बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

को बन्ला यसपटक ‘महामुर्ख’ : उपाधि होडमा बाबुराम र विमलेन्द्र !

शनिबार, २४ फागुन २०७६, १३ : १५
शनिबार, २४ फागुन २०७६

मिथिलाञ्चलमा जोगिरा.. (फागु गीत) सुनिन लगभग छोडिएको बेला मिथिला नाट्यकला परिषद् (मिनाप) ले परम्परागत संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी (होली) महोत्सव विशेष रुपमा मनाउने गरेको छ । होलीको अवसरमा महामुर्ख सम्मलेन आयोजना गर्दै मिनापले फागुको गीत प्रयोगमा ल्याउने गरेको छ ।

मिथिला नाट्यकला परिषदले यस वर्ष यही फागुन २५ र २६ गते गरी दुई दिवसीय रुपमा महामुर्ख सम्मेलन मनाउने भएको छ । पहिलो दिन जोगिरा गायन प्रतियोगिता गरिने मिनापले जनाएको छ । जोगिरा गायनमा विभिन्न १० टिमलाई सहभागी गराउने तयारी भईरहेको सचिव सन्दीप साहले जनाए ।

यस गायन प्रतियोगितामा धनुषाको गिद्धा बेलापटी, बेला, गेरुवाही, जमुनीवास, धनुषाधाम, महोत्तरीको पिपरा, विश्वम्भरपुर र सप्तरीको एको टिमका साथै मिनापको टिमसमेत सहभागी हुनेछ । जोगिरा गायन प्रतियोगिताका शीर्ष तीन टिमलाई सम्मानसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

रङको साटो फुलको प्रयोग गरिने

मिथिला नाट्यकला परिषदले कोरोना भाइरसको सन्त्रासलाई मध्यनजर गर्दै यस वर्ष हुने कार्यक्रमको शैलीमा परिवर्र्तन गरेको छ । कोरोना भाइरसप्रति सचेत हुँदै कार्यक्रमको शैली परिमार्जन गरिएको मिनापका अध्यक्ष परमेश झाले बताए ।

मिनापले यस वर्ष कोरोनालाई मध्यनजर गर्दै कार्यक्रम स्थलमा उपस्थित सबैजनालाई मास्क वितरण गर्ने र अविरको साटो फूल र फूलको माला प्रयोग गरेर होरी महोत्सव एवं महामूर्ख सम्मेलन मनाउन लागेको छ ।

अध्यक्ष परमेश झाले २५ गते आइतबार डम्फा वादनबाट उद्घाटन गरिने कार्यक्रममा होरीमाथि चर्चा परिचर्चा, निश्चित मापदण्डअनुसार होरी गायन, उत्कृष्टताको चयन र पुरस्कार वितरण गरिने जनाए ।

कार्यक्रमको दोश्रो दिन विशिष्ट शैलीमा उद्घाटन गरी होरी गायन, मिनापको हास्य शैलीमा व्यंगपूर्ण नाटक प्रस्तुति, हास्य कवि गोष्ठी, मूर्ख एवं महामूर्खको उपाधि वितरण, मूर्ख एवं महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गरिँदै समापन गरिने उनले बताए ।

यसरी भयो महामुर्ख सम्मेलनको प्रारम्भ

जनकपुरधाममा मनाइने होली महोत्सवको प्रमुख आकर्षण महामुर्ख सम्मेलन नै हो । महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै जनकपुरधाममा यसले निकै उचाई पाएको छ । तर, यसको प्रारम्भ वीरगञ्जबाट भएको बताइन्छ ।

मैथिली साहित्य परिषद वीरगञ्जले २०५० सालमा पहिलोपटक महामुर्ख सम्मेलन आयोजना गरेको थियो । पहिलो पटकको महामुर्ख लाला माधवेन्द्र जी भएका थिए । महामुर्ख सम्मेलनकै प्रकृतिको कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ ।

फागु पर्वको मुख्य आकर्षणको रुपमा रहेको महामुर्ख सम्मेलनका लागि जनकपुरधाममा महामुर्खको खोजी युद्धस्तरमा भइरहेको छ । मिनापले महामुर्खका लागि करिब दर्जन जति विशिष्ट व्यक्तिहरुको सूची तयार पारेको जनाएको छ ।

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलमध्ये कुनै एक जनालाई महामुर्खको उपाधि प्रदान गर्ने योजना बुनिरहेको आयोजकले बताए ।

राजनीतिमा लागेर योगदान गरेका, साहित्य क्षेत्रमा विशिष्टता हासिल गरेका, स्वास्थ्य क्षेत्रमा लागेर वा सामाजिक कार्यमा सक्रियतापूर्वक सकारात्मक परिवर्तन गर्न सफल भएका व्यक्तित्वलाई क्षेत्रगत आधारमा छनौट गरी महामुर्खलगायतका विभिन्न उपाधि दिइने गरिएको महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए ।

उनले समाजमा राजनीतिक, साहित्य, स्वास्थ्य, विकासलगायतका क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तित्वलाई स–सम्मानपूर्वक उहाँहरुको विद्वता र क्षमता तथा दक्षताको आधारमा समाजमा देखिएको परिवर्तनलाई मध्यनजर गर्दै महामुर्ख उपाधि दिइ प्रोत्साहनस्वरुप सम्मान गर्ने गरेको बताए ।

महामुर्खको उपाधि पाउनेको सूची

वि.सं. २०६१ बाट महामूर्ख सम्मेलन नियमित रुपमा हुँदै आएको छ । २०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालिन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री एवम् नेकपाका नेता रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाललाई उक्त उपाधि दिइएको थियो ।

यस्तै २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली काँग्रेस प्रदेश नम्बर २ को संसदीय दलका नेता रामसरोज यादव, २०७० मा राष्ट्रिय जनता पार्टीका नेता डा. विजय कुमार सिंह, २०७१ मा नेकपाका नेता एवं प्रदेशसभा सदस्य शत्रुधन महतो, २०७२ मा मसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामुर्खको उपाधि प्रदान गरिएको थियो ।

त्यस्तै २०७३ सालमा सप्तरीको मलेठमा तत्कालिन नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागी ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम नै मिनापले स्थगित गरेको थियो । २०७५ मा महामुर्खको उपाधी पूर्व राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाललाई प्रदान गरिएको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप