शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बचत खाताको दवाबले कुनै बैंकको निक्षेप घट्यो, कसैको बढ्यो

शनिबार, ०१ चैत २०७६, १७ : ०७
शनिबार, ०१ चैत २०७६

काठमाडौं । माघ महिनामा १३ वटा वाणिज्य बैंकको निक्षेप घटेको छ । २७ वाणिज्य बैंकमध्ये १४ वटा बैंकको निक्षेप भने बढेको छ । त्यसरी निक्षेप घट्ने बैंकमा एभरेष्ट बैंक, एनसीसी बैंक, एनएमबि बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, कुमारी बैंक र सानिमा बैंक छन् । 

बाँकी रहेका १४ बैंकमध्ये एनआईशी एशिया बैंक, कृषि विकास बैंक, प्राइम बैंक, लक्ष्मी बैंक नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, नबिल बैंक, सेञ्चुरी बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक सनराइज बैंक र सिटिजन्स बैंकको त्यस्तो निक्षेप बढेको हो । 

यो अवधिमा कुल निक्षेपको आकार करिब ६ अर्बले बढेको छ । तर त्यस्तो वृद्धिमा मुद्दति निक्षेपको मात्रै योगदान छ । माघ महिनामा मुद्दति खाता अन्तर्गत २४ अर्ब रुपैंया थपिए पनि चल्ती खातामा करिब ११ अर्ब, बचत खातामा साढे ५ अर्ब तथा करिब १ अर्ब गिरावट देखिँदा समग्र वृद्धि सो परिमाणमा सीमित हुन पुगेको हो । 

कल निक्षेपको दवाव कायमै
गत जेठ ७ गते नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कल निक्षेपको आकार घटाउन निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले आगामी असार मसान्तसम्म कल निक्षेपलाई कुल निक्षेपको १० प्रतिशतको सीमामा कायम गर्नु पर्नेछ भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुले त्यसलाई १५ प्रतिशत कायम गर्नु पर्नेछ । तर, राष्ट्र बैंकले निर्देशन दिएको ८ महिनासम्म पनि त्यस्तो निक्षेप घट्नुको सट्टा झन् बढ्दै गएको छ । 

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार माघ मसान्तसम्म १४ वटा वाणिज्य बैंक कल निक्षेपको तोकिएको दायराभन्दा माथि छन् । तीमध्ये प्राइम कमर्शियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कल निक्षेप बैंकहरुको कुल निक्षेपको २० प्रतिशत भन्दा पनि माथि छ । प्राइम कमर्शियल बैंकको २२.६७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २२.४४ प्रतिशत थियो । राष्ट्र बैंकले त्यस्तो निर्देशन दिँदा यी बैंकहरुको कल निक्षेपको हिस्सा क्रमशः २३.७९ प्रतिशत र ९.३८ प्रतिशत थियो । यो अवधिमा प्राइमले यसमा झिनो सुधार गरे पनि स्ट्यान्नर्ड चार्टर्डको भने यस्तो निक्षेपमा दोब्बर भन्दा बढीको वृद्धि देखिएको छ । 

ती दुईबाहेक एनसीसी बैंक, सेञ्चुरी बैंक र कुमारी बैंकको यस्तो निक्षेप १५ प्रतिशत भन्दा बढी छ । एनसीसीको १८.९५ प्रतिशतm सेञ्चुरीको १८.५१ प्रतिशत तथा कुमारी बैंकको १५.९९ प्रतिशत रहेको देखिएको हो । यो अवधिमा एनसीसी बैंक र सेञ्चुरी बैंकले यस्तो हिस्सा बढाएको देखिएको छ भने कुमारी बैंकको भने यसमा सुधार देखिएको छ । गत बैशाखमा ती बैंकहरुको कल डिपोजिट जम्मा डिपोजिटको क्रमशः १७.८१ प्रतिशत, १६.८९ प्रतिशत र १७.१३ प्रतिशत थियो ।

त्यसबाहेक अरु ९ बैंकको यस्तो निक्षेप पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि नै भए पनि यो १५ प्रतिशत भन्दा कम छ । नबिल, सिद्धार्थ, मेगा, सिभिल, नेपाल बंगलादेश बैंक, सिटजन्स, नेपाल इन्भेष्टमेन्ट र प्रभु, एभरेष्ट र एनएमबि बैंक सो समूहभित्र परेका हुन् । बाँकी १२ वटाबैंकहरु भने १० प्रतिशतको सीमाभन्दा तल छन् । 

यीमध्ये नबिल, सिद्धार्थ, सिभिल, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंकले यस्तो निक्षेपमा सुधार गरेका छन् भने सिटिजन्स बैंक र एनएमबि बैंकको निक्षेप बढेको देखिएको छ । राष्ट्र बैंकले निर्देशन दिएको अवस्थामा  सिटिजन्स बैंकको कल निक्षेप हिस्सा ५.९८ प्रतिशत मात्रै थियो, अहिले यो १२.०७ प्रतिशत पुगेको छ । एनआईशी एशिया बैंकले भने त्यस्तो सीमा कायम गरिसकेको देखिएको छ । 

के हो कल खाता ?
कल एकाउन्टलाई चल्ती खाता र बचत खाताको ‘हाइब्रिड’ खाताको रुपमा लिइन्छ । चल्ती खातामा ब्याज दिन नमिल्ने र बचत खातामा कारोबारको सीमा निर्धारण हुने तथा संस्थागत रुपमा त्यस्तो खाता खोल्न नमिल्ने भएका कारण व्यापारी समाजहरु यस्तो खातामा पैसा राख्न रुचाउँछन् ।

तुलनात्मक रुपमा कम ब्याज आउने भएपनि चल्ती खातामा ब्याजै नआउने पैसालाई उनीहरुले यस्तो एकाउन्टमा राख्ने गरेका छन् । यद्यपि यस्तो एकाउन्टको कारोबार सीमा र संख्या तोकिएको हुँदैन । उच्च रुपमा नगद प्रवाह भइरहने भएकोले यो खातामा रहेको पैसालाई त्यति विश्वसनीय मानिँदैन । त्यसैले यस्तो खातामा रहेको निक्षेपको हिस्सा घटाउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई भनेको हो । यसका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई १५ महिनाको समय दिए पनि अब यो ६ महिना मात्रै बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप