बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६ दिनदेखि प्रधानमन्त्री अस्पतालमा, कसरी चलेको छ देश ?

सोमबार, २६ फागुन २०७६, ०८ : ०२
सोमबार, २६ फागुन २०७६

काठमाडौँ । मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला अस्पतालको बेडमा उपचाररत छन् । सबै नेपालीले प्रधानमन्त्रीको शीघ्र स्वास्थलाभको कामना गरिरहेका छन् । प्रधानमन्त्री ओलीले शनिबारै फागुन २६ गते सोमबारसम्म आफूलाई अस्पतालबाट डिस्चार्ज गर्न चिकित्सकहरुलाई आग्रह गरिसकेका छन् । राज्य सञ्चालनमा प्रमुख कार्यकारीको भूमिका लामो समय निस्क्रिय नहोस् भनेर नै उनले यस्तो आग्रह गरेको अनुमान गर्न सकिन्छ । तर, चिकित्सकहरुले भने प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिइरहेका छन् ।

मुलुकको कार्यकारी प्रमुख नै अस्पतालमा भर्ना भएको समयमा विश्वव्यापी रुपमा कोरोरा भाइरसको सन्त्रास बढ्न पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमित नपाइए पनि यसको रोकथाम, निगरानी, बजारमा देखिएको कृत्रिम अभावजस्ता विषयलाई प्रभावकारी ढङ्गले सम्बोधन गर्न, नीतिगत निर्णय गर्न प्रमुख कार्यकारीको भूमिका आवश्यक देखिन्छ ।

‘यस्तो बेला सरकार वा देश कसरी चलेको छ त ?’ सर्वसाधारणमा चासो बढ्नु स्वाभाविक हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार सिस्टम र प्रणाली अनुसार नै सरकार र सरकारका काम कारवाही निरन्तर चलिरहेका छन् ।

‘प्रधानमन्त्री अस्पताल भर्ना भएका कारण कुनै पनि काम अवरुद्ध हुन पुगेको छैन । प्रधानमन्त्रीको आवश्यक निर्देशन अनुसार मन्त्रिपरिषद्को टिमले काम गरिरहेको छ,’ प्रमुख सल्लाहकार रिमाल भन्छन्, ‘प्रधानमन्त्री अस्पताल भर्ना हुनु अघिल्लो दिन क्यबिनेट बैठक बसेको थियो । उक्त बैठकले आवश्यक निर्णय र निर्देशनहरु गरिसकेको छ । सबैले आ–आफ्नो जिम्मेवारी अनुसार कामलाई निरन्तरता दिनुभएको छ ।’

त्यसो त प्रधानमन्त्रीभन्दा तल्लो तहमा उपप्रधानमन्त्री, विभागीय मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु छन् । उनीहरुले आ–आफ्नो कार्यक्षेत्रमा आवश्यक निर्णय र निर्देशन गर्न सक्छन् । ‘सोही अनुसार मुख्यसचिवले प्रशासनिक कामको नेतृत्वलाई निरन्तरता दिनुभएको छ भने प्रहरी संगठनले आफ्नो काम गरिरहेको छ’, रिमालको भनाइ छ ।

सल्लाहकार रिमालले मेकानिजम बनेकाले सोही मेकानिजमलाई सबै कर्मचारी, प्रहरी, सेना लगायत राज्यका अङ्गहरुले पालना गरेकाले राज्य सञ्चालन भइरहेको भन्दै तत्काल कुनै निर्णय गर्नुपरे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको समेत बताए ।

‘अहिले समस्याका रुपमा देखिएको कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले उच्चस्तरीय सरकारी समिति गठन गरेको छ । उक्त समितिका संयोजक उपप्रधानमन्त्री हुनुहुन्छ’, रिमालले भने, ‘सो समितिको बैठकसमेत बसेर सावधानीका सबै काम गर्न मातहतका निकायलाई खटाइसकेको छ । मन्त्रिपरिषद बैठक बसेर गर्ने निर्णयबाहेक अन्य कामका लागि सबै संयन्त्रहरुले आ–आफ्नो ढंगबाट काम गरिरहेका छन् ।’

पूर्वप्रशासक भोजराज पोखरेलका अनुसार यसअघिका प्रधानमन्त्रीहरु पनि उपचारका क्रममा अस्पताल बसेका उदाहरणहरु धेरै छन् । ‘सिस्टम अपग्रेड’ भएको खण्डमा छोटो समय प्रधानमन्त्री अस्पताल बस्दा सरकारका कामकारवाही खासै प्रभावित नहुने पोखरेलको अनुभव छ ।

‘प्रधानमन्त्री एक्टिभ भएको अवस्थाजस्तै त नहोला । तर कहिलेकाहीँ विभिन्न कारणले राजनीतिक नेतृत्वको ग्याप हुनसक्छ । यसको अर्थ राज्य नै सुतिहाल्छ कि भन्ने हुँदैन,’ पोखरेलले रातोपाटीसँग भने, ‘राजनीतिक नेतृत्व प्रत्यक्ष संलग्न हुँदाजस्तो प्रभावकारिता नहुनसक्छ ।’

पोखरेलले प्रधानमन्त्री नहुँदा केही खड्केको अवस्थामा सिनियर उपप्रधानमन्त्रीले प्रधानमन्त्रीसँगको सल्लाहका आधारमा निर्णयहरु गर्न सक्ने भन्दै सामान्य अवस्थामा कुनै फरक नपर्ने बताए । ‘अपर्झटबाहेक हाम्रोमा सामान्यतया मन्त्रिपरिषद बैठक एक सातामा बस्ने चलन छ । त्यसका लागि सायद प्रधानमन्त्री त्यो समय पनि मिट गर्न खोज्दै हुनुहुन्छ जस्तो देखिन्छ,’ पोखरेलले भने । सिस्टमको विकास भएको अवस्थामा दैनिक काम नरोकिने उनको भनाइ छ । तर उनले नेपालमा सिस्टमको फलो गर्नुभन्दा अधिकार नै भएपनि कसैको आदेश पर्खने परम्परा रहेकाले त्यस्तो बेलामा केही कठिनाइ हुनसक्ने बताए ।

पोखरेलले यस्तो बेला आपतकालिन मन्त्रिपरिषद बैठक बस्नुपरेमा मन्त्रीहरु सामुहिक रुपमा बसेर साझा दृष्टिकोणसमेत बनाउन सक्ने र पछि प्रधानमन्त्रीले त्यसलाई अनुमोदन गरेका समेत उदाहरण रहेको बताए ।

पूर्व मुख्यसचिव डा. विमल कोइलाला पनि प्रधानमन्त्रीको अनुपस्थितिमा राज्य सञ्चालनमा खासै असर नहुने बताउँछन् । वरिष्ठ मन्त्रीले प्रधानमन्त्रीलाई सोधेर आवश्यक निर्णय गर्न सक्ने भन्दै उनले राज्य सञ्चालनका दैनिक काम बाँकी संयन्त्रले नियमित रुपमा गरिरहने प्रष्ट पारे ।

प्रधानमन्त्रीको अनुपस्थितिमा कसले के गर्ने भन्ने स्पष्ट नभएको भन्दै उनले सामान्यतया वरिष्ठ मन्त्रीले नै प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारका काम कारवाहीको नेतृत्व लिने प्रचलन रहेको बताए ।

नेपालको राजनीतिक इतिहासमा यस्ता घटना यसअघि पनि धेरै पटक भइसकेको उनले बताए । ‘मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला बिरामी हुँदा अस्पताल र विदेशमा रहँदासमेत राज्य सञ्चालन भएका उदाहरण छन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप