बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाप्रतिरक्षा : सरकारका गफै ठूला, तयारी भने शून्य

बिहीबार, २९ फागुन २०७६, १३ : १२
बिहीबार, २९ फागुन २०७६

थाह नहुनु जति ढुक्कको कुरा जीवनमा केही नहुँदो रहेछ । हामी आजसम्म कोरोना लागेको थाह नपाएर नै खुसीले गदगद भएका छौँ । कोरोनाकै बारेमा अर्को सुन्दर पक्ष के छ भने हामीसँग कोरोना परीक्षण गर्ने प्रविधि नै छैन । त्यसकारण पनि हामीलाई कोरोना लागेको थाह छैन । 

पहिलो कोरोना सङ्क्रमितको कथा सुन्दा उनी अस्पतालबाट घरसम्म पुग्दासम्म कतिलाई कोरोनाको सङ्क्रमण भयो होला । त्यसको हिसाब किताब नै छैन । कोरोनाका बारेमा सचेतना फैलाउनुपर्ने मान्छेहरुले नै ठूलो हेलचेक्र्याइँ गरिरहेका छन्  । उनीहरुलाई भीडभाडमा जम्मा नहुनू, सभा सम्मेलनमा जम्मा नहुनू भनेर सरकारले गरेको आग्रह मजाक जस्तो लाग्छ । ठूलै निषेधाज्ञा तोडेझैँ गरेर फेसबुकमा फोटो पोस्ट गर्नेहरु प्रायः उद्योगी, व्यवसायी, शिक्षक, कवि, लेखक, कलाकार र पत्रकारहरु नै थिए । यस दिन उनीहरुको फेसबुकमा राखेको चित्रले उनीको चरित्र पनि छर्लङ्ग देखाएको थियो । 

देशका प्रधानमन्त्री यतिबेला बिरामी अवस्थामा छन् । प्रधानमन्त्री तङ्ग्रिएर सामान्य जीवनमा फर्कन सकून् तर उनी जतिको जिम्मेवार व्यक्तिको कारण देश नै रोगको शिकार नबनोस् । यत्रो लामो समय चिकित्सकले आरामको आवश्यकता बताइरहेको बेला कार्यकारी जिम्म पनि नदिएर अस्पतालकै शय्याबाट देश  चलाउनुले यस्तो सङ्क्रमणको समयमा के सन्देश जान्छ । विश्व स्वस्थ्य सङ्गठनले कोरोनालाई महामारीका रूपमा व्याख्या गरिसकेपछि पनि हाम्रो कोरोनाप्रतिको संवेदनशीलता किन शून्य भइरहेको छ ? स्वस्थ्य मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर उनले दिएको गैह्रजिम्मेवार अभिव्यक्ति त हामीले सुनिसकेका नै छौँ । सरकारका अन्य तयारी पनि हामीले नदेखेको होइन । 

कोरोना बारेमा सरकार हावा मान्छेहरुको पछि लागेर पशुपतिको भरोसामा दगुरिरहेको छ । त्यसको तयारीमा लागेको नै छैन । हामीसँग तयारीका लागि यतिका समय हुँदा पनि हामी किन संवेदनशील हुन सकेनौँ ? मुख्य प्रश्न यो हो । मेडिकलहरुमा मास्कको अभाव छ । सिटामोल लगायतका औषधिको अभाव दिनदिनै बढिरहेको छ । कालोबजारीले खाद्य बजारमा राम्रै हमला गरिरहेका छन् । कोरोनाको बारेमा बुझेका धेरै जानकार छैनन् । अस्पतालमा मास्क र एप्रोन नलगाई चेकजाँच गर्ने चिकित्सकको भीड छ । यसले हाम्रो स्वस्थ्य संवेदनशीलता कस्तो छ भनेर बताइरहन नपर्ला । हस्पिटल बाहिर मन्दिर बनाएर भित्र भगवान भरोसामा हुने उपचार पद्धतिले हामीलाई कहाँ पु¥याउला ? 

कोरना सङ्क्रमण र नियन्त्रणका बारेमा हामीले चीन र इटलीलाई उदारणका रूपमा लिन सक्छौँ । चीनले नागरिकहरुलाई घरबाट बाहिर नै निस्कन नदिएर कोरोना नियन्त्रण गर्न सफल भयो । अर्को इटली जसले सुरुमा कसैलाई देखिएको छैन भन्दै हेलचेक्र्याइँ गर्यो । फलस्वरूप करोडौँ जनता कोरोनाको शिकार बन्नुप¥यो । सरकार गम्भीर नहुँदा जनताले कति ठूलो सास्ती बेहोर्नुपर्छ भन्ने कुराको उदारण इटलीभन्दा अर्को कुनै हुनै सक्दैन  । अझै इटलीको स्वास्थ्य अवस्था विश्वमा राम्रै स्थानमा पर्छ । हाम्रा अस्पताल र स्वास्थ्य प्रतिष्ठानको हालत त्योभन्दा धेरै कमजोर छ । 

एउटा सरकारले सभा सम्मेलन नगर्न उर्दी जारी गर्छ । अर्को सरकारको प्रमुख गएर त्यसको उद्घाटन गर्छ । यस्तो संवेदनशील विषयमा पनि एकमत कायम गर्न नसक्नेहरुले सङ्कटको समाधान कसरी गर्न सक्लान ? सभा–सम्मेलन नगर्न कास्की जिल्ला प्रशासलले सूचना जारी ग¥यो । त्यसको पर्सिपल्ट गण्डकी प्रदेशका मुख्यमन्त्रीले हजारौँको सङ्ख्यामा रहेका फुटबलप्रेमीहरुको बीचमा गएर आहा ! रारा गोल्ड कपको उद्घाटन गरे । जिम्मेवार पदमा बसेर गरिएको गैह्रजिम्मेबार हर्कतले चिन्ताको तला मात्र थपिरहन्छ । 

सरकारले क्वारेन्टाइन भनेर राखिएका अस्पतालको अवस्था बुझ्न तपाईं एक पटक पुग्नुभयो भने निराश भएर फर्कनु हुन्छ । टेकु अस्पतालमा गरिएको व्यवहारको बारेमा पनि पहिलो सङ्क्रमितले नै गज्जबसँग बताइसकेका छन् । हरेक जिल्लाको डाटा निकाल्नुस्, कति जना बिरामी बढिरहेका छन् ? स्कुल कलेजमा कति जना विद्यार्थी बिरामी अवस्थामा छन् । अस्पतालहरुमा एक पटक पुग्नुस् र सोध्नुस् कति जना बिरामी सिजनल भाइरलको नाममा अस्पतालमा भर्ना भएका छन् ? कति जना बालबच्चालाई निमोनियाको नाममा अस्पताल भर्ना भएका छन् ? कति जना हाई फिबरका नाममा अस्पताल भर्ना भएका छन् ? तपाईंका नानीबाबुहरु स्कुल जान्छन् भने एक पटक सोध्नुहोस् । कतिजना उनका साथीभाइले रुघा, खोकी र ज्वरोको औषधि खाइरहेका छन् ? कति जना उपचारका लागि अस्पताल भर्ना भइरहेका छन् ?

देशभर अस्पताल र स्कुलहरुबाट डाटा कलेक्सन गरौँ । अनि हाम्रो देशमा कोरोना सङ्क्रमण भयो कि भएन भन्ने कुराको ज्ञान प्राप्त हुन्छ । कम्तीमा नेपालका मुख्य सहरहरुमा कोरोना परीक्षण गर्ने प्रविधि ल्याउने तयारीतर्फ नलाग्ने हो भने अब ढिला भइसक्छ । अब यो देशको सरकारलाई अपर्झट महामारी आयो । यतिका समय हुँदा सामान्य तयारीसम्म नगर्ने सरकार ठूलो गफ गर्न भने कहिल्यै कम गर्दैन । सरकारका उद्योग मन्त्रीले अझै देशमा तीन महिनालाई पुग्ने खाद्यन्न छ भन्ने कुरा ठूलो छाती बनाएर भने उनको घोषण सुनेर एकैछिन रन्थनिएँ । यत्रो समय हुँदा पनि किन हामी त्यो सङ्कट टार्नका लागि तयारी गरिरहेका छैनौँ ? मेडिकल तयारी सँगसँगै हामीले खाद्यन्नको तयारी मुख्य रूपमा गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसको तयारीमा पनि सरकार गम्भीर भएको देख्न सकिँदैन । 

अर्को सबैभन्दा डरलाग्दो कुरा चाहिँ अस्पतालमा कोरोना लागेको बिरामी भनेर पुग्यो भने अस्पतालमा डक्टर र नर्स भागाभाग हुने अवस्था छ । त्यसका लागि स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई काउन्सिलिङको आवश्यकता छ । तयारीका लागि बनाइएका क्वारेन्टाइन खालि गराएर राख्नुपर्ने छ । जिम्मेवार निकायमा बसेका मान्छेलाई गैह्रजिम्मेवार अभिव्यक्ति दिन रोक लगाउन जरुरी छ । जसले जनताको मनोबल उच्च बनाइराख्न सहयोग गर्छ । 

हामीले कोरोना नियन्त्रणका लागि केही गर्न सक्दैनौँ, तयारी केही गर्न पर्दैन ? भन्दै भगवान भरोसा बस्न खोज्नेहरुले नै खासमा देशलाई कोरोनाको जोखिममा पार्न खोजिरहेका छन् । तयारीका लागि हामीसँग यत्रो समय थियो र अझै पनि छ । त्यसका लागि राज्यसँग इच्छाशक्ति हुन जरुरी छ । राज्यको इच्छाशक्तिमा जनताले पनि सहयोग गर्न जरुरी छ । राज्यले जनतालाई कोरोनासँग संवेदनशील बनाउन र सावधानी अपनाउन प्रेरित गर्नुपर्ने आवश्यकता छ । 

तर अहिले सरकार अस्पतालबाट चलिरहेको छ । सरकारका जिम्मेवार पदमा बसेका मान्छेहरुले गैह्रजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् । देशमा आफूलाई शिक्षित भन्ने जनशक्ति कोरोनालाई पशुपतिको शरणमा छाडेर लापरबाही गरिरहेको छ । सरकार र जनताले कोरनालाई यतिकै हलुका हिसाबले बुझ्ने हो भने नेपाललाई महामारीको खतराबाट कसैले रोक्न सक्दैन । समय छ, सचेत बनौँ । गफ होइन, तयारीमा लागौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप