बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ चित्रकार शिवानी : जसलाई आफ्ना चित्र बिक्री गर्दा बेस्सरी मन दुख्छ (फोटो/भिडियो)

शनिबार, २४ फागुन २०७६, १४ : ४९
शनिबार, २४ फागुन २०७६

वरिष्ठ चित्रकार शिवानी राणा तिमिल्सनाको सातौ एकल चित्रकला प्रर्दशनी सम्पन्न भएको छ । काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनको सातौ एकल चित्रकला प्रर्दशनी भएको हो ।

गत फागुन १४ गतेदेखि सुरु भएको ‘क्रियटिभ ओडेसि’ नामक एकल चित्रकला प्रदर्शनीको उप–प्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गरेका थिए । 

१० दिनसम्म चलेको सो चित्रकला पर्दशनीमा उनले ६३ वटा पेन्टिङ प्रर्दशनीमा राखेकी थिइन् । भगवानका विभिन्न स्वरुप, प्रकृतिका साथै केही पुरातात्विक महत्वका विषयहरुलाई शिवानीले आफ्नो चित्रकलामा समेटेकी छिन् ।

भारतको देहेरादुनमा स्कूले जिवनदेखि नै चित्रकलामा लागेकी शिवानीले म्युजियम अफ फाइन आर्टस, अमेरिकाको बोस्टनमा स्टुडियो डिप्लोमाको एक बर्ष अध्ययन गरेकी छिन् । निरन्तर चित्रकलामा लागेकी शिवानीले नेपाल भारत तथा अमेरिकामा पनि चित्रकला प्रर्दशर्नी गरेकी छिन् । यो सम्म उनको सातौ एकल चित्रकला प्रर्दशनी हो ।

तेल, पानी रङ्ग, प्रिज्मा, पेन्सिल, ग्राफाइड, चारकोललगायतका माध्यमबाट उनले चित्रहरु तयार गरेकी छिन् । धार्मिक स्वभाव भएकी शिवानीले विभिन्न भगवानलाई विषयबस्तु बनाएर क्यानभासमा उतार्ने गरेकी छिन् ।

उनले विशेषगरी गणेशका विभिन्न भाव भंगिमा र विभिन्न स्वरुपका चित्रहरु उतारेकी छिन् । गणेशको रङ्ग, नामहरुका आधारका साथै बिहानको प्रकाश, साँझको प्रकाशमा गणेशको मूर्ति कस्तो देखिन्छ उनले त्यसलाई चित्रमा उतारेकी छिन् ।

यसका साथै उनले आफ्ना मन पर्ने कुकुरहरुलाई पनि चित्रमा उतारेकी छिन् । फूल, प्रकृति पनि उनका चित्रकलाका विषय हुन् ।

गणेशका साथै नन्दी, हनुमान, शिव, राधाकृष्णलगायतका हिन्दु देविदेवतालाई आफ्नो क्यानभासमा उतारेकी उनले धार्मिक र पौराणिक विषयवस्तुलाई बढी महत्व दिएकी छिन् । यसका साथै मन्दिरको प्रवेशद्धारमा राख्ने चिपुलाई पनि उनले क्यानभासमा स्थान दिएकी छिन् ।

नेपालमा मात्र नभएर भारत तथा अमेरिकासम्म पुगेर आफ्नो प्रतिभा उजागर गरेकी तिमिल्सिनाले भारतस्थित हरिद्वार आश्रममा निकै कम समयमा ठूला ठूला पेन्टिङ बनाएर उपहारका रुपमा छोडेकी छिन् । उनले त्यहाँ ३ महिनामा १५ वटा ठूला ठूला पेन्टिङ बनाएकी थिइन् । 

शान्त वातावरण रुचाउने शिवानी बाल्यकालमा एक्लै बस्थिन । बिहे गरेपछि पनि परिवारमा सदस्य काममा निस्कन्थे, घरमा उनी एक्लै हुन्थिन । चित्रकलाका लागि त्यो एक्लोपना उनका लागि बरदान सावित भयो । उनले भनिन्– ‘एक्लै बस्दाखेरी चित्रकलाका लागि एकदम राम्रो भयो । म आफ्नै दुनियाँमा डुब्न पाएँ । एक्लोपनाले झन धेरै मद्दत ग¥यो, यो साथीजस्तै भयो ।’

अहिलेसम्म हजारौं चित्रकला बनाएकी उनलाई आफ्ना चित्रकला सन्तानजस्तै प्यारा लाग्छन् । आफूले रातदिन मेहनत गरेर बनाएको चित्र बिक्री गर्दा उनलाई नरमाइलो लाग्छ । मान्छेले पैसा हालेर आफ्नो चित्र किनेको देख्दा आफूमा केही प्रतिभा भएर त उनीहरुले त्यति धेरै पैसा हाले भनेर खुसी पनि लाग्छ तर फेरी आफूले बनाएको चित्र गुमाउँदा दुःख पनि लाग्छ ।

उनले भनिन्– ‘एउटा प्रर्दशनीमा १५,२० वटासम्म चित्र बिक्री हुन्छ । मेरो काम देखेर त उनीहरुले पैसा हाले भनेर खुसी पनि लाग्छ तर एक प्रकारले ओहो त्यो मेरो पेन्टिङ, आफूले गरेको संघर्ष, कसरी बनाउने भनेर राती राती काम गरेको त्यो सम्झँदा भने दुःख पनि लाग्थ्यो मलाई ।’

अहिले पनि मान्छेले सस्तोमा चित्र किन्न खोज्छन् तर उनलाई बिक्री गर्न मन लाग्दैन । आफूले बनाएको आफ्नो लागि अमूल्य रहेको चित्र बरु आफैसँग रहोस भन्ने उनको चाहना हुने गर्छ ।

भक्तपुरमा उनलाई गशेणको चित्रकला वापत पुरस्कृत पनि गरिएको थियो । यस्तै अमेरिकाको बोष्र्टनमा पनि उनलाई सम्मान गरिएको थियो । उनले चित्रकला बिक्रीबाट आएको पैसा समाजसेवामा पनि खर्च गर्ने गरेकी छिन् । चित्र विक्रीको केही प्रतिशत रकम गौ सेवा आश्रमलाई दिने उनले बताइन् ।

अमेरिका बसेर पनि चित्र बनाएकी उनलाई स्वदेश र विदेशको फरक अनुभव छ । अमेरिकामा चित्रकारलाई ठूलो सम्मान रहेको बताइन् । नेपालमा पूर्णकालीन  चित्रकलामा मात्रै लागेर बाँच्न सकिने अवस्था भने अझै आइनसकेको उनको अनुभव छ ।

हेर्नुहोस भिडियो :-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप