बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक : कोरोना भाइरसकै चर्चा

बिहीबार, ०६ चैत २०७६, १५ : १८
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको कामको प्रशंशा गर्दै राजनीतिक दल, संघसंस्था, उद्योग व्यवसायी, नागरिक समाज लगायत सबै निकाय मिलेर थप रणनीति बनाउन सुझाव दिएका छन् । 

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले कोरोना भाइरस संक्रमणको संकटको सामना गर्न सबैसंग हालेमालो गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रियसभा सदस्य गोपी बहादुर सार्की अछामीले दक्षिण पूर्वी एसियामा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस विरुद्ध लड्नका लागि सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको भएपनि त्यो पूर्ण नभएको बताए । 

उनले कोरोना भाइरस संक्रमणले निम्त्याएको चुनौतीको सामना गर्न सरकार, राजनीतिक पार्टी र सबै जनता एक भएर सजकता अपनाउनुपर्ने बताए । 

उनले भने, ‘सरकार, राजनीतिक पार्टी र सबै जनता एकताका साथ सजकताले यो चुनौतीको सामना गर्न सक्ने ठाउँमा छौँ । यसका लगि सबै राजनीतिक पार्टी, जनता र विशेष गरी सरकारले पहल लिन जरुरी छ ।’

उनले सीमा अतिक्रमण पनि अहिलेको मुख्य चुनौतीका रुपमा रहेको बताए । उनले नेपाल भारतबीच भएका सम्झौता अन्तर्गत कोसी सम्झौतामा भएका कुराहरु वर्षौ वित्दा समेत पुरा नभएको तथा २०१८ सालबाट २०२८ सालसम्म कोसी डुबान र कटानमा परेका जनताले अहिलेसम्म सहमति अनुसारको राहत पाउन नसकेको बताए । 

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले कोरोना संक्रमणबाट जोगिन सरकारले गरेको प्रयासको प्रशंशा गर्दै संकटको सामना गर्न सबैलाई हातेमालो गर्न आग्रह गरे । उनले नेपाल आउने सबै नाकाहरु बन्द गर्दे गर्दा सर्तकतामा ठूलो सहयोग मिलेपनि गल्फ लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरु नेपाल फर्कन चाहेमा, त्यही उनीहरु संक्रमित भए के गर्ने भन्ने तयारी गर्न सरकारको ध्यानाकर्षण गराए । 

उच्च जोखिममा रहेको व्यक्तिको पहिचान गरि उनीहरु लक्षित आवश्यक कार्यक्रम गर्नुको साथै आपुर्तिलाई सहज बनाउने तर्फ प्रभावकारी काम गर्न पनि उनले आग्रह गरे । 

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले कोरोना भाइरस विरुद्ध सरकारले अघि सारेका कार्यक्रमहरु पर्याप्त नभएको धारणा राखे । वर्तमान संकट समाधानका लागि सरकार एक्लो प्रयास मात्रै प्रभावकारी नहुने भन्दै उनले सम्पूर्ण राजनीतिक दलहरु एकजुट भएर चुनौतिको सामना गर्नुपर्ने बताए । 

राष्ट्रियसभा सदस्य कोमल ओलीले आफु र बाँच र अरुलाई बाँच्न देउ भन्ने मुल मर्म सहित संकटको मेला सबैसंग हातेमालो गरि समस्या समाधानमा जुट्न आग्रह गरिन् । 

मुलुक अप्ठ्यारो परेको बेला दैनिक उपभोग्य वस्तु कृतिम अभाव देखाएर कालोबजारी भएको उल्लेख गर्दे उनले अप्ठ्यारोमा सद्भाव देखाई हातेमालो गरेर मानवीयता देखाउन सबैलाई आग्रह गरिन् । 

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले नेपाल भारत संयुक्त सर्भे टोलीले हालै कञ्चनपुरको सिमानामा पर्ने कुनै विवाद नै नभएको कयौ विघाहा जग्गा भारत तर्फ पारिएको भन्दै त्यसको विरोध गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । 

२०२४ साल देखि भोगचलन सहित पुर्जा भएको र नक्सामा भएको जग्गा नेपालकै भूभाग हो भन्नेमा कुनै पनि विवाद नभएको भन्दै उनले लिपुलेक, कालापानी जस्ता भूभागहरु अतिक्रमण हुँदा सरकार के गरिरहेको छ भनी प्रश्न  गरिन् । 

राष्ट्रियसभा सदस्य बिमला राई पौडेलले कोरोनाको कारण देखाउदै कतारबाट २ सय ५० जना नेपालीलाई अमानवीय रुपमा नेपाल फर्काइएको र उनीहरुको अवस्था बारे सदनलाई जानकारी गराउन माग गरिन् ।

विश्वस्वास्थ्य संगठनले कोरोना संक्रमणबाट बच्नका लागि आईसोलेट, परीक्षण र संक्रमितको सम्पर्कमा आउनेको ट्रयाक गरी उनीहरुको पनि परीक्षण गर्न भनेको उल्लेख गर्दै त्यसतर्फको तयारीका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप