शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना त्रास : ८ दिनमा ५३ विदेशीलाई विमानस्थलबाटै डिपोर्ट

पछिल्ला १७ दिनमा नेपाल आउने अधिकांश नेपाली नागरिक
बिहीबार, ०६ चैत २०७६, १२ : ५८
बिहीबार, ०६ चैत २०७६

कोरोना भाइरसको संक्रमण विश्वव्यापीरुपमा बढ्दै गएको बेला नेपाल सरकारले ५३ जना विदेशी नागरिकलाई नेपालको विमानस्थलबाटै फिर्ता पठाइदिएको छ ।

विभिन्न देशबाट नेपाल आएका उनीहरुलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएर उनीहरुलाई फिर्ता पठाइदिएको हो ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यका अनुसार मार्च १० देखि मार्च १७ अर्थात् ८ दिनको अवधिमा ५३ जना विदेशी नागरिकलाई अध्यागमन चेकजाँचकै क्रममा फिर्ता पठाइएको छ ।

उनीहरुमध्ये अधिकांशले नेपाल प्रवेश गर्नका लागि आवश्यक स्वास्थ्य परीक्षण रिपोर्ट नल्याएको कारण फिर्ता पठाइएको हो । सरकारले विभिन्न देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेपछि पनि भिसा नलिई नेपाल प्रवेश गर्न खोजेका केहीलाई पनि फिर्ता पठाइएको छ ।

८ दिनको अवधिमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फिर्ता पठाएका विदेशी नागरिकमध्ये ३२ जना विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण रिपोर्ट नभएको कारण फिर्ता पठाइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले रातोपाटीलाई बताए । त्यसैगरी १७ जना विदेशी नागरिकलाई भिसा नलिई नेपाल प्रवेश गरेको भन्दै विमानस्थलबाटै फिर्ता पठाइएको छ । बाँकी ४ जना विदेशी नागरिकलाई भने ‘इमिग्रेसन रिजन’ भन्दै फिर्ता पठाइएको अध्यागमन कार्यालय एअरपोर्टले जनाएको छ ।

यस्तो छ, गएको मार्च १० देखि मार्च १७ सम्म त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फिर्ता पठाएका विदेशी नागरिकहरुको सूची :

डिपोर्ट हुनेमा चिनियाँ र फ्रान्सेली नागरिक बढी

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाटै फिर्ता पठाइएकामध्ये चीन र फ्रान्सबाट आएका नागरिकहरु बढी छन् । अध्यागमन कार्यालयका अनुसार चीन र फ्रान्सबाट आएका ७–७ जना नागरिकलाई विमानस्थलबाटै फिर्ता पठाइएको छ ।

त्यसैगरी जापान र बेलायतबाट आउने ६–६ जना नागरिकलाई पनि विमानस्थलबाटै फिर्ता पठाइएको छ । अन्य देशका नागरिकमध्ये अष्टे«लियाबाट आएका ५ जना, भुटानबाट आएका ४ जना, अमेरिका र नेदरल्याण्डबाट आएका ३–३ जनालाई विमानस्थलबाटै डिपोर्ट गरिएको छ ।

त्यसैगरी चेक रिपब्लिक र इटालीबाट आएका २–२ जना विदेशीलाई विमानस्थलबाटै डिपोर्ट गरी फिर्ता पठाइएको अध्यागमन कार्यालयले जनाएको छ । त्यस्तै क्यानडा, मेक्सिको, अफगानिस्तान, भारत, हङकङ र मलेसियाबाट आएका १–१ जनालाई पनि विमानस्थलबाटै फिर्ता पठाइएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले एअरपोर्टबाटै डिपोर्ट गरेकामध्ये बेलायतबाट आएका ६ जना गैरआवासीय नेपाली नागरिक हुन् ।

त्यसैगरी अष्ट्रेलियाबाट नेपाल आएका ४ जना नागरिक पनि गैर अवासीय नेपाली नै हुन् । अध्यागमन कार्यालयले एअरपोर्टबाटै डिपोर्ट गरेकामध्ये एकजना अमेरिकी नागरिक पनि गैर आवासीय नेपाली नागरिक नै हुन् ।

पछिल्ला १७ दिनमा नेपाल आउने अधिकांश नेपाली नागरिक मात्रै

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार पछिल्ला १७ दिनमा नेपाल आएकामध्ये अधिकांश नेपाली नागरिक रहेका छन् । अध्यागमन कार्यालयका अनुसार मार्चको पहिलो दिन अर्थात् मार्च १ तारिखदेखि मार्चको १७ तारिखसम्म हवाई मार्ग हुँदै नेपाल प्रवेशको सङ्ख्या ७५ हजार ७५ जना रहेको छ । जसमध्ये ५० हजार ८ सय ३६ जना नेपाली नागरिक रहेका छन् ।

बाँकीमध्ये ४ हजार ८ सय ३२ जना भारतीय नागरिक रहेका छन् भने १९ हजार ४ सय ७७ जना अन्य देशबाट आएका नागरिक रहेका छन् ।

मार्च महिनाको सुरुवातबाट नै नेपालमा प्रवेश गर्ने विदेशी नागरिकको सङ्ख्या घट्न थालेको देखिन्छ । 

नेपाल आउने नागरिकमध्ये १७ दिनको ग्राफ हेर्ने हो भने नेपाली नागरिकको सङ्ख्या करिब–करिब उस्तै रहेको भएपनि विदेशी नागरिकको सङ्ख्यामा भने व्यापक गिरावट आएको छ । सरकारले अन अराइभल भिसामा लगाएको रोक तथा कोरोना त्रासका कारण पनि आगमनमा उल्लेख्य कमी आएको छ ।

त्यसैगरी मार्चको १ तारिखदेखि नेपालबाट बाहिर जानेहरुको सङ्ख्यामा पनि व्यापक कमी आएको छ । विभिन्न देशले आगमनमा प्रतिबन्ध लगाउनु तथा विभिन्न हवाई एअरलाइन्सहरुले उडानमा कटौती वा बन्द गर्नुले पनि विदेश जानेहरुको सङ्ख्यामा पनि कमी आएको हो ।

हेर्नुहोस्, मार्च १ देखि १७ तारिखसम्म, नेपालबाट बाहिरिने तथा नेपाली आउनेहरुको सङ्ख्या ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कोरोनाको त्रासका कारण पनि अहिले नेपाल प्रवेशमा केही कडाई गरेको छ । यात्रुको चाप कम भएको कारणले पनि यात्रुबारे धेरै जानकारी राख्न पाइएको र स्वास्थ्य परीक्षण, कुन देशबाट आएको हो, त्यस देशको अवस्था आदि विश्लेषण गरी प्रवेश दिने वा फिर्ता पठाउने गरिएको अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले रातोपाटीलाई बताए ।

सँधै यात्रुको चाप र लाइन हुने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको यार्ड (लाइन बस्ने स्थान) अहिले खाली नै देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप