शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लक्षण नदेखिएका संक्रमितले हामीले सोचेभन्दा बढी कोरोनाभाइरस फैलाइरहेको हुनसक्छ

सोमबार, ०३ चैत २०७६, १२ : १९
सोमबार, ०३ चैत २०७६

नेपालमा कोरोना भाइरसको संक्रमण छैन भनेर नेपाल सरकारले बारम्बार भन्दै र दावी गर्दै आइरहेको छ । कामना गरौँ, यो कुरा सत्य होस् । कामना यस अर्थमा कि ‘पशुपतिनाथ विराजमान’ रहेको देश नेपालमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणको लक्षण देखिएका मानिस फेला परेका छैनन् । तर यसो भन्दैमा ढुक्क भइहाल्ने स्थिति पनि छैन । किनभने नयाँ नयाँ अध्ययनहरु र विश्वका घटनाक्रमहरुले देखाएको छ– यो भाइरसको संक्रमण लक्षण नै नदेखिइकन भित्रभित्रै पनि फैलिइरहेको हुन सक्छ ।

हामीले यो भन्नुको अर्थ नेपाली जनतामा भाइरसको त्रास फैलियोस् भन्ने पनि होइन । चीन, सिंगापुर, कोरिया लगायतका देशहरुको अनुभव, अनि स्वयम् विश्व स्वास्थ्य संगठनको भनाइलाई हेर्ने हो भने पनि कोरोनाभाइरस संक्रमणका सन्दर्भमा केही प्रतिक्रिया नै नदेखिनुभन्दा बरु बढी नै प्रतिक्रिया देखिनु राम्रो कुरा हो । यसले मानिसहरुलाई यसको विरुद्धमा सतर्क र सावधान गराउन सघाउँछ ।

यसै सन्दर्भमा हामीले सिएनएसनका वरिष्ठ मेडिकल सम्वाददाता एलिजावेथ कोहेनको यो लेख अनुवाद गरी प्रकाशित गरेका छौँ, जसमा लक्षण नै नदेखिइकन पनि कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने डरलाग्दो तथ्यमाथि चर्चा गरिएको छ, जुन कुरा नेपालीहरुका लागि पनि एउटा गम्भीर चासो र चिन्ताको विषय हुन सक्दछ ।

विभिन्न देशहरुमा गरिएका नयाँ अध्ययनहरु र अमेरिकाको मासाच्यूसेट्समा देखिएको कोरोनाभाइरसको ठूलो संक्रमणले नोवल कोरोनाभाइरसको फैलावटबारे अमेरिकी अधिकारीहरुले गरेका आश्वस्त पार्ने खालका दावीहरुमाथि प्रश्न चिन्ह खडा गरिदिएको छ ।

ती अमेरिकी अधिकारीहरुले खास गरेर ज्वरो, खोकी वा सास फेर्न कठिनाइ हुने जस्ता लक्षण देखिएका मानिसहरुबाट मात्रै यो भाइरस सर्ने कुरामा जोड दिँदै आएका थिए । त्यो सत्य हो भने, त्यो सुसमाचार हुन्थ्यो । किनभने, पहिल्यै लक्षण देखिएका बिरामीहरुको पहिचान गर्न र उनीहरुलाई आइसोलेसनमा राख्न सजिलो हुन्थ्यो, जसले गर्दा यो संक्रमणलाई नियन्त्रण गर्न सजिलो हुन्थ्यो ।

तर मासाच्यूसेट्समा ८२ जनालाई संक्रमित गराएको घटना लक्षण नै नदेखिएका मानिसहरुबाट शुरु भएको थियो र आधा दर्जनभन्दा बढी अध्ययनहरुले पनि उल्लेख्य मात्रामा लक्षण नै नदेखिएका मानिसहरुले यो संक्रमण फैलाइरहेको देखिएको छ ।

हप्तौंदेखि संघीय अधिकारीहरुले लक्षणबिना नै पनि यो रोग सर्न सक्ने कुरामा जोड दिँदै आएका थिए तर साथसाथै त्यो यो भाइरसको फैलावटमा मुख्य पक्ष नरहेको कुरा पनि बताउँदै आएका थिए ।

मार्च १ मा एबीसी टेलिभिजनको एउटा कार्यक्रममा बोल्दै अमेरिकाका स्वास्थ्य तथा मानव सेवाका सेक्रेटरी एलेक्स अजरले लक्षणबिनाका मानिसहरुबाट नयाँ कोरोनाभाइरस सर्ने कुरा ‘मुख्य पक्ष’ नरहेको बताएका थिए ।

‘तपाईं वास्तवमै लक्षण देखिएका मानिसहरुमा केन्द्रित हुन जरुरी छ’ उनले भनेका थिए, ‘यसलाई नियन्त्रण गर्ने रणनीति वास्तवमा त्यसका देखिएका लक्षणमा निर्भर हुने गर्छ ।’

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको वेभसाइटले पनि त्यही भनाइलाई नै प्रतिध्वनित गर्दै आएको छ ।

सो वेभसाइटका अनुसार, ‘मानिसहरुमा लक्षण नै नदेखिइकन पनि यसको संक्रमण केही मात्रामा फैलिन सम्भव छ, यो नयाँ कोरोनाभाइरसका बारेमा त्यस्त केही रिपोर्टहरु पनि आइरहेका छन्, तर यो नै संक्रमण फैलिइने मुख्य तरिका हो भन्ने लाग्दैन ।’

अजरका प्रवक्ता र सीडीसीले यसबारे प्रतिक्रिया दिन सिएनएनले गरेको अनुरोधमा जवाफै दिएनन् ।

तर गत शनिबार ह्वाइट हाउसको प्रेस व्रिफिङमा प्रशासनको कोरोनाभाइरस रेस्पोन्स कोअर्डिनेटर डा. डेबोरह वीरक्सले लक्षणबिनै यो भाइरस सर्नेबारे अलि केही फरक खालको नोट गरेको देखियो ।

‘पर्याप्त मात्रामा लक्षण नदेखिएका’ २० वर्षभन्दा कम उमेरका मानिसहरुलाई बुझ्ने कोशिश भइरहेको’ बताउँदै उनले प्रश्न गरे, ‘कतै यो उमेरकाहरु नै लक्षण नदेखिइने र भाइरसको संक्रमण फैलाइरहेका समूह त होइनन् ?’

उनको भनाइ थियो– यथार्थ रुपमा कति मानिसहरु लक्षणरहित अवस्थामा छन् र त्यही अवस्थामा उनीहरुले भाइरसको संक्रमण सारिरहेका छन् भन्ने थाहा नहोउन्जेलसम्म, सारा अमेरिकी जनताले यो थाहा पाउन हामी उचित ठान्दछौं कि गम्भीर खालका बिरामी कम नै हुन सक्छ, तर उनीहरुले सम्भाव्य रुपमा अरुहरुलाई भाइरस सारिरहेको पनि हुन सक्छ ।

उनले भने, ‘त्यही भएर हामीले प्रत्येक अमेरिकीहरुलाई यो संक्रमण फैलिन नदिनको लागि व्यक्तिगत जिम्मेवारी लिनका लागि भनिरहेका छौं ।’

लक्षणबिना नै फैलिन सक्छ संक्रमण

सिएनएनले अन्तर्वार्ता गरेका थुप्रै विशेषज्ञहरुले बताएअनुसार, गम्भीर रुपमा विरामी भएका र लक्षण नै नदेखिएका वा कम लक्षण देखिएकाहरुले यकिन रुपमा यो महामारी कति प्रतिशत फैलाएर भन्ने कुरा अझै प्रष्ट छैन, तर यो प्रष्ट भइसकेको छ कि यसअघि सोचिएभन्दा विपरीत लक्षण नै नदेखिएका वा कम लक्षण देखिएकाहरु चाहिँ संक्रमण धेरै फैलाउनमा जिम्मेवार छन् ।

‘अब हामीलाई थाहा भएको छ कि लक्षण बिना नै संक्रमण सर्ने कुराले यो भाइरस फैलिनको लागि महत्वपूर्ण भूमिका खेलेको छ,’ युनिभर्सिटी अफ मिन्नेसोटाका सेन्टर फर इन्फेक्सिओस डिजिज रिसर्च एण्ड पोलिसीका निर्देशक माइकल ओस्टरहोल्म भन्छन् ।

उनी अगाडि थप्छन्, ‘यो निश्चितै रुपमा प्रष्ट भइसकेको छ कि लक्षणबिनाको संक्रमणले यस किसिमको महामारीमा यसलाई नियन्त्रण गर्नका लागि अत्यन्तै कठिन हुने गरी फैलाउनका लागि इन्धनको काम गर्न गइरहेको छ ।’

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा दुई हप्ताअगाडि प्रकाशित उक लेखमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष बिल गेट्सले लक्षण नदेखिएका वा अलिकति मात्रै विमारी देखिएका मासिनहरुबाट रोग फैलिइरहेको बारेमा चासो जाहेर गरेका थिए ।

‘अलिकति मात्रै विमारी भएका वा रोगका प्रारम्भिक लक्षणहरुमात्रैदेखिएकहरबाट पनि यो रोग सर्न सक्ने बलिया प्रमाणहरु फेला परेका छन् । यो भनेको कम संक्रामक र लक्षण देखिएका व्यक्तिहरुबाट मात्रै सर्न सक्ने मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम– मेर्स वा सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम– सार्सभन्दा पनि यो कोभिड–१९ लाई नियन्त्रण गर्न जटील छm,’ उनले यो भाइरसबाट हुने रोगको वैज्ञानिक नाम उल्लेख गर्दै लेखेका छन् ।

अरुहरुले पनि यो नयाँ कोरोनाभाइरसको संक्रमण फैलाउनमा गम्भीरु लक्षण नदेखिएकाहरुले पनि उल्लेख्य भूमिका निर्वाह गर्ने स्वीकार्छन् ।

‘लक्षण नै नदेखिएको वा हल्का लक्षण देखिएकाहरुबाट सर्ने कुरा कोभिड–१९ को संक्रमण विस्तारमा एउटा मुख्य पक्ष रहेको छ,’ भेन्डरविल्ट युनिभिर्सिटी स्कुल अफ मेडिसिनका प्रोफेसर तथा लामो समयदेखि सिडिसीका सल्लाहकार रहँदै आएका डा. विलियम स्चाफनर भन्छन्, ‘यिनीहरु नै समुदायमा यो रोग फैलाउने कुरालाई हाँक्ने पक्ष बन्न गइरहेका छन् ।’

ओस्टरहोल्मले पनि अधिकारीहरुलाई यो भाइरस फैलिने तरिकाहरुबारे प्रष्ट हुन आग्रह गरेका छन् ।

‘संक्रमणको शुरुवात ताका, हामीमा यो भाइरस कसरी फैलिन्छ भन्ने बारेमा थुप्रै प्रश्नहरु थिए । र दुर्भाग्यवश, हामीले देख्यौं कि धेरै मानिसहरुले यो हुँदैछ वा यो भइरहेको छैन भनेर दृढ अडानहरु लिएका पनि देख्यौं । र, अहिले हामीले यो महामारीसँग लगातार सिक्दै आयौं र यो प्रष्ट भयो कि तीमध्येका थुप्रै भनाइहरु सही थिएनन्,’ उनले भनेका छन् ।

‘अब प्रष्ट कुरा गर्ने बेला हो,’ उनले भनेका छन्, ‘अब हामीलाई के थाहा छ र के थाहा छैन भनेर आम जनतालाई प्रष्ट भन्ने बेला हो ।’

मासाच्यूसेट्समा संक्रमणको संकट

पुष्टि भएको र अनुमान गरिएका गरी अमेरिकामा २ हजार मानिसहरुमा कोरोना भाइरस संक्रमणको शिकार भइसकेको छन्, जसमध्ये ५० जनाको मृत्यु भइसकेको छ ।

फेबु्रअरीमा क्याम्ब्रिज बायोटेक्नोलोजी कम्पनीका कर्मचारीहरुले कम्पनीको बैठकमा भाग लिए । त्यो बैठक सकिएपछि तीनजना कर्मचारीहरुमा कोरोनाको संक्रमण भएको पाइयो ।

मासाच्यूसेट्स जनस्वास्थ्य विभागका प्रवक्ता एन स्केल्सका अनुसार ती तीनजना कर्मचारीहरुमा बैठकको बेला संक्रमणको कुनै लक्षण देखिएको थिएन । उनले के नोट गरे भने यो संक्रमणका बारेमा नयाँ जानकारीहर आइरहेका छन् र यसमा संक्रमणका लक्षणहरु पछि पनि देखापर्न सक्छन् ।

अन्तर्राष्ट्रिय अध्ययनहरु

अरु देशहरुमा पनि लक्षण नै नदेखिएका वा सामान्य लक्षण देखिएका मानिसहरुबाट संंक्रमण विस्तार भएका थुपै्र रिपोर्टहरु आएका छन् ।

गत मंगलबार मात्रै जर्मनी, फ्रान्कफर्टका इन्स्टिच्यूट अफ मेडिकल भाइरोलोजीका डाइरेक्टर डा. सान्द्रा सिसेकले इजरायलबाट आएका २४ जना यात्रीहरुको परीक्षण गरेका थिए ।

तीमध्ये सातजना यात्रीहरुमा कोरोना संक्रमण भएको देखिएको थियो । ती सातजनामध्ये पनि चारजनामा त कुनै लक्षण नै देखिएको थिएन । सिसेकलाई के कुराले आश्चर्यचकित तुल्याएको थियो भने लक्षण देखिएका तीनजना संक्रमितहरुभन्दा पनि लक्षण नै नदेखिएका संक्रमितहरुमा भाइरल लोड बढी थियो ।

भाइरल लोड भनेको संक्रमित व्यक्तिको श्वास प्रश्वासमा निस्कने तरल पदार्थमा भाइरस जाँच्ने विधि हो । त्यो जति बढी हुन्छ, त्यति नै उसले अरु मानिसहरुमा संक्रमण सार्ने सम्भावना पनि बढी रहन्छ ।

सिसेकले यो नतिजा प्रकाशित नगर्दै फेबु्रअरी १८ मा न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा एक चिठ्ठी प्रकाशित गरे, जसमा चीनको ऊहानबाट जर्मनी फर्किएका दुई जना यात्रीहरुमा कोरोनाभाइरसको संक्रमण देखिएको उल्लेख थियो ।

यी दुईजनामध्ये पनि एक जनामा कुनै लक्षण देखिएको थिएन भने अर्कोको छालामा चाहिँ सामान्य रातोपना देखिएको र उसको घाँटी पनि सामान्य ढंगले नै दुखेको थियो । उनले ती दुई जनाबाट परीक्षण गर्नका लागि संकलन गरिएको नमूना ल्याबमा लगेर परीक्षण गर्दा उनले ती संक्रमितहरुबाट संकलन गरिएको नमूनाबाट सफलतापूर्वक एउटा कोषलाई संक्रमित तुल्याउन सके ।

‘यसबाट हामी यो निष्कर्षमा पुग्न सक्छौं भने ती दुवै संक्रमितहरुले भाइरस निस्काशन गरिरहेका थिए, जुन अरु मानिसहरुलाई संक्रमित तुल्याउने खालका थिए,’ सिसेकले सिएनएनलाई पठाएको एउटा इमेलमा लेखेका छन् ।

यसअघि चीनको तियानजिन र सिंगापुरमा क्रमशः जनवरी र फेबु्रअरीमा महामारीको गणितीय मोड्युलिङ प्रयोग गरेर गरिएका ठूला स्तरका अध्ययनहरुमा पनि संक्रमणको लक्षण देखापरि नसकेका मानिसले पनि उल्लेख्य परिणाममा अरुलाई संक्रमण सारेको देखिएको थियो ।

ती दुवै अध्ययन रिपोर्टहरु याले युनिभर्सिटीले स्थापित गरेको प्रिप्रिन्ट सर्भर ‘मेडरक्सिभ, मेडिकल जर्नल बीएमजे र न्यूयोर्कको कोल्ड स्प्रिङ हारबोर ल्याबरोटोरीमा प्रकाशित भएको थियो ।

बेल्जियन र डच अनुसन्धानकर्ताहरुले गत आइबार प्रकाशित गरेको एक अनुसन्धान रिपोर्टमा पनि सिंगापुरका संक्रमित ९१ जनामानिसहरुमध्येमा ४८ देखि ६६ प्रतिशत मानिसहरु पहिले कुनै लक्षण देखानपरेको कुनै न कुनै संक्रमितको सम्पर्कमा आएका थिए । तियानजिन क्षेत्रमा १३५ जनामध्ये ६२ देखि ७७ प्रतिशतलाई पहिले कुनै लक्षण नै नदेखिएकाहरुबाट संक्रमण सरेको थियो ।

यस अध्ययनका एक प्रमुख अनुसन्धानकर्ता, बेल्ज्यिमको हाससेल्ट युनिभर्सिटीस्थित डाटा साइन्स इन्स्टिच्यूटका तापिवा गानयानीले सिएनएनलाई पठाएको इमेलमा जनाएअनुसार यो सुनिश्चित भइनसकेको अनुमानमा आधारित छ ।

क्यानेडा, हल्याण्ड र सिंगापुरका अनुसन्धानकर्ताहरुले तियानजेन र सिंगापुरका उही महामारीका घटनालाई अध्ययन गरेका थिए । त्यसमा उनीहरुले २.५५ दिनमा त्यस क्षेत्रमा संक्रमणका लक्षण देखापर्नुभन्दा २.८९ दिनभन्दा पहिले संक्रमण सरिसकेको फेला पारेका थिए ।

‘हाम्रो विश्लेषणले के देखाउँछ भने लक्षण देखानपरिकनै संक्रमण सर्ने सक्ने कुरा सहज छ’ अध्ययनका मुख्य लेखक, कारोलिन कोलिजनले भनेका छन् । कोलिजिन व्रिटिश कोलम्बियाको सिमोन फ्रासेर युनिभर्सिटीमा ‘इन्फेक्सन एण्ड इभोलुसन रिसर्च गु्रप’ मा गणितीय, जेनोमिक्स र अनुमान गर्ने कुराको नेतृत्व गर्ने गर्छन् ।

सेन्टर फर डिजिट कन्ट्रोल (सिडिसी)का अधिकारीहरुले चाहिँ के भनेको छन् भने लक्षणरहित अवस्थामा पनि संक्रमण सर्न सक्छ तर यो नै महामारी फैलाउने मुख्य कारक पक्ष हो भने र देखापरिसकेको छैन । सिडिसीले आफ्नो वेभसाइटमा भनेको छः ‘लक्षणबिना नै संक्रमण सर्ने कुरा भाइरस सर्ने मुख्य माध्य हो भनेर ठानिएको छैन ।’

तर कोलिजन भन्छन्, ‘मैले आज सिडिसीको वेभपेजमा लेखेको भए म चाहिँ त्यसलाई अलि सुधारेर लक्षण देखापर्नुपूर्व पनि सर्न सक्छ भन्ने हिसाबले नै लेख्नेथिएँ ।

जर्मन भाइरस विशेषज्ञ सिसेक पनि सिडिसीले आफ्नो माथिको मन्तव्यलाई सुधार्नुपर्ने बताउँछिन् ।

‘मैले पहिल्यै यो पढे र म आफैं आश्चर्यचकित भएँ– उनीहरु यो कुरामा किन यति ढुक्क छन् ?,’ उनले भनेकी छिन् ।

स्रोतः सिएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप