बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक भए प्राइम र कैलाश बैंक, १९ अर्बको पुँजीकोष

बिहीबार, २९ फागुन २०७६, १३ : २५
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । प्राइम बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबार सुरु भएको छ । बिहीबार प्राइम कमर्शियल बैंकको मुख्य कार्यालयमा आयोजित समारोहमा प्राइम बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबारको घोषणा भएको हो । दुई बैंकबीच गत असोज १५ गते मर्जका लागि प्रारम्भिक सम्झौता भएको थियो । सोही सम्झौतालाई बैंकले बिहीबार मूर्त रुप दिएको हो । 

मर्जरपछि प्राइम कमर्शियल बैंकको करिब २०० वटा शाखा कार्यालय पुगेको छ भने करिब १४ अर्ब चुक्ता पुँजीसहित १९ अर्बको पुँजीकोष पुगेको छ । बैंकको पोर्टफोलियो करिब १३० अर्ब रुपैंया पुगेको बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा अध्यक्ष श्रेष्ठले १ र १ जोडेर २ मात्रै नहुने भन्दै सिनर्जी इफेक्ट प्राप्त गरी त्यसलाई ३ बनाउने घोषणा गरे । उनले कैलाश विकास बैंकको प्राप्तिपछि बैंक देशैभर पुगेको भन्दै यसबाट कृषि लगायत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी वृद्धि गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उनले आगामी दिनमा पनि संस्थागत हित र शेयरधनीको लाभांशमा नकारात्मक असर नपर्नेगरी आमामी दिनमा पनि मर्जर र एक्विजिसन गर्ने भन्दै त्यसका लागि ११ औं वार्षिक साधारण सभामार्फत् २२ अर्बको अधिकृत पुँजी पुर्याइसकेको बताए । 

उनले यो बैंक सबैभन्दा कम सञ्चालन खर्च भएको बैंक रहेको समेत बताए । बैंकका सबै पक्षलाई  सन्तुष्ठ बनाउँदै कम सञ्चालन खर्च कायम गर्न सक्नु प्रमुख उपलब्धि भएको समेत उनको दाबी थियो । बैंकले शेयरधनीहरुलाई सँधैं शेयर लाभांश दिने गरेकोले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन सजिलो हुनाका साथै दोस्रो बजारमार्फत् शेयरधनीले उच्च लाभ प्राप्त गर्न सकेको दाबी समेत गरे । 

कैलाश विकास बैंकबाट आउने कर्मचारीप्रति संकेत गर्दै अध्यक्ष श्रेष्ठले तालिम र क्षमता विकास गर्दै उचित जिम्मेवारी दिने आश्वासन समेत दिए ।  

प्राइम कमर्शियल बैंकले यसअघि बन्काई विकास बैंक, ललितपुर फाइनान्स, विराटलक्ष्मी विकास बैंक कन्ट्री डेभलपमेन्ट बैंकलाई आफूमा गाभिसकेको छ । ओम बैंकसँग पनि मर्जरका लागि सहमति भए पनि पछि भाँडिएको थियो । कैलाश विकास बैंकमा १०० कित्ता शेयर हुनेलाई प्राइम कमर्शियल बैंकको ९४ कित्ता शेयर दिनेगरी प्राइमले कैलाशलाई आफूमा गाभेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप