बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने

शुक्रबार, ०७ चैत २०७६, १६ : १२
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं– विकास हाइड्रोपावर कम्पनीद्वारा प्रर्वद्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । सो सम्बन्धमा बिहिबार विकास हाइड्रोपावर कम्पनी र बैंकबीच वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको हो । 

सम्झौता समारोहमा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र सुनिल श्रेष्ठ तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायत पदाधिकारीहरुको उपस्थितिमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार कुल ८१ करोड ६५ लाखको लगानीमा निर्माण हुने आयोजनामा बैंकले ४९ करोड ऋण लगानी गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो आयोजनामा कुनै ‘रिस्क’ नदेखेकोले बैंकले लगानी गरेको बताए । ‘युवा साथीहरुको काम गर्ने उत्साह देखेर खुशी छौं । आयोजना समयमै निर्माण हुने र सबैले लाभ प्राप्त गर्नेमा पनि आशाबादी छौं’, श्रेष्ठले भने । श्रेष्ठले वाणिज्य बैंक सरकारी बैंक भएपनि नीजि बैंकहरुभन्दा पनि अगाडि रहेर शीर्ष स्थानमा रहेको बताउँदै बैंकले जलविधुत आयोजनालाई प्राथमिकतामा राखेर लगानी गरिरहेको बताए ।    

कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले आयोजना २०७८ मै सक्ने गरि काम तीब्र रुपमा भइरहेको बताउँदै एनआरएनए र स्थानीयको लगानीमा आयोजना बनिरहेको बताए । उनले आयोजनामा लागनीका लागि राष्ट्रिय वाणिज्य बैंकलाई धन्यबाद दिदैं आयोजनामा स्थानीयकाृे पूर्ण सहयोग र समर्थन रहेकाले कम खर्चमा उत्कृष्ट आयोजना बन्ने बताए । उनले आयोजनाको लाइन धादिङको बसेरीमा जोडन लागिएको बताए ।    
 
गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा गोरखामा ४ दशमलव ५५ मेगावाटको हाइड्रोपावर निर्माण शुरु भइसकेको छ । गोरखाको धार्चे गाउँपालिकाको माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजनाका लागि काम भइरहेकोे न्यौपानेले बताए । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४ दशमलव ५५ मेगावाटको जलविद्युत उत्पादनका लागि माछाखोलामा निर्माणको काम अघि बढिसकेको न्यौपानेले बताए ।

निर्माणका लागि आबश्यक सबै प्रक्रिया सकी लाइसेन्स लिइसकेको र बाँध निर्माणका लागि जग्गा खरिद गरिसकेको र सबै ठेक्काको काम सकिसकेको न्यौपानेले बताए । न्यौपानेले बैंकिङ्ग एग्रिमेन्टको काम पनि सकिएको, आयोजनालाई चाहिने सम्पुर्ण मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको र ट्रान्समिसन लाईन र विद्युत प्रशारण लाईनको सम्झौतासमेत सकिएर निर्माण कार्य शुरू भैरहेको बताए ।
 
‘हामी झोलामा खोला हालेर हिड्दैनौं । काम धमाधम भइरहेको छ निर्धारित समयभन्दा छिट्टो प्रोजेक्ट सक्छौ ।’ बाँधस्थलबाट तीन किलोमिटर पानी ल्याउने र २१० मिटर उचाइबाट पानी खसालेर विधुत उत्पादन गर्ने न्यौपानेले बताए । न्यौपानेले आफुहरुले पिपिए गर्दा दुई बर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि त्यो भन्दा छिटो निर्माण सम्पन्न हुने दाबी गरे ।


 
आयोजनाबाट उत्पादित विधुत नेपाल विधुत प्राधिकरणले खरीद गर्ने गरी विधुत खरीद सम्झौता (पिपिए) सम्पन्न भइसकेको समेत अध्यक्ष न्यौपानेले जानकारी दिए । आयोजनासँग प्रधिकरणले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने गरि गत कात्तिकमा नै पिपिए भएको हो । आयोजनाको लागत ८१ करोड ६५ लाख रहेको छ । जसमध्ये ६० प्रतिशत लगानी बैंकले गरेको र बाँकी ४० प्रतिशत लगानी स्थानीय लगानीकर्ता र संचालक समितिले गर्ने भएका छन् ।

विकास हाइड्रोपावरमा एनआरएनएन एशिया प्याशिफिक सहसंयोजक अध्यक्ष खगेन्द्र न्यौपानेसँगै नेपाल बिज्ञापन संघका सचिब कृष्ण घिमिरे, सरोज धिताल, सुनिलबाबु श्रेष्ठ र इन्द्र ढकाल सञ्चालक समितिमा रहेका छन् । विकास हाइड्रोपावर कम्पनीले नै ४ दशमलव ५५ मेगावाटको अप्पर माछाखोला जलविधुत आयोजनासँग अन्य जलविद्युत आयोजना निर्माणको पनि प्रक्रिया शुरु गरेको छ । 

विकास हाइड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक एंव स्थानीय घिमिरेले कम्पनीले सञ्चालन गर्ने आयोजनाहरूमा स्थानीय जनताको नै अधिकतम सहभागिता र स्थानीयकै धेरै शेयर लगानी रहेको बताए । सञ्चालक घिमिरेले स्थानीयसँगको सहकार्यबाटै कम्पनीले निर्माण गर्न लागेको अप्पर माछा खोला हाईड्रोपावर आयोजना समयमै सम्पन्न गर्ने समेत बताए । घिमिरेले विकास हाइड्रोका लगानीकर्ता गोर्खाली नै भएकाले काम गर्न सजिलो भएको र कम्पनीले स्थानीयसँग सहकार्य गर्दै अगाडि बढने प्रतिबद्धता समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप