शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : प्रधानमन्त्री ओलीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्दको घोषणा

शुक्रबार, ०७ चैत २०७६, २० : ०७
शुक्रबार, ०७ चैत २०७६

उडान र यातायात

नेपाल सरकारले हवाई र लामो दुरीका यातायात बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आगामी चैत ९ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै, आगामी चैत १० गतेदेखि केही समयका लागि लामो दुरीका यातायात बन्द गर्ने पनि निर्णय गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । कोरोनाको त्रास फैलिरहेको बेला सतर्कता अपनाउनका लागि यो निर्णय गरिएको प्रधानमन्त्रीले जानकारी गराए ।

कार्यालय बन्द

त्यसैगरी सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे 

आपतकालीन कोष 

नेपालले कोरोना भाइरस संक्रणको व्यवस्थापनका लागि सार्क कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै सार्क कोषमा १० करोड रकम जम्मा गर्ने जानकारी दिए । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा भएको सार्कस्तरीय भिडियो कन्फ्रेन्समा भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आपतिकालीन कोष निर्माणको प्रस्ताव गरेको थियो । 

भारतले उक्त कोषमा १ करोड डलर जम्मा गर्ने घोषणा गरेको थियो । सो कोषमा अन्य सार्क मुलुकहरुले पनि रकम जम्मा गर्ने घोषणा गरिरहेका छन् ।

चीनसँग भिडियो कन्फरेन्स

कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ ।

भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटान लगायत विभिन्न २२ देशहरुको सहभागिता रहेको थियो । कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले चालेको कदम र पाएको सफलताका विषयमा अन्य मुलुकहरुलाई जानकारी दिइएको थियो।

भिडियो कन्फ्रेन्समा सहभागि देशहरुले कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कसरी सामना गर्ने भन्ने विषयमा चीनसँग जानकारी लिएका थिए ।

कोरोनाको उद्गम स्थल चीनसँगे उसले पाएको कोरोनाविरुद्धको सफलता र कोरोना नियन्त्रणका लागि अरु देशलाई गर्न सक्ने सहयोग विषयमा समेत छलफल भएको थियो । 


काठमाडौँ महानगर 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रासबाट मुलुक नै भयभित भइरहेकाले सचेतना अपनाउन महानगरवासीलाई अपिल गरेका छन् ।

शुक्रबार मेयर शाक्यले एक अपिल जारी गर्दै संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिका आवतजावत हुने मुख्य केन्द्र रहेका कारण कोरोनाभाइरस संक्रमण छिटो फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबैलाई सजगता अपनाउन गम्भीर आवश्यकता रहेको जनाइए ।

‘संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना पनि रहन्छ । उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउन मेयर शाक्यको अपिल छ ।

महानगरले आफू वरिपरि कसैलाई कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) तथा महानगरको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेको छ । 

नेपाली अलपत्र 

युएईबाट एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् । आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा रोकिएपछि अलपत्र परेका हुन् ।

बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरु अहिलेसम्म नेपाल आउन नपाएको एक पीडितले बताए । कोरोना चेक गर्ने भन्दै समय लम्व्याएपछि प्लेन छुटेको र अहिले नेपाल जान ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरी टिकट काट्नु परेको पीडित नेपालीहरुले बताएका छन् ।

केमिकल अभाव

देशभरीका विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैर आवासीय नेपाली संघले गरेको सरसफाई निरीक्षणका क्रममा विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको हो ।

सरसफाई अभियन्ता खेम राज शर्माले सीसा र भुई सफा गर्ने छु्टटै केमिकल हरेक विमास्थलहरुमा हुनुपर्ने भएपनि त्यो नभएको पाइएको बताए । सरसफाई मजदुरहरुको ड्रेस कोड नभएको र उनीहरुको स्वास्थ्य तथा सुरक्षाका विषयमा ध्यान दिनुपर्ने उनले बताए । 

सरसफाई मजदुरका लागि आवश्यक पर्ने मास्क, चस्मा, पञ्जा लगायतका सामग्रीहरु अभाव देखिएको उनले बताए ।

सरसफाई रिपोर्ट प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री योगश भट्टराईले अध्ययन प्रतिवेदनबाट आएका सुझावहरुलाई छ्टिटै कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए ।

पहिलो एक महिनामा सुझाव अनुसार नागरिक उड्डयन प्राधिकरण मार्फत विमानस्थलाई पठाउने र तीन महिनापछि पुनः अनुगमन गरी अवस्था सुधार भएको नभएको विषयमा जानकारी लिने उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरीका विभिन्न ११ वटा विमानस्थलहरुको सरसफाईको अवस्थाका विषयमा स्थलगत अध्ययन गरिएको थियो ।

अध्ययनका क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै पनि विमानस्थलमा सरसफाई नभएको पाइएकोले सरकारले आवश्यक नीति बनाएर अगाडी बढ्नुपर्ने सुझाव दिएको छ । 

राष्ट्रियसभा स्थगित

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो । यसअघि सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न र भेला नहुन निर्देशन दिएपनि बिहीबार भने बैठक सञ्चालन भएको थियो ।

कार्य व्यवस्था समितिको सुझावका आधारमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको हो । संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीद्वाराज जारी विज्ञप्तीमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाइएको छ ।

कोरोना संक्रमण हुन नदिन सरकारले उच्च सतर्कता अपनाइरहेका बेला थप सतर्कता अपनाउनु पर्ने भएकाले राष्ट्रियसभा पनि स्थागित भएको छ । प्रतिनिधिसभाको बैठक १३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय हिजो नै गरिएको थियो । हिजो विभिन्न संसदीय समितिहरुको बैठक समेत सञ्चालन भएका थिए । 

चितवनमा कोरोना अस्पताल

घोषणा गरेको ७२ घण्टा भित्र चितवनको भरतपुरमा कोरोना विशेष अस्तपाल निर्माण गरिएको छ । कोरोना भाइरसको संक्रमण भएका बिरामीको उपचार गर्न चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पतालको निर्माण गरिएको हो । भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा कोरोना विशेष प्रकृतिको अस्थायी अस्पताल निर्माण गरिएको हो । कोरोना भाइरसको संक्रमणको आशंका भएका र परीक्षणपछि संक्रमण देखिएका बिरामीहरुलाई उपचार गर्नकालागि गत मंगलबार भरतपुर महानगरपालिका र जिल्लाका सरोकारवालाहरुको बैठकले अस्पताल बनाउने निर्णय गरेको थियो ।

अस्पतालमा १० बेडको आईसीयु, १० बेडको एचडीयु र ५० बेडको जनरल वार्ड रहने छ । शुक्रबार सम्म जनरल वार्डको निर्माण सम्पन्न भइसकेको र अवको दुई दिनमा आईसीयु र एचडीयु निर्माणको काम सम्पन्न हुने अस्पताल व्यवस्थापन समितिका संयोजक डा. भोजराज अधिकारीले बताए ।

आईसीयु र एचडीयु निर्माण सम्पन्न नभएपनि अस्पतालले बिरामीलाई उपचार सेवा दिन सक्ने उनले बताए । शुक्रबार नै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ७० शैयाको उक्त अस्थायी अस्तपालले सेवा आरम्भ गरेको घोषणा गरे ।  

जिल्ला अदालत

जिल्ला अदालत काठमाडौंमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम (ज्वरु) जाँच गरिएको छ । 

बबरमहलमा रहेको जिल्ला अदालतमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम जाँच गरेर मात्रै भित्र प्रवेश दिइएको थियो ।

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेसँगै जिल्ला अदालतले अदालत प्रवेश गर्नु अगाडी नै गेटमा थर्मल गनबाट सबैको तापक्रम जाँच गरिरहेको छ । अदालतको गेट बाहिर सेवाग्राहीहरुको ठूलो लाइन देख्न सकिन्छ ।

यता सर्वोच्च अदालतले कोभिड —१९ को सम्भावित संक्रमणबाट बच्न अतिवाश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने विषयमा छलफल गर्न पूर्ण बैठक बोलाएको छ । बैठक केही बेरअघि मात्रै सुरु भएको ।

(समाचार तयार पार्दसम्म) कोरोनाको संक्रमण न्यूनीकरणका उपायका बारेमा प्रधानन्यायाधीशसहितको पूर्ण बैठक बस्ने भएपनि आज मुद्दाको सुनुवाई बन्द गरिएको छ ।

हात धुने मेसिन 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्ने जोखिमलाई ध्यान दिएर उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको छ । 

विभिन्न संघसंस्था, कर्पोरेट कम्पनी लगायतले ठाउँठाउँमा हात धुने व्यवस्था गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकोले ठाउँठाउँमा हात धुने पानी र साबुनको व्यवस्था गरिएको हो । चन्द्रागिरी नगरपालिकाले पनि उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाएको छ ।

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यलय अगाडि हात धुने व्यवस्था मिलाउँदै चन्द्रागिरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्तोष खड्काले कोरोना भाइरसको संक्रमणबाट बच्न मेसिन निर्माण गरी उपत्यकाका विभिन्न ठाउँमा राखिएको बताए ।

नगरपालिकाको आफ्नै खर्चमा भिडभाड हुने स्थानहरुमा मेसिन राख्ने व्यवस्था मिलाएको उनले बताए ।

ट्राफिक कार्यालय अगाडि बाटोमा हात धुने व्यवस्था गरिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले हात धुँदै ट्राफिक कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहयोग पुगेको बताए ।

उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था भएपछि कोरोना भाइरसको सम्भावित संक्रमणको जोखमबाट जोगिन सहज हुने भएको छ । काठमाडौं उपत्यकाका मुख्य मुख्य स्थानमा अहिले हात धुने पानी र साबुनको व्यवस्था गरिएको छ । 

मापसे 

कोरोना भइरस (कोभिड–१९)को संक्रमणका कारण ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्र मादक पदार्थ सेवन (मापासे) जाँच गर्ने भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर मापासे जाँच गर्ने तरिकामा केही परिवर्तन गरिएको बताए । 

अत्याधिक मात्रामा मापसे सेवन गरी सवारी चलाएको भेटिए अस्पतालमा लगेर परीक्षण गरी आफन्तको जिम्मा लगाइने उनले बताए ।
उनले पहिले जस्तो मेसिन लगाएर जाँच नगर्ने तर चालकले मापासे गरेको आशंका लागेमा अस्पताल लगेर जाँच गर्ने व्यवस्था गरिएको बताए । जोखिमको अवस्थमा प्रहरीले चेक जाँच खुकुलो बनाएको मौकामा मापासे गरेर सवारी साधन नचलाउन समेत ढकालले आग्रह गरे ।

महाशाखा प्रमुख ढकालले ट्राफिक प्रहरीले कोरोनाको संक्रमणबाट बच्न शुक्रबार देखि जनचेतनाको अभियान सञ्चालन गरिएको बताए ।

उपत्यकाका ८० भन्दा बढी स्थानमा ट्राफिक प्रहरीको टिम परिचालन गरी कोरोना संक्रमणको जोखिमबाट बच्ने जनचेतनामुलक अभियान सञ्चालन गरिएको बताउनुभयो । ‘मास्क लगाऔं, भिडभाड नगरौं, हात धोऔं’ लेखिएका ब्यानर सहित नागरिकमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताए ।

ट्राफिक प्रहरीले उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा भिडभाड हुन नदिन र सवारी साधनको सरसफाइलाई ध्यान दिन यातायात व्यवसायीहरुलाई समेत सचेत गराएको छ । त्यस्तै ट्राफिक प्रहरी भित्र पनि कोरोना भाइरसको सचेतना कार्यक्रम गरी सावधानी अपनाइएको छ ।

त्यस्तै विभिन्न चेकजाँचमा परी लाइसेन्स, बिलबुक लिन जानेहरु दिने सचेतना कक्षा समेत तत्काल स्थगित गरिएको बताउनुभयो । यद्यपी सचेतना कक्षा पछि लिइने गरी लाइसेन्स र विलबुक उपलब्ध गराइने उनले बतए ।

उपत्यकाबाट बाहिरिने यात्रुहरु बढे

कोरोना भाइरस (कोभिड—१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यका छाड्नेहरुको संख्या बढेको छ ।

शुक्रबार दिउँसोसम्म मात्रै ६८ हजार बढीले उपत्यका छाडेका छन् । महानगरिय ट्राफिक प्रहरीक कार्यालयका अनुसार शुक्रबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म उपत्यकाबाट ६८ हजार २ सय २५ जनाले उपत्यका छाडेका छन् । सो अवधिमा ११ हजार ६ सय ९० गाडी उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरिय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख भीम ढकालका अनुसार शुक्रबार सोही समयमा २६ हजार ३ सय ९१ जना यात्रु उपत्यका भित्रिएका छन् । बिहीबार उपत्यकाबाट १ लाख ८४ हजार ५८ जना उपत्यकाबाट बाहिरिएका थिए । प्रमुख ढकालले उपत्यका छोडेर जानेहरुको संख्या बढीरहेको बताउनुभएको छ । बुधबार ९५ हजार २ सय ४७ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।

शुक्रबार १२ बजेसम्म नागढंगा नाकाबाट १८ हजार २ सय ६५, भक्तपुरबाट ४७ हजार ४ सय १०, मुड्खुबाट ५ सय ५० र भक्तपुरबाट २ हजार यात्रु बाहिरिएका छन् ।

सरकारले शैक्षिक संस्था, तथा चैत महिनामा हुने सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेपछि उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको हो । टिकटका लागि बसपार्क पुगेका कतिपय यात्रुहरुले टिकट नै नपाएको गुनासो गरेका छन् । 

बढी भाडा लिने पक्राउ

कोरोनाभाइरस संक्रमणको जोखिम बढेसँगै सरकारले यस्तो बेला कालोबजारी या नीतिनियम विपरित काम नगर्न कडा निर्देशन जारी गरेको छ । तर, पनि सरकारको निर्देशनलाई वेवास्ता गर्दै मौकामा चौकामा हान्ने प्रविति रोकिएको छैन् । 

सोही क्रममा यातायात व्यवसायीहरुले तोकेभन्दा बढी भाडा लिने गरेको पाइएको छ । शुक्रबार मात्रै काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ परेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप