शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : नेपालमा कोरोनाभाइरसको चेकजाँच नभएको चिकित्सककै आरोप

मङ्गलबार, ०४ चैत २०७६, १९ : १७
मङ्गलबार, ०४ चैत २०७६

प्रदेश २ नामबारे अन्योल

प्रदेश–२ को नामकरणका लागि मंगलबार प्रस्ताव गरिएको सवै नाम अस्वीकृत भएको छ । 

प्रदेश २ को नामकरणका लागि मंगलबार भएको जानकी प्रदेशको पक्षमा ३७ मत  खसेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी प्रदेशका लागि भएको मतदानमा ३७ मत परेको प्रदेश–२ सभा

सचिवालयले जनाएको छ । योसँगै प्रदेश २ मा नेकपाले प्रस्ताव गरेको जानकी प्रदेश अस्वीकृत भएको छ । 

१०७ जना प्रदेश सभा सदस्य रहेकोमा जानकी प्रदेशमा ३७ मत र विपक्षमा ७० मत खसेको हो । 

त्यसैगरी, नेपाली काँग्रेसले प्रस्ताव गरेको मिथिला–भोजपुराको पक्षमा भएको मतदानमा २८ मत परेको प्रदेश–२ सभा सचिवालयले जनाएको छ । त्यस्तै विपक्षमा ७९ मत खसेको छ । 

योसँगै प्रदेश २ मा काँगेसले प्रस्ताव गरेको मिथिला–भोजपुराको प्रस्ताव पनि अस्वीकृत भएको छ ।  

आजै मध्य मधेश प्रदेशको पक्षमा पनि चुनाव भएको थियो ।  मध्य मधेश प्रदेशको नाम पनि अस्वीकृत भएको छ ।

प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । नेकपाका ३२ बाहेक ५ मत नेकपाको पक्षमा परेका छन् । तर ती मत कुन पार्टीका सांसदले दिए भन्ने खुलेको छैन । प्रदेशको नामाकरण गर्नका लागि दुई तिहाई मत चाहिन्छ अर्थात ७२ मत भएपछि मात्र प्रदेश २ को नाम  पारित हुन्छ । 

उद्योग समिति लेखराज भट्ट

उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । 

 कोरोना भाइरस (कोभिड—१९) को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो ।

 मंगलबार उद्योग समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको बताए । 

 मन्त्री भट्टले चाँडै सुपथ मूल्य पसल र घुम्ती पसल सञ्चालन गर्ने विषयमा मन्त्रालय र कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिमा पनि छलफल भएको बताए । 

मन्त्री भट्टले बजार अनुगमनका लागि गृहमन्त्रालयसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लामा अनुगमन गरी कारवाही गर्ने र अभाव हुने अवस्था सिर्जना हुन नदिने बताए । 

उनले आवश्यकता भन्दा बढी सिलिण्डर भरेर नराख्न पनि आग्रह गरेका छन् ।  असुरक्षित हुने भएकाले भरेका सिलिण्डर घरमा भण्डारण नगर्न नेपाल आयल निगमले पनि चाँडै सूचना प्रकाशन गरी आग्रह गर्ने मन्त्री भट्टको भनाइ छ । 

एसइइ मन्त्री खतिवडा

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो । सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नियमित तालिका अनुसार नै एसइइ परीक्षा सञ्चालन हुने बताए ।  

चैत्र ६ गतेदेखि नै नियमित तालिका अनुसार यथावत रुपमा परीक्षा सञ्चालन हुने उनले बताए । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थीहरु एसइइ परीक्षामा सहभागि हुँदै छन् । 


अर्थ समिति बीमा विधेयक

बीमा कम्पनीको एक प्रतिशत भन्दा बढी संस्थापक शेयर हुने व्यक्ति कुनैपनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने भएका छन् ।

सरकारले एक प्रतिशत भन्दा बढी शेयर भएका व्यक्तिले बीमकसँग वित्तीय स्वार्थ राखेको हुन सक्ने भन्दै त्यस्तो व्यक्तिलाई बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाउने व्यवस्था गर्न लागेको हो । 

अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थापक शेयर एक प्रतिशत भन्दा बढी भएको व्यक्तिलाई सिइओ बन्न आयोग्य मान्नुपर्ने बताएका हुन् । 

अर्थमन्त्री खतिवडाले कुनैपनि सिइओले दोस्रो बजारबाट खरिद गरेको साधारण शेयर समेत खुलाउनुपर्ने बताए ।  त्यस्तै बैठकमा बीमा कम्पनीहरुलाई लघुबीमा कार्यक्रम अनिवार्य कार्यान्वयनमा लैजाने गरी विधेयकमै व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो । 

अर्थ समितिमा बीमा विधेयक

त्यसैगरी, सरकारले बीमा क्षेत्रको नियामक निकाय ‘बीमा समिति’लाई खारेज गरी बीमा प्राधिकरणको स्थापना गर्ने भएको छ । 

बीमा क्षेत्रको नियमन र सुपरिवेक्षण व्यवस्थालाई आधुनिकिकरण गर्न बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले ‘बीमा समिति’ खारेज गरी ‘नेपाल बीमा प्राधिकरण’ स्थापना गर्ने भएको हो । 

बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले बीमा क्षेत्रको नियमन र सुपरिवेक्षणलाई आधुनिकिकरण गर्ने गरी व्यवस्था गर्न लागेको हो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले ‘बीमा ऐन २०४९’ कार्यान्वयनमा रहेको र पछिल्लो समय अन्तर्राष्ट्रिय बीमा क्षेत्रमा नयाँ सिद्धान्तहरु आइसकेकाले नेपालमा पनि नयाँ कानून र व्यवस्थाको आवश्यकता रहेको बताए । 

पद्मा कुमारी अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्य्मा अर्यालले भूमि सम्बन्धी सम्पूर्ण समस्याको एकीकृत ढंगले समाधान गर्ने गरि सरकारले काम गरिरहेको स्पष्ट पारिन् । 

राष्ट्रियसभाको मंगलबारको बैठकमा भूमिसंग जोडिएर सदनमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै उनले सबै समस्याको एकीकृत समाधान गर्ने गरि आवश्यक ऐन, नीति, नियमावली र आयोग गठनको तयारी भईरहेको बताएकी हुन् । उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या उठाईरहनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिवद्धता जनाइन् । 

विगतबाट शिक्षा लिदै सरकारले भूमिसंग जोडिएका सबै कानून निर्माण गरेर मात्रै व्यवहारिक कार्य अघि बढाउने तयारीमा लागेको स्पष्ट पारिन् । 

सांसद कोमल ओलीले अनधिकृत रुपमा सरकारी र सार्वजनिक जग्गा कब्जा गर्नेलाई कारवाही र जग्गा फिर्ता गर्ने अभियान प्रभावकारी हुन नसकेको भन्दै कहिले देखि प्रभावकारी बन्छ भनी प्रश्न गरिन् । 
मन्त्री अर्यालले सार्वजनिक र सरकारी जग्गा संरक्षण गर्ने सरकारको अभियान अन्र्तगत सरकारले जाँचबुझ आयोगको गठन गरेको र जाँचबुझ आयोग क्रियाशिल रहेको स्पष्ट पारिन् । 

विधायन व्यवस्थापन समिति

नेपाल विशेष सेवा ऐनमा कर्मचारीहरुले गर्ने कसुरमा हुने सजाय कडा भएको सांसदहरुले बताएका छन् । 

राष्ट्रको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानमा खलल पु¥याउने गरी गोप्यता भंग गरेमा र सरकारको काम कारवाहीमा घृणा हुने काम गरेमा हुने कसुरलाई एउटै सजाय हुनु उपयुक्त नहुने धारणा सांसदहरुले राखेका हुन् ।
 राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विशेष सेवा ऐन संशोधन विधेयकमाथिको छलफलमा सांसद राधेश्याम अधिकारी, प्रमिला कुमारी र ठगेन्द्रप्रकास पुरीले सबै कसुरमा एउटै सजाय हुन नहुने र न्यूनतम सजाय पनि उल्लेख गर्नुपर्ने बताए । 

नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले सरकारको काम कारवाहीमा धृणा, अवहेलना हुने गरी लेखेर बोलेर र संकेतद्वारा कुनै किसिमको काम गरे÷गराएमा र धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउन सहयोग पु¥याउने कसुरमा जन्मकैदको सजाय हुनु उपयुक्त नुहुने बताए । 

सुन्दरमणिकाे आरोप

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एकजनामा पनि नदेखिएको बताइरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले भने संकास्पद व्यक्तिमाथि कुनैपनि परीक्षण नभएको आरोप लगाएका छन् । 
कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै डा. दीक्षितले भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाए । 

 उनले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दावी समेत गरे ।  उनले सरकारसँग भएका केही किटहरु भिआइपीको परीक्षणका लागि मात्र प्रयोग गरिएको आरोप समेत लगाए । 

एकदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भएपनि सरकारले परीक्षण नगरिदिएको उनको दावी छ । 

उनले आफ्नो अस्पतालमा अझैपनि ३ जना संकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परीक्षण नगरिदिएको आरोप समेत लगाए । 

साक्षात्कारमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले भने कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताए । 

कोरोना विरुद्ध लड्न चीनको साथ
कोरोना भाइरस संक्रमणबाट प्रभावित छिमेकी देश चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के–के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ ।

 यस अघि नेपालले चीनलाई कोरोना विरुद्ध लड्न १ लाख थाम मास्क पठाएर ऐक्यवद्धता जनाएको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन यसबेला नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराइएको छ । 

चीनले केही राष्ट्रलाई सहायता बढाउने नीति अनुरुप नेपालको आवश्यकता के हो भनेर सोधेको मन्त्रालयले जानकारी दिएको छ ।

चीनले नेपाललाई पठाएको पत्रमा– के नेपाल यो बेला चीनको सहयोग र सहायता चाहान्छ ? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ ? हामी जुनसुकै बेला पनि तप्तर छौं । भनेर सोधेको छ ।

कोरोना अपडेट

कोरोनाभाइरसको संक्रमण हालसम्म विश्वका १६२ देशमा फैलिइसकेको छ । १ लाख ७८६ भन्दब बढीमा भाइरसको संक्रमण देखिएको छ । हालसम्म विश्वभर ७ हजार ४ सय बढीको मृत्यु भइसकेको छ ।

संक्रमणबाट चीन पछि इटालीमा धेरैको मृत्यु भएको छ । हालसम्म चीनमा ३ हजार २ सय २६ जनाको मृत्यु भएको छ भने इटालीमा २ हजार १ सय ५८ जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ९ सय ८८ र स्पेनमा ४ सय ९७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी फन्समा १ सय ४८ र अमेरिकामा ९३ जनाको मृत्यु भइसकेको छ । भाइरस संक्रमणका कारण साउथ कोरिया, जर्मनी, स्विजरल्याण्ड जपान यूके लगायतका देशमा मृत्यु हुनेको संख्या बढेको छ । पछिल्ला दिन यूरोपमा भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । नेपालमा पनि भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप