बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक संकटकाल घोषणा गर्ने बेला भएकै हो ? यसो भन्छन् विज्ञ

सोमबार, ०३ चैत २०७६, १५ : ४२
सोमबार, ०३ चैत २०७६

विश्व यतिबेला कोरोना भाइरससँग जुधिरहेको छ । यसले विश्व अर्थतन्त्रमा नै भयावह संकट ल्याउने खतरा विज्ञहरुले औंल्याएका छन् । अमेरिकाले गत शुक्रबार राष्ट्रिय संकटकालकै घोषण गरेको छ । 

भाइरसकै उत्पति भएको देश चीनमा झण्डै दुई दशकयता ६ प्रतिशतभन्दा कम आर्थिक वृद्धिदर भएको छैन । यसलाई जोगाउन चीन लडिरहेको छ । आयातित अर्थतन्त्र भएको देश नेपाल पनि विश्वव्यापी आर्थिक मन्दीको चपेटामा छ । 

भाइरसको प्रभाव नेपाली अर्थतन्त्रमा देखिन थालिसकेको छ । नेपालको उद्योग तथा सेवा क्षेत्रले उत्पादन गर्ने माल सामानमा कच्चा माल, मध्यवर्ती वा तयारी सामानमा चीन निर्भरता धेरै छ ।  यसकारण पनि नेपालका उद्योगहरु मारमा परेका छन् ।

विश्वव्यापी आपूर्ति शृंखलामा चीनको केन्द्रीय भूमिका रहेको हुँदा यस प्रकारको प्रकोपले कच्चा माल  सामानको आपूर्तिमा बाधा पुर्याउँछ । यसले विश्वलाई नै प्रभावित पार्नेछ  ।
आइतबारमात्र उद्योगीहरुले राहतको प्याकेज ल्याउन सरकारसँग आग्रह गरिसकेका छन् । 

उनीहरुले बैकको  ब्याज, आयकर तिर्ने समयावधि लगायतमा सहुलियत दिन अर्थमन्त्रीलाई भनेका छन् । यस्तै पर्यटन क्षेत्रलाई पनि विशेष सहुलियत दिनुपर्ने उनीहरुको माग छ । केही उद्योगीहरुले आर्थिक संकटकालको घोषणा गर्नुपर्ने विषय पनि उठाउन थालेका छन् ।

के देशमा आर्थिक संकटकाल लगाउने बेला भएकै हो ? 
अर्थविद्हरु अहिलेकै अवस्थामा देशमा आर्थिक संकटकाल घोषणा छिटो हुने बताउँछन् । 

अर्थविद् केशव आचार्य आन्तरिक आर्थिक गतिविधिमा मन्दी सुरु भएपनि संकटकाल नै घोषणा गर्नुपर्ने अवस्था नआएको बताउँछन् । यद्यपि, सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रको आधारमा सम्बोधन गर्नुपर्ने तर्क उनको छ ।

उनी भन्छन्, ‘अहिले सबैभन्दा बढी प्रभावित सेवा क्षेत्र हो । आन्तरिक हवाइ उडान घटेको छ भने अन्तर्राष्ट्रिय उडान पनि प्रभावित छ । खाडीका केही मुलुकमा नेपाली श्रमिकलाई रोकिएको छ । रेमिट्यान्सको ठुलै हिस्सा ओगटेको नेपाली अर्थतन्त्रलाई यस पटक झट्का लाग्ने निश्चितप्रायः छ ।’  

‘रेमिट्यान्स भित्रिदा बैंकहरुको आम्दानी हुन्छ भने यसले देशको आर्थिक गतिविधि समेत बढाउने गरेको छ । अहिले सिनेमा घर नजाने, आवतजावत नगर्ने, बजार नजाने जस्ता कारण आर्थिक गतिविधि कम छ’, उनले भने ।

उसो त कोरोना भाइरसको प्रकोपअघि पनि आर्थिक गतिविधि अपेक्षाभन्दा कमजोर नै थियो । यस वर्ष कृषि उत्पादन खासगरी धानको उत्पादन घटेको अनुमान गरिएको छ । यसले अपेक्षित आर्थिक बृद्धिदर नहुने संकेत गर्छ । 

यता अर्का अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी पनि अहिले देशको अर्थतन्त्रमा संकटकाल घोषणा गर्ने बेला नभएको बताउँछन् । संकटकालले कतिपय अवस्थामा संवैधानिक हक समेत निलम्बन हुनसक्ने भएकाले संकटकाल भन्दा पनि अहिलेको वास्तविक आर्थिक स्थिति बाहिर ल्याएर सो अनुसारको कमजोर क्षेत्रलाई उकास्नेतर्फ सरकारले पहल गर्नुपर्ने बेला भएको प्रा.डा.अधिकारीको तर्क छ । 

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवाल देश अहिले आर्थिक मन्दीतर्फ उन्मुख हुने अवस्थामा देखिएको बताउँछन् । अत्यावश्यक सामाग्रीहरु चाहिने भन्दा बढी उपभोक्ताले खरिद गरेर स्टक राख्न थालेपनि बजारमा त्यस्ता वस्तुको अभाव चुलिन थालेको अग्रवाल भन्छन् । 

संकटबाट जोगिन के गर्ने  ?
अर्थविद् आचार्य सरकारले सबै क्षेत्रलाई राहत दिने भन्दा पनि कोरोना प्रभावित क्षेत्रलाई पहिचान गरेर राहतको व्यवस्था गर्नुपर्ने र सरकारी ढुकुटीमा रहेको रकम प्रवाहमा विशेष जोड दिनुपर्ने बताउँछन् । उनका अनुसार अहिले सबैभन्दा बढी प्रभावित होटल क्षेत्र हो । यसलाई सरकारले राहत दिनुपर्छ । 

प्रा.डा. अधिकारी कोरोना भाइरसले अर्थतन्त्रमा सात रेक्टरको भूकम्प ल्याइसकेको उल्लेख गर्छन् । यसलाई नियन्त्रण गर्न सरकारले बजेट नै छुट्याएर लाग्नुपर्ने तर्क उनको छ ।

 उसो त नेपाली अर्थतन्त्र कमजोर नै हो । सरकारले समयमै बजेट खर्च गर्न नसक्नु, न्युन पूँजीगत खर्च जस्ता कारण आर्थिक बृद्धिमा धक्का लाग्दै आएको छ । यतिवेला विश्व अर्थतन्त्रनै प्रभावित बनेको बेला नेपालले विशेष सावधानी अपनाएर सो रोग भित्रन नदिनुनै बुद्धिमानी हुने उनको भनाइ छ । उद्योगी अग्रवाल नेपालको उद्योग व्यवसायमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप