बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यूः कहाँ गायब भयो ग्यास ? क्षणिक आवेगमा डरलाग्दा अपराध

आइतबार, २५ फागुन २०७६, ०७ : ३०
आइतबार, २५ फागुन २०७६

आज मिति २०७६ साल फागुन महिनाको २५ गते देशका ठूला राष्ट्रिय दैनिकहरुले ८ मार्चको सेरोफेरोमा रहेर महिलासम्बन्धी सामाग्रीलाई प्राथमिकता दिएर छापेका छन् । त्यसैगरी, आजको दैनिक पत्रिकामा कोरोनाले मौलाएको कालोबजारीको बारेमा पनि प्राथमिकता पाएको छ ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकले ‘ग्यास गायब, मजदुर र विद्यार्थी मर्कामा’ शीर्षकका छापेको समाचारलाई मुखपृष्ठमा छापेको छ । 

समाचारमा उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको  र कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेको कुरा उल्लेख गरिएको छ । 

भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गरेका हुन्। उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन्।

केही दिनदेखि ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा निकै लामो लाइन लाग्न सुरु भएको छ। नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर राखेका छन्।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चारजनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो। अहिले त्यस्ता परिवारले पाँचवटासम्म सिलिन्डर जम्मा पारेका छन्। उनले चारजनाभन्दा बढी पारिवारिक सदस्य भएकाले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे।

नागरिक दैनिकले पनि ‘कोरोना बहानामा कालोबजारी, मूल्यवृद्धिको मारमा उपभोक्ता’ शीर्षकमा समाचार छापेको छ । समाचारमा नागरिकले बजारमा मौलाएको कालोबजारीमाथि खोज गरेको छ । 

ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ। ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो। नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ। ‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ,’ नेपाल आयल निगमले प्रस्ट रूपमा भनेको छ, ‘आयात रोकिएर अभाव हुने कुनै सम्भावना छैन।’ तर निगमको भनाइप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चुलो बाल्न हम्मे पर्ला भन्दै घरमा सिलिन्डर थुपार्न थालेका छन्। यसले गर्दा ग्याँसमा कालोबजारी हुने सम्भावना बढेको छ।

अर्थशास्त्रको सिद्धान्तअनुसार माग र आपूर्तिमा आएको असन्तुलनले बजारमा प्रभाव पार्छ। तर कहिले व्यापारीको मिलेमतोको सिकार भएर त कहिले हल्लाको पछि लागेर उपभोक्ता दैनिक उपभोग्य सामग्री घरमा थुपार्न थाल्छन्। त्यही बहानामा कालोबजारी मौलाउँछ। त्यस्तो अवस्थामा एकातिर उपभोक्ता ठगिन्छन् त अर्का्तिर व्यापारीले फाइदा उठाउँछन्। ग्यास पछिल्लो उदाहरण मात्र हो।

नयाँ पत्रिका दैनिकले ८ मार्चलाई मुख्य प्राथमिकता दिएर छापेको छ । नयाँ पत्रिकाले ‘शब्दमा समानता : व्यवहारमा विभेद’ शीर्षक दिएर महिलाले पाउने ज्याला, राजनीतिमा महिलाको स्थान, कृषि र मजदुरीमा महिलाको अवस्था, न्यायालयमा महिला, सुरक्षा फौजमा महिलाको अवस्था आदि क्षेत्रमा महिलाको अवस्थाको बारेमा तथ्याकं सार्वजनिक गरेको छ । 

यता, कान्तिपुर दैनिकले नागरिकता नपाएर बिचल्लीमा परेका महिलाका विषयमा समाचार लेखेको छ । त्यस्तै, कान्तिपुर दैनिकले ‘सनकले सखाप’ शीर्षकमा समाचार लेखेको छ । जसमा रोल्पाको त्रिवेणी, नुवागाउँका खर्कबहादुर बिक र गणेश विक दाजुभाइ पर्थे । घरायसी विवाद भयो । आफन्तले उनीहरुलाई मिलाउने प्रयास गर्दै थिए । एक दिन गणेशका ५ वर्षीय छोरा प्रेम र ३ वर्षकी छोरी वसन्ती आँगनमा खेलिरहेका थिए । खर्कले प्रेम र वसन्तीमाथि एक्कासि बन्चरो हाने, दुवैको मृत्यु भयो । खर्कको क्षणिक रिसले दुई कोपिला फुल्नै नपाई चुँडिए । 

सामान्यतया, मानिसले कुनै उद्देश्य राखेर र योजना बनाएर हत्या गर्छ भन्ने ठानिन्छ । तर, तत्कालको रिस थाम्न नसक्दा हत्या गरिएका घटना प्रशस्त छन् । विज्ञहरुका अनुसार नियोजित अपराधभन्दा क्षणिक आवेगमा हुने अपराध डरलाग्दा हुन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप