शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल, कसले के भने ?

शुक्रबार, २३ फागुन २०७६, १३ : ३८
शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । सांसद दिलेन्द्रप्रसाद बडुले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बहुराष्ट्रिय सहकार्यको आवश्यकता औंल्याएका छन् ।  सांसद गगन थापाले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै बडुले कोरोना भाइरससँग लडन्का लागि नेपालले मात्रै चेकजाँच गरेर नहुने भएकाले बहुराष्ट्रिय सहकार्यको आवश्यकता औंल्याए ।

नेपालबाट बाहिर जाँदा ती मुलुकहरुले चेक गर्ने भएपनि नेपाल आउनेलाई पनि सोही मुलुकबाट चेकजाँच गरी भाइरस फ्रि अवस्थाको सर्टिफिकेट जारी गर्ने गरी सहकार्य गर्नुपर्ने बताएका हुन् । भारतसँगको खुला सीमाना र विमानस्थलमा विशेष सावधानी अपनाउन आग्रह गर्दै उनले स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर उनीहरुको मनोबल उच्च राख्नुपर्ने बताए । उनले सरकारलाई विश्वसनीय तयारीमा जुट्न पनि आग्रह गरे । उनले भने, ‘उच्च मनोबलका साथ भरपर्दो, विश्वसनीय तयारीमा सरकार जुटोस् । जनतालाई आश्वस्त पार्ने गरी सरकार आफ्नो तयारीका साथ अगाडी बढोस् ।’

नेपालमा अहिलेसम्म कुनै अप्रिय घटना नभएपनि विश्व स्वास्थ्य संगठनले संक्रमित मुलुकहरुमा नेपालीहरुको आवतजावत बढी हुने भएकाले उच्च जोखिमको क्षेत्रमा रोखेको बताए । अहिलेसम्म कुनै संक्रमण नदेखिए पनि संक्रमण भएको अवस्थामा के गर्ने, आइहाल्यो भने पूर्वतयारी गर्नेतर्फ सचेत रहने र तयारी हुने सुविधा अझै भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

सांसद नवराज सिलवालले औषधी उत्पादनको अवस्थातर्फ सरकारले ध्यान दिनुपर्ने बताए । संसारका मुलुकहरुले व्यापक रुपमा तयारी गरिहेको अवस्थामा नेपालले पनि त्यो ढंगले तयारी गर्नुपर्ने उल्लेख गर्दै उनले औषधि व्यवस्था विभागमा ३ सय ८४ उद्योग गर्दा भएपनि ८० प्रतिशत कच्च पदार्थ चीनबाट आउने भएकाले यसको विकल्पतर्फ सोच्न जरुरी रहेको बताए । इरानमा स्वस्थ्यमन्त्री लगायत १७ जना सांसदहरु नै संक्रमित रहेकोतर्फ सचेत गराउँदै सिलवालले अमेरिका लगायतका देशका यसको रोकथामका लागि विशेष कदम चालिरहको बताए ।

सांसद खगराज अधिकारीले कोरोना भाइरसविरुद्ध नेपालले लड्न सक्ने क्षमता राख्छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताए । जनतामा यसबारे अनावश्यक सन्त्रास फैलिएको उल्लेख गर्दै उनले सीमा क्षेत्रमा सावधानी अपनाउनुपर्ने, अस्पतालहरुको व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने माग गरे । जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि धारणा राख्दै सांसद भीम रावलले मुलुकभित्र प्रवेशका स्थानहरुमा परीक्षण र नियन्त्रणको गम्भीर व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

भारतको राजस्थानमा कोरोना भाइरसको प्रभाव देखिएको र त्यहाँ नेपालको सुदुरपश्चिम क्षेत्रका नागरिक बढी रहेको भन्दै त्यसतर्फ ध्यान दिन पनि आग्रह गरे । उनले अस्पताल र उपचारसेवाको पूर्व प्रबन्ध गर्न, भीडभाड हुने कार्यालयहरुमा सामान्य यन्त्रबाट परीक्षण गर्ने काम प्रारम्भ गर्न, आपूर्ति व्यवस्थामा जनतालाई आश्वस्त गर्न, सरसफाईको पूर्व प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्दै यस्ता प्रकारका महामारीसँग जुध्न सबैसँग साझेदारी गर्दै संकल्पकासाथ अघि बढ्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप