शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समाजवादी र राजपा एकीकरण : अनौपचारिक वार्तामा पनि पूर्णविराम

बिहीबार, २९ फागुन २०७६, ११ : ४१
बिहीबार, २९ फागुन २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बीचमा हुने भनिएको एकतामा पूर्णरुपमा ब्रेक लागेको छ । दुई दल बीचमा एकीकरणका लागि नेताहरुको बीच अनौपचारिक कुराकानी बन्द भएको हो ।

पहिला दुई दलको नेताबीच एकीकरणका लागि नियमित छलफल हुन्थ्यो तर अहिले त्यो पनि बन्द भएको छ । समाजवादी पार्टी सरकारमा हुँदा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य तथा वार्ता समितिका संयोजक राजेन्द्र महतोले नियमित वार्ता र छलफल गर्थे ।

छलफलका क्रममा एकीकरणका लागि पार्टीको नाम, झण्डा, पार्टीको कार्यदिशा, राजनीति दस्तावेजलगायतका विषयमा कुरा मिलिसकेको बताइएको थियो । नेताहरुको व्यवस्थापन अर्थात पद बाँडफाँडमा मात्र कुरा मिलेको थिएन । राजपा नेपालले भने समाजवादी पार्टी सरकारबाट बाहिरिए मात्र एकता हुने शर्त अघि सारेको थियो ।

तर, जब समाजवादी पार्टी सरकारबाट बाहिरियो, राजपा नेपालले वार्ता गर्न नै बन्द गर्यो । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले वार्ता बन्द गरेपनि अध्यक्षमण्डल संयोजक महेन्द्र राय यादवले वार्तालाई निरन्तरता दिएका थिए । उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नियमिति छलफल गरिरहेका थिए तर राजपा नेपालमै एकीकरणका लागि कुरा नमिलेपछि अनौपचारिक वार्ता पनि स्थागित भएको बताइएको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक यादवले दुई दलबीच एकीकरण हुने कुरामा आफू विश्वस्त रहेको तर त्यसअघि पार्टीभित्र एकीकरणको बारेमा टुङ्गो लगाउनुपर्ने बताए । ‘एकीकरणका लागि धेरै कुरामा सहमति भइसकेको छ, पद बाँडफाँडमा मात्र सहमति हुन बाँकी छ,’ उनले पार्टीभित्र यस विषयमा छलफल भइरहेको दावी गरे ।

संयोजक यादवले त्यस्तो दावी गरेपनि पार्टीभित्र त्यस्तो कुनै छलफल नभएको राजपा नेपाल अध्यक्षमण्डलका एक सदस्यले बताए ।

राजपा नेपाल अध्यक्षमण्डलमा छजना सदस्य रहेका छन् । सबै जनालाई अध्यक्ष पद नै चाहिएको छ । राजपा नेपाल अध्यक्षमण्डलमा रहेका छजना अध्यक्षमध्ये कोही पनि अध्यक्षभन्दा तल बस्न मानेका छैनन् । जब कि समाजवादी पार्टीले धेरैमा दुई जनालाई मात्र अध्यक्ष दिनसक्छ । समाजवादी पार्टीबाट दुई अध्यक्ष रहने भएपछि राजपा नेपालबाट पनि दुईजना अध्यक्ष राख्नेमा सहमति बन्नसक्छ । तर सबैलाई अध्यक्ष बनाएर जान नसकिने समाजवादी पार्टीले भनिसकेको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई वरियताक्रमको सबभन्दा माथि राख्ने कुरामा समाजवादी पार्टीले मानिसकेको छ । ‘राजपा नेपालले धेरै दवाव दियो भने एकजना थप अध्यक्ष राख्न सकिन्छ । तर छजनालाई नै अध्यक्ष बनाउन सकिँदैन,’ समाजवादी पार्टीका एक नेताले भने । अध्यक्षमण्डलका छजनामध्ये दुईजनालाई अध्यक्ष बनाएपछि बाँकी रहेका चारजनालाई समानजनक पद दिने पनि समाजवादी पार्टीले भनिसकेको छ तर राजपा नेपालका नेताहरुले अध्यक्षभन्दा तल नबस्ने भनेपछि एकता प्रकृयामा ब्रेक लागेको ती नेताले रातोपाटीलाई बताए ।

समाजवादी पार्टीका महासचिव एवम् वार्ता समितिका सदस्य रामसहाय यादवले समाजवादी पार्टी एकताका लागि तयार रहे पनि राजपा नेपाल नै कुनै निर्णय गर्न नसकेको दाबी गरे । उनले भने, ‘नेताहरुको बीचमा छलफल पनि भइरहेको छैन । समाजवादी पार्टी अभियानमा लागेको छ, सबै नेताहरु व्यस्त भएको कारण वार्ता भएको छैन । राजपा नेपालमै समस्या देखिएको छ, पहिला त्यहाँको समस्या समाधान हुनुपर्यो अनि मात्र एकीकरणको प्रकृया अगाडि बढ्छ ।’

समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले समाजवादी पार्टी र राजपा नेपालबीच अहिले कुनै वार्ता वा छलफल नभएको बताउँदै समाजवादी पार्टी तीन महिने अभियानमा व्यस्त भएको कारण नेताहरु बाहिर रहेका कारण अन्य गतिविधिहरु गर्न नपाएको जानकारी दिए । उनले एकीकरणका लागि धेरै कुराहरु अगाडि बढी सकेपनि राजपा नेपालको तर्फबाट ठोस कुरा नआएको कारण एकताको कुरा अगाडि नबढेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप