शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको सन्त्रासलाई वेवास्ता गर्दै सरकारी जम्बो टोली युएईमा

शनिबार, २४ फागुन २०७६, ०९ : ४५
शनिबार, २४ फागुन २०७६

युएई : कोरोनाको सन्त्रासलाई वेवास्ता गर्दै सरकारी जम्बो टोली युएई पुगेको छ । घरेलु कामदारको अध्ययनका लागि भन्दै सरकारी टोली युएई आएको हो । 
 
घरेलु कामदारका रूपमा खाडी मुलुक ओमान, साउदी अरब र यूएईमा कार्यरत घरेलु कामदारहरूको अवस्थाबारे स्थलगत अध्ययन गर्न सरकारी टोली ओमन,साउदी अरबिया हुँदै युएई आईपुगेका हुन् । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवको नेतृत्वमा सदस्यहरु सांसद भीमसेनदास प्रधान, गोपालबहादुर बम, दूर्गाकुमारी विश्वकर्मा, प्रमोद साह, सूर्यनारायण यादव,संसद सचिवालयका कर्मचारीहरु उपसचिवद्वय शिवदत्त बराल र केशवराज सुवेदी खाडी मुलुक भ्रमणमा आएका हुन्। 

भ्रमण टोलीमा राष्ट्रिय  मानवअधिकार आयोगका सदस्य सुदिप पाठक र शाखा अधिकृत रविलाल नेपाली पनि छन्। 

१० दिने भ्रमणको लागि गत हप्ता आएका उनीहरु ओमनको भ्रमण सकाएर साउदी हुँदै आज युएई आएका हुन्।

ओमनमा रहदा उनीहरुले ओमानका सुरा काउन्सिल (प्रतिनिधि सभा) का अध्यक्ष खालिद विन हिलाल अल मावली र स्टेट काउन्सिल (राष्ट्रिय सभा) का अध्यक्ष माननीय याह्या विन महफौद अल मन्थरीसँग बेग्ला–बेग्लै द्विपक्षीय भेटघाट गरेका थिए।

भेटमा दुवै देशका प्रतिनिधीहरुबीच संसदको संरचना, संसदीय व्यवस्था, प्रतिनिधित्व तथा संसदमा मौजुद समितिहरूबारे छलफल हुनुको साथै दुवै सदनको गरिमा, भूमिका तथा कानुन बन्ने प्रक्रियाबारे समेत छलफल भएको मस्कट स्थित नेपाली दुताबासले जनाएको छ।

यसैगरी भ्रमण दलले त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खालिफा विन अलि अल हार्थी, जनशक्ति मन्त्रालयका सचिव महामहिम हमाद विन खामिस विन अब्दुल्लाह अल आम्रीलाई उनीहरूकै कार्यकक्षमा बेग्ला–बेग्लै द्विपक्षीय भेटघाट गरेका थिए ।

सोही दिन टोलीले ओमानको मानव अधिकार आयोगका अध्यक्ष माननीय शेख अब्दुल्लाह विन शुवैन अल होस्नीसँग भेटवार्ता गरेका थिए।

भ्रमण टोलीले ओमानमा रहेका घरेलु तथा अन्य नेपाली कामदारहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएको ओमन स्थित दुतावासले जनाएको छ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोलीले घरेलु कामदारको रूपमा ओमानलगायतका अन्य खाडी मुलुक साउदी अरब र यूएईमा रहेका घरेलु कामदारहरूको विद्यमान अवस्था, समस्या तथा समाधानको लागि चालिनु पर्ने कदमका विषयमा स्थलगत अवलोकन गर्ने छन्।

यता, कोरोनाको सन्त्रासका कारण नेपाल सरकारले विदेश आवतजावत नगर्न भने पनि उक्त जम्बो टोली सरकारी बजेटमा खाडी मुलुकको १० दिने भ्रमणमा निस्केका हुन्। युएई लगाएत अन्य खाडी मुलुक कोरनाको संक्रमण भेटिएको पुस्टि भएको छ भने नजिकैको ईरानमा कोरोना भाईरसले १०७ जनाको मृत्यु भएको बताईएको छ । 

एक मुलुकबाट अर्को मुलुक आवतजावत गर्दा कोरनाको सक्रमण हुन सक्ने भन्दै बिभिन्न सामाजिक संजालमा भ्रमण टोलीको चौतर्फी विरोध आईरहेको छ। 

यो टोलीले फागुन २८ गतेसम्म विभिन्न देशको भ्रमण बताइएको छ।


फोटो स्रोतः नेपाली दुताबास ओमानको फेसबुक पेजबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप