बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यासको हाहाकार : दोषी उपभोक्ता नै !

मासिक ६ हजार मेट्रिक टन बढी ग्यास आपूर्ति, तैपनि अभाव
सोमबार, ०३ चैत २०७६, ११ : ५७
सोमबार, ०३ चैत २०७६

काठमाडौँ । विश्वमा कोरोनाभाइरसको महामारीको सन्त्रासकाबीच नेपाली बजारमा भान्सामा दैनिक प्रयोग हुने एलपिजी ग्यासको अभाव देखिएको छ । सर्वसाधारणको प्रत्यक्ष जनजीवनसँग जोडिएको दैनिक उपभोग्य वस्तु ग्यास लगायत अन्य खाद्यान्नको अभाव हुँदा यतिखेर बजार तरंगित हुन पुगेको छ । एकातिर कोरोनाको सन्त्रास र अर्कोतर्फ दैनिक उपभोग्य वस्तुहरुको समेत बजारमा चरम अभाव हुँदा सर्वसाधारणहरु थप आक्रान्त बनेका छन् । यतिखेर बजार अभावलाई नै लिएर उपभोक्ता हित संरक्षण सम्बद्ध निकायहरु आन्दोलित भएका छन् ।

तर, यता सम्बन्धित निकाय नेपाल आयाल निगम र नेपाल सरकारले भने बजारमा त्यस्तो कुनै अभाव नभएको बताइरहेको छ । बरु यो समयमा गत वर्षको भन्दा पनि बढी पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको निगमको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष झण्डै १५ प्रतिशतले ग्यासको बढी आपूर्ति भएको निगमको दाबी छ ।

नेपाल आयल निगमका अनुसार गत वर्ष सरदर मासिक ३५ हजार मेट्रिक टन ग्यासको आपूर्ति भइरहेकोमा यस वर्ष झण्डै ३९ हजार मेट्रिक टन ग्यासको आपूर्ति भएको छ । गत आर्थिक वर्ष २०७५÷७६ को फेब्रुअरिमा ३५ हजार ७ सय ५४ मेट्रिक टन ग्याँस आपूर्ति भएकोमा यसै आर्थिक वर्षको फेब्रुअरीमा मात्र कुल ४१ हजार १ सय १५ मेट्रिक टन ग्याँस आपूर्ति भएको निगमको भनाइ छ । सरदर मासिक ६ हजार मेट्रिक टन ग्यास यस वर्ष बढी आपूर्ति भएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

‘बजारमा ग्यास अभाव भयो भनिएको छ तर निगमले गत वर्ष भन्दा पनि यस वर्ष बढी ग्याँस आपूर्ति गरेको छ,’ सिइओ पौडेलले भने ।

सिइओ पौडेलका अनुसार यस वर्षको पुस, माघ र फागुनको तीन महिनामा मात्र निगमले १ लाख २२ हजार मेट्रिक टन ग्यासको आपूर्ति गरेको छ । गत वर्षको सोही समयमा निगमले १ लाख १६ हजार मेट्रिक टन ग्यासको आपूर्ति गरेको थियो ।

किन बजार अभाव ?

निगमले मासिक रुपमै करिब ६ हजार मेट्रिक टनले ग्यासको बढी आपूर्ति भइरहेको बताइरहँदा यता बजारमा भने ग्यासको हाहाकार मच्चिएको छ । उपभोक्ताहरुले सहज रुपमा ग्यास पाउन सकिरहेका छैनन् । ग्यास किन्न जाँदा व्यवसायीहरुले रित्तो हात फर्काउने गरेका छन् । दुई–तीन हप्तादेखि ग्यास नपाएको पींडित सर्वसाधारणहरुको गुनासो छ । कोरोनाको हल्लाकाबीच व्यवसायीहरुले असहज परिस्थितिको फाइदा उठाउँदै बजारमा कृतिम अभाव सृजना गरेको उपभोक्ताहरुको आरोप छ ।

निगम भने उपभोक्ताहरुकै कारण बजारमा समस्या आएको बताउँछ । कोरोनाको सन्त्रासकाबीच डरको मानसिकताका कारण उपभोक्ताहरुले भोलिका लागि भन्दै आवश्यकता भन्दा बढी ग्यास खपत गर्दा बजारमा समस्या आएको निगमका सिइओ पौडेल बताउँछन् । एकै परिवारले ४–५ वटासम्म सिलिण्डर होल्ड गर्दा बजारमा समस्या आएको उनको भनाइ छ ।

‘वास्तवमा अहिले बजारमा ग्यासको आपूर्ति व्यवस्था कमजोर भएका कारण ग्यासको अभाव भएको होइन । कारण उपभोक्ताहरुले नै आवश्यकता भन्दा बढी सिलिण्डर होल्ड गर्दा यस्तो समस्या आएको हो,’ निगमका सिइओ पौडेलले भन्छन्, ‘हाल बजारमा १ करोड १२ लाख बराबरको सिलिण्डर होल्ड भएका छन् ।’

कार्यकारी निर्देशक पौडेलका अनुसार काठमाडौँमा मात्र मासिक ३० हजार सिलिण्डर नियमित रुपमा रोल हुनुपर्छ । जसअनुसार करिब साढे तीन महिनाका लागि रोल हुने सिलिण्डर अहिले बजारमा नै होल्ड भएका छन् । जसले गर्दा अहिले बजारमा समस्या आइरहेको छ । यतिखेर निगमलाई बजार व्यवस्थापन गर्न निकै गाह्रो परिरहेको छ । सिलिण्डर घर–घरमा थुप्रिदा रोटेसनमा समस्या देखिएको छ ।

पौडेलका अनुसार अहिलेको असहज परिस्थिति पछि बजारमा तीन–चार महिना नै ग्यासको मागमा कमी आउनेछ । कारण – उपभोक्ताहरुले थुपारेको ग्यासले ।

‘कुनै ग्यास कम्पनी, डिलरले ग्यास पाइएन भनेका छैनन्’

नेपालमा मात्र ग्यासको कारोबार गर्ने सार्वजनिक संस्थान निगमसहित अन्य निजी कम्पनीहरु गरी कुल ५८ वटा कम्पनीहरु रहेका छन् । जसमा १४ वटा कम्पनी काठमाडौँमा मात्र छन् । ग्यास खपतका हिसाबले पनि सबैभन्दा बढी ग्यासको खपत काठमाडौँमा नै हुन्छ । काठमाडौँमा मात्र मासिक ३० हजार मेट्रिक टन अर्थात् करिब २ लाख १२ हजार सिलिण्डर ग्याँसको खपत हुन्छ । निगमका अनुसार गत महिना मात्र काठमाडौंमा ३८ लाख मेट्रिक टन ग्यास आपूर्ति भएको छ । तैपनि बजारमा अभाव भइरहेको छ ।

निगम कुनै पनि ग्यास कम्पनी, डिलर, वितरक तथा रिटेलरहरुमा ग्यासको अभाव नभएको बताउँछ । हुनपनि बजारमा ग्यासको हाहाकार मच्चिदासमेत कुनै ग्यास कम्पनी, वितरक, डिलर तथा रिटेलरहरुले ग्यास नपाएको बताएका छैनन् ।

एकैपटक बजारमा ग्यासको माग बढी हुँदा व्यवस्थापनमा केही कठिनाइ भएको नेपाल एलपिजी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी बताउँछन् । ‘कोरोनाको हल्ला चल्ने बित्तिकै बजारमा उपभोक्ताहरुले भए भरका खाली सिलिण्डर भर्न थाले । नभएकाहरुले पनि खोजी–खोजी भर्न थाले । यसले बजारमा खाली सिलिण्डरको अभाव भयो र भर्न पाइएन । जसले वितरणमा समस्या देखियो,’ अध्यक्ष भण्डारीले भने, ‘बजारमा अभाव देखिने वित्तिकै ह्वात्तै एकैचोटी आपूर्ति पनि हुँदैन । ढुवानीका लागि केही समय लाग्छ । यसले गर्दा केहि समस्या देखिएको हो ।’ भण्डारीका अनुसार यो समस्या अब धेरै दिन रहँदैन । किनकी ठूलो परिमाणमा ग्याँस बुलेट नेपाल भित्रिसकेका छन् ।

थप ३ सय २ बुलेट ग्यास नेपाल आउँदै

नेपाल आयल निगमका अनुसार हालैमात्र भारतको बरुणदेखि ३ सय २ बुलेट ग्यास नेपाल आउँदैछ । जसमा ८६ वटा बुलेट ग्याँस विभिन्न भन्सार हुँदै नेपाल प्रवेश गरिसकेको निगमका सिइओ पौडेलले जानकारी दिए । बाँकी बुलेटहरु पनि छिट्टै नेपाल आउने क्रममा रहेको पौडेलको भनाइ छ ।

अहिले प्रवेश भइसकेका ८६ बुलेटहरुबाट मात्र १ लाख १० हजार सिलिण्डर भर्न सकिन्छ । एक बुलेटमा १८ हजार किलो ग्यास रहेको हुन्छ जसलाई १४.२ ले भाग गर्दा एक बुलेट बराबर एक हजार २ सय ६७ सिलिण्डर भरिन्छ ।

जसमा ३८ बुलेट मात्र काठमाडौँ आउँदैछ । यसबाट ४८ हजार माथि सिलिण्डर भर्न पुग्छ । बाँकी ४८ बुलेटहरु भने काठमाडौँबाहिर वितरण गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप