रहभन्दा पनि ठूलो छ । तर बृहस्पति ग्रहसंग तुलना गर्दा गैनिमीड आफ्नो ग्रहभन्दा २६ गुणा सानो छ । पृथ्वीको चन्द्रमा भने पृथ्वीभन्दा झण्डै ४ गुणा मात्रै सानो छ ।

सौर्यमण्डलमा हाम्रो चन्द्रमा समस्त चन्द्रमा माँझ ५ औं नम्बरको ठूलो चन्द्रमा हो । गैनिमीड बाहेक शनि ग्रहको चन्द्रमा टाइटन ( डायमिटर - ५१५० किमी ) बृहस्पति ग्रहको  अर्को चन्द्रमा कैलिस्टो ( डायमिटर - ४८२१ किमी ), र बृहस्पति ग्रह कै अर्को चन्द्रमा आयो ( डायमिटर -३६४३ किमी ) पृथ्वीका चन्द्रमा भन्दा ठूला छन ।

यतिका कुरा पढिसकेपछि पक्कै तिमीहरुलाइ जान्न मन लाग्यो होला : सौर्यमण्डलको सबैभन्दा ठूलो संरचना सूर्य हो भने हाम्रो पृथ्वी र चन्द्रमा कति नम्बरका ठूला संरचनामा पर्छन् । अर्को कुनै लेखमा यसबारे विस्तारमा लेखौंला, अहिलेलाई जानी राख पृथ्वी सौर्यमण्डलको छैठौं ठूलो खगोलीय संरचना अथवा पिण्ड हो ।सूर्य, बृहस्पति ग्रह, शनि ग्रह, अरुण ग्रह र वरुण ग्रहपछिको छैठौं नम्बरको ठूलो पिण्ड पृथ्वी हो ।

यसैगरी हाम्रो चन्द्रमा सौर्यमण्डलको १४ औं नम्बरको ठूलो पिण्ड हो । पृथ्वी पछि शुक्र ग्रह, मंगल ग्रह, गैनीमीड उपग्रह, टाइटन उपग्रह, बुध ग्रह, कैलिस्टो उपग्रह र आयो उपग्रहपछि १४ औं नम्बरमा हाम्रो चन्द्रमा आउँछ ।


चन्द्रमा छोटकरीमा


पृथ्वीबाट सरदर दूरी: ३८४४०० किमी

पृथ्वीबाट नजिक हुँदाको दूरी (पेरिगीमा ): ३५६४००–३७०४०० किमी

पृथ्वीबाट टाढा हुँदाको दूरी (अपोगीमा ): ४०४०००–४०६७०० किमी

पृथ्वीको परिक्रमा लाग्ने समय: २७.३२१६६१ दिन (२७ दिन ७ घण्टा ४३ मिनट ११ सेकेण्ड)

पूर्णिमा देखि पूर्णिमाको अवधि: २९.५३०५८९ दिन (२९ दिन १२ घण्टा ४४ मिनट २ सेकेण्ड )

पृथ्वीको परिक्रमा गर्ने गति: १.०२२ किमी प्रति सेकेण्ड

चन्द्रमाको व्यास (Diameter ): ३४७५ किमी

चन्द्रमाको परिधि (Circumference ): १०९२१ किमी

चन्द्रमाको कुल क्षेत्रफल (Area ) : ३.७९३ इन टू टेन टू पावर ७ वर्गकिमी

चन्द्रमाको आयतन (Volume ) : २.१९५८ x टेन टू पावर १० घन किमी (किमी क्यूब )

चन्द्रमाको द्रव्यमान (Mass ) : ७.३४२ x टेन टू पावर २२ किलोग्राम

चन्द्रसतहको घनत्व (Density ) : ३.३४४ ग्राम / घन सेन्टिमिटर ( सेन्टिमिटर क्यूब )

चन्द्रसतहको गुरुत्वाकर्षण (Gravity ) : १.६२ मिटर / सेकेण्ड २

चन्द्रमाको पलायन वेग (Escape Velocity ) : २.३८ किमी /सेकेण्ड

अक्षको परिक्रमामा लाग्ने समय: २७.३२१६६१ दिन

अक्षीय परिक्रमाको गति: ४.६२७ मिटर /सेकेण्ड

अक्षमा झुकाव: १.५४२ डिग्री


 

Title Photo: https://www.sciencealert.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.