शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ को नामाकरण र स्थायी राजधानीको नाम तय गर्न बैठक जारी, आज गोप्य मतदान हुने

मङ्गलबार, ०४ चैत २०७६, १३ : ३७
मङ्गलबार, ०४ चैत २०७६

जनकपुर । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीको सवालमा केन्द्रीत रहँदै प्रदेशसभाको बैठक बसिरहेको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठक प्रदेशको नामाकरण र स्थायी राजधानीबारे निष्कर्ष निकाल्नका लागि केन्द्रित रहेको छ ।

त्यसअघि संसदीय दलका नेताहरुबीच आन्तरिक बैठक भएकोले ३ घण्टा ढिलो गरी  प्रदेशसभा बैठक सुरु भएको थियो । प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउनका लागि प्रदेशसभामा आज गोप्य मतदान हुँदैछ ।

बैठक सुरु भएलगत्तै प्रदेशको नामाकरण र स्थायी राजधानी सम्बन्धी अध्ययन विशेष समितिको तर्फबाट समितिका सदस्य तथा राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले समितिको प्रतिवेदनसहित प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपाका प्रदेश सांसद रामचन्द्र मण्डल र सांसद किशोरी साह ‘कमल’ले जनकपुरधामको ऐतिहासिकता, पौराणिकता, धार्मिक र सांस्कृतिक महत्वबारे बताउँदै प्रदेश–२ को स्थायी राजधानी ‘जनकपुरधाम’ लाई राख्नुपर्ने भन्दै संशोधन प्रस्ताव पेस गरेका छन् ।

बैठकमा प्रदेश नम्बर २ को नामाकरण सम्बन्धमा बोल्दै प्रदेश सांसदहरु पारसप्रसाद साह, सुरिताकुमारी साह, करिमा बेगम, बाबुलाल साह, उपेन्द्र महतोले प्रदेशनम्बर २ को नाम मधेश प्रदेश हुनुपर्ने भनि संशोधन प्रस्ताव गरेका छन् ।

त्यस्तै, राजधानी सम्बन्धमा प्रदेश सांसद करिमा बेगम र ओमप्रकाश शर्माले फरक मत राख्दै प्रदेशको स्थायी राजधानी वीरगञ्ज हुनुपर्ने भनि संशोधन प्रस्ताव पेश गरेका छन् । त्यस्तै, प्रदेश सांसद ओमप्रकाश शर्माले प्रदेशको नामाकरण ‘मध्यमधेश प्रदेश’ राख्नुपर्नेमा बताउँदै फरक मत राखेका छन् ।

त्यस्तै, बैठकमा सत्तारुढ दल समाजवादी पार्टी र राजपा नेपालका सांसदहरुले मधेश प्रदेश, प्रतिपक्षी नेपाली काँग्रेसले मिथिला र नेकपाले जानकी प्रस्ताव राखेका छन् । त्यस्तै, सत्तारुढ दल समाजवादी पार्टी र राजपा नेपालका सांसदहरुले स्थायी राजधानीको नाम वीरगञ्ज प्रस्ताव गरेका छन् । बैठकमा प्र्रदेश सांसदहरुको बोल्ने क्रम जारी छ ।

प्रदेशको नामाकरण र स्थायी राजधानीको सवालमा तर्कसहित मत राखिसकेपछि दुई तिहाई मतले प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लाग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप