बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतिबन्धको एकवर्षमा विप्लव नेतृत्वको नेकपाको लाल-पत्र: पार्टी झन् शक्तिशाली बन्यो

भूमाफिया, शिक्षा र स्वास्थ्यक्षेत्रका व्यापारी र कमिसनखोर कर्मचारीलाई जनकारवाही गर्ने चेतावनी
शुक्रबार, ३० फागुन २०७६, २२ : ३८
शुक्रबार, ३० फागुन २०७६

काठमाडौं ।  विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको बुधबार एक वर्ष पूरा भयो । सरकारले प्रतिबन्ध लगाएको एक वर्षमा नेकपामा आवद्ध धेरै नेता तथा कार्यकर्ताहरु गिरफ्तार भए भने केहीको फौजी कारवाहीका क्रममा ज्यानसमेत गयो । 
यसै सन्दर्भमा विप्लव नेतृत्वको नेकपाको राप्ती ब्यूरोले बुधबार जारी गरेको लाल–पत्र रातोपार्टीलाई प्राप्त भएको छ ।  सरकारले निकाल्ने स्वेतपत्रकै शैलीमा विप्लव माओवादीको राप्ती ब्यूरोले लालपत्र निकाल्दै आफूहरु झनै शक्तिशाली र क्रान्तिकारी बनेको दाबी गरेको छ । 

यसका साथै उसले आफ्नो जनकारवाहीलाई अब थप तीब्रता दिने चेतावानीसमेत दिएको छ ।  यस्तो छ, विप्लव माओवादीको राप्ती ब्यूरोले जारी गरेको लाल–पत्र ।

नेपाल कम्युनिष्ट पार्टी
राप्ती ब्यूरो
‘लाल–पत्र’
आदरणीय जनसमुदाय,

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले नेपालको विद्यमान संसदीय राज्य व्यवस्थाको विरुद्ध वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापनार्थ ‘‘एकीकृत जनक्रान्ति’’को नवीनतम कार्यदिशाको प्रयोगसहित अघि वढिरहेको छ । नेपाली राजनैतिक आन्दोलन र संसदीय व्यवस्थाको इतिहासमा केपी नेतृत्वको समाजिक दलाल सरकार सर्वाधिक संकट र जनबिरोधी हर्कतका कारण चौतर्फी आलोचना, घृणा र तिरस्कारको शिकार बनेको छ । आफ्ना विदेशी मालिकहरुको आशिर्वाद तथा सहयोगमा सम्पन्न गरिएको संसदीय तथा स्थानीय निर्वाचनको नौटङ्कीमार्फत अगाडी आएका संसदीय तथा स्थानीय कथित जनप्रतिनिधिहरु वैदेशिक शक्ति केन्द्रका भाडाका टट्टु र आज्ञाकारी कारिन्दा बनेका छन् ।

आज देशको व्यापार घाटा र वैदेशिक ऋण निकै डरलाग्दो रूपमा बृद्धि भैरहेको छ । बेरोजगार युवाहरू विश्वका अधिकांश मुलुकमा सस्तो श्रम बेच्न बाध्य पारिएका छन् । स्वास्थ्य क्षेत्रमा निजीकरण र माफियाकरणका कारण सामान्य झाडापखाला र क्षयरोगका कारण वार्षिक ८–१० हजार मानिसहारुको मृत्यु भैरहेको छ । शैक्षिक संस्थाहरु बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्रीका रूपमा केन्द्रित हुन पुगेका छन् । लागुऔषध दुव्र्यसनीले सिङ्गो नेपाली समाजलाई गिजोल्दै लगिरहेको छ । सामाजिक विकृति र बिसङ्गतिले सिमा नाघिसकेको छ । 

महङ्गी, हत्या, हिंसा तथा वेलगाम सबैतिर वृद्धि गरिएका कर प्रणालीले जनतालाई आजित तुल्याएको छ । राज्यसत्ता अन्तर्गत सरकार सम्हाल्न पुगेका कथित केन्द्रीय तथा स्थानीय जनप्रतिनिधिहरु यो समस्याहरको समाधान गर्न त परै जाओस् बरु राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसनखोर लगायतका दर्जनौं काण्डहरुमा मुछिन पुगेका छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका हजारौं हेक्टर जमिन भारतीय साम्राज्यवादले आफ्नो देशको नक्सामा समावेश गर्दा मौसमी राष्ट्रवादको मुखुण्डो धारी केपी सरकार मुखमा पट्टि बाँधेर बसेको छ भने त्यसको विरुद्धमा आन्दोलन गर्ने देशभक्त क्रान्तिकारी हरुका विरुद्ध निर्ममतापूर्वक दमन सञ्चालन गरिरहेको छ । 

राष्ट्रको करोडौं बजेट दुरुपयोग गर्दै वर्तमान प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहकै शैलीमा आफ्नो फोटो प्रचार गर्न जन्मदिन मनाउने तथा विभिन्न शीर्षक उप–शीर्षकहरुमा आफ्नो नेता कार्यकर्तालाई करोडौं रकम वितरण गरेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को कागजी नारा ‘कंगाल नेपाल, दुखी नेपाली’ को तितो सत्यको व्यवहारिक रुपमा अभिव्यक्त हुन पुगेको छ । आफूलाई कम्युनिस्ट बताउने सरकारको नेतृत्व गरिरहेका नेताहरुको न कम्युनिस्ट चरित्र छ न त उनीहरुले सञ्चालन गरिरहेको सरकार नै कम्युनिस्ट भन्न लायक छ । उनीहरुले आफ्ना विदेशी प्रभुसामु आफूहरु कम्युनिस्ट नभएको, प्रजातान्त्रिक पद्धतिमा आएको, संसदीय व्यवस्था स्वीकार गरेको र नाम मात्र कम्युनिस्ट भएको लाज घिन पचाएर बयान गर्छन् । यता जनतालाई भने आफूहरु कम्युनिस्ट भएको जामा भिरेर, भ्रम दिएर जनतामाथि शोषण र दमन थोपर्न पुगेका छन् । उनीहरुले चौतर्फी स्याल हुइया चलाएका छन् कि देश विकासमा कायापलट भयो, समाजवाद आयो । तर तथ्य र तथ्याङ्कहरुले के सावित गरेका छन् कि आर्थिक वर्ष २०७६–७७ को साधारण खर्च बितेका ८ महिनामा १५–२० प्रतिशत मात्र खर्च भएको छ ।

आदरणीय जनसमुदाय,
राष्ट्र र जनताका यिनै विद्यमान विकराल समस्याको समाधानार्थ हाम्रो पार्टीले विद्यमान राज्यसत्ताका विरुद्ध संघर्ष गरिरहेको छ । हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ कि विद्यमान यी समस्याहरु संसदीय राज्यव्यवस्थाका उपज हुन र यसको समाधान केवल वैज्ञानिक समाजवादी राज्यसत्ताद्वारा मात्र सम्भव छ । वैज्ञानिक समाजवादी राज्यसत्तामा जनताका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार र मनोरञ्जन ग्यारेन्टी हुनेछ । राष्ट्रघात, जनघात, भ्रष्टाचार र कमिसन तन्त्रका विरुद्ध वैज्ञानिक समाजवादी राज्यसत्ताले कठोर र निर्मम कदम चाल्ने छ । राष्ट्र एवं जनता वास्तविक शान्ति र स्वाधिनतासहित समृद्धिको पथमा लम्कने छन्  ।

 हाम्रा छिमेकी मुलुक चीन र भारत क्रमशः जापान र बेलायतका उपनिवेश बनाइए तर हाम्रो मुलुक पिता–पुर्खाहरुको वीरताका कारण कसैको पनि उपनिवेश बनेन । आज हाम्रा छिमेकी मित्र राष्ट्रहरु विकासका दृष्टिले निकै अघि बढेका छन् । तर हाम्रो अवस्था नवऔपनिवेशिक रहेको छ । सामाजिक दलालका प्रतिनिधिहरु ‘हाम्रो देश गरिव र निर्धन छ, तसर्थ वैदेशिक सहयोगबिना देशको विकास असम्भव छ’ भनिरहेका छन् । के यो कुरा साचो हो त ? हाम्रो निष्कर्ष के छ भने देश विकासको पूर्वाधारका रुपमा रहेका जलश्रोत, वनजङ्गल, जडिबुटी, जमिन र जनशक्तिको सही सदुपयोग गर्न सक्दा हाम्रो देश छोटो समयमा समृद्ध मुलुकमा प्रवेश गर्नेछ र विकसित राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ । हाम्रा यिनै विचार, उद्धेश्यहरु आम जनतामा पुर्याउन हाम्रो पार्टीले विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ । 

हाम्रो पार्टीको सचेततापूर्ण अभियान, पार्टीले दिनप्रतिदिन प्राप्त गर्दै गरेको लोकप्रियता र राजनैतिक उचाई र जनप्रेमबाट आतङ्कित भएर अत्तालिएको केपी नेतृत्वको सामाजिक दलाल सरकारले हाम्रो पार्टीविरुद्ध थोपरेको कथित प्रतिबन्धले एक वर्ष पूरा गरेको छ । सामाजिक दलाल वर्गद्वारा नेतृत्व गरिएको सरकारले बितेका एक वर्षमा चौतर्फी आलोचना र घृणाको सामना गर्नुपरेको छ । प्रतिबन्धसँगै उनीहरुले घोषणा गरेका थिए कि नेकपालाई एक महिनामा पत्तासाफ गरिनेछ । नेकपालाई सहयोग गर्ने सहयोगीहरुलाई समेत कारवाहीको दायरामा लिइनेछ, उनीहरुका जनबिरोधी हर्कतका विरुद्ध ने.क.पा.ले सामाजिक दलाल सरकार विरुद्ध प्रतिबन्धको घोषणा ग¥यो । 

यसबीचमा उनीहरुले आफ्ना फौजी गतिविधिहरु व्यापक बनाए जस अन्तर्गत भोजपुरका क.निरकुमार राई र तीर्थराज घिमिरे तथा सर्लाहीमा कुमार पौडेललाई गोली हानी हत्या गरियो र दोहोरो भिडन्तको हल्ला चलायो । उहाँहरु क्रमशः सोलुखुम्बु सेक्रेटरी, युवा संगठनको भोजपुर जिल्ला सदस्य र सर्लाही जिल्लाको इन्चार्जको जिम्मेवारीमा रहनुभएको थियो । यसका साथै देशब्यापीरूपमा झन्डै २ हजार नेता कार्यकर्ताको गिरफ्तारीका साथै दर्जनौं अप्रेशन, अभियानहरु सञ्चालन गरे । उनीहरुको दमनका विरुद्ध प्रतिरोध संघर्षका साथै हाम्रो पार्टीका तर्फबाट मुख्यतः राजनैतिक तथा संगठनात्मक अभियान मार्फत जनसम्बन्ध सुदृढ गर्ने अभियानहरु अगाडि बढाइयो । उक्त अभियानको दौरान थुप्रै योद्धाहरु आन्तरिक दुर्घटनाका कारण सहादत र घाइते बन्न पुगेका छन् । प्रतिबन्धको कथित फौजी योजनाका विरुद्ध सन्चालन गरिएका राजनैतिक तथा साहसिक प्रतिरोध अभियानहरुले हाम्रो पार्टीलाई एउटा शक्तिशाली र क्रान्तिकारी पार्टीको रूपमा स्थापित गर्न मद्दत गरेको छ ।

आदरणीय जनसमुदाय,
कथित प्रतिबन्धपछि सञ्चालन गरिएका दमन, प्रतिरोध र पुनः प्रतिबन्धका राष्ट्रिय राजनैतिक परिदृश्यमा राप्ती ब्यूरोले पनि आफूलाई आजको सापेक्षतामा संघर्षका विभिन्न मोर्चाहरुमा समाहित गर्न पुगेको छ । राप्ती क्षेत्रमा भएका विभिन्न प्रतिरोध संघर्षहरुले केन्द्रीय र स्थानीय शासकहरुको निद–हराम गरेको छ । यसबीचमा राप्ती क्षेत्रमा झन्डै १ सय ५० जना नेता–कार्यकर्ता गिरफ्तार गरिएका छन् । ती नेता कार्यकर्ताहरु न्यायलयको क्षेत्रबाट मुक्त भइ अधिकांश पार्टीको कामकाजमा जोडिएका छन् । 

राप्ती क्षेत्र जनयुद्धकालको केन्द्रीय आधार इलाका हो । जहाँको प्रत्येक गाउँ बस्ती, खोला–नाला र डाँडाकाँडाहरु सहिदहरुको रगतले सिञ्चित भएको छ । आज राप्ती क्षेत्रले आफ्नै आँखा अगाडि देखिएको र भोगेको गद्दारी र प्रतिक्रान्तिलाई दुत्कार्दै पुनः एकीकृत जनक्रान्तिमा समर्पित बन्ने प्रक्रियाको थालनी गरेको छ । इतिहासका तथ्यहरुले साबित गरेको यो कुरामा हामी स्पष्ट र दृढ छौँ कि कुनै पनि राजनैतिक क्रान्तिका विरुद्ध खडा हुने शासकहरु हरेक क्रान्तिको मशालले भस्म खरानी हुने गरेका छन् । तसर्थ दलाल संसदीय व्यवस्था, सामाजिक दलालहरुद्वारा नेतृत्व गरिएको केपी नेतृत्वको सरकार नेपाल कम्युनिस्ट पार्टीद्वारा अघि बढाइएको एकीकृत जनक्रान्तिले इतिहासमा नामो निशान मेटिने गरि ध्वस्त पार्नेछ र नेपाल वैज्ञानिक समाजवादी मुलुकमा रुपान्तरण हुनेछ । 

केपी नेतृत्वको सरकारले हाम्रो पार्टीको विरुद्ध लगाएको कथित प्रतिबन्ध एक वर्ष पुगेको सन्दर्भमा सामाजिक दलाल सरकारका विरुद्ध प्रतिरोध र समाज सुधारको क्षेत्रमा आंशिक क्रान्तिको लागि राप्ती क्षेत्रमा क्रियाशील विभिन्न सरोकारवाला संघ–संस्था, आम जनसमुदाय र दलाल सरकारको प्रदेश तथा स्थानीय निकायहरुमा जानकारी एवं कार्यान्वयनको लागि यो लाल पत्र जारी गरिएको छ ।

१. अरबौ कर छली गर्ने लुटेरा दुरसञ्चार प्रदायक कम्पनी एनसेलका सिम कार्ड र रिचार्ड कार्ड आयत–निर्यात बिक्री–वितरणमा प्रतिबन्ध गर्दै आम जनसमुदायमा प्रयोग नगर्न हाम्रो पार्टी विशेष अनुरोध गर्दछ ।

२. कथित लघुबित्तीय संस्था र माइक्रोफाइनान्सका नाममा जनता लुट्ने र मार्ने सम्पूर्ण संस्थाहरुलाई प्रतिबन्ध गर्दै आमकिसान मजदुरलाइ ऋण (कर्जा) नतिर्न हार्दिक अपिलका साथै जनताको बचत रकम तुरुन्त स–सम्मान फिर्ता गर्न सम्बन्धित वित्तीय संस्थालाइ हाम्रो पार्टी चेतावानीमूलक निर्देशन गर्दछ ।

३. लागुऔषध दुव्र्यसनले समाजलाई दिनप्रतिदिन विकृत, विघटित र अपराधिकरण पार्दै लगिरहेकाले लागुपदार्थको प्रयोग तथा बिक्री वितरण नगर्न नगराउन सबैमा हाम्रो पार्टी आग्रह गर्दछ ।
४. सोझा साझा जनतालाइ गरिबी, आर्थिक अभाव, बेरोजगारी र अशिक्षाको फाइदा उठाउँदै विभिन्न प्रलोभन तथा झुटो आश्वासन दिएर नेटवर्किङ व्यापारमा संलग्न गराइ ठग्ने गरेकोले त्यस्ता कम्पनीलाई आगामी दिनमा उक्त रवैया बन्द गरि विविध कारण सो कार्यमा लागेका दाजुभाई तथा दिदीबहिनीलाई उक्त कार्यमा संलग्न नहुन सुसूचित गर्दै सदस्य बनाउने नाममा असुलिएको सम्पूर्ण रकम क्षतिपूर्ति सहित फिर्ता गर्न सम्बन्धित निकायलाइ हाम्रो पार्टी निर्देश गर्दछ ।

५. मजबुरीमा पारेर वा परेर चर्को व्याजमा ऋण प्रवाह गरि बेघरबार बनाउने सुदखोर, मिटर–व्याजी, साहु–महाजनलाई यस्तो कार्य नगर्न र नगराउन चेतावनी दिनुका साथै जो–जस्को छिनुवा पासका नाममा लिइएका घर जग्गा धन सम्पत्ती अविलम्ब फिर्ता गर्न र चर्को ब्याजदरमा लिएको ऋण नतिर्न हाम्रो पार्टी सबैमा अनुरोध गर्दछ ।

६. कथित जनप्रतिनिधि भनिने दलाल सत्ताका मतियारका रुपमा केन्द्रदेखि स्थानीय सम्म क्रियाशील तिनका निर्माण कम्पनी, निर्माण सामाग्री र उनीहरुद्वारा निर्देशित उपभोक्ता समितिलाई तत्काल खारेज गर्न हाम्रो पार्टी सुसूचित गर्दछ ।

७. भारतीय नम्बर प्लेटका सवारी साधन तथा चलचित्रमा पूर्णरुपमा रोक लगाएको हाम्रो पार्टी घोषणा गर्दछ ।

८. कालोबजारी गर्ने, उपभोक्ता ठग्ने, खोला–नाला तथा काठ चोरी–पैठारी, तस्करी गर्ने लगायतका अवैध कार्य गर्ने कथित उद्योगी, व्यापारी र समयमा काम सम्पन्न नगर्ने र गरे पनि गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई बहिस्कार गर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।

९. विभिन्न नाममा धर्म–सस्कार, संस्कृति र समाजविरोधी, व्यापारिक प्रयोजनमा गरिने मेला–महोत्सव र महायज्ञ नगर्न र नगराउन सम्बन्धित निकायलाई हाम्रो पार्टी सुसूचित गर्दछ ।

१०. जनसत्ताको नीति नियम र अनुमति बेगर संञलित एनजिओ तथा आइएनजिओलाई प्रतिबन्धित गरिएको छ ।

११.गुण्डागर्दी, जुवातास, जाँडरक्सी, बाल तथा बहु विवाह, यौन–व्यभिचार, मानव तस्कर,ि ढुकुटी लगायत सामाजिक अपराधका मुलकारक भएको हुँदा त्यस्ता कार्य नगर्न–नगराउन सबैमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।

१२. ज्यानमारा विषालु रक्सी उत्पादन, बिक्री वितरण तथा उपभोग नगर्न–नगराउन हाम्रो पार्टी सुसूचित गर्दछ ।

१३. कृषि, पर्यावरणको खिलाप जग्गा जमिन खण्डिकरण गर्ने, शिक्षा र स्वास्थ्य जस्तो सेवाको क्षेत्रमा व्यापारिकरण गर्ने, जनसेवाका काममा विलम्ब गर्ने कर्मचारी लगायतका भुमाफिया, शैक्षिक माफिया, स्वास्थ्य माफिया कमिसनखोरलाई जनपरिषद्को केन्द्रीय नीतिअनुरुप जनकारवाही गरिने छ ।

२०७६ फागुन २८

समर
इन्चार्ज 

                              
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप