शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले घटायोे सदस्यता शुल्क : संगठितलाई २५, साधारणलाई १०

बिहीबार, २२ फागुन २०७६, १५ : १८
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी सदस्यता शुल्क घटाएको छ ।

 सो पार्टीको गत फागुन १८ऽ २०७६ मा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले पार्टी सदस्यता शुल्क घटाउदै नयाँ कायम गरेको हो । 

२०७५ जेठ महिनादेखि लागू हुनेगरी संगठित सदस्यता शुल्क मासिक रु. २५ र साधारण सदस्यता शुल्क मासिक रु. १० कायम गर्ने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । 

यसअघि नेकपाले संगठित सदस्यबाट रु ५० र साधारण सदस्यबाट रु २५ कायम गरेको थियो । 

गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकमा विधान संशोधन गर्दै नियमावली परिवर्तन गर्ने निर्णय गरेअनुसार नेकपाले नयाँ सदस्यता शुल्क कायम गरेको हो । तर नेकपामा संगठित सदस्य कति र साधारण सदस्य कति छन् भन्ने एकीन छैन । 

‘दुवै पार्टी एकीकरणपछि सदस्यता नविकरण गर्ने काम भइरहेकाले त्यो नसक्दासम्म यति नै संख्या छ भनेर भन्न सक्ने अवस्था छैन’ नेकपा केन्द्रीय कार्यलयका सचिव इश्वरी रिजालले जानकारी दिए । यसअघि नेकपाले सरदर संगठित सदस्यमात्रै ८ लाख रहेको सार्वजनिक गरेको थियो । 

उनका अनुसार नेकपामा सदस्यता शुल्क धेरै भयो भनेर तल्लो तहबाट गुनासो आएपछि नयाँ सदस्यता शुल्क निर्धारण गरिएको हो ।

त्यस्तै नेकपाले नोवेल कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै पार्टीको विशेष अभियानमा केही थपघट गरेको छ । जसमा ठुला सभासम्मेलन नगर्ने र कोरोना संक्रमण फैलन नदिन प्रत्येक कमिटीलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएको छ । नेकपाले संक्रमण फैलन नदिन जनचेतना फैलाउनदेखि सर्वसाधारणलाई आवाश्यक पर्ने, माक्सलगायतका सामाग्री उत्पादन र वितरणमा जोड दिन निर्देशन दिएको छ । 

नेकपाले मातहतका निकायलाई सर्कुलर गर्दै पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको कार्यतालिका परिमार्जन गरेको जनाएको हो । 

पार्टी महासचिव विष्णु पौडेलले बुधबार उक्त ‘सर्कुलर’ जारी गर्दै अभियान परिमार्जित कार्यक्रम कार्यन्वयन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।

सर्कुलरमा पार्टी जिल्ला कमिटीले कोरोना भाईरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारीमूलक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर तथा प्रत्येक व्यक्तिसमक्ष लैजान सवै तहका पार्टी कमिटीलाई भनेको छ । 

नेकपाले हाल प्रदेशस्तरका भेला तथा प्रशिक्षण चलाईरहेको थियो । तर परिमार्जित कार्यक्रमअनुसार पार्टी तथा जनवर्गीय संगठनहरुका सबै तहका कमिटीका बैठक आयोजना गर्ने, पार्टीका संगठित सदस्य र साधारण सदस्यहरुको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई निर्धाति समयभित्र सम्पन्न गर्ने गरी अगाडी बढाउने कार्यक्रम यथावत रहेको सो पार्टीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप