बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकमा सुन निक्षेप राख्ने व्यवस्था आजदेखि लागू, यसरी पाइन्छ सुनमै पनि ब्याज

बिहीबार, २२ फागुन २०७६, १४ : २६
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । अबदेखि बैंकमा सुन राखेर पनि ब्याज पाइने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई बिहीबारदेखि कार्यान्वयनमा ल्याएसँगै अबदेखि सुनलाई पनि निक्षेपको रुपमा राख्न पाइने भएको हो । 

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई परिपत्र जारी गर्दै सुनलाई समेत निक्षेपको रुपमा स्वीकार गर्न सकिने व्यवस्था गरेपछि यो बाटो खुलेको हो । परिपत्रअनुसार वाणिज्य बैंकहरुले ९९५ फिटनेस गुणस्तरको सुन निक्षेपको रुपमा स्वीकार गर्न पाउँनेछन् ।  

परिपत्रअनुसार बैंकहरुले कम्तीमा २५ ग्राम सुन निक्षेपको रुपमा लिन सक्नेछन् । त्यसरी निक्षेपको रुपमा सुन स्वीकार गर्दा सो सुनको शुद्धता र तौल एकीन गरी निक्षेपकर्तालाई प्रमाणपत्र दिनुर्पे व्यवस्था गरिएको छ । त्यसरी प्रमाणपत्र दिँदा सुनको साँवा परिणाम, शुद्धता, निक्षेपको ब्याजदर, निक्षेपको अवधि र निक्षेपको सावा र ब्याज फिर्ता सुनमा लिने कि नगदमा भन्ने उल्लेख गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । 

त्यस्तै, आफूले जम्मा गरेको सुनको साँवा र ब्याज सुनमै लिने हो कि नगदमा लिने हो भन्नेबारे समेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तो निक्षेप कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्ष हुनसक्ने व्यवस्था गरिएको छ । ब्याजदर भने बैंकहरु आफैंले निर्धारण गर्न सक्नेछन् । तर ब्याजको भुत्तानी भने त्रैमासिक गणनाको आधारमै गर्नुपर्ने व्यवस्था गरिएको छ । 

सुनको निक्षेप स्वीकार गर्दा वाणिज्य बैंकहरुले सुनको प्रचलित बजार मूल्यलाई नै आधार मान्नुपर्ने व्यवस्था समेत गरिएको छ । यो निक्षेप राख्नको लागि ग्राहकले छुट्टै खाता भने खोल्नुपर्नेछ । त्यसरी खाता खोल्दा केवाईसी फारामहरु भने अन्य खाताको जस्तैगरी भर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । 

सुनलाई निक्षेपमा राखेका व्यक्तिले सो निक्षेपको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने र सो कर्जाको ब्याजदर निक्षेपको ब्याजदर भन्दा २ प्रतिशत मात्रै बढी हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो निक्षेपलाई बैंकहरुले सीआरआर, एसएलआरको प्रयोेजनको लागि प्रयोग गर्न सक्नेछन् । राष्ट्र बैंकले बैंकहरुलाई ७ दिनभित्र यस्तो निक्षेप स्वीकार गर्ने कार्र्यविधि बनाउन निर्देशन समेत लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप