केन्द्रीय संस्करण
अन्तरवार्ता

अघिल्लो चोटि फेल भए पनि अब पास हुन्छु : किशोर प्रधानसँगको अन्तरवार्ता

person explore access_timeचैत ४, २०७६ chat_bubble_outline0

अहिले नेपाल उद्योग वाणिज्य महासङ्घ चुनावी माहोलमा होमिएको छ । वरिष्ठ उपाध्यक्षका लागि दुई उम्मेदवार प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । महासङ्घको विधानमा भएको विद्यमान व्यवस्थाअनुसार अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुन्छन् । त्यसैले यो प्रतिस्पर्धालाई २ वर्षपछिको नेतृत्वको भिडन्तको रूपमा समेत लिइने गरिन्छ । 
किशोर प्रधान महासङ्घका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार हुन् । २८ वर्षअघि उद्योग सङ्गठन मोरङको महासचिव हुँदै नेपाल उद्योग वाणिज्य महासङ्घमा केन्द्रीय सदस्यको रूपमा प्रवेश गरेका प्रधानले आगामी कार्यकालको उपयुक्त पात्रको दाबी गर्दै आएका छन् । उनै प्रधानसँग महासङ्घको चुनावी वातावरण र उनको उम्मेदवारीका बारेमा रातोपाटीले गरेको अन्तरवार्ताको सारः

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारणसभा सँगै हुने अधिवेशनले नयाँ नेतृत्वको निर्वाचन गर्दैछ । महासङ्घको विधानको व्यवस्था अनुसार अध्यक्ष पदमा स्वतः निर्वाचित हुने प्रावधान भएकाले त्यसपछिको सर्वोच्च पदमा तपाईंको समेत उम्मेदवारी परेको छ । तपाईंको उम्मेदवारीको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासङ्घको विकासको लागि, साना तथा मझौला उद्योगी व्यवसायीको हितका लागि र त्यसमा ठूला व्यवसायीलाई समेत समावेश गरेर देशलाई सही दिशामा लगेर अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता र योगदानलाई बढाउन मेरो संलग्नताको २८ वर्ष अवधिको अनुभव कार्यान्वयन गर्न मेरो उम्मेदवारी हो ।

मैले विभिन्न सङ्घसंस्थामा रहेर गरेका क्रियाकलाप र अनुभवलाई पनि एकआपसमा सही ढङ्गले अन्तक्र्रिया गर्ने उद्देश्यले नै मैले महासङ्घको नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेको हुँ । अहिले पनि सरकारले निजी क्षेत्रलाई आवश्यक सुविधा दिन सकेको छैन । विशेषगरी साना तथा मझौला उद्योग क्षेत्रमा उद्योगी व्यवसायीले सुविधा पाउन सकिरहेका छैनन् । त्यो सुविधा दिलाउन काम गर्नेछु । 

यी सबै कुरा राख्दाराख्दै पनि अबको नेतृत्व गर्ने भनेको शेखर गोल्छाजीले हो । त्यसैले मेरो प्राथमिकता उहाँका सम्पूर्ण मुद्दालाई सहयोग गर्ने नै हो । त्यसका लागि सरकार, उद्योगी, व्यवसायी र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत छलफल, सहयोग र सहकार्य गर्दै आर्थिक क्षेत्रको विकासका लागि काम गर्ने मेरो पहिलो उद्देश्य हुनेछ । 

महासङ्घमा २८ वर्ष योगदान गरेँ भन्नुभयो । तपाईं अहिले पनि जिल्ला र नगरतर्फको उपाध्यक्ष हुनुहुन्छ । यति लामो अवधिको संलग्नता र उपाध्यक्षसम्मको पद हुँदा पनि तपाईंलाई काम गर्न केले रोक्यो र अर्को नेतृत्वका लागि लडिरहनुभएको छ ? 

नेपाल उद्योग वाणिज्य महासङ्घको विधान अमेरिकी राष्ट्रपतीय व्यवस्थाजस्तो छ । यहाँ अध्यक्षले आफ्नो विचार वा अवधारणालाई आफ्नो एजेन्डा बनाउँछ । अन्य पदाधिकारीले त्यसको कार्यान्वयनमा सहयोग गर्छन् । यहाँ उपाध्यक्षले आफैँले नयाँ अवधारणा ल्याउने र त्यसको कार्यान्वयन गर्ने भन्ने अवस्था छैन । त्यसैले अध्यक्ष हुँदा र उपाध्यक्ष हुँदाको काम गर्ने वातावरणमा धेरै फरक हुन्छ । मेरो सोच र अवधारणालाई कार्यान्वयन गर्ने सम्बन्धमा नै मेरो उम्मेदवारी आएको हो । 

मेरो सोच साना तथा मझौला उद्योगीलाई र कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नेतिर छ । अरू साथीहरुको वा विगतका अध्यक्षहरुको पर्यटन र हाइड्रो क्षेत्रमा छ । त्यहाँनिर विचार फरक भयो । मैले १८–२० वर्षदेखि भन्दै आएको कुरा के हो भने कन्ट्याक फार्मिङमार्फत् हामी देशको उन्नतिमा धेरै ठूलो योगदान गर्न सक्छौँ, जुन सरकारले अहिलेसम्म सोचेको छैन । हामीले धेरै कराएपछि यो वर्षको बजेटमा माननीय अर्थमन्त्रीज्यूले त्यो अवधारणा त ल्याउनुभयो तर त्यसको गहन निष्कर्ष भने अझै आएको छैन । मसँग त्यसको पूरा कन्सेप्ट छ । सरकारसँग वार्ता गरेर त्यस्तो फार्मिङ कसरी गर्ने ? कसरी व्यवसायीलाई कृषिसँग जोड्ने भन्ने विस्तृत कार्ययोजना दिएर मार्गदर्शन गराउने काम म गर्नेछु । 

अहिले कृषि पेसामा रहेका धेरै युवा विदेश पलायन भए । देशभरका खेतीयोग्य जग्गाहरु उब्जनीबाट वञ्चित भए । त्यही कारणले पहिले खाद्यान्न निर्यात गर्ने हाम्रो देशले अहिले खर्बौंको खाद्यान्न आयात गर्ने अवस्थामा पुगेको छ । मान्छेको सबैभन्दा ठूलो आवश्यकता भनेको पेटको दाना हो । आर्थिक उपार्जनको पहिलो कारण नै खाद्य सुरक्षा हो । हाम्रो देश त्यसका लागि आफैँ सक्षम हुँदाहुँदै पनि हामी त्यसमा चुकिरहेको अवस्था अन्त्य गर्ने मेरो सोच हो । 

तपाईं कृषि क्षेत्र र अरू क्षेत्रलाई तुलना गरेर हेर्नुस्, सबैभन्दा छिटो रिजल्ट आउने क्षेत्र यही हो । कृषिमा ४ महिनामा त्यस्तो रिजल्ट आउँछ । पर्यटनमा लगानी गर्नुभयो भने २, ३ वर्ष कुर्नुपर्छ । जलविद्युत्मा लगानी गर्नुभयो भने ५, ७ वर्ष कुर्नुपर्छ । त्यसैले सबैभन्दा छिटो नतिजा देखिने क्षेत्रको व्यवसायीकरण गर्ने मेरो पहिलो अवधारणा हो । 

मैले व्यक्तिगत रूपमा सरकारलाई पहिलो चरणमा सरकारको जग्गा व्यवसायीलाई कृषि प्रयोजनको लागि लक्ष्यसहित  भाडामा दिने व्यवस्था गर्न भन्दै आएको छु । किसानहरुको टुक्रा जग्गालाई एकत्रित गर्न समय लाग्ला । सरकारी जग्गा खेती प्रयोजनको लागि भाडामा दिइयो भने त्यसले सुरुमै नतिजा ल्याउँछ । यसमा अरू प्रयोजनको लागि दिएको भाडा जस्तो झन्झट पनि हुन्न । सम्झौता गर्नेले खेती गरेन वा अपेक्षित रूपमा उत्पादन गर्न सकेन भने तत्कालै सम्झौता खारेज गर्न सक्ने अवस्था पनि हुन्छ । पहिलो चरणमा यो गर्न सकियो भने यसले एउटा छुट्टै सन्देश प्रवाहित हुन्छ । यसले किसानलाई जग्गाको चक्लाबन्दी गरेर खेती गर्न प्रोत्साहित पनि गर्छ । 

त्यसैले अल्पकालीन रूपमै नतिजा आउने क्षेत्रलाई छोडेर दीर्घकाललाई अँगाल्ने प्रवृत्तिले सरकारी योजनामा जनताको प्रत्यक्ष संलग्नता हुन नसकेको यथार्थ सबैले बुझ्नुपर्छ । यही कुरा बुझाउन म नेतृत्वमा पुग्न आवश्यक छ । किनकि सरकारले नेतृत्वको मात्रै कुरा सुन्छ । अब महासङ्घमा शेखर गोल्छाजी आउँदै हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी यो एजेन्डालाई बलियोसँग अघि बढाउँछौँ । सकभर यही अवधिमा हामी यसलाई स्थापित गर्ने कोसिस गर्छौं । बाँकी केही रह्यो भने त्यसपछि मेरो नेतृत्वमा यसलाई निष्कर्षमा पु-याउनेछु । 

अब २८ वर्षमा महासङ्घमा रहेर तपाईंले के गर्नुभयो भन्ने प्रश्न छ, म उद्योग सङ्गठन मोरङमा सर्वप्रथम महासचिव भएर यो क्षेत्रमा प्रवेश गरको थिएँ । त्यतिबेला एउटा सानो गोदाममा एकजना कर्मचारी राखेर सञ्चालन भएको थियो । तात्कालीन अध्यक्ष महेन्द्र गोल्छा, मेरो सचिवालय र मेरा मित्र सुशील धनावसमेत ३ जनाको सक्रियताले हामीले उद्योग सङ्गठनलाई देशभर स्थापित गर्यौं । त्यहाँ महासचिव हुँदैगर्दा म नेपाल उद्योग वाणिज्य महासङ्घको सदस्यको रूपमा प्रवेश गरेँ । म पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घको अध्यक्षसमेत भएको थिएँ, त्यो बेलासम्म पूर्वाञ्चल, मध्यमाञ्चल जस्ता क्षेत्रगत उद्योग वाणिज्य सङ्घको अवधारणा नै आएको थिएन । त्यो अवधारणा नै मैले ल्याएको हो । अहिले नेपाल उद्योग वाणिज्य महासङ्घको प्रादेशिक संयन्त्र समेत बनेको छ ।

हामीले त्यतिबेला पूर्वाञ्चल क्षेको विकासका लागि सडकको योजनासमेत ल्यायौँ । किमाथाङ्का–जोगबनी सडक मेरै दिमागको उपज हो । सरकारले त्यो आयोजना सुरु गर्ने बेलामा मलाई सम्मानपूर्वक ५ जना मन्त्रीसहित उद्घाटन समारोहमा मलाई पनि आमन्त्रण गरेको थियो । अहिले उद्योग वाणिज्य महासङ्घको प्लेटफर्ममा रहेर देशमा उद्योग वाणिज्य क्षेत्रको विकासको लागि मसँग धेरै सोच छ । तर त्यसलाई कार्यान्वयन गर्ने ठाउँ त पाउनुपर्यो नि ! मेरो उम्मेदवारी त्यसैका लागि हो । 

तपाईंले कृषिमा रूपान्तरण गर्छु त भन्नुभयो, तपाईंको फोकस केमा हो ? कृषि क्षेत्रका श्रमिकलाई उद्यमी बनाउने हो कि उद्योगीलाई कृषि क्षेत्रमा डाइभर्ट गर्ने हो ?
यसमा दुईवटै कुरा छ । कृषि क्षेत्रमा अहिले पुँजी, प्रविधि र श्रम सबैको अभाव छ । अब त्यसमा हाम्रो पुँजी र प्रविधि, किसानको श्रम र सरकारको पूर्वाधार र सहजीकरणको आवश्यकता छ । हामी सरकारलाई आवश्यक कृषि पूर्वाधार तयार गर्न कन्भिन्स गराउँछौँ । त्यस्तो पूर्वाधारसँगै हामी उद्यमीहरु त्यो क्षेत्रमा लगानी गर्छौं । यसले पर्याप्त श्रमको उपयोग हुने भएकाले यसले प्रशस्त रोजगारी सिर्जना गर्छ । यो रोजगारीबाट पुँजी जुटाएर श्रमिकहरुले समेत कृषि उद्यम गर्न सक्नुहुन्छ । 

कृषि क्षेत्रलाई जीवन निर्वाहको माध्यमबाट एउटा उद्यमका रूपमा विकास गर्न सक्ने हो भने यसले बहुआयामिक फाइदा गर्छ । यसले देशमै प्रशस्त ऊर्जाको खपत हुने वातावरण बनाउँछ । रोजगारीका लागि विदेश भएकाहरु आफ्नै गाउँघरमा आएर कृषि उद्यम गर्ने वातावरण सिर्जना पनि हुन्छ । अहिलेसम्म उद्योग वाणिज्य महासङ्घले ठूला उद्योग, हाइड्रो र पर्यटनलाई मात्रै महत्त्व दियो । तर कृषि मात्रै त्यस्तो क्षेत्र हो जुन यी सबै क्षेत्रसँग जोडिन सक्छ । भोलि नेपालमा ‘एग्रो टुरिजम’को सम्भावना पनि म देख्छु । त्यसैले अहिले त्यसमा साना तथा मझौला व्यवसायीको संलग्नता बढी हुन्छ । त्यही कुरालाई ध्यानमा राखेर उद्योगी व्यवसायीलाई कृषिमा आबद्ध गराउने वातावरण बनाउन पनि मेरो उम्मेदवारी परेको हो । 

अहिलेसम्म महासङ्घको परम्परा के छ भने उद्योग वाणिज्य महासङ्घ सीमित व्यक्तिको चाहनामा महासङ्घको नेतृत्व स्थापित भइरहेको देखिएको छ । विगतका १०, १२ वर्षमा त एउटा व्यक्तिको हौवाकौवाबाट महासङ्घ चलिरहेको देखिएको छ । अब त्यो तोड्नुपर्छ । 

अहिले वरिष्ठ उपाध्यक्षका लागि दुईजना उपाध्यक्षले उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाईं सहकर्मीहरु एकआपसमा मिलेर अघि बढ्नसक्ने सम्भावना थिएन ?
मिलेर जानसक्ने अवस्था अवश्य नै थियो । हाम्रा भूतपूर्व अध्यक्षहरु, जो हाम्रा लागि आदरणीय व्यक्तित्व हुनुहुन्छ, उहाँहरुले नै महासङ्घको जग बसाल्नुभयो, उहाँहरुले यो प्रयास नगर्नुभएको होइन । उहाँहरुको प्रयासमा मेरो समर्थन थियो, अहिले पनि छ । अहिले पनि बिग्रेको केही छैन ।

पैसाको राजनीतिका कारण पछिल्लो समय संस्थाको मर्यादा खस्क्यो । त्यही कारण यो मर्यादालाई फिर्ता ल्याउन भने पनि एकीकृत भएर जानुपर्छ भन्ने उहाँहरुको धारणा थियो । त्यसो हुन सक्यो भने नेतृत्वले सरकारसँग गरेको ‘डिल’लाई असफल गर्नेतिर कोही लाग्दैन । महासङ्घको काम प्रभावकारी हुँदै जान्छ भन्ने थियो । त्यसमा मेरो पूर्ण समर्थन छ भनेर मैले पूर्वअध्यक्षहरुलाई भनेको छु । 

तर मेरो प्रतिद्वन्द्वी साथीले आफैँलाई सर्वसम्मत उम्मेदवार बनाए मात्रै निर्णय मान्य हुने किसिमले धारणा बुझेँ । पूर्वअध्यक्षलाई स्वतन्त्र रूपमा उम्मेदवार खोज्ने जिम्मेवारी दिन र उहाँहरुले गरेको निर्णयलाई मान्ने धैर्यता उहाँमा मैले देखिनँ । उहाँले ‘किशोर दाइ मलाई छोड्नुपर्यो’ मात्रै भनिरहनुभयो । त्यो मैले उचित देखिनँ । त्यसैले मैले उम्मेदवारी घोषणा गरेको हुँ । पूर्वअध्यक्षहरु अहिले पनि हाम्रो आदरणीय हुनुहुन्छ । उहाँहरुलाई स्वतन्त्र रूपमा त्यसको जिम्मेवारी दिन तयार हुने हो भने सर्वसम्मत नेतृत्वका लागि म अहिले पनि तयार छु । 

मेरो प्रतिस्पर्धी साथी सम्पन्न हुनुहुन्छ । उहाँको सम्पन्नतामा मलाई कुनै अपसोच छैन । तर सम्पन्नतासँगै उहाँ अलिकति मर्यादित पनि भइदिनुभयो भने नेपाल उद्योग वाणिज्य महासङ्घमा एउटा इतिहास रचिने अवस्था हुन्थ्यो । अहिले पनि ढिला भइसकेको त छैन । तर त्यसका लागि उहाँ तयार हुनुपर्यो । 

पूर्वअध्यक्षहरु भन्दै गर्दा उनीहरु पनि विभाजित भएको त देखिन्छ नि ! कोही तपाईंको उम्मेदवारीमा आए, अर्को उम्मेदवारीमा गएनन्, कोही अर्कोमा गए तपाईंकोमा आएनन् ।  अहिले तपाईंको पक्षमा कतिजना पूर्वअध्यक्ष छन् ?
हामी पूर्वअध्यक्षको विभाजनको कुरा नगरौँ । उहाँहरुले कसरी मूल्याङ्कन गर्नुहुन्छ भन्ने हो । महासङ्घका लागि कसले कति योगदान गर्यो ? कुन उम्मेदवारको अवधारणाले महासङ्घलाई माथि पुर्याउँछ ? भन्ने, मूल्याङ्कन गर्ने चार्ट र मोडालिटी त होला नि उहाँहरुसँग ।
जहाँसम्म उम्मेदवारीमा सहभागिताको विषय छ, त्यो स्वेच्छाको कुरा हो । त्यतिबेला सर्वसम्मति गर्ने आधार तयार भइसकेको थिएन । अब तयार भइसकेको, संयोजक नियुक्त भइसकेको अवस्था छ । सोही आधारमा बैठक बोलाउने तयारी भइसकेको अवस्था छ । त्यसैले अहिले सर्वसम्मतिको पहलका लागि आधार तयार भइसकेको अवस्था छ । 

यो आधार बनेपछि अहिले कुनै पनि पूर्वअध्यक्षले केही बोल्नुभएको छैन । कसैलाई सहयोग र कसैलाई असहयोग गर्नुभएको पनि छैन । त्यसैले हामीले उहाँहरुलाई विश्वास गर्नुपर्छ । भोलि निर्णय मेरै पक्षमा आउँछ भन्ने छ र ? त्यसलाई म स्वीकार गर्नु त भनिरहेकै छु नि ! जसरी चुनाव लडेर हारजित हुँदा एकअर्कालाई बधाई दिइन्छ, पूर्वअध्यक्षको निर्णयलाई चुनावको रूपमा मान्ने क्षमता राखौँ भन्ने मात्रै मेरो भनाइ हो । 

यो माध्यमबाट हामी जान सक्यौँ भने हामी एक आपसमा चुनाव लडेर गएको भन्दा बढी शक्ति हामीसँग हुन्छ । अनि मात्रै यो क्षेत्रको सुधारको लागि सरकारसँग बार्गेनिङ गर्ने क्षमता बढ्दै जान्छ । अहिले पनि समय छ, यो अवसरलाई सदुपयोग गरौँ भन्ने मात्रै मेरो आग्रह र चाहना हो । 

अब त्यो एउटा सम्भावनाको कुरा मात्रै भयो । अहिले दुवै जनाले उम्मेदवारी घोषणा भइसकेको र प्यानल तयार गरिरहेको अवस्थामा तपाईंले भन्नुभएको जस्तो सहमतिको सम्भावना अलिक कम नै देखिन्छ । अब चुनाव नै हुने भएपछि तपाईंको जित्छु भन्ने अङ्कगणितीय फ्रेमवर्क चाहिँ कस्तो छ तपाईंको ? 

त्यसका लागि आधार तयार भइसकेको छ । जिल्ला नगरबाट आजको दिनमा ५० प्रतिशतको भारमध्ये ३५ देखि ३७ प्रतिशतसम्म भोट मेरो पक्षमा छ । एसोसिएट्सबाट ३० प्रतिशतमध्ये १९ देखि २० प्रतिशत मत मेरो पक्षमा हुनुहुन्छ । वस्तुगततर्फ २० प्रतिशतमध्ये ११ प्रतिशत मेरो मत आउँछ । 

अब जोड्नुस् कति भयो ? ६६ दखि ६८ प्रतिशत भयो ? मैले प्रत्येक च्याप्टरबाट बहुमत प्रतिनिधिहरुको मत ल्याउँछु । २ तिहाइ मतसहित चुनाव जित्छु । पछिल्लो समयमा मेरो पक्षमा माहोल बन्दै गएको पनि छ । मेरो क्षमता, योगदान र इमानदारिताको मूल्याङ्कन यसपालि हाम्रा प्रतिनिधिहरुले गर्नुहुन्छ । त्यसमा कुनै शङ्का उपशङ्का नमान्नुभए हुन्छ ।

अहिले मात्रै होइन, भोलि म वरिष्ठ उपाध्यक्ष निर्वाचित भइसकेपछि विधान संशोधन भएर अध्यक्षका लागि पुनः लड्नुपर्ने अवस्था आयो भने पनि त्यसका लागि म तयार हुन्छु । साथीहरुको निर्णयलाई म आत्मसात गर्दै जान्छु ।

सङ्घ महासङ्घमा दुईजना उम्मेदवार हुनु ठूलो कुरा होइन तर प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिँदा चाहिँ यसले संस्थालाई नै फुटको चरणमा पुर्याउँछ । मानौँ, वरिष्ठ उपाध्यक्षका लागि तपाईंहरुबीच सहमति भएन तर प्यानलको प्रथालाई हटाउन उपाध्यक्ष र केन्द्रीय सदस्य पदलाई त सर्वसम्मत बनाउन सकिएला नि, त्यसबारे तपाईंहरुको प्रयास कस्तो हुन्छ ?
मुख्य पदमा हुने सहमतिले अरू पदमा समेत सहमतिको सम्भावनालाई बलियो बनाउँदै जान्छ । मुख्य व्यक्तिमा सहमति नहुने तर अरूमा सहमति गर्ने प्रयास चाहिँ व्यक्तिगत रूपमा कसैले गर्यो भने त्यो छुट्टै कुरा हो । त्यसमा हाम्रो कुनै आपत्ति हुन्न । जिल्ला नगर, एसोसिएट्स, वस्तुगत च्याप्टरका उपाध्यक्षहरुले एकआपसमा सहमति गर्नुभयो भने हामीलाई आपत्तिको विषय हुने कुरै भएन । त्यो प्रयास भइरहेको पनि हुन सक्छ । अहिलेको मुख्य ध्यान भनेको चाहिँ निर्वाचित हुने मुख्य पदमा सहमति गर्ने कि नगर्ने भन्ने नै हो ।

महासङ्घको राजनीतिमा एउटा रोचक प्रसङ्ग के रहेछ भने, जो व्यक्तिले एक पटक चुनाव हार्छ, त्यो व्यक्तिले सोही पदमा फेरि उठेर जितेको इतिहास आजसम्म छैन । त्यो इतिहासलाई तपाईं तोड्न सक्नुहुन्छ ?
घोडा चढ्ने मान्छे नै लड्ने हो । सबै विद्यार्थीले यदि राम्रोसँग पढ्छ भने पनि फस्र्ट त एकैजना हुन्छ नि ! अघिल्लो चोटिको चुनावमा मैले भन्दा बढी शेखर गोल्छाजीले पढ्नुभयो । उहाँ फस्र्ट हुनुभयो । त्यसको अर्थ म असफल भएको होइन । 

महासङ्घलाई मेरो आवश्यकता परेर नै एक वर्ष पछि उपाध्यक्षमा मलाई चुनेर पठाएका हुन् । मैले यसपालि झन् मिहिनेत गरेको छु । अघिल्लो चोटि फेल भए पनि अब म पास हुन्छु । तपाईंले भन्नुभएको इतिहासलाई आफ्नो मिहिनेतले तोड्नसक्ने क्षमता राख्न सक्छु भन्ने विश्वास मलाई छ । 

अहिलेको सन्दर्भमा हेर्ने हो भने त म कमजोर विद्यार्थीसँग म तेज विद्यार्थी लड्दै छु । उहाँमा जिल्ला नगरको कुनै अनुभव र प्रतिनिधित्व छैन, म जिल्लाबाट मात्रै प्रतिनिधित्व गर्दै आएको छु । महासङ्घमा उहाँको योगदान र संलग्नता कम छ, मेरो २८ वर्षको संलग्नता र योगदान छ । मैले वस्तुगतबाट पोहोर साल अत्यधिक मत ल्याएको हुँ । जिल्लामा मेरो मत पहिलेदेखि नै राम्रो थियो । मेरो अलिक कम मत एसोसिएट्समा थियो । यो पालि त्यो पनि बढी हुन्छ । त्यसैले मैले पढेको विषयगत आधारमा यो पालि म बोर्डफस्र्ट नै हुन्छु । 

पहिले तपाईंले जोसँग प्रतिस्पर्धा गर्नुभयो, अहिले उहाँले तपाईंलाई साथ दिनुभएको छ भनेर दाबी गरिरहनुभएको छ । यो कसरी सम्भव भयो ? 
यो सम्भव भयो । किनभने उहाँलाई मेरो दक्षता, मेरो इमानदारिता र मेरो लगनशीलतामा उहाँलाई विश्वास थियो । त्यतिबेला जब उहाँको जित सुनिश्चित भयो, मैले हार्दिकतापूर्वक त्यसलाई स्वीकार गरेर बधाई दिएँ ।

उहाँलाई थाहा छ मैले महासङ्घमा दुई कार्यकाल उपाध्यक्ष भएर बस्दा कसरी यो क्षेत्रमा पूर्णकालीन रूपमा समय दिएर काम गरेँ, कसरी सबै कुरामा व्यवस्थित रूपमा सहयोग गरेँ भन्ने उहाँले देख्नुभयो । मैले हारे पनि म महासङ्घकै क्याडर हो भनेर पनि उहाँहरुले बुझ्नुभयो । त्यसैले यो सहकार्य र सहयोग सम्भव भयो । 

तपाईंलाई महासङ्घभित्र बसेर जातीय र क्षेत्रीयताको राजनीति गरेको आरोप लाग्ने गरेको छ, यसबारे के भन्नुहुन्छ ?
त्यो व्यावसायिक दृष्टिकोणले कहीँ दोष देखाउन नपाएपछि जातीयताको दोष लगाइएको हो । नेतृत्वमा बस्ने मान्छेको कुनै जात हुँदैन यो अर्थमा मेरो कुनै जात छैन । तर कुनै जातको मान्छे नेतृत्वमा आउन खोज्यो भन्दैमा उसलाई जातीयताको दोष लगाउनुको अर्थ पनि छैन । हो, सक्षम व्यक्ति भएको कारणले आउनुभएको छ । सबै अति सक्षम, अति मिलनसार, अति मृदुभाषी हुनुहुन्छ । त्यसैले साथीहरुलाई म के आग्रह गर्न चाहन्छु भने योग्यताको आधारमा सबैलाई मूल्याङ्कन गर्नुस्, व्यक्तिको जातको आधारमा विभाजन गर्ने काम नगर्नुस् ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...