केन्द्रीय संस्करण
जोखिममा बैङ्क

कारबाहीमा पर्ने म्यानपावरको सङ्ख्या बढेमा प्राइम बैङ्कले हात उठाउनुपर्ने बेला आउन सक्छ

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल भन्छन्, ‘बैङ्क र म्यानपावरको रिस्क बढेको छ’

person explore access_timeचैत ५, २०७६ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

कुमारप्रसाद दाहाल वैदेशिक रोजगार विभागमा महानिर्देशकका रूपमा सरुवा भई आएको करिब १ महिना भयो । यो एक महिनाको अवधिमा उनले दर्जनभन्दा बढी स्टिङ अपरेसन गरे भने २ वटा म्यानपावर कम्पनीको धरौटी जफत गरिएको छ । अर्को एउटा म्यानपावरको धरौटी जफतको प्रक्रियामै रहेको छ । 

कामदारबाट रकम असुल्ने तर नपठाएर ठगी गर्ने, विदेशमा कामदार अलपत्र पार्ने आदि म्यानपावर कम्पनीहरुमाथि कारबाही मात्रै होइन, ठगी गरेको रकम फिर्ता गर्न तथा उनीहरुलाई उद्धार गर्नका लागि पनि वैदेशिक रोजगार विभागले तीव्रता दिएको छ । जसका कारण यतिबेला वैदेशिक रोजगार विभागमा ठगिने व्यक्ति र विदेशमा काम गर्नेहरुको उजुरी दिनानुदिन बढ्दै गएको छ ।

यसको मतलब वैदेशिक रोजगारीको ठगी अब पहिलेजस्तो सामान्य छलफल गराएर टुङ्गिने भन्ने छैन । आवश्यक पर्दा विदेशबाटै उद्धार गरेर ल्याउने र नेपालमै विदेश पठाइदिन्छु भनेर नपठाउने र ठगी गर्ने म्यानपावर कम्पनीहरुमाथि वैदेशिक रोजगार विभाग आक्रामक रूपमा प्रस्तुत भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल अब पहिलेको जस्तो तरिकाले म्यानपावर कम्पनीहरु सञ्चालन हुन नसक्ने भन्दै आफूहरुलाई सुधार नगरे उनीहरु समस्यामा पर्ने बताउँछन् ।

रातोपाटीसँग कुरा गर्दै महनिर्देशक दाहालले अब म्यानपावर कम्पनीहरु माथि एक्सनको स्पिड बढेको भन्दै म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीमा गएका कुनै पनि नेपाली समस्यामा परेमा उनीहरुलाई उद्धार गर्न र स्वदेशमै पनि ठगीमा परेको भए क्षतिपूर्ति भराउन स्पिड बढाएको बताए । उनले भने, ‘अब पहिलेको जस्तो म्यानपावर कम्पनीहरुलाई हजुर हजुर गर्दै मान्छे झिकाइदिनुपर्यो भनिँदैन । बैङ्क खाता रोक्का गरेर वा उनीहरुले राखेको धरौटी रकम जफत गरेर भए पनि उनीहरुको उद्धार गरिन्छ । म आएपछि मात्रै २ वटा म्यानपावरको धरौटी रकमबाटै पीडितहरुलाई उद्धार गरिएको छ । एउटा म्यानपावर कम्पनीको धरौटी जफतको प्रक्रियामै छ ।’


म्यानपावर र बैङ्कको रिस्क बढ्यो

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अहिले म्यानपावर कम्पनी र बैङ्कहरुको रिस्क बढेको बताए । उनले भने, ‘पहिलेको जस्तो आलेटाले गर्ने समय छैन अब । हामीले कारबाही र उद्धारको स्पिड बढाएका छौँ । हामीले धमाधम कारबाही, उद्धार र क्षतिपूर्ति भराउने काम गरिरहेका छौँ । त्यसकारण पहिले दाबी आएको थिएन भनेर बैङ्कले पनि आफूखुसी ग्यारेन्टी बस्ने अवस्था छैन । अब म्यानपावर कम्पनी र बैङ्क दुवैको रिस्क बढेको छ ।’

महानिर्देशक दाहालका अनुसार पछिल्लो समय उनी आफैँ सक्रिय भएकाले उजुरी आउने क्रम तीव्र रूपमा बढिरहेको बताउँछन् । अहिले विभाग पनि धमाधम एक्सनमा गइरहेको भन्दै धेरै म्यानपावर कम्पनीहरु समस्यामा पर्न सक्ने बताउँछन् ।

म्यानपावर कम्पनीबाटै ठगीमा परेकाहरुले अब पैसा कसरी फिर्ता लिने भनेर चिन्ता पनि गर्नु पर्दैन । किनभने म्यानपावर कम्पनीहरुले विभिन्न बैङ्कहरुमा २ करोडदेखि ६ करोड रूपैयाँसम्म धरौटी राखेका छन् र त्यही रकमबाट वैदेशिक रोजगार विभागले विदेशबाट उद्धारदेखि ठगीमा परेकाहरुलाई कानुनअनुसार ब्याजसहितको रकम फिर्ता गर्न सक्छ । त्यसका लागि ८ सय ५४ म्यानपावर कम्पनीहरुले देशका विभिन्न बैङ्कबाट धरौटी ग्यारेन्टी लिएका छन् ।

८ सय ५४ म्यानपावर कम्पनीमध्ये ६ सय २२ वटा म्यानपावर कम्पनीको धरौटी बराबरको ग्यारेन्टी भने प्राइम कमर्सियल बैङ्कले लिएको छ । जसको कारण प्राइम बैङ्कको जोखिम झनै उच्च छ ।

यद्यपि कुन बैङ्कले कतिवटा म्यानपावर कम्पनी र कति नगद मार्जिन लिएर धरौटीको ग्यारेन्टी गर्यो भन्ने विषय विभागको नभएको महानिर्देशक दाहाल बताउँछन् ।

दाहाल भन्छन्, ‘अब जोखिमकै कुरा गर्ने हो भने त्यो जोखिम बैङ्ककै हो । जोखिमको एनालाइसिस त उहाँहरुले पनि गर्नुभएकै होला । अहिलेसम्म उहाँहरुले धरौटी राखेको रकमको चेक काटेर पठाउँदा फर्काउनु भएको छैन । त्यति बेलासम्म हामी उहाँहरुलाई केही भन्ने कुरा भएन । जबसम्म हाम्रा सेवाग्राहीका चेक अनादार भएर फर्कंदैन तबसम्म हामीले केही भन्ने कुरा हुँदैन, बैङ्कमाथि प्रश्न उठाउने भन्ने कुरा हुँदैन ।’

यद्यपि म्यानपावर कम्पनीसँगै बैङ्कहरुको पनि रिस्क फ्याक्टर बढेको दाहालको भनाइ छ । उनी भन्छन्, ‘अहिले के बुझ्नुपर्छ भने म्यानपावर व्यवसायमा रिस्क फ्याक्टर धेरै बढेको छ । अब पहिलेको जस्तो छैन । अनि यो इन्स्योरेन्स जस्तो व्यवसाय पनि होइन । किनभने भुक्तानी गर्नुपर्दा यो सबै पैसा तत्कालै फिर्ता गर्नुपर्ने पनि हुनसक्छ । त्यसकारण यो पैसा समयमै भुक्तानी गर्नुपरेको अवस्थामा रिस्क फ्याक्टर बढ्दै जाँदा बैङ्कलाई पनि समस्या हुन सक्छ ।’

महानिर्देशक दाहालका अनुसार वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीहरुको बदमासी घट्नुको साटो झन् झन् बढिरहेको छ । दाहाल भन्छन्, ‘अहिले अधिकांश म्यानपावरहरुले बदमासी गरिरहेको देखिन्छ । त्यसकारण विभाग आक्रमक रूपमा अगाडि बढ्दा भोलि समस्या पर्यो भने त्यो म्यानपावर कम्पनी र धरौटीको ग्यारेन्टी गर्ने बैङ्कहरुलाई नै हो ।’

तर पनि बैङ्कले किन गर्यो वा कसरी गर्यो भनेर बैङ्कलाई प्रश्न गर्ने आधार नरहेको दाहाल बताउँछन् । ‘बैङ्कहरुले आफ्नो नाफा नोक्सान र रिस्क फ्याक्टरहरुलाई मूल्याङ्कन गरेर नै धरौटीको ग्यारेन्टी गरेका होलान् जस्तो लाग्छ । त्यसकारण समस्या नपर्दासम्म हामीले बैङ्कलाई केही भन्ने कुरा हुँदैन । तर म्यानपावर कम्पनीको रिस्क बढेको कुरा चाहिँ बैङ्कले बुझ्नैपर्छ ।’

म्यानपावर कम्पनीहरुको रिस्कका सम्बन्धमा महानिर्देशक दाहाल भन्छन्, ‘कुनै कामदारले क्षतिपूर्ति माग्यो, कुनै कामदारले तलब पाएन आदि भने त्यसको क्षतिपूर्ति त्यही धरौटीबाटै दिने हो । कुनै म्यानपावरले ठग्यो भने त्यसको भरपाई पनि त्यही धरौटीबाटै गराउने हो । त्यसकारण अब म्यानपावर कम्पनी र बैङ्कको रिस्क फ्याक्टर बढ्दै गएको कुरा सत्य हो ।’

स्टिङ अपरेसनले उजुरी बढायो

दाहालका अनुसार उनी विभागमा महानिर्देशक भएर आएपछि स्टिङ अपरेसनलाई तीव्रता दिएका छन् । मुख्यतः बढी रकम लिएर वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीमाथि विभागले स्टिङ अपरेसनलाई तीव्रता दिएको छ । दाहाल भन्छन्, ‘मैले जति बढी स्टिङ अपरेसन गरे, जति बढी कारबाहीको प्रक्रिया अगाडि बढाएँ, त्यति त्यति समस्या थपिँदै जाने हो । अहिले म्यानपावर कम्पनीविरुद्ध उजुरी आउने क्रम दैनिक बढ्दै गएको छ ।’

तत्कालै ८० जनाभन्दा बढीको उद्धार गर्नुपर्ने अवस्थामा

महानिर्देशक दाहालका अनुसार अहिले पनि एक म्यानपावर कम्पनीबाट कामका लागि साउदी अरबमा पुगेका ८० भन्दा बढी कामदारलाई उद्धार गर्नुपर्ने अवस्था आएको दाहाल बताउँछन् । दाहाल भन्छन्, ‘यदि उनीहरुलाई उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा उनीहरुका लागि हवाई टिकटदेखि लिएर काम गरेको करिब २ महिनाको तलब, उनीहरुले नेपालमा बुझाएको रकम सबै गर्दा म्यानपावर कम्पनीको धरौटी रकमले पनि नपुग्न सक्छ । त्यो म्यानपावरको धरौटी पनि तपाईंले भनेकै बैङ्ककै छ । यस्तो अवस्थामा बैङ्कले धमाधम धरौटीको रकम तिर्नुपर्ने अवस्था आयो भने के गर्ने ? पछि सक्दिनँ भनेर हात उठाउने ? अवस्था त बिस्तारै त्यस्तै आउन सक्छ ।’

दाहाल अगाडि थप्छन्, ‘साउदी अरब मात्रै होइन, हामीले जोर्डनबाट पनि केही कामदारलाई उद्धार गर्नका लागि परिवारले माग गरिरहेका छन् । यस्तो समस्या दैनिक आइरहेको हुँदा म्यानपावर कम्पनी र बैङ्कको रिस्क फ्याक्टर बढेको कुरा लुकाएर लुक्ने कुरा भएन ।’

दाहालका अनुसार अहिले उनको सम्पर्कमा म्यानपावर कम्पनीबाट ठगिएका, विदेशमा एक काम भनी अर्को काममा पठाइएका, तलब र सेवा सुविधा भनेको जस्तो नभएको र मर्कामा परेका थुप्रै मानिस आइरहेका छन् । उनी भन्छन्, ‘त्यसकारण विभागले यसरी नै तीव्र गतिमा काम गर्ने हो र म्यानपावर कम्पनीहरुले पनि पुरानै शैलीमा काम गर्ने हो भने उनीहरुको धरौटीमा प्रश्नचिन्ह नआउला भन्न सकिँदैन, त्यति बेला चाहिँ धेरैको धरौटी फिर्ता गर्नुपर्ने अवस्था आउन सक्छ ।’

बैङ्कले पहिलेको जस्तो नसोचे हुन्छ : महानिर्देशक दाहाल

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल बैङ्कहरुले पहिलेकै हिस्ट्री हेरेर धरौटीको ग्यारेन्टी लिन नहुने बताउँछन् । उनी भन्छन्, ‘अहिले म्यानपावर कम्पनीहरुको धरौटी ग्यारेन्टी गर्ने बैङ्कहरुले के सोचेका छन् भने वर्षमा २, ४ वटा म्यानपावरलाई मात्रै समस्या पर्ने हो र उनीहरुलाई समस्या पर्दा आफ्नो त्यही शीर्षकको कमिसन र नाफाबाटै मिलाइहाल्छु । तर समय फरक भइसकेको छ । म्यानपावरहरुको यस्तै रबैया बढ्दै जाने र हामीले एकै महिनामा ३ देखि ४ वटा म्यानपावरहरुलाई कारबाही गर्न थाल्यौँ भने त बैङ्कहरुले हात उठाउनुपर्ने अवस्था आइहाल्छ नि ।’

दाहाल अगाडि भन्छन्, ‘किनभने उनीहरुले २ करोडको धरौटीको कुरा गरे पनि २० लाख रूपैयाँ राखेर ग्यारेन्टी गरेका छन् । त्यो रकममा पनि उनीहरुको कमिसन काट्दा १५ लाख हाराहारीमा होला । त्यसकारण भोलि समस्या पर्दा उनीहरुले हात उठाउने बाहेक अरू त के नै गर्न सक्छन् र ? आखिर डुब्ने भनेको त बैङ्क नै हो । यद्यपि बैङ्कले ग्यारेन्टी गरेर पठाएपछि हामीले उनीहरुलाई केही भन्ने कुरा हुँदैन, कतिको गर्ने र कसरी ग्यारेन्टी बस्ने भन्ने कुरा उहाँहरुकै व्यापारको कुरा भयो ।’

अहिले प्राइम कमर्सियल बैङ्कले ६ सय २२ वटा म्यानपावर कम्पनीहरुको धरौटीको ग्यारेन्टी गरेर बसेको छ । बैङ्कले १२ अर्बभन्दा बढी रकमको धरौटी ग्यारेन्टी गरे पनि अधिकांश म्यानपावर कम्पनीसँग धितो लिइएको छैन । १० प्रतिशत मार्जिन अर्थात् करिब १५ लाख मात्रै राखेर २ करोड (५० लाख नगद धरौटी र १ करोड ५० लाखको बैङ्क ग्यारेन्टी) धरौटीको ग्यारेन्टी बस्दा भोलि बैङ्कलाई समस्या पर्नसक्ने अवस्था आउनेबारे रातोपाटीले यसअघि नै समाचार प्रकाशन गरिसकेको छ ।

ग्यारेन्टी बस्दा फसेका छन् नेपाली बैङ्कहरु

त्यसो त बैङ्कले ग्यारेन्टी वा काउन्टर ग्यारेन्टी बस्दा यसअघि नै नेपालका तीनवटा बैङ्क समस्यामा परिसकेका छन् । मेलम्ची खानेपानी आयोजनाको काम समयमै नसकिएपछि नेपाल सरकारले २०६९ साल असोज ९ गते चाइना रेलवेको सेक्टर १५ सँग ठेक्का सम्झौता तोड्दै धरौटी रकम जफतको दाबी गर्यो । यो प्रक्रिया टुङ्गिएर २०७२ जेठ १ गते आयोजनाले हालको मूल्यमा करिब २ अर्बको बैङ्क ग्यारेन्टी जफत गर्यो ।

उक्त रकममध्ये हिमालयन बैङ्कको ६६ लाख अमेरिकी डलर अर्थात् हालको मूल्यमा झण्डै ७८ करोड नेपाली रूपैयाँ र बैङ्क अफ काठमाडौँको ६६ लाख अमेरिकी डलर तथा १४ लाख युरो अर्थात् हालको मूल्यमा झण्डै ९७ करोड रूपैयाँ भुक्तानी गर्नुपर्यो । किनभने यी दुई बैङ्कहरु चाइना कन्स्ट्रक्सन बैङ्क कर्पोरेसनको पत्रका आधारमा काउन्टर ग्यारेन्टी बसेका थिए ।  नेपालमा काम गर्न नसकेपछि यी दुई बैङ्कले राखेको ग्यारेन्टी आयोजनाले जफत गरेको थियो । तर काउन्टर ग्यारेन्टी बसेबापत दुई बैङ्कले बुझाएको १ अर्ब ७५ करोड रूपैयाँ चाइना कन्स्ट्रक्सन बैङ्क कर्पोरेसनले नेपाली बैङ्कलाई भुक्तानी नगर्दा त्यो रकम फसिरहेको छ र त्यो रकम आउने वा नआउने भन्ने टुङ्गो लागेको छैन ।

हिमालयन र बैङ्क अफ काठमाडौँ मात्रै होइन पछिल्लो समय नेपाल इन्भेस्टमेन्ट बैङ्क पनि काउन्टर ग्यारेन्टीमा फसेको छ । तनहुँ हाइड्रोपावर कम्पनी निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सीएमसीले काम छाडेर भागेपछि आयोजनाले उसको जमानत ग्यारेन्टी लिने नेपाली बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्कबाट २ अर्ब रकम खिच्यो । तर सीएमसीका लागि बैङ्क ग्यारेन्टी बसिदिने इटालियन बैङ्कले भने नेपाल इन्भेस्टमेन्ट बैङ्कलाई उक्त रकम भुक्तानी गरेन र इनभेस्टमेन्ट बैङ्कको २ अर्ब रूपैयाँ अहिले करिब करिब डुबेको छ ।

यी तीन नेपाली बैङ्कको करिब ४ अर्ब रूपैयाँ काउन्टर ग्यारेन्टी वा बैङ्क ग्यारेन्टी कारण फसेको भए पनि प्राइम कमर्सियल बैङ्कले पनि ठूलो मात्रामा बैङ्क ग्यारेन्टी लिएर बसेको छ । प्राइम बैङ्कले धेरै संस्थाको ग्यारेन्टी बसेर करिब १२ अर्ब रूपैयाँ बराबरको ग्यारेन्टी बसेको छ । यद्यपि ती संस्थाहरु नेपाली म्यानपावर कम्पनीहरु हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...