शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको समस्याको जानकारी दिनुहोस्ः उपप्रधानमन्त्री पोख्रेल (भिडियो सहित)

सोमबार, ०३ चैत २०७६, १६ : २४
सोमबार, ०३ चैत २०७६

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि पर्यटन क्षेत्रमा समस्या देखापरेको गुनासो पर्यटन व्यवसायीहरुले गरेपछि उपप्रधानमन्त्री पोखरेलले आफ्ना समस्याहरु स्पस्टसँग राख्न आग्रह गरेका हुन् ।

उनले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन आग्रह गरेका हुन् । उनले सरकारले व्यवसायीहरुलाई सक्दो सहयोग गर्ने आश्वासन दिँदै व्यवसायीहरुले पनि इमान्दार भएर समस्याको समाधान गर्न सहयोग गर्नुपर्ने बताए ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटल व्यवसायीहरुले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको बताइन् । उनले अहिले बैंक कर्जा करिब एक अर्ब रहेको र होटलको अकुपेन्सी रेट १० प्रतिशतमा झरेकाले बैंकको किस्ता तिर्न नसक्ने अवस्था सिर्जना भएको बताइन् । उनले होटल संघ नेपालमा आवद्ध भएका होटलहरुले मासिक १ अर्ब ८० करोड रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको बताइन् ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन राजेश्वर थापाले तीन क्याटागोरीको एयरलाइन्स रहेकोमा सबैभन्दा बढी हेलिकोप्टर व्यवसायको बिजनेस घटेको बताए । उनले हेलिकोप्टर व्यवसायमा ९० प्रतिशत, सर्ट टेकअफ स्टलमा ६० प्रतिशत र ट्रंकरुटमा २० प्रतिशत सम्मको बिजनेस घटेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले धेरैजसो एयरलाइन्सले उडान रद्ध गरेको र एयर टिकेटहरु समेत रिफण्ड गर्नुपर्ने अवस्था आएको बताए । उनले पर्यटन व्यवसायीहरुले तिर्नुपर्ने करमा ५० प्रतिशत छुट दिन अथवा करमा लाग्ने जरिमाना नलगाइदिन पहल गर्न बोर्डलाई आग्रह गरिरहेको बताए ।
नोभल कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ । व्यवसायीहरुले छोटो समयमा देखिएको संकटले व्यवसायिक क्षेत्रमा एक दुई वर्षसम्म असर पार्न सक्ने भन्दै सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप