शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभन्दा डरलाग्दोसँग फैलिँदो ‘भ्रमको महामारी’

‘मास्कले भाइरस रोक्दैन तर संक्रमणको सम्भावना कम गराउन सक्छ’
शुक्रबार, ०७ चैत २०७६, १५ : ०३
शुक्रबार, ०७ चैत २०७६

कोरोनाको विश्वमहामारीलाई नै माथ गर्ने गरी यतिखेर संसारभरि नै डरलाग्दोसँग भ्रमको महामारी पनि फैलिँदै गइरहेको छ ।

कोरोनाको कहरसँग जुघिरहेको संसारका सामु यतिखेर सबैभन्दा डरलाग्दो समस्या यो ‘भ्रमको महामारी’ लाई कसरी चिर्ने भन्ने पनि भएको छ ।

सौभाग्यको कुरा यतिखेर नेपालमा कोरोनाको संक्रमण ‘देखापरेको’ छैन । तर त्योभन्दा डरलाग्दो ढंगले कोरोनाभाइरसबाट बच्ने उपायका बारेमा भ्रमको बाढी आएको छ । यसै सन्दर्भमा सबैभन्दा डरलाग्दो भ्रमचाहिँ युनिसेफको हवाला दिँदै ‘मास्कले कोरोनाभाइरसको संक्रमण रोक्छ’ भन्ने खालको भ्रम पनि भएको छ ।

तर यो कुरामा सत्यतथ्य भने पटक्कै छैन । स्वयं युनिसेफले पनि आफ्नो नाम जोडेर भइरहेको यो खालको भ्रमपूर्ण प्रचारको खण्डन गर्दै पनि आइरहेको छ । गत फागुनमै कोरोनाभाइरस बारे गलत सुचना प्रवाहका सम्बन्धमा युनिसेफको साझेदारी विभागकी उपकार्यकारीनिर्देशक शार्लट पेट्री गर्निज्काकोले एक वक्तव्य जारी गर्दै भनेकी थिइन्ः ‘त्यस्ता भ्रामक सूचना सिर्जना गर्नेहरूलाई हाम्रो एउटा सरल सुझाव छस् त्यसो गर्न बन्द गर्नुहोस्। आधिकारिक र विश्वसनीय संस्थाहरूको नाम अनधिकृत तवरले जोडेर गलत सूचना प्रवाह गर्नु एकदमै गलत र खतरनाक कदम हो।’

यसै सन्दर्भमा टोकियो युनिभर्सिटीमा कार्यरत, रसायन शास्त्रमा विद्यावारिधि गरेका विज्ञान अध्येता आनन्द काफ्लेले  आफ्नो फेसबुक स्टाटसमा लेखेका तलको कुरा मननीय छ । उनले लेखेका छन् :

हल्लै हल्लाको देशमा युनिसेफको हवाला दिँदै प्रेशित, धेरै पटक सेयर भएको एउटा सूचनामा कोरोनाभाईरस् ४००–५०० माईक्रोमिटर साईजको भएकाले जस्तोसुकै मास्कले पनि छेक्न सक्ने भनेर प्रचार गरिएको पाइयो । त्यो साईज भनेको १ मिलिमिटरको आधा हो (कम से कम कलमको निबको एक थोप्लो जत्रो) र यदि त्यो सत्य हुन्थ्यो भने कोरोनालाई आँखैले देखिने हुनुपर्थ्यो । तर आँखाले त के लाईट माईक्रोस्कोपले पनि यसलाई देख्न सकिन्न (लाईट माईक्रोस्कोपले देखिनका लागि कम्तिमा १ माईक्रोमिटरको हुनुपर्छ)। भाईरस मध्यमा कोरोना ठूलै साईजको भाईरस भए पनि यथार्थमा यो माथि भनिएको साईजको २ हजार गुणा भन्दा सानो हुन्छ । मास्क कै कुरा गर्ने हो भने त जुनसुकै मास्कको छिद्र पनि भाईरसको साइज भन्दा निकै ठूलो हुन्छ । तर यसो भए पनि मास्कले भाईरसलाई बोक्ने थुकका छिटा, स्वासमा हुने जलवाष्प इत्यादिलाई छेकेर रोग सर्ने संभावना कम गराउँन सक्छ । साथसाथै निर्दिष्ट गुणस्तरको मास्कमा स्थिर विध्युतीय चार्जको मद्दतले किटाणुलाई बाहिरै अड्काएर राख्ने व्यवस्था पनि हुन्छ । त्यस्तो जे लगाए पनि हुने भन्ने कुरा तथ्यपरक होइन । तर केही भएन भने थुक उछिट्टिन नदिनका लागि घरेलु उपाय अपनाउनुको विकल्प त नहोला ।

कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बनेको अवस्थामा अर्को ठूलो भ्रमको महामारी चाहिँ गाईको गोबर र गहुँतले कोरोनाभाइरस रोकथाम गर्छ र लागिहालेमा निको पार्छ भन्ने पनि हो । तर यसबारेमा अझैसम्म कुनै वैज्ञानिक अध्ययन भई सत्यतथ्य स्थापित भएको चाहिँ छैन । बरु कोरोनाभाइरसको रोकथाम गर्छ भनी भारतमा गहुँतको सेवन गर्दा मानिसहरु बिरामी परेका खबरहरु चाहिँ आइरहेका छन् । यसै सन्दर्भमा भारतका ५७६ जना वैज्ञानिकहरुले मोदी सरकारलाई एक सामुहिक पत्र लेख्दै ‘गोबर–गहुँतको ‘औषधीय गुणहरु’ को प्रचार बन्द गर्न माग गरेको कुरा यहाँ स्मरणीय छ ।

भुल्नै नहुने कुरा के हो भने अहिले विश्वभरि महामारी फैलाइरहेको कोभिड–१९ नामाकरण गरिएको कोरोनाभाइरस नितान्त नयाँ किसिमको भाइरस हो । यसको बारेमा अझै पनि वैज्ञानिकहरुले सम्पूर्ण रुपमा जानकारी हासिल गरिसकेका छैनन् । कोरोनाभाइरसको महामारी तीब्र फैलिँदै जाँदा विश्व वैज्ञानिक समुदाय यसका विरुद्ध खोप औषधीहरुको निर्माण गर्ने अभियानमा युद्धस्तरमा जुटेका छन् । अमेरिका, चीन लगायतका देशहरुमा यसका खोपहरु विकासको प्रारम्भिक चरणमा रहेको र मानवमाथि प्रयोगात्मक परीक्षण पनि थालिइसकेको छ । यसको सार्वजनिक उपयोग र उपलब्धता ती प्रयोगहरुको सफलता असफलता र त्यसले दिने  नतिजाहरुमा निर्भर हुने गर्छ । त्यसैले यसका उपचारबारेमा अहिले नै यसै भन्न सकिहाल्न सकिने स्थिति भने छैन ।

यस्तो स्थितिमा गाईको गोबर र गहुँतले कोरोनाभाइरसको उपचार हुन्छ भन्ने कुरा आफैंमा अप्रामाणिक र विज्ञानविरोधी कुरा हो ।

त्यसैगरी, ‘जापानी डाक्टरहरुको गम्भीर सुझाव’ इन्टरनेटमा फैलिएको अर्को खतरनाक भ्रम चाहिँ ‘प्रत्येक १५  मिनेटमा पानी वा तरल पदार्थ पिउँदा भाइरस पेटमा पुग्ने र पेटको एसिडले त्यसलाई मार्ने’ भन्ने पनि हो । वास्तवमा, कोरोनाभाइरसको संक्रमणले भेट्यो भने पानीले पखालिएर पेटमा जाने भन्ने अत्यन्तै भ्रामक र गलत  कुरा नै हो ।

एउटा कुरा के चाहिँ निश्चित हो भने कोरोनाभाइरसको महामारी खतरनाक हो, तर यो भाइरसको संक्रमण आफैं चाहिँ चर्चा परिचर्चा गरेजस्तो खतरनाक पनि होइन । विशेष गरेर यसको संक्रमणले शरीरको रोग प्रतिरोधी क्षमता अर्थात् इम्युन सिस्टम कमजोर भएका व्यक्तिलाई बढी गाँज्ने गर्छ । यो भाइरसको संक्रमणले भेट्ने बित्तिकै मरिहाल्ने पनि होइन, त्यस्ता कमजोर इम्युन सिस्टम भएकाहरु नै चाहिँ मर्ने सम्भावना बढी रहने हो । यस अर्थमा पनि शरीरको रोग प्रतिरोधी क्षमता बढाउने कुनै पनि परम्परागत वा आधुनिक उपायहरु यस भाइरसको विरुद्ध लड्नका लागि सहयोगी र उपयोगी सिद्ध हुन सक्छ । त्यसो त चीनमा पनि कोरोनाभाइरसका उपचारमा चीनका परम्परागत जडीबुटी उपचारहरुको प्रयोग भएका कुराहरु पनि आएका छन् । तर त्यस्ता प्रयोग तथा तिनका प्रभावकारिताका बारेमा आधिकारिक जानकारीहरु औपचारिक रुपमा प्रकाशमा आएका छैनन् । यो स्थितिमा कोरोनाभाइरसको संक्रमणविरुद्ध लड्न परम्परागत उपचारविधिहरु प्रभावकारी हुन्छ नै भनेर ठोकुवाका साथ भन्नु र तिनलाई आँखा चिम्लेर पछ्याइहाल्नु खतरनाक पनि हुन सक्छ ।

 तर याद गर्नै पर्ने कुरा के हो भने शरीरको रोग प्रतिरोधी क्षमता बृद्धि गर्ने त्यस्ता  उपाय वा विधिले कोरोनाभाइरसको संक्रमण हुन सक्ने सम्भावनालाई कम गर्ने मात्रै हो, त्यसले नै कोरोनाभाइरसको संक्रमणको उपचार हुन्छ वा त्यसलाई निको पार्छ भन्ने चाहिँ पटक्कै होइन ।

कोरोनाभाइरस हावाबाट सर्छ कि सर्दैन भन्ने कुरा अझै पनि प्रमाणित भइनसकेको कुरा हो । तर विश्व वैज्ञानिक जगत् एउटा कोरोनाभाइरस संक्रमित भएका व्यक्तिले आफू वरिपरिका मानिसहरुलाई सजिलै सार्न सक्ने कुरामा कुनै द्विविधामा छैनन् । संक्रमित व्यक्तिसँगको संसर्ग, भेटघाट, छोइछिटो अनि खोक्दा, हाँच्छिउ गर्दा यो संक्रमण सर्ने सुनिश्चित भइसकेकोले बच्ने सबैभन्दा उत्तम उपाय भनेकै सेल्फ आइसोलेसन अर्थात् अरुसँगको सम्पर्कबाट आफूलाई अलग गर्ने नै हो ।

Title Photo: https://www.aljazeera.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप