शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खेर गयो मेलम्चीमा सीएमसीले छाडेको निर्माण सामग्री

सोमबार, २६ फागुन २०७६, १३ : ५४
सोमबार, २६ फागुन २०७६

–सञ्चिता घिमिरे
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सिएमसिले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो । 

निर्माण कम्पनीले काम गर्न छाडेर जाँदा निर्माणस्थलमा गिट्टी, बालुवा, डण्डीलगायतका निर्माण सामग्री थिए । तीमध्ये गिट्टी र बालुवा प्रयोगमा आए पनि अरु प्रयोगमा ल्याउने अवस्था नरहेको आयोजनाले जनाएको छ । लामो समयसम्म खुला राखिएकाले ठूलो परिमाणमा सिमेन्ट प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए ।

झण्डै रु ७० लाख रकम बराबरको सिमेन्ट बिग्रिएको उनले बताए । उनले भने, ‘अहिलेसम्म निर्माणस्थलमै रहेको सिमेन्टलाई व्यवस्थापन गरिनेछ ।’ यहाँ रहेका फलामका डण्डीमा खिया लागेको छ । यहाँ रहेका डण्डी सिमेन्ट पूरै काम नलाग्ने अवस्थामा पुगिसकेको छैन । विभिन्न किसिमका अस्थायी संरचनामा मात्रै डण्डी प्रयोग गर्न सकिने वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए ।

निर्माणस्थलमा अहिले झण्डै रु ९० लाख बराबरको डण्डी रहेको छ । उनले भने, ‘डण्डी एकडेढ वर्षसम्म उसै रहेकाले खिया लागिसकेको छ ।’ यहाँ रहेको बालुवा र गिट्टी भने प्रयोगमा आइरहेको छ । आयोजनाले अहिले निर्माण गरिरहेको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई बिक्री गरिरहेको छ । त्यहाँबाट आएको रकम सम्बन्धित आपूर्तिकर्तालाई नै दिइएको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । निर्माणस्थलमा एक हजार गाडी बालुवा र गिटी रहेको पाइएको छ । 

एकातिर यहाँ रहेका निर्माण सामग्री खेर गएका छन् भने अर्कातिर सरकारले यी निर्माण सामग्री खरिदबापत सिएमसिले दिन बाँकी भुक्तानी दिन बाँकी छ । खानेपानी मन्त्रालयका सहसचिवको संयोजकत्वमा रकम भुक्तानीका लागि आवश्यक तयारी गर्न प्राविधिक समिति बनाइएको छ । आयोजनामा काम गरेका कामदारलाई ज्यालाबापत दिनुपर्ने रकम दिइसकिएको छ भने सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी बाँकी छ ।   

सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सिएमसिले भुक्तानी गर्न बाँकी रहेको रकम सम्बन्धी माग दाबी भएका आधारमा समितिले आवश्यक अध्ययन गरिरहेको छ । मजदूरलाई ज्यालाबापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ–छैन भनी जाँच भइरहेको छ । सिएमसिले आयोजना अलपत्र छाडेर गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको प्रवक्ता शाक्यले बताए ।

लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरबका आयोजनामा पर्ने यो आयोजनामा रहेका समस्या हल गर्दै असारसम्ममा मेलम्चीको पानी काठमाडौँ झार्ने गरी तयारी भइरहेको छ । मन्त्रालयले असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी गत २ गते श्वेतपत्र जारी गरेको थियो ।

खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालू आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेका थिए । पन्ध्र महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत असोजमा सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । कम्पनीसँग गत असोज १२ मा सुरुङ निर्माणका लागि र  असोज २४ मा हेडबक्स निर्माणको सम्झौता भएको थियो । 

मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ८९ दशमलव सात प्रतिशत रहेको छ । आयोजनाका १४ गेटमध्ये नौ वटा सम्पन्न भइसकेका छन् भने मुख्य सुरुङ्गको अन्तिम काम (फिनिसिङ) ६० प्रतिशत सकिएको छ ।

पानी प्रशोधनका लागि दुईवटा प्रशोधन केन्द्र निर्माण गरिएकामा दुबै सम्पन्न भइसकेका छन् । यीमध्ये एउटा एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा र अर्को जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा निर्माण भएको हो ।

काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या हल गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो । यसबीचमा विभिन्न संस्था यसमा काम गरेर गए । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैँकले सन् २००१ मा सम्झौता भएको थियो ।

पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । पाँच महिनाको अन्यौलतापछि गत असोजमा नयाँ कम्पनी काममा लागेको हो । अहिलेसम्म निर्माणका काममा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु¥याएको आयोजनाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप