शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच ‘सौहार्द्रपूर्ण वार्ता’

बुधबार, २१ फागुन २०७६, २२ : ३९
बुधबार, २१ फागुन २०७६

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै ‘सौहाद्र्रपूर्ण’ वार्ता भएको घोषणा गरेका छन् । अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरु रोकिए पनि पछिल्लो पटक हिंसाका घटनामा वृद्धि भएसँगै टेलिफोन वार्ता भएको हो ।

ट्रम्प र तालिबानका राजनीतिक प्रमुख मुल्लाह बरादरबीच अप्रत्यासित फोनवार्ताका बारेमा तालिबानले नै सबैभन्दा पहिलो समाचार सार्वजनिक गरेको थियो । यो फोनवार्ता करिब ३५ मिनेट भएको थियो ।

तालिबानसँग कुरा भएको बारेमा वासिङ्टनमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रपति ट्रम्पले पुष्टी गरेका थिए । विगतमा पनि फोनमा कुराकानी भएको थियो कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूले यस बारेमा केही बताउन नसक्ने जानकारी दिएका थिए । 

‘तालिबानका नेतासँग आज निकै राम्रो मैत्रीपूर्ण कुराकानी भएको थियो । मुल्लाहसँगको मेरा सम्बन्ध निकै राम्रो छ । हामीले आज लामै कुराकानी गरेका छौँ । उनीहरु (तालिबान समूह) हिंसा रोक्न चाहन्छन् ।’

यद्यपि, गत शनिबार दुवै पक्षबीच युद्धविराम गर्ने र अमेरिकी सेना फिर्ता गर्नेजस्ता विषय समेटिएको सम्झौता गरिए पनि अफगानिस्तानभित्र केही हिंसात्मक झडप भएका छन् । हिंसाका कारण आगामी मार्च १० मा शुरु हुने विद्रोही पक्ष र अमेरिका–समर्थित काबुल सरकारबीचको वार्तामा अन्यौल सिर्जना गरेको छ ।

राष्ट्रपति ट्रम्पले तालिबानसँग भएको शान्ति सम्झौता विगत दुई दशकदेखि जारी हिंसा अन्त्य गर्ने उपायस्वरुप गरिएको बताए । कतिपयले राष्ट्रपतिको आगामी नोभेम्बरमा हुन लागेको चुनावका अघिल्तिर यस्तो सम्झौता गरिएको र त्यसबाट राष्ट्रपतिलाई चुनावमा फाइदा पुग्ने अनुमान गरेका छन् ।

सम्झौताबमोजिम तालिबानले सुरक्षा प्रत्याभूति दिएको अवस्थामा १४ महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुनेछ । साथै अफगान सरकारले जेलमा रहेका पाँच हजार तालिबानी लडाकूलाई मुक्त गर्नेछ भने तालिबानको कब्जामा रहेका एक हजार सैनिक मुक्त हुनेछन् । तर अफगान राष्ट्रपति असरफ घानीले अफगानिस्तानमा रहेका कैदीबन्दीको विषय अफगान सरकारको अधिकार क्षेत्रभित्रको भन्दै कैदी मुक्त गर्न कठिन हुने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप