शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

मङ्गलबार, ०४ चैत २०७६, २२ : ०९
मङ्गलबार, ०४ चैत २०७६

बुटवल । असिनाले लागेर र बाढीले बगाएर ज्यान गुमाएका अर्घाखाँचीका दुईजनाको परिवारलाई प्रदेश ५ सरकारले राहत दिने भएको छ ।

पानीसँगै परेको ठूला असिनाले लागेर केही दिनअघि अर्घाखाँचीको शितगंगा नगरपालिकाका १० वर्षीय बालकको ज्यान गएकोे थियो ।  यस्तै शनिबार राति परेको भीषण वर्षापछि आएको खोलाले बगाएर भूमिकास्थान नगरपालिका ९ ढिकुरा चरेपानीका ३८ वर्षीय शालिकबहादुर वलालको मृत्यु भएको थियो ।

 मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असिनाले लागेर र बाढीले बगाएर ज्यान गुमाएका दुवैजनाको परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको हो । त्यस्तै प्रदेशका १२ वटै जिल्लामा असिनाको कारण बालीनालीमा भएको क्षतिको एकिन विवरण संकलन गरी राहत प्रदान गरिने सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

असिना र वर्षाले कृषि उत्पादनमा भएको क्षतिको विवरण संकलनका लागि प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी तत्काल विवरण ल्याउन निर्देशन जारी गरिएको मन्त्री चौधरीले जानकारी दिए । 

यस्तै मन्त्रीपरिषद् बैठकले प्रदेश ५ को सञ्चार परिषद् गठन तथा सञ्चालनका लागि व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्बन्धमा तयार गरिएको अवधारणा पत्रलाई स्वीकृत गरेको छ । संघ र प्रदेशको साझा अधिकारको सूचीमा रहेको सो व्यवस्था अनुसार सञ्चार माध्यमको दर्ता अनुमति, आचारसंहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, वर्गीकरण, सञ्चालन र नियमन गर्नका लागि सो प्रस्तावलाई स्वीकृत गरिएको प्रवक्ता चौधरीले बताए ।

सरकारले अस्थायी ऊर्जा कार्यालय स्थापना गरी आवश्यक दरबन्दी स्वीकृत गर्न अधिकार प्रदान गरेको छ । सरकारले दाङको लालगढीमा अस्थायी उर्जा कार्यालय स्थापना गरी प्रदेशका सबै जिल्लालाई हेर्ने गरी कार्य सञ्चालन गर्न स्वीकृती प्रदान गरेको हो । 

बैठकले प्रदेश ५ सहकारी नियमावली २०७६ लाई स्वीकृत गर्दै भूमि व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्रलाई समेत सैद्धान्तिक स्वीकृति दिएको छ । यसैगरी जीवनाशक विषादी व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्रलाई पनि सरकारले स्वीकृति प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप