शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नमस्कारको चमत्कार !

शनिबार, ०१ चैत २०७६, १५ : ५४
शनिबार, ०१ चैत २०७६

विश्वकै प्राचीनतम् संस्कृति हो, नमस्ते संस्कृति । विश्व साहित्यको सर्वाधिक प्राचीन ग्रन्थ ऋग्वेदमै उल्लेख भएको भेटिन्छ यसको । ऋग्वेदीय ऋषिहरूले सर्वप्रथम देवगणमा प्रयोग गर्न लगाएका थिए यसलाई ‘नमो गणेभ्यो गणपतिभ्यश्च वो नमोनमः’ भन्दै ।

 ऋग्वेदको दर्जनौँं स्थानमा प्रयोग भएको यसको । विस्तारै आमा, बाबु, गुरुजन, मान्यजन तथा अतिथि समेत समेटिन पुगे यसैको आवरणमा । हुँदाहुँदै पशुपक्षी, कीटपतङ तथा रुखबिरुवा, वनस्पति आदिका सम्मानमा समेत प्रयोग गर्न थालियो । चराचर जगतलाई सुरक्षित र  संरक्षित गर्न खोजियो यसैको आलोकमा । पक्कै उनीहरूले नबुझेर यसो गर्न सिकाए थिएनन् । आफै अबुझ हुन खोज्नु हो त्यस्ता त्रिकालदर्षी महर्षिहरूलाई अबुझ ठान्नु । बरु बढी बुझेर नै यसतर्फ आकर्षित भएका थिए र आकर्षित गराएका थिए भन्नुपर्छ । तथापि विडम्बना नै मान्नुपर्छ त्यही संस्कृतिलाई विश्वव्यापी हुन भने हजारौं वर्ष लाग्यो । 

लामो समयसम्म पूर्वमै सीमित रहेको नमस्ते संस्कृति अव भने पूर्वको मात्र धरोहर रहेन, भएन । विश्वका ठूला ठूला राजनेताहरू समेत यसैमा रमाउन पुगेका छन् यतिखेर । लाग्छ अव उनीहरूले चाहेर पनि छाड्न सक्ने छैनन् यसलाई । भनिन्छ, समयभन्दा बलबान अर्को हुँदैन, छैन । गर्ने, गराउने पनि समय नै रहेछ, सिकाउने र सिक्न लगाउने पनि समय नै हुनुपर्छ सायद । हिजोसम्म नमस्तेको नामै सुन्न नचाहनेहरू समेत यसैको आदर्शमा आलोडित हुन थाल्नु भनेको युग परिवर्तनकै सङ्केत हुनुपर्छ, जसको जस नचाहेर पनि समयलाई नै दिनुपर्छ, जसले आफ्नै प्रवाहमा कोरोना भाइरसलाई बगाउँदै ल्याएको थियो । 

कोरोना भाइरसले संसार हल्लिएको छ यतिबेला । विश्व समाज आतंकित बनिरहेको छ । स्कुल, क्याम्पस बन्द छन् । अड्डा अदालत बन्द गर्ने तरखर गर्दै छन् । अन्तर्राष्ट्रिय नाकाहरू बन्द भइसकेका छन् । लाखौं सङ्क्रमित भइसकेका छन् । ज्यान गुमाउने नै ५ हजार बढी पुगिसकेका छन् । तथापि नचाहँदा नचाहँदै पनि भन्नुपरेको छ एउटा काम भने राम्रै गरेकोछ भन्नु परेको छ, जसले विश्व जनमानसलाई नमस्तेको महत्व र विशेषता बोध गर्ने अवसर दियो । यो भनेको सिख पनि हो र सम्भवतः आगामी दिनमा सतर्क हुने सन्देश पनि ।   

निःसन्देह अवैज्ञानिक थिएनन् त्रिकालदर्षी वैदिक ऋषिहरू, जसले नमस्ते संस्कृतिको विकास गरेका थिए । सम्भवतः उनीहरूलाई पहिले नै थाहा थियो कोरोना भाइरस र अन्य यस्तै शारीरिक सम्पर्कबाट सर्न सक्ने रोगहरूबारे । त्यसैले त हात मिलाउनुभन्दा नमस्ते गर्नु नै उपयुक्त ठाने र त्यसै गर्न सिकाए, लगाए । वास्तवमा नमस्ते गर्नु भनेको सम्मान गर्नु मात्र होइन । आपसी शक्ति आदान प्रदान गरी सबैलाई समान ठान्ने र समान बनाउने प्रयास पनि हो यो । यसको अर्थ नमस्तेमा मात्र त्यस्तो जादू छ भन्ने होइन । विश्वमा सम्मान गर्ने परम्परा आ–आफ्नै किसिमका छन् । कोही हात मिलाउँलान्, कोही अङ्कमाल गर्लान्, कोही चुम्बन गर्लान् । यिनका पनि आ–आफ्नै महत्त्व र विशेषता होलान् । उनीहरूले पनि हामी सबै समान छौं भन्ने भावना सञ्चार गर्न खोजेका होलान् तर नमस्ते भने भावनामा मात्र सीमित छैन ।  व्यवहारिकरूपमै सबैलाई समान गर्ने र गराउने प्रयास गरेको छ यसले । 

नमस्ते गर्दा गर्नेले गरिनेलाई दुई हात जोर्नुपर्छ भने नमस्ते फकाउँदा पनि दुई हात जोडेरै फर्काउनु पर्ने हुन्छ । यसो गर्दा आपसी शक्ति आदान प्रदान गरी एकले अर्कोलाई समान बनाउने काम भइरहेको हुन्छ । शरीरको सबैभन्दा बलियो अङ्ग हात नै हो भन्ने कुरा सबैलाई थाहा भएकै हो । जस्तोसुकै खतरामा पनि सुरक्षार्थ सर्वप्रथम अघि सर्ने भनेको हात नै हो । सुरक्षा गर्न सक्छ सक्दैन छुट्टै कुरा तर उसले यथासम्भव अकाल मुत्यु टार्ने प्रयास भने गरेकै हुन्छ । वेदले उसलाई राजन्य भनेको छ– ‘बाहुराजन्य ।’ यो भनेको पनि सुरक्षाकै अर्थमा हो । शरीरका अन्य अङ्गमा रहेका शक्तिलाई प्रयोगमा आउन पनि हातकै सहयोग चाहिन्छ । हातबाटै ती व्यवहारिक हुन्छन्, चाहे कलम बनाउने र चलाउने काम हुन् चाहे बन्दुक बनाउने र चलाउने काम नै किन नहुन् । मनदेखि मस्तिष्कसम्मका यावत शक्ति हातै बाटै व्यवस्थित हुन्छन् । यसको अर्थ हो सृष्टि, स्थिति विनाश सबैमा हातकै भूमिका सर्वोपरि हुनु वा छ भन्ने सन्देश दिनु । नमस्ते गर्दा तिनै हातमार्फत्् मूलाधारदेखि सहस्रार चक्रसम्मका शरीरका अङ्ग पत्यङ्गमा रहेका शक्ति खिचिएर नमस्ते गरिने व्यक्तिमा समर्पित हुन पुग्छन् भने नमस्ते फर्काउँदा पनि यही नै क्रम दोहोरिएको हुन्छ । 

नढाँटी भन्ने हो भने वास्तवमै बहुमुखी महत्त्वको धनी देखिन्छ नमस्ते संस्कृति । सत्यलाई स्वीकार्नु, अस्वीकार गर्नु छुट्टै कुरा हो । यसको पहिलो महत्त्व त यही हो, जसले कसैप्रति आदर र सम्मान गर्ने काम गरेको छ, त्यो पनि सभ्य, शिष्ट र आत्मीय तरिकाले । दोस्रो महत्त्व भनेको आपसी शक्ति आदान प्रदान गरी सबैलाई प्रयोगात्मकरूपमै समान बनाउने प्रयास गर्नु हो । जहाँसम्म तेस्रो महत्वको सवाल छ यो भने झनै बढी महत्त्वको छ, जसले एक अर्कोलाई शारीरिक सम्पर्कजन्य रोगबाट बचाएर सबैलाई स्वस्थ र सुरक्षित राख्ने काम गरेको छ । अन्त्यमा विश्वलाई नमस्ते संस्कृतिमा एकीकृत गरी युग परिवर्तन गर्ने कोरोनालाई नमस्कार गर्दै कलमलाई यही रोक्न चाहन्छु ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप