बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : प्रधानमन्त्री ओली हिँडडुल गर्न थाले, कोरोनाको सन्त्रास देखाएर कालोबजारियाको बिगबिगी

शुक्रबार, २३ फागुन २०७६, १९ : १९
शुक्रबार, २३ फागुन २०७६

प्रधानमन्त्री ओली

बुधबार मृर्गौला प्रत्यारोपन गरेर उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार आएको र आजदेखि उनलाई हिँडडुल गराउन थालिएको जनाएको हो ।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीका सबै भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई मृर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि क्रमिक सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ । उनलाई पनि ठोस आहारा दिन थालिएको जनाइएको छ । प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिनिधिसभा प्रस्ताव

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा काँग्रेसका सांसद गगन थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका थिए । उनले कोरोना संक्रमणबाट बच्चनका लागि एकिकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।

अहिले सम्म नेपालको सुखद अवस्था भएपनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने उनले उल्लेख गरे ।

सिमामा चेक जाँचको क्षमता, स्वास्थ्य चेक जाँचको क्षमता लगायत विभिन्न कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै उनले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता औल्याए ।

सबै देशले आवश्यक तयारी गरेको र भिषा रद्द पनि गर्न थालेको उल्लेख गर्दै उनले नेपालभन्दा बाहिरबाट नेपाल आउनेहरुको ट्रयाकिङ्ग गर्न आवश्यक रहेको बताए । उनले मन्त्रालयअनुसारका कुरा बाहिर आउँदा सर्वसाधरणमा त्रास र दुविधा बढाएको भन्दै एकद्धार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गर्न पनि आग्रह गरे ।

सांसद थापाले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गरेका थिए ।

प्रस्तावको समर्थन गर्दै सांसद राजभण्डारीले आवश्यक तयारी नगरेको र कोरोना मुक्त घोषणा गरेका कारण पनि विश्वस्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको भन्दै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए ।

कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा चाईनासरकारसंग वार्ता गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले चीनका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेकोमा उहाँले आपत्ती जनाए ।

उनले कोरोना संक्रमणको त्राससगै बजारमा मास्क, औषधी लगायत अत्यावश्यक सामानहरु लुकाउने काम भएकाले कालोबजारी गर्नेलाई जेल हाल्न आग्रह गरे ।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलिको नियम ७१ बमोजिम सांसद थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो ।

प्रतिनिधिसभा, छलफल

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै सांसद दिलेन्द्र प्रसाद बडुले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बहुराष्ट्रिय सहकार्यको आवश्यकता औल्याउनु भएको छ । 

बडुले कोरोना भाइरससँग लड्नका लागि नेपालले मात्रै चेकजाँच गरेर नहुने भएकाले बहुराष्ट्रिय सहकार्यको आवश्यकता औल्याए ।

नेपालबाट बाहिर जाँदा ती मुलुकहरुले चेक गर्ने भएपनि नेपाल आउनेलाई पनि सोही मुलुकबाट चेकजाँच गरी भाइरस फ्रि अवस्थाको सर्टिफिकेट जारी गर्ने गरी सहकार्य गर्नुपर्ने बताए ।

भारतसँगको खुला सीमाना र विमानस्थलमा विशेष सावधानी अपनाउन आग्रह गर्दै उहाँले स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर उनीहरुको मनोबल उच्च राख्नुपर्ने बताए ।

सांसद नवराज सिलवालले औषधि उत्पादनको अवस्थातर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । इरानमा स्वस्थ्यमन्त्री लगायत १७ जना सांसदहरु नै संक्रमित रहेको तर्फ सचेत गराउँदै सिलवालले अमेरिका लगायतका देशका यसको रोकथामका लागि विशेष कदम चालिरहको बताए ।

सांसद खगराज अधिकारीले कोरोना भाइरस विरुद्ध नेपालले लड्न सक्ने क्षमता राख्छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताउनुभयो । जनतामा यसबारे अनावश्यक सन्त्रास फैलिएको उल्लेख गर्दै उनले सीमा क्षेत्रमा सावधानी अपनाउनुपर्ने, अस्पतालहरुको व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने माग गरे ।

सांसद भीम रावलले भारतको राजस्थानमा कोरोना भाईरसको प्रभाव देखिएको र त्यहाँ नेपालको सुदुरपश्चिम क्षेत्रका नागरिक बढी रहेको भन्दै त्यस तर्फ ध्यान दिन पनि आग्रह गरे ।


जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले कोरोनाभाइरस नियन्त्रणका लागि भाषणभन्दा पनि काम गर्नतिर सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

सदनमा हात धुनुपर्छ भनेर भाषण दिने तर संसदबाहिर नै पानी नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
चिकित्सकहरुलाई आत्मबल दिएर काम गर्ने वातावरण बनाउनुपर्नेमा सांसदहरुको ोड थियो ।

भानुभक्त ढकाल

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिदै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाईरसको संक्रमणबाट जोखिनका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य गरि आवश्यक व्यवस्था मिलाउने काम भएको स्पष्ट पारेको छ । 

मन्त्री ढकालले छिमेकी मुलुकमा पनि संक्रमण देखिएकाले हिजोको सर्तकताले मात्रै नपुग्ने भएकाले विशेष तयारीका साथ तीनै सरकारबीच समन्वय गरि विभिन्न स्थानमा चेकजाँचको व्यवस्था मिलाउने काम भइरहेको बताए ।

कोरोना भाईरस प्रवेश गर्न नदिने, सावधानी अपनाउने, मध्यम खालको स्थितिमा कसरी जोगिने र अति जोखिममा पुग्दाको संभावित अवस्थाबारे आँकलन भएको र सोही अनुसार आवश्यक तयारी गरिएको उनले स्पष्ट पारे ।

विभिन्न अस्पतालमा १ सय ५५ वटा आईसोलेटेड वेड निर्माण गरिएको तथा चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा शुक्रबार देखि नै प्लेनमा चढ्नु भन्दा अगाडि चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था आरम्भ गरेको जानकारी दिए ।

उनले कोरोना भाईरसको संक्रमणलाई लिएर प्रधानमन्त्रीकै सक्रियतामा ४ पटक बैठक बसेको बताए । अहिले उपप्रधानमन्त्रीको नेतृत्वमा गृह, शिक्षा स्वास्थ्य, पर्यटन, उद्योग अर्थ लगायतका मन्त्रालय समेत समेटर उच्चस्तरीय समिति बनाईएको र यसको सचिव नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था गरिएको जानकारी दिए ।

उनले पछिल्लो तथ्यांक अनुसार अहिले सम्म ९८ हजार ४ सय ७ जना कोरोना संक्रमित भएको , ३ हजार ३ सय ८७ जनाको मृत्यु भएको , ५५ हजार ५ सय ९४ जना उपचार पछि फिर्ता भएको र ८९ देशमा फैलिएको तथा छिमेकी राष्ट्र भुटानलाई पनि छोएको भन्ने समाचार बाहिर आएको भन्दै संक्रमित हुनेको दायरा छिटो छिटो ढंगले अघि बढेको तर्फ गम्भीर बन्नुपर्ने बताए ।

उनले छिमेकी राष्ट्र भारतमा पनि संक्रमण देखिएकाले भारत आउजाउले उच्च सर्तकतामा रहनुपर्ने भएकाले भन्सार नाका बाहेक ३७ वटा स्थानमा स्वास्थ्य विन्दुको रुपमा स्थानीय ठाउँमा चेकजाँचका लागि तयारी भईरहेको बताए । भारतबाट आयात हुने औषधीमा लगाएको प्रतिबन्धका सम्बन्धमा कुटनीतिक छलफल भएको र अहिलेको अवस्थामा उपलब्ध गराउँदै आएका औषधी नरोक्ने प्रतिवद्धता भारतबाट आएको पनि उनले स्पष्ट पारे । 

विदेशमा बस्ने नेपालीहरुका लागि उच्च जोखिमको मुलुकबाट आउनेहरुको प्रत्येक व्यक्तिलाई चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था मिलाउने गरि तयारी भइरहेको बताए । 
उनले भक्तपुरको क्वारेन्टायनलाई जगेडाको रुपमा सिडियो मातहत नै राख्ने गरी अन्य स्थान पनि खोज्ने तथा  प्रदेश र स्थानीय तहमा पनि क्वारेन्टायनमा राख्ने खालको व्यवस्था गर्ने तयारी सरकारले गरेको स्पष्ट पारे ।

शून्य समय

त्यसैगरी प्रतिनिधि सभाको सुन्य समयमा बोल्ने सांसदहरुले पनि कोरोनाभइरसको जोखिम न्यूनिकरणमा ध्यान दिन सुझा दिएका थिए ।

सांसद प्रदीप यादवले संसद बैठक स्थगित गर्न माग गरे । विश्वभरी कोरोना भाइरसको सन्त्रास फैलिएका बेला बिना कुनै तयारी सञ्चालन हुने संसद बैठक स्थगित गर्न उनले माग गरे । 

सरकारले सभा सम्मेलन र बढी मान्छे सहभागि हुने कार्यक्रम नगर्न सूचना जारी गरेपनि २ सय ७५ जना सांसद एकै ठाउँमा सहभागि हुने बैठकमा कुनै हेल्थ डेस्क समेत नभएको भन्दै बैठक स्थगित गर्न माग गरे ।

सांसद पुष्पा भूसालले जिल्ला प्रशासन कार्यालयले भिडभाडमा नजानु, धेरै मान्छे जम्मा हुने कार्यक्रम नगर्नु भनेर परिपत्र गर्दा पनि सरकारले ५ गतेसम्म विद्यालय बन्द नगर्नु भनेर सूचना निकालेप्रति आपत्ति जनाए ।

कोरोनाभाइरस डा. बास्तोला

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाले कोरोनाभाइरसको संक्रमण हुँदैमा मृत्यु नहुने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा उनले जनमानसमा कारोनाभाइरसको संक्रमण भयो भने मरिहाल्छ भन्ने त्रास भएपनि यसबाट मृत्यु नहुने बताए ।

हालसम्मका विभिन्न राष्ट्रमा फैलिएको कोरोनाभाइरस संक्रमणको आधारमा वैज्ञानिकहरुले सामान्य रुघाखोकी लागेका ८० देखि ८२  प्रतिशत मानिस अस्पताल भर्ना नभइ आफै निको भएका छन् ।

कोरोनाभाइरस संक्रमण भएकामध्ये ३ प्रतिशतको हाराहारमा मात्र निमोनिया, फोक्सो पानी जम्ने शरीरका विभिन्न अंगहरुले काम नगर्ने भइ मृत्यु भएको पाइएको छ ।

कोरोनाको संक्रमणबाट मृत्यु हुने प्रायः ६० वर्षभन्दा माथि उमेरका र दीर्घरोगी छन् । दीर्घरोगी मध्ये पनि मुटु, कलेजो, चिनी, फोक्सो, क्यान्सर रोग लागेका बढी बिरामीको मृत्यु भएको पाइएको डाक्टर बास्तोलाले बताए ।

कोरोनाभाइरसविरुद्धको खोप या औषधि पत्ता नलागेको अवस्थामा संक्रमण हुन नदिन तथा संक्रमण भएकाहरुले सावधानी अपनाउनुपर्ने डा. बास्तोलाको सुझाव छ ।

औषधि उत्पादक संघ

नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ । भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो ।

संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए । उनले भने, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो ।

भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ती जारी गर्दै ३ महिनाको लागि छ भनेर भनेको छ । भनेपछि नेपालमा यी वस्तुहरु ६ महिनासम्म पुग्छन् । हामी आत्तिनुपर्ने अवस्था छैन् ।’

संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए । अफ्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगिहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘अहिले ७५ प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौँ । विदेशीले जुनसुकै बेला रोक्यो भने पनि तयार छौँ । हार गुहार गर्नुपर्ने अवस्था छैन् । सरकारले प्रोत्साहन ग¥यो भने २ वर्षमा नेपाली औषधि उद्योगहरुलाई पूर्ण रुपले आत्मनिर्भर बनाउँछौँ ।’

चीनको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमणले विश्वलाई त्रसित बनाएको छ । भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिवन्ध लगएपछि नेपाली बजारमा औषधिको अभाव हुन सक्ने भन्दै आंकलन भइरहेको बेला संघले ६ महिनासम्म कुनै अभाव नहुने बताएको हो । 

उद्योग मन्त्रालय

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना भाइरसका कारण अत्यधिक माग बढेको र सर्वसाधारणले माक्स र सेनेटाइजर मौजाद राख्दा अभाव सिर्जना भएको दावी गरेको छ ।  त्यस्तै, उक्त मन्त्रालयले माक्स र सेनेटाइजरको आपूर्ति बढाइ सहज र सरल बनाउन भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयसँग अनुरोध पनि गर्ने भएको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै वजार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभागलगायत सम्बद्ध निकायहरुबाट बजार अनुगमनलाई प्रभावकारी बनाउने बताएको छ । 

बजारमा विभिन्न बस्तुको अभाव नभएपनि कृतिम अभाव सिर्जना गरिएकाले प्रभावकारी बजार अनुगमन गर्ने तयारी गरेको छ । त्यसका लागि सरकारले व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गरेको छ । 

पत्रकार सम्मेलनमा मन्त्री लेखराज भट्टले बजार हल्ला हुँदा उपभोक्ताले स्टक बढाउने गरेकाले समस्या भएको बताए ।

उनले खाद्यन्न ६ महिना, नुन १० महिना र ग्यास १ महिनालाई पुग्ने स्टक रहेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरे । कोरोना त्रासपछि बजार भाउको मूल्य बृद्धि भएको भन्ने जनगुनासो बढिरहेका बेला मन्त्री भट्टले स्याउ र लसुन बाहेक मूल्य नबढेको प्रस्ट पारे ।

उपभोक्ताहरुलाई उपभोग्य बस्तुको अभाव नभएको विषयमा आश्वस्त पार्नका लागि आपुर्ति व्यवस्था नियमित गर्ने र मूल्यबृद्धि गर्न नदिने व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले अनुचित नाफा कमाउने उदेश्यले उपभोग्य वस्तुको बिक्री वितरण एवं कृतिम अभाव नगर्न सरकारले व्यवसायीहरुलाई सचेत गराएको छ । 

त्यस्तै, मन्त्रालयले पेट्रोलियम पदार्थ, नुन, चिनी चामल लगायत खाद्यन्न आपूर्तिमा समस्या नरहेको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि सँग हाल २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयको भनाई छ । 

बाबुराम भट्टराई

पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टि हुनुपर्ने बताएका छन् । 

होटल एम्बासेडोरले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा पुर्व प्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने बताए । उनले धरैलाई मन पर्छ भनेर लोकप्रिय कुरा गर्ने मान्छेहरु कहिलेही पनि सफल लिडर बन्न नसक्ने बताए । 

आफु प्रधानमन्त्री भएको बेला काठमाण्डौ उपत्यकालाई एक आधुनिक शहरमा परिर्वतन गर्ने महत्वकांक्षा सहित सडक विस्तारका लागि गरेको निर्णय चौतर्फी विरोधका बाबजुत पनि सही निर्णय भएको स्मरण गर्दे उनले नेतृत्वले जहिले पनि समाज र राष्ट्रहित हुने निर्णय गर्न सक्नुपर्ने बताए । 

भट्टराई प्रधानमन्त्री भएका बेला कंलकी, त्रिपुरेश्वर, कोटेश्वर हुदै तिलगंगासम्म, त्रिपुरेश्वर, लाजिम्पाट, महाराजगञ्ज हुदै बुढानिलकण्ठ जाने बाटो र कमलपोखरी हुदै विमास्थल जाने बाटो विस्तारको समयमा यस होटलको केही भाग भत्काउनु परेको थियो ।

चन्द्रागिरीमा हिउँ 

काठमाडौँको चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरीमा हिउँ परेको छ । शुक्रबार दिउँसो काठमाडौं उपत्यकामा वर्षा भएसँगै चन्द्रागिरीमा हिमपात भएको हो । हिमपात भएसँगै यतिबेला चन्द्रागिरीमा आन्तरिक पर्यटकहरुको लर्को लागेको छ ।  पछिल्लो समय नेपालमा प्रि–मनसुन सुरु भइ देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । 

महाशाखाले हाल हाल देशको मध्य, पूर्वी  र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको जनाएको छ ।  यसैगरी, आज पश्चिमी भू–भागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप