बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

के हो सेल्फ क्वारेन्टाइन ? : कोरोना रोकथामका लागि कसरी सेल्फ क्वारेन्टाइनमा बस्ने ?

शुक्रबार, ३० फागुन २०७६, १६ : ५१
शुक्रबार, ३० फागुन २०७६

आजभोलि हाम्रा लागि एउटा नयाँ शब्दावली परिचित हुन पुगेको छ । त्यो शब्दावली हो ‘सेल्फ क्वारेन्टाइन’ । झन्डै १ महिनादेखि यो शब्द चर्चित बन्न पुगेको हो । यसअघि खासै नसुनिने गरेको यो शब्द चीनको ऊहान शहरबाट कोरोनाभाइरसको संक्रमण फैलिएपछि बढी प्रयोगमा आएको छ ।

हालै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाभाइरसबाट संक्रमित मुलुकबाट स्वदेश फर्किएका नागरिकलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न भनेपछि उनको भनाइको आलोचना पनि भयो । कतिपय वैदेशिक रोजगारीमा गएकाहरुले सरकारले जनतासँग कर लिने, रेमिट्यान्सबाट देश चलाउने अनि विदेशबाट फर्किनेहरुलाई सेल्फ क्वारेन्टाइनमा बस भन्ने भन्दै सामाजिक सञ्जालमा असुन्तुष्टि पनि पोखे । साथै मन्त्री ढकालको सो भनाइलाई लिएर प्रतिनिधि सभाको बैठकमा सांसदहरुले आलोचना समेत गरे । उनीहरुले मन्त्री ढकालको अभिव्यक्ति गैरजिम्मेवार र संक्रमण रोक्न नसक्ने सरकारको तयारीलाई उदांगो पारेको भन्दै आक्रोश पनि पोखे ।


रोग संक्रमण नभएपनि हुन सक्ने आशंकामा आफूले आफैलाई अलग राख्ने विधि नै सेल्फ क्वारेन्टाइन हो । क्वारेन्टाइनमा बसेका बेला रोगसँग मिल्दो जुल्दो लक्षण देखिएमा उसलाई तोकिएको अस्पतालमा उपचारका लागि लानुपर्ने हुन्छ र चिकित्सकको परामर्श लिनुपर्छ ।


सरकारले चीनमा कोरोना संक्रमित स्थानबाट त्यहाँ रहेका १ सय ८६ जना नेपाली विद्यार्थीहरुलाई उद्धार गरी भक्तपुरको खरिपाटीमा १६ दिन क्वारेन्टाइनमा राखेको थियो । त्यसरी राख्नुको कारण उनीहरुमा संक्रमण भएको रहेछ भने पनि अरु मानिसका त्यो भाइरस नसरोस् भनेर सावधानी अपनाउन त्यसो गरिएको थियो । अहिले अध्यागमन विभागले विदेशबाट फर्किएका सबै नागरिकले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने सूचना नै जारी गरेको छ ।


के हो सेल्फ क्वारेन्टाइन ?

आफैले आफैलाई अन्य मानिसहरुसँग सम्पर्क बिना छुट्टै राखेर निगरानी गर्ने प्रक्रिया नै सेल्फ क्वारेन्टाइन हो । यसो गर्नुको कारण कथंकदाचित आफूलाई कुनै रोग संक्रमण भएको रहेछ भने आफू नजिक हुने अरु ब्यक्तिलाई नसरोस् भनेर सावधानी अपनाउने तरिका हो । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन भन्छन्– ‘एउटा छुट्टै स्थानमा, निश्चित समयका लागि छुट्टै बस्ने काम नै सेल्फ क्वारेन्टाइन हो । आफू संक्रमित नभएपनि रोग फैलिएको देश वा स्थानबाट आएको अवस्थामा छुट्टै बसेर लक्षण देखिन्छ कि देखिदैन भनेर हेर्ने काम हो । अन्य मानिसको संसर्गमा जाँदा यदी संक्रमण भएमा अरुलाई सर्न सक्छ कि भनेर होसियारी अपनाउने कामलाई नै सेल्फ क्वारेन्टाइन भनेको हो ।’

कुनै प्रभावित रोगको क्षेत्रबाट फर्किएपछि आफूलाई आफ्ना परिवारका सदस्य र छिमेकीबाट अलग राख्नुपर्ने हुन्छ । रोग प्रभावित क्षेत्रबाट फर्किदा सो रोगले कति समयभित्र रोगको लक्षण देखाउँछ भन्ने आधारमा त्यति दिन छुट्टै बस्ने काम हो । जस्तै कोरोना भाइरसको संक्रमण १४ दिनभित्र देखा पर्ने भएकोले सो भाइरस संक्रमित क्षेत्रबाट फर्किँदा परीक्षणका लागि दुई साता छुट्ट्रै बस्नुपर्ने हुन्छ ।

रोग संक्रमण नभएपनि हुन सक्ने आशंकामा आफूले आफैलाई अलग राख्ने विधि नै सेल्फ क्वारेन्टाइन हो । क्वारेन्टाइनमा बसेका बेला रोगसँग मिल्दो जुल्दो लक्षण देखिएमा उसलाई तोकिएको अस्पतालमा उपचारका लागि लानुपर्ने हुन्छ र चिकित्सकको परामर्श लिनुपर्छ ।

डा. पुन भन्छन्, ‘कोरोना भाइरस पनि अहिलेसम्म अज्ञात अवस्थामा रहेको संक्रमण हो । अहिलेसम्म थाहा नभएको, तीब्र गतिमा फैलिने रोग छ भने त्यस्ता रोगको संक्रमण भएमा वा संक्रमण हुने जोखिम भएमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।’

अहिले पनि कोरोना भाइरस संक्रमण भएको देशबाट फर्किएकाहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । रोगको संक्रमण फैलन नदिने महत्त्वपूर्ण विधि नै सेल्फ क्वारेन्टाइन हो । क्वारेन्टाइनमा बस्दा के गर्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनको यस्तो छ टिप्स :

क्वारेन्टाइनमा बस्दा के गर्ने ?

–          परिवारका सदस्यसँग नजिक गएर कुरा नगर्ने, कम्तिमा ६ फिटको दुरी कायम गरेर बस्ने

–          माक्स लगाउनुपर्छ भन्ने जरुरी छैन, लगाएमा राम्रो हुन्छ

–          छुट्टै बाथरुम प्रयोग गर्ने

–          क्वारेन्टाइन बसेको ब्यक्तिले प्रयोग गरेका सामग्री परिवारका अरु सदस्यले प्रयोग नगर्ने

–          संक्रमित रोगहरुका लागि फरक–फरक समयको क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । कोरोना भाइरसको लागि १४ दिन बस्नुपर्छ

–          जथाभावी हिँडडुल तथा भ्रमण नगर्ने, सार्वजनिक सवारी साधन प्रयोग नगर्ने

–          बेला–बेला शरिरको तापक्रम लिने

–          संक्रमणको लक्षण देखिएमा तोकिएको स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्ने 

–          १४ दिनसम्म बस्दा पनि कुनै लक्षण देखिएन भने संक्रमण नभएको बुझ्नुपर्छ

–          क्वारेन्टाइनमा बस्ने भन्दैमा भाइरसको संक्रमण फैलिएको बुझ्नु हुँदैन, उच्च मनोबल बनाउनुपर्छ, सरसफाइमा विषेश ध्यान दिनुपर्छ

सरकारले भनेको के हो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै विदेशबाट आउने प्रत्येक ब्यक्तिले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने बताएका थिए । उनको भनाइको अर्थ थियो कोरोना भाइरस संक्रमण भएका देशबाट फर्कनेलाई सरकारले पहिलेजस्तै क्वारेन्टाइनमा राख्न सक्दैन । उनले सेल्फ क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएमा मात्र सरकारले सम्पूर्ण जिम्मा लिएर निःशुल्क उपचार गर्ने बताएका थिए ।

भाइरसको संक्रमणको आशंकामा र विदेशबाट फर्किनेलाई क्वारेन्टाइनमा राख्ने हो भने स्रोत साधनले नभ्याउने देखेर सरकारले त्यस्तो निर्णय गरेको हुनुपर्छ । सरकारले चीनको ऊहानबाट उद्धार गरेर ल्याएका १ सय ८६ जना बाहेक पनि धेरै संख्यामा चीनबाट नेपाली स्वदेश फर्किएका थिए । उनीहरु १४ दिन परिवारका सदस्यसँग नभेटी छुट्टै कोठामा बसेका थिए । साथै अन्य विभिन्न देशबाट फर्किएकाहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने भाइरस संक्रमणसँग मिल्दो जुल्दो लक्षण देखिएकाहरुको अस्पतालमा स्वास्थ्य परीक्षणका गर्नुका साथै छुट्टै वार्डमा राखेर उपचारको काम पनि भइरहेको छ ।

बिहिबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपलाई महामारी घोषणा गरेपछि सरकारले थप सर्तकता अपनाउने निर्णय गरेको छ । कोरोना भाइरसप्रति थप सचेत हुँदै संक्रमितलाई प्रवेश नदिन तथा नेपाल आएका विदेशीले १४ दिन ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने सरकारले निर्णय गरेको छ ।  विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भाइरस संक्रमित स्थानमा रहेको व्यक्तिले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्दछ ।  

सरकारले यसअघि नै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समिति बनाइसकेको छ । सरकारले बैशाख १८ गतेसम्मका लागि अनअराइभल भिसा स्थगित गरेको भने नेपाल प्रवेश गर्ने विदेशीले पछिल्लो ७ दिन अवधिमा स्वास्थ्य जाँच गरेर स्वस्थ भएको प्रमाणपत्र लिएकालाई मात्र नेपाल प्रवेश दिने निर्णय गरेको छ ।  अर्को सूचना नआएसम्मका लागि बैदेशिक रोजगारीको श्रम स्वीकृति स्थगित गरेको छ । विदेशमा रहेका नेपालीलाई अत्यावश्यक काम बाहेक यात्रा नगर्न भनेको छ । 

काठमाडौं उपत्यकामा आवश्यकताअनुसार आइसोलेशन कक्ष र आइसियू कक्ष स्थापना गर्ने र हरेक प्रदेशमा कम्तिमा एक–एकवटा यस्ता कक्षको विकास गर्ने निर्णय गरेको छ । 

यस्तै, सरकारले नेपाल भारतसँग सीमा जोडिएका नाकाहरुमा पनि हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षणपछि मात्र नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । काठमाडौमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, वीर अस्पताल लगायतमा ‘आइसोलेशन वार्ड’ बनाएर कोरोना संक्रमितका लागि उपचार गर्ने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप