शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटौलाले तोडेको शशांकको त्यो विश्वास

आइतबार, २५ फागुन २०७६, ११ : ५३
आइतबार, २५ फागुन २०७६

काठमाडौं । केही दिनयता नेपाली काँग्रेस वृत्त दुई कुराले तरंगित छ । आफ्नो नियमित कार्यकालको अन्त्यमा सभापति शेरबहादुर देउवाले भटाभट निर्णय लिएपछि काँग्रेस वृत्त तरंगित थियो ।

यो बीचमा पार्टीको तेस्रो धुव्रका नेता कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा पनि आफू सभापतिको उम्मेदवार भएको उद्घोष गरे । त्यसले थप तरंग ल्याइदिएको छ । सभापति देउवाले गत शनिबार १३ विभागका प्रमुख र पाँच आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गरेका थिए ।

नियमित कार्यकाल सकिएकै दिन गत सोमबार थप सात विभाग प्रमुख तोके । त्यसको केही घण्टापछि दुई केन्द्रीय र ६ आमन्त्रित सदस्य थपे भने जेष्ठ राजनीतिज्ञ सभामा ३० जनालाई मनोनयन गरे । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उक्त निर्णयको प्रतिवादमा छ ।

सभापति देउवाले महाधिवेशन सम्पन्न भएको २ महिनाभित्र गरिसक्नुपर्ने काम कार्यकालको अन्त्यमा गरेपछि काँग्रेसमा कलह छ ।

तर सिटौलाले भने समर्थन देखिन्छ । देउवाको निर्णयबारे मुख नखोलेका सिटौलाले गत सोमबार गृहनगर झापाबाट सभापतिमा उम्मेदवारी दिने घोषणा गरे ।

‘मुलुकको शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म पार्टीको तर्फबाट मेरो भूमिका उल्लेखनीय छ, त्यसैले आगामी महाधिवेशनमा उम्मेदवारी दिने सोच बनाएको छु’, सिटौलाले भने । उनी यतिमै रोकिएनन् ।
आगामी महाधिवेशनमा देउवा वा पौडेल समूहको उपसभापतिका रुपमा विश्लेषण गरिँदै आएको बेला सिटौलाले भने, ‘म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।,’

वर्तमान परिस्थितिमा पार्टी सभापति देउवा र पौडेलबीचको भागबन्डा र गुटबन्दी आवश्यक नरहेको बताउँदै पार्टीको एकताका लागि आफ्नो विकल्प नभएको दलिल पेस गरे । 

गत पुस २८ गते झापाको बिर्तामोड पुगेर महामन्त्री शशांक कोइरालाले महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न रामचन्द्र पौडेल र सिटौला समूहबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

‘देउवाजीसँग पार्टी र मुलुक चलाउने सपना छैन। उहाँ गुटमात्रै चलाउने नेता हो अहिलेसम्म गुट चलाएरै यहाँसम्म आइपुग्नुभयो। फेरि पनि गुट चलाउन उहाँलाई सभापति बनाउन सकिँदैन । उहाँलाई रोक्न सिटौलाजीलाई हामीसँग रोक्छौँ,’ उनको भनाइ थियो । 

महामन्त्री कोइरालाले विश्वस्त हुँदै भनेका थिए, ‘यसपालि सिटौलाजी उता (देउवा समूह) जानुहुन्न । हामीले जे निर्णय गर्छौं, त्यो उहाँले पनि मानेर अघि बढ्नुहुन्छ । त्यो मेरो विश्वास पनि हो ।’

पुस ११ गतेको केन्द्रीय समितिले बहुमतका आधारमा निर्णय लिएपछि देउवाविरुद्ध आक्रमक देखिएका महामन्त्री कोइरालाले अधिकांश सार्वजनिक कार्यक्रममा सिटौलासँगको सहकार्यमा जोड दिँदै आएका थिए ।
उनको विश्वाससको आधार थियो, पुस ११ गते सभापति देउवाले संस्थापन इतर पक्षको उपस्थिति बेगर केन्द्रीय समिति बैठकमा लिएको निर्णयविरुद्ध सिटौलाले जनाएको विरोध ।

तर फागुन १७ गते देउवाले लिएको निर्णयमा सिटौलाले समर्थन जनाएपछि महामन्त्री कोइरालाले विश्वासमा व्यर्थ बन्न पुग्यो । तर वरिष्ठ नेता पौडेलले भने आगामी महाधिवेशनमा सिटौलाको उम्मेदवारी भारी नबन्ने जिकिर गरे ।

रातोपाटीसँगको अन्तवार्तामा पौडेलले भनेका छन्, ‘यसपालि पार्टीलाई नयाँ गति दिन कसैलाई अगाडि सार्छौँ । त्यसले निर्णयक रूप लिन्छ । बीचमा एक दुई जना आएर केही फरक पर्दैन ।’

उनले एक दुई जना आउँदैमा फरक पर्दैन भन्दै सिटौलाको उम्मेदवारीतर्फ तिर सोझ्याएको बुझन गाह्रो थिएन ।

१३ औँ महाधिवेशनमा त फरक परेका थियो नि भन्ने प्रश्नमा पौडेलेका जवाफ थियो, ‘त्यो बेला हाम्रो तयारी राम्रो नभएकाले फरक परेका हो । हाम्रो व्यवस्थापन एकदमै अव्यवस्थित थियो । तयारीविना महाधिवेशनमा जाँदा कसले के गर्यो थाहा भएन । यसपालि हामी वडाबाटै सतर्क छौँ ।’

सिटौला समूहलाई कसरी साथमा लिएर जानुहुन्छ भन्दा उनी गगन थापा र प्रदीप पौडेलमा पुगेर रोकिए । 

सिटौला समूहको अस्तित्व अस्वीकार गर्दै उनले भने, ‘ कहाँ के समूह छ । उहाँहरु हामीसँगै हो । गगनजी अर्को समूहको भनेर म भन्दै भन्दिनँ । प्रदीप पनि हामीसँगै छन् । हेरेर कसलाई के ठाउँमा व्यवस्थापन गर्न सकिन्छ, त्यही अनुसार हुन्छ ।’ पौडेलको उक्त अभिव्यक्तिले सिटौला पनि सशंकित देखिए ।


गृह जिल्ला झापामा रहेको सिटौलाले शनिबार रातोपाटीसँगको फोन सम्पर्कमा सभापति देउवा पछिल्लो निर्णय र पौडेलको अभिव्यक्तिबारे काठमाडौं पुगेपछि पत्रकार सम्मेलन गरेर प्रष्ट पार्ने बताए । 

‘रातोपाटीसँगको अन्तर्वातामा रामचन्द्रजीले कसैलाई (गगन थापा र प्रदीप पौडेल) व्यवस्थापन गर्छु भनेको के हो ? यसका साथै सभापतिजीले लिनुभएको निर्णयमा पत्रकार सम्मेलन गरेर सबै कुरा भन्नुछ,’ उनी यति भन्दै रोकिए । गगन र प्रदीपले देउवाको पछिल्लो निर्णयको विरोध जनाउँदै आएका छन् ।

सिटौलाले यसबारे मुख नखोलेपछि उनीहरुको विरोधको स्वर पौडेल समूहसँग जोडिन पुग्दा गगन र प्रदीपको समूहगत आगामी यात्राबारे प्रश्न उठेको छ । उनीहरुले पनि यसकारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।                                                                                                                                                                                        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप