शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सनकट्टीमा तटबन्धको काम रोक, जोखिममा टीकापुर

सोमबार, ०३ चैत २०७६, १९ : ५८
सोमबार, ०३ चैत २०७६

कैलाली र बर्दिया जिल्ला जोड्ने सनकट्टी घाटको कैलालीतर्फ निर्माण भइरहेको तटबन्धको काम चार दिनदेखि ठप्प भएको छ । स्थानीय केही युवाले तटबन्ध निर्माण गर्ने ठेकेदारसँग रकम माग्न थालेपछि काम ठप्प भएको हो । 

“हरेक कुरा प्रक्रिया पु¥याएर गर्दा रकम माग्ने र धम्क्याउने भएपछि काम रोकिएको हो”, निर्माण कम्पनीका प्रबन्धक धीरेन्द्र शाहीले भने, “नगरपालिका र प्रहरीसँग सहयोग माग्दा पनि नपाएपछि हामीसँग काम रोक्नुभन्दा अर्को विकल्प भएन ।” 

उनले नगरपालिकाले गिट्टी बालुवा उठाउन छुट्याएको क्षेत्रभन्दा ७०० मिटरमाथि काम भइरहेको भए पनि अन्यले रोयल्टी माग्नु गलत भएको बताए ।

“ठेक्का लिएपछि काम गर्नु हाम्रो कर्तव्य हो, स्थानीय नै अवरोधमा लागेपछि हामीले के गर्ने ?” शाहीले भने, “यस वर्ष त्यहाँ तटबन्ध भएन भने वर्षात्मा भयावह हुने अवस्था छ, यस्तो अवस्थामा मङ्सिरमा सक्नुपर्ने काम भए पनि जेठ महिनामै सक्ने गरी काम गर्दै थियौँ ।”
 
त्यस क्षेत्रमा सात मिटर तटबन्धको काम गर्नुपर्नेछ । अहिलेसम्म २०० मिटर मात्र भएको छ । “निर्माण कम्पनीका प्रतिनिधि आएर निवेदन दिनुभएको थियो, दुवै पक्षलाई बोलाएर छलफल गर्न लगायौँ ।” इलाका प्रहरी टीकापुरका प्रहरी निरीक्षक अरुण बमले भने, “नगरपालिकामा गएर समाधान गर्न भनेका छौँ ।” 

भइरहेको काम रोकिएपछि टीकापुरमा त्रास बढेको छ । तटबन्ध गर्न बाँकी रहेको ५०० मिटर बर्खाअघि काम भएन भने नदी टीकापुर पस्ने अवस्थामा छ । नदीले तीव्ररुपमा कटान गर्दै आएको छ । कर्णाली नदीको भगालोले बर्दिया क्षेत्र छाडेर कैलाली क्षेत्र चाप्दै आएको छ । 

रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भइरहेको उक्त तटबन्ध गजुरमुखी सिद्धी साई कस्ट्रक्सनले गरिरहेको छ ।

“यस्तो गम्भीर विषयमा समस्या पहिचान गरेर नगरपालिकाले छिटो निर्णय दिनुपर्छ”, स्थानीय भुवनेश्वर अधिकारीले भने, “तटबन्ध जस्तो विषयमा स्थानीय सचेत हुनुपर्छ ।” उनले विकास निर्माणको काममा अनावश्यक बखेडा कसैले गर्न नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप