शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय संसदमा यस्तो छ कोरोना सतर्कता: अब सभामुखले हात नमिलाउने (भिडियो रिपोर्ट)

बिहीबार, २२ फागुन २०७६, १९ : १६
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई तपाईले कतै भेट्नुभयो र हात मिलाउन खोज्नुभयो भने तपाईले पाउनुहुने छैन । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला यसको जोखिमबाट सर्तक रहन सभामुखले अब हात नमिलाउने भएका हुन् ।

सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले कोरोना भाइरसबाट सावधानी अपनाउन संसदमा हात नमिलाउने अभियान थालेको र सभामुख सापकोटाले पनि हात नमिलाउन सुझाव दिइएको बताए । उनले रातोपाटीसँग भने–‘ उहाँसँगको भेटमा जो जो जोडिनुहुन्छ, उहाँहरुसँग हात नमिलाउ भन्ने एउटा आग्रह छ । भेटघाट गर्नेहरुलाई पनि स्यानीटाइजर लगाएर पूर्व सावधानी अपनाउन भनिएको छ ।’

सभामुख सापकोटालाई भेट्न जानेहरुलाई भेट्नुपूर्व हात सफा गर्ने केमिकल स्यानीटाइजर लगाउने गरिएको छ । नमस्कार गर्ने र सकभर हात नमिलाउन सुझाव दिइएको छ । प्रेस सल्लाहाकार न्यौपानेले भने– ‘हात मिलाउने राम्रो कुरा हो तर स्वास्थ्यको हिसाबले हेर्दाखेरी यो विषयलाई ख्याल गरौं भनिएको छ । उहाँ पनि स्यानिटाइजर प्रयोग गरेर मात्र जानुहुन्छ । बाक्लो भेला भएको कार्यक्रममा नजाने पनि कुरा भइहाल्यो ।’

संघीय संसद अन्र्तगत रहेको स्वास्थ्य इकाईले मन्त्री सांसद भेला हुने ठाउँमा स्यानीटाइजर राखेको छ । तर कतिपय संसदीय समितिमा भने स्यानिटाइजर राखिएको छैन । चीनबाट फैलिएको कोरोना भाइरससँग लड्ने समूहको नेतृत्व गरेका इरानका स्वास्थ्य उपमन्त्री स्वयं कोरोना भाइरसको शिकार भएका छन् । चीनमा पनि उच्च पदस्थ पदाधिकारी यो भाइरसको शिकार भएका छन् । सिंहदरबार भित्रका सरकारी कार्यालयमा स्यानिटाइजरलाई अहिले कोरोनाबाट सावधानी अपनाउने एकमात्र उपाय मानिएको छ ।

संघीय संसद अन्र्तगत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदीको कार्यकक्षमा जाने ढोका छेउमा पनि स्यानीटाइजर राखिएको छ ।  सभापति सुवेदीले कोरोना भाइरसले धेरै त्रास उत्पन्न गराइरहेको बताउँदै यसको संक्रमणबाट बच्न सरकारले उच्च सर्तकता अपनाउनु पर्ने बताइन् । उनले नेपालमा यो भाइरसको संक्रमण फैलियो भने कसरी समाधान गर्न सक्छौँ र जनतालाई कसरी औषधी उपचार गर्न सक्छौँ भन्ने विश्वास दिनुपर्ने बताइन् । 

सुवेदीले आफ्नो तर्फबाट पनि आफ्नो ठाउँमा सर्तक रहनुपर्ने बताउँदै कार्यालयमा स्यानिटाइटर राखेको र उच्च मनोबल राखेर हामी नेपालीमा रोगसँग लड्ने क्षमता छ भन्ने आत्मविश्वास राखेर सावधानी राख्नुपर्ने सुझाव दिइन् ।  यता,  संसदको अर्को समिति राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले सबैलाई नमस्कार गर्न र रोग प्रतिरोधी खानेकुराको सेवन गर्न सुझाव दिने गरेको बताइन् । 

रातोपाटीसँग कुरा गर्दै उनले स्वास्थ्य मन्त्रालयबाट आएको सन्देश सबैलाई दिने, नमस्कार गर्ने, हात धुने, सकभर भिड भएको ठाँउमा नजाने बारे औपचारिक अनौपचारिक रुपमा कुरा गर्ने गरेको उनले बताइन् ।  उनले खानपानमा पनि टिमुर,तातोपानी, कागति पानी, बेसार लगायतले रोग प्रतिरोधात्मक क्षमता बढाउने बारे भेटेकाहरुलाई सुझाव दिने गरेको बताइन् । 

उनले आफ्नो कार्यालयमा पहिलेदेखिनै स्यानिटाइजर राखिएको बताउँदै भनिन्– ‘कोरोना भाइरस आएको भएर मात्र हैन, स्वास्थ्यप्रति पहिलेदेखि सचेत भएको कारणले राज्य व्यवस्था तथा सुसाशन समितिमा पहिलेदेखि स्यानिटाइटर राखिएको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने मूल्य र मान्यता अवलम्बन गर्दै आएका छौँ ।’

शुक्रबार जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत हुने 

शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ । संघीय संसदले जारी गरेको संभावित कार्यसुची अनुसार नेपाली काँग्रेसका सांसद गगन थापाले विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना विरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।  सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी,  राजेन्द्रकुमार केसी र नारायण खड्का रहेका छन् । 

हेर्नुहोस् भिडियोः

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप