शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जेल भित्रैबाट लेखिएको ‘निर्दोषीको कथा’ पुस्तक विमोचन कार्यक्रममा परिवारको रुवाबासी

आइतबार, २५ फागुन २०७६, १७ : २४
आइतबार, २५ फागुन २०७६

कार्यक्रम स्थलः गुल्मी सदरमुकाम तम्घासको बालमन्दिर सभाहल ।
कार्यक्रमः ‘निर्दोषीको आत्मकथा’ पुस्तकको विमोचन । 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आइतबार आयोजित  कार्यक्रममा द्वन्द्वपीडित महिलाको तर्फबाट पुष्पा पन्थीले बोल्न समय दिइयो ।  उनी इस्मा गाउँपालिका वडा नम्वर–६  अमरपुर वुल्म गाउँमा  १७  बर्षको उमेरमा बाबु गुमाएकी र हाल  गुल्मीको रेसङ्घा नगरपालिका–७ भुजेलखर्क स्थित ३६ बर्षकी बिबाहित महिला हुन् । 

बोल्न सुरु गरेको केहीपछि उनले भक्कानो छाडिन् र आँशु पुछ्दै आफू र आफ्नो माइती परिवारले भोगेका भोगाइ सुनाइन् । 
उनले भनिन्, १६ वर्षअघि मेरो बुबाको हत्या गरियो ।  न्यायको ढोका ढक्ढक्याउन मेरी आमाले धेरैतिर चहार्दा पनि कतै न्याय पाउनु भएन । न्याय पाउन त कता कता निकै दुःख दिइयो । सम्मान छ मेरी आमालाई जसले पीडादायिक जीवनमा पनि हिम्मतसाथ ज्युँनु भयो ।  
उनले आफ्नो पीडा सुनाउँदा हलमा सन्नाटा छाएको थियो । 

तत्कालीन शाही सेनाद्वारा चरम याताना दिइ हत्या भएको थियो– साविक दोहली गाविस कोटकटेरी र हाल अमरपुर वुल्म घर भएकी  रैनादेवि थापाका श्रीमान महेन्द्रबहादुर थापाको । उनैकी छोरी हुन् पुष्पा पन्थी ।

 परिवारजनका अनुसार तत्कालीन माओवादीको वाईसीयल उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा (सागर ) का दाजु थिए महेन्द्रबहादुर थापा । उनकी श्रीमती रैनादेवी र उनका दुई छोराहरु समेत तत्कालीन माओवादीमा आबद्ध भए पनि महेन्द्रबहादुर थापा भने माओवादी नभएको परिवारको दावी छ । 

   छोरी पन्थीका अनुसार उनका बाबु महेन्द्रबहादुर भारतीय सेनाका लाहुरे थिए । केही समयका लागि घरमा कुल पूजा गर्नका लागि आएका थिए । सोही बखत सदरमुकाम तम्घासको अस्पतलामा स्वस्थ्य परीक्षणका लागि गइरहेको बेला २०५८ साल माघ ७ गते दिउँसो ११ बजेको समयमा तम्घास साहुटोलको सुनरुपा होटलबाट थापालाई तत्कालीन शाही सेनाले पक्राउ गरी धागीथुम ब्यारेकमा लग्यो ।

  हिरासतमा राखेको १६ ÷ १७ दिन  सम्म थापालाई चरम शाररिक यातना दिई गोली हानी हत्या गरिएको थियो । श्रीमानको हत्यापछि विक्षिप्त बनेकी रैनादेवीको घरमा तत्कालीन शाही सेनाले अर्को कार्बाही स्वरुप वम बिष्फोट ग¥यो । रैनादेवीका लागि त्यो अर्को बज्रपात थियो ।

  तत्कालीन माओवादीको लडाकु नेता सागर थापाको दाजु भएकै कारण उनका दाजु महेन्द्रबहादुर थापाको परिवारले पटक पटक ज्यादती खेप्नु परेको र  झूटो आरोपमा उनका दुई छोराहरुलाई समेत जेल हालिएको दावी थापा परिवारको छ । 
त्यो काण्डमा  राजनैतिक प्रतिशोध साँध्ने काम भएको समेत थापा परिवारले बताउँदै आएको छ ।

 श्रीमानको हत्या भएको एक महिना पछि रैनादेवी भारततर्फ विस्थापित भएकी थिइन् । 
 कार्यक्रममा रैनादेवीले भनिन् –‘झण्डै ५ वर्षसम्म होटलका भाँडा माझेर छोराछोरी हुर्काउँदै थिएँ ।  शान्ति सम्झौता हुने भएपछि म भारतबाट फर्केर घर आएँ । त्यतिबेला छोरी पुष्पाको १५ वर्षको उमेरमा विवाह भइसकेको थियो ।  दुई छोराहरुले पनि विवाह समेत गरेका थिए ।  २०६४ सालको चुनावमा आफ्नै काका  (सागर) सभासद्को उमेदवारमा उठ्ने भएपछि घर फर्किए दुई छोराहरु  । चुनावमा दुबै भाइ निकै खटे ।  त्यसपछि  जेठो छोरा बिष्णुको परिवार हजुर बुवा, हजुरआमाको स्यहार सुसार गर्न कोटकोटरीमा रहेको बुढो घर मै बस्यो । कान्छो छोरा हरि र म  अमरपुरको बुल्ममा नयाँ घर बनाएर कुखरा पालन र छोराले गाडी चलाउँदै जिविका चलाउन थालेका थियौं । त्यही क्रममा चुनावको रिस फेर्दै मेरा दुबै छोराहरुलाई समेत ठुलै काण्डमा फसाउँदै जेल कोचियो ।

 के थियो त्यो ठूलो काण्ड ?

  २०६५ साल साउन २५ गतेका दिन गुल्मीको साविक वस्तु गाविस , हाल धुर्कोट गाउँपालिका ५ धनार्जेमा निकै एउटा घटना घटेको थियो । त्यस गाउँकी अन्दाजी ४२ बषिय महिला सहित उनकी १३ बर्षिया छोरीको सामूहिक बलात्कार पछि विभत्स हत्या गरिएको थियो । त्यस विभत्स हत्याकाण्ड साउन २८ गते मात्रै बाहिर आयो ।

  पवित्र पाण्डे  र उनकी १३ बर्षीया छोरी शिल्पा पाण्डेको हत्या भएको थियो । 
हत्या काण्डामा समातिएका थिए रैनादेवीका जेठा छोरा बिष्णु र कान्छा छोरा हरि थापा ।  कान्छा छोरा हरिलाई घटनाको १७ दिन पछि  २०६५ साल भदौ १२ गते र जेठा छोरा बिष्णुलाई भदौ २५ गते कोटकटेरीस्थि घरबाटै पक्राउ गरिएको थियो  ।

 जिल्ला अदालत गुल्मीले दोषी ठहर गरेर  दुबै भाइ जेल चलान भएका थिए  । दुबै भाइ ११ बर्षदेखि जेलमै छन् ।  रैनादेवी आफ्ना दुबै छोराहरु निर्दोष रहेको दावी गर्दै साविक माओवादी पार्टी, साविक एमाले पार्टी र नेपाली कांग्रेसका नेता गुहार्दै पटक पटक धाइन् । पुनरावेदन अदालतदेखि सर्वोच्च अदालतसम्मको ढोका ढक्ढक्याइन् । तर, माथिल्ला दुई वटै अदालतले जिल्ला अदालतकै फैसला कायम ग–यो ।  तरपनि परिवारले घटनालाई षड्यन्त्र भन्न छाडेको छैन ।  

  सोही प्रकरणलाई छोरा हरीले रोशन थापा उपनामबाट जेल भित्रैबाट ‘निर्दोषीको कथा’ नामक पुस्तक लेखेर आइतबार बिमोचन गरिएको हो । 
 आइतबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा  रैनादेवीले आफ्नो अध्यक्षतामा उक्त पुस्तक नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ईन्द्रप्रसाद अर्यालयद्वारा विमोचन गराएकी हुन् ।

   पुस्तक विमोचन गर्दै  बरिष्ठ अधिबक्ता अर्यालले राजनैतिक प्रतिशोध साँधिए वा अनुसन्धानमा त्रुटि हुन गए यस्ता कतिपय घटनाका आरोपीहरु निर्दोष भएर पनि दोषी ठहर  हुन सक्ने बताए । यस घटनाका आरोपी र उनकी आमा रैनादेवीले  निर्दोष रहेका दावी गर्दै आएका छन् र पुस्तकमा समेत आफूहरुको डिएनए परीक्षण र फिगंर टेष्ट गरि पाउँ भन्ने माग समेत गर्दै आएका छन् ।

   कार्यक्रममा जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली , रेसुङ्घा नगरपालिकाकी उपमेयर सिता भण्डारी, नेपाल कम्युष्टि पार्टी ( नेकपा ) गुल्मीका जिल्ला पार्टी सचिव बीरबहादुर कार्की , नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ लगायतका बक्ताहरुले बोलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप