केन्द्रीय संस्करण
कोरोनाभाइरस

कोरोनाबाट बच्ने उपाय र उपचार

person explore access_timeचैत १, २०७६ chat_bubble_outline0

कोरोनाभाइरसले जनमानसमा डर त्रास फैलाएको अनुभव भएको छ । यो रोगबारे हामी सबैमा सही ज्ञान पनि हुनु आवश्यक छ । यो रोगको सङ्क्रमण देखापरेको व्यक्ति र अन्य सबैले उचित सल्लाह समयमा नै पाएमा यो रोगले भयानक रूपसमेत लिन पाउँदैन ।

कोभिड–१९ (कोरोना) अरू रुघाखोकी जस्तै एक किसिमको रुघाखोकी, फ्लु वा इन्फ्लुएन्जा नै हो ।  फ्लुलाई इन्फ्लुएन्जा पनि भनिन्छ जुन एक किसिमको भाइरसले गर्दा लाग्ने रोग हो । इन्फ्लुएन्जा गराउने भाइरस पनि तीन किसिमका हुन्छन् । ती हुन् इन्फ्लुएन्जा भाइरस ए, बी र सी । यी भाइरसको विशेषता फरक फरक हुन्छ । इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण चरा चुरुङ्गी, सुँगुर, घोडा, अन्य जनावर लगायत मानिसमा पनि हुन्छ ।

यस्तो भाइरसको सङ्क्रमण फैलियो भने कुनै निश्चित ठाउँमा मात्र नभई संसारभरि नै फैलिन सक्छ । इन्फ्लुएन्जा बी भाइरस चाहिँ मानिसमा मात्र सङ्क्रमण गराउने खालको हुन्छ, जसले संसारभर महामारी गराउन सक्दैन । त्यस्तै, इन्फ्लुएन्जा सी भाइरसले साधारण खालका समस्या मात्र गराउँछ । केही व्यक्तिमा लक्षणविहीन सङ्क्रमणसमेत हुन्छ ।

यसबाट हामीले के कुरा बुझ्न सकिन्छ भने धेरै किसिमका भाइरसका समूहहरु मध्ये इन्फ्लुएन्जा ए भाइरस सबैभन्दा खतरनाक भाइरस हो । इन्फ्लुएन्जा ए भाइरसका पनि विभिन्न उपप्रकार रहेका छन् । यसको  बाहिरी भागमा मुख्य २ किसिमका प्रोटिन हुन्छन् । जसलाई एच र एन भनिन्छ । यही प्रोटिन तत्त्वकै आधारमा नामकरण गरिएको हुन्छ । जस्तैः एच ५ एन १, एच १ एन १ आदि ।

चिनको उहान राज्यमा २७ डिसेम्बर २०१९ मा देखापरेको कोरोना भाइरसको समूहभित्र पर्ने एक नयाँ भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रूप लिएको छ । यो एउटा असाध्य सङ्क्रामक रोग हो । यसले श्वासप्रश्वास प्रणाली र त्यससँग सम्बन्धित विभिन्न अङ्गलाई असर पार्ने गर्दछ ।

कहिलेकाहीँ पाचन प्रणालीलाई पनि असर पार्छ भने शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई समेत असर पार्छ, मिर्गौलामा क्षति पु¥याउँछ र मृत्यु गराउँछ । यो भाइरसले प्रसारण हुने क्रममा आफ्ना विशेषताहरुलाई परिवर्तन गर्दै लैजाने र नयाँ भाइरसको रूपमा वृद्धि विकास हुने भएकोले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले यो नयाँ भाइरसलाई पहिचान गर्न नसक्दा रोगविरुद्ध लड्ने क्षमतामा कमी आउँछ । उक्त क्षमता बढ्न केही समय लाग्ने भएकाले यो भाइरसले मानिसलाई मृत्युको मुखमा पु¥याउने गरेको हो ।

इन्फ्लुएन्जाको इतिहास

कोरोना भाइरस वा फ्लु जस्ता सङ्क्रमणको महामारी कहिले, कहाँ, कसरी भयो र कति मानिसको मृत्यु भएको इतिहास छ त भन्ने सम्बन्धमा चर्चा गर्न सान्दर्भिक हुनेछ । फ्लुका विभिन्न उपप्रकारमध्ये एच१ एन१ सबैभन्दा बढी सङ्क्रमित छ । यो भाइरसले सुँगुर (स्वाइन) जातिमा असर गर्ने भए पनि मानिसमा समेत यो भाइरस सर्दा संसारभरि नै स्वाइन फ्लुको महामारी फैलिएको थियो । सन् १९१८–१९१९ मा फ्लुको विश्वव्यापी महामारी भएको र यसलाई स्पेनिस फ्लु भनियो ।

त्यतिबेला पहिलो विश्वयुद्धमा भन्दा धेरै मानिस अर्थात ४ करोड मानिसको मृत्यु यस रोगले गराएको हुँदा यसलाई पर्पल डेथ पनि भनियो । त्यस्तै, सन् १९५७–१९५८ मा ४० लाख मानिसको मृत्यु भएको, सन् १९६८–६९ मा १० लाखको मृत्यु भएको र २००९–२०१० को विश्वव्यापी महामारीमा लगभग २ लाख ५० हजार मानिसको मृत्यु भएको थियो । यसरी मानिसले यो रोगबाट बाँच्ने उपाय अबलम्बन गर्न थालेपछि यो रोगबाट मृत्यु हुनेको सङ्ख्या घट्दै गएको पाइन्छ ।

कोभिड–१९ सर्ने तरिका

कोभिड–१९ (कोरोना) कसरी फैलिन्छ वा सर्छ त भन्ने सम्बन्धमा सबैले विस्तृत रूपमा बुझ्न जरुरी छ । यो रोगको सङ्क्रमण प्रायः मानिसबाहेक अन्य प्राणीमा देखिन्छ । सामान्य लक्षण देखिई आफै निको भएर जाने वा कम मात्रामा मृत्यु गराउँछ भने मानिसमा सरेमा यो रोगले भयानक रूप लिई महामारी हुने गर्दछ । श्वासप्रश्वास प्रक्रियाद्वारा फैलिने यो रोग सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा र श्वास फेर्दा निस्कने थुकका साना ठूला छिटा वा कणसँगै यो रोगका भाइरस पनि निस्कन्छन् र अरू व्यक्तिले श्वास फेर्दा उनीहरुको श्वास प्रश्वास प्रणालीमार्फत शरीरमा प्रवेश गर्छन् । यति मात्र होइन कि यस्तो रोगबाट सङ्क्रमित व्यक्ति तथा अन्य वस्तुलाई हातले छोएपछि साबुन पानीले नधोई हातले आँखा, नाक, मुख छुँदा पनि त्यो भाइरस हाम्रो शरीरभित्र प्रवेश गर्दछ । त्यस्तै, हात मिलाउँदा, अङ्कमाल गर्दा, सँगै बसउठ गर्दा, सँगै सुत्दा, जुठो खाँदा, एउटै रुमाल वा लत्ताकपडा प्रयोग गर्दा पनि सर्न सक्छ ।

कोभिड–१९ का लक्षण

सुरुमा रुघाखोकीकै जस्ता लक्षण र चिन्हहरु देखापर्छन् । जस्तैः टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, नाक बग्ने र बन्द हुने, घाँटी दुख्ने, हाछ्युँ आउने, आँखा रातो हुने, शरीर दुख्ने, आँसु आउने, मांसपेसी दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, वाक वाक लाग्ने, वान्ता आउने, सुक्खा खोकी लाग्ने, सास फेर्न कठिन हुने, निमोनियाका लक्षण देखापर्ने आदि ।

कोभिड–१९ रोगका भाइरसले सङ्क्रमण गराएको १ देखि ७ दिनभित्र लक्षणहरु देखिन थाल्छन् र लक्षण देखिएको २४ घण्टा पहिल्यैदेखि लिएर ८ दिनपछिसम्म पनि सङ्क्रमित व्यक्तिले अरूलाई रोग सार्ने काम गरिरहेको हुन्छ । त्यसकारण यो रोगको सर्ने दर अन्य रोगको भन्दा निकै बढी छ । कोभिड १९ भएमा केकस्ता लक्षण देखापर्दछन् भन्ने जिज्ञासाको सन्दर्भमा कुरा गर्दा यो रोग लाग्दा सुरुमा रुघाखोकीकै जस्ता लक्षण र चिन्हहरु देखापर्छन् ।

जस्तैः टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, नाक बग्ने र बन्द हुने, घाँटी दुख्ने, हाछ्युँ आउने, आँखा रातो हुने, शरीर दुख्ने, आँसु आउने, मांसपेसी दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, वाक वाक लाग्ने, वान्ता आउने, सुक्खा खोकी लाग्ने, सास फेर्न कठिन हुने, निमोनियाका लक्षण देखापर्ने आदि ।

बढी प्रभावित हुनसक्ने व्यक्ति

यस रोगमा रुघाखोकी लाग्दा जस्तै लक्षणहरु देखिए पनि यो रोगका भाइरसले शरीरको रोगविरुद्ध लड्ने क्षमतामा कमी ल्याउने र सामान्य लक्षणहरु जटिल बन्दै जाने अवस्थाको सिर्जना गराउँछन् । मुख्यतः अलि कडा खालको समस्या निम्तिन सक्ने वा सबैभन्दा बढी प्रभावित हुने व्यक्ति ५ वर्षमुनिका बच्चा, ६५ वर्षभन्दा माथिका व्यक्ति, गर्भवती, मधुमेहका रोगी, श्वास प्रश्वाससम्बन्धी रोग भएका व्यक्ति, मुटु, कलेजो, मिर्गौला कमजोर भएका व्यक्ति आदिमा कहिलेकाहीँ यो रोग जटिलतातर्फ गई व्यक्तिको मृत्युसमेत हुन सक्छ ।

त्यसकारण यो रोगबाट अन्य व्यक्तिहरु खासै डराउनुपर्ने अवस्था नभए पनि यो रोगको गाम्भीर्यतालाई मनन गरी यसबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायहरुबारे सबैले कुरा बुझ्नु अति आवश्यक छ । यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले यसको रोकथाम र नियन्त्रणका लागि निकै विचार पु¥याउनुपर्छ । त्यसमाथि अझै यो रोगको कुनै पनि औषधि र प्रभावकारी खोप नभएकाले रोकथाममै बढी ध्यान दिनु जरुरी छ ।

रोकथाम र नियन्त्रणका उपाय

यो रोगबाट बच्न मास्कको प्रयोग सावधानीपूर्वक गर्नु र पटक पटक हात धुनु नै सबैभन्दा राम्रो रोकथाम र नियन्त्रणको विधि हो । मास्कको पनि सही तरिकाले प्रयोग गरी नष्ट गर्नुपर्छ । साबुनपानीले नियमित रूपमा हात धुने गर्नुपर्छ । रोगका चिह्न र लक्षण देखिनासाथ तुरुन्त जँचाइहाल्नुपर्छ । त्यस्तै, समयमै रोगको पहिचान गर्ने र रोगी व्यक्तिलाई अलग्गै कोठामा राख्नुपर्छ । सरसफाइमा निकै ध्यान दिनुपर्छ । अनावश्यकरूपले घरीघरी नाक मुखमा हात नलैजाने र व्यक्तिगत आनीबानीमा समेत सुधार गर्नुपर्छ ।

रोगका बारेमा समुदायमा व्यापक जनचेतना जगाउनुपर्छ । बढी भीडभाडमा नजाने, मुखामुख कुराकानी नगर्ने, अनावश्यक रूपमा घर बाहिर जनसम्पर्कमा नजाने र अनावश्यक यात्रा नगर्ने । जथाभावी नथुक्ने, अन्य अवस्थामा स्वस्थकर बानी व्यवहार अपनाउने, पाखुराको साइडमा खोक्ने वा हाछयुँ गर्ने । अण्डा तथा मासु खानुपर्ने भए निकै राम्रोसँग पकाएर मात्र खानुपर्छ । कोरोनाको कडा महामारी भएको अवस्थामा जात्रा, उत्सव, मेला पर्व, भोजभतेरको आयोजना नगर्ने । स्कुल, कलेज बन्द गर्ने । एक र अर्को व्यक्ति कमसेकम १ मिटरको दूरीमा मात्र बस्ने जस्ता उपाय अबलम्बन गर्न सकिन्छ ।

उपचार विधि

यो रोगबाट त्यति बढी आतिइहाल्नुपर्ने अवस्था चाहिँ छैन । किनकि रोग लागेपछि हाम्रो शरीरले रोगविरुद्ध लड्ने क्षमता विकास गर्दै जान्छ, भाइरसलाई परास्त गर्दछ र रोग आफैं निको भएर जान्छ । तैपनि बिरामीको अवस्था हेरेर कडा खालको लक्षण देखिएमा अस्पतालमै भर्ना गरेर विशेष उपचार गरी राख्नुपर्ने अवस्था पनि आउन सक्छ । अन्यथा यो रोग लाग्दैमा तर्सिनु पर्दैन ।

बरु लक्षणअनुरूपको औषधि खाने जस्तैः ज्वरो आउने र टाउको दुख्ने भएमा सिटामोल खाने । यसैगरी यो रोग पत्ता लगाउन रगत तथा घाँटीको श्रावको परीक्षणसमेत गर्नुपर्छ र त्यो जाँचको सुविधा पनि टेकु अस्पताल काठमाडौँमा मात्र भएकाले अन्यत्र यसको पक्का परीक्षणसमेत हुँदैन । यस्तो अवस्थामा रोगले च्याँप्दै लगेमा व्यक्तिको अकस्मात मृत्यु पनि हुनसक्ने भएकाले सरकारी संयन्त्रले नै यो रोगको जटिलताको बारेमा बढी सजग हुन जरुरी छ ।

घरायसी उपचार र व्यवस्थापनअन्तर्गत बिरामीलाई अलग्गै कोठामा राखी उचित रेखदेख गर्ने । पटकैपिच्छे साबुनपानीले हात धुने, एक अर्कोको दूरी कम्तीमा १ मिटर कायम राख्ने, घरमै आराम गरेर बस्ने, सकभर अनावश्यक यात्रा नगर्ने, सकभर सार्वजनिक बस सेवा नचढ्ने, विभिन्न खालका मिटिङ, गोष्ठी नगर्ने । बिरामीलाई घरमै आराम गराई राख्ने, प्रशस्त झोलिलो खानेकुरा खुवाउने, पौष्टिक खानेकुरा खुवाउने, मनतातो नुनपानीले मुख कुल्ला गर्ने, स्तनपान गर्ने बच्चा हो भने थप स्तनपान गराउने, ज्वरो आएमा सामान्य सिटामोल औषधि खाने, बिरामी तथा उसलाई रेखदेख गर्नेले समेत मास्क लगाउने आदि ।

अन्त्यमा

अहिलेको सन्त्रासपूर्ण रोगको कारक तत्त्व कोरोना भाइरस (कोभिड–१९) बाट बच्न, रोग छिटो छिटो पत्ता लगाउन र उपचार गर्न सबैले निम्न प्रतिबद्धताहरु लिनुपर्दछ ।

 कोरोना सङ्क्रमणबाट प्रभावितहरुलाई हामी सक्दो सहयोग गर्ने छौँ ।

 कोभिड–१९ रोगको शीघ्र रोकथामको अभियानमा सम्पूर्ण व्यक्तिहरुलाई सहभागी गराउनेछौँ ।

 हामीले हाम्रा परिवार, साथी र समुदायलाई कोरोनासम्बन्धी सही सूचना र स्वास्थ्य शिक्षा दिनेछौँ । यस्ता कोरोना, फ्लु जस्ता रोगबाट कुनै पनि मानिस मर्नु नपरोस् र यो रोगको रोकथाम र उपचार सेवा सबैको लागि संधै उपलब्ध भइरहोस् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.