शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहर :  कस्तो छ ठूलो संख्यामा नेपाली कार्यरत युएईको अवस्था ?

शनिबार, ०८ चैत २०७६, ०९ : २०
शनिबार, ०८ चैत २०७६

-मेघराज सापकोटा

युएई । विश्वका १८० भन्दा बढी देशमा अहिले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको यो महामारी सुविधा सम्पन्न विकशित देशहरु इटली, स्पेन, कोरिया, इरान, जर्मनी र अमेरिका लगायतका मुलुकहरु चपेटामा परेका छन् । मध्यपूर्बमा कतार, साउदी अरेबिया, युएई, बहराइन, ओमान र कुवेत लगायत लेबनान, इजराइल, ईराक आदी देशहरुमा पनि द्रुततर रुपमा यो भाईरस फैलिरहेको छ । मध्यपूर्वमा यी मुलुकहरुमा मात्र १५ लाखका हाराहारीमा नेपाली कामदारहरु रहेका छन् ।

मध्यपूर्वमा पत्येक देशहरुले आफ्नो तवरले सावधानी अपनाएका छन् । जनताहरुमा कम खतरा होस् भन्ने हेतुले छिन छिनमा सूचना जारी गरिरहेका छन् । जनतालाई स्वास्थ्य रहन सूचित गरिरहेका छन् ।

झण्डै १ करोड जनस‌ंख्या रहेको युएईमा २ लाख ७५ हजार नेपालीहरु रहेका छन् । युएई सरकारले सम्पूर्ण जनताको सुरक्षाको लागि विशेष सुरक्षाको उपायहरु अवलम्बन गरेको छ ।

हालसम्म युएईमा २ जना नेपालीहरु सहित विभिन्न देशका गरेर १४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२ जना उपचार पछि घर फर्केका छन् । नेपाली दूतावास अबुधाबीले जनाए अनुसार अहिले दुई नेपालीको अवस्था सामान्य रहेको छ । उनीहरुको हाल अबुधाबीस्थित अस्पतालमा उपचार भइरहेको दुतावासले जनाएको छ । संक्रमित नेपालीहरुको परिचय हालसम्म खुलाइएको छैन ।

मध्यपूर्वका अन्य मुलुक भन्दा युएई सुरक्षित रहेको देखिन्छ । पहिलोपल्ट जनवरी २३ मा युएईमा आएकी चिनियाँ वृद्धालाई कोरोना भाइरस संक्रमण भएको पत्ता लागेको थियो । श्रीमान, श्रीमती र ९ वर्षीय छोरी र हजुरआमासहित उक्त समूह जनवरी १६ मा युएई घुम्न आएको बेला उनीहरुलाई कोरोना भाइरस संक्रमण भएको पत्ता लागेको थियो । २ महिनाको अवधिमा १४० मात्र संक्रमित भेटिनु औषत रुपमा कम हो ।  

तर युएईमा संक्रमितको संख्या बढ्दोक्रम रहँदा नेपालीहरुमा त्रास बढेको छ । पहिलो पटक भारतमा देखिएको संक्रमण पनि दुबई घुम्न गएर फर्किएको टोलीमा भेटिएको थियो । त्यसैले पनि दुबईमा धेरै संक्रमित हुन सक्ने अनुमान गर्दै नेपालीहरु डराएका हुन सक्छ । नेपालमा भएका युएईमा रहेका नेपालीका घरपरिवारहरु झनै सशंकित रहेका छन् ।

कस्तो छ युएईको अवस्था ?

अहिलेसम्म युएईको जनजीवन सामान्य छ । मनिसहरु नियमित रुपमा काममा गएका छ्न् । सरकारको पछिल्लो तथ्यांक अनुसार ३२ जना उपचार पश्चात घर फर्केका छन् । विश्वमा अन्य मुलुकहरुमा भन्दा युएईमा संक्रमण दर कम र नियन्त्रणमा रहेको सरकारले दाबी गरेको छ ।

संक्रमणलाई नियन्त्रण गर्न युएई सरकारले केही होसियारी र नियन्त्रणको उपायहरु अवलम्बन गरेको छ । स्कुल, कलेज, सार्वजनिक पार्क, सिनेमाहलहरु, मनोरन्जनका क्षेत्रहरु, बार, क्लब, मसाज सेन्टर, हुक्का सेवनलाई प्रतिबन्ध लगाएको छ ।

रेस्टुरेन्टहरुमा स्वास्थ्यका नियमहरु पालना गर्न उर्दी जारी गरिएको छ । फरारी वर्ल्ड, ग्लोभल भिलेज, बुर्ज खालिफा, दुबई फ्रेम लगायतका प्रसिद्ध पर्यटकीय क्षेत्रहरु बन्द गरिएका छन् । बाहिरबाट जे जस्तो अवस्थाको अनुमान पनि युएईको जनजीवन आम रुपमा सामान्य छ । सडकमा गाडीहरु सधैं झैं गुडिरहेका देखिन्छन् । नेपालीहरु सुरक्षित छन् ।

१७ तारिकबाट लागु हुने गरी २ हप्ताको लागि सबै प्रकारका भिसा जारी गर्न बन्द गरेको छ । मुलुक बाहिर रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्कन आग्रह गरेको छ ।
भिसा बन्द गरे पछि जागिर खोज्न युएई आइपुगेका र कम्पनी परिवर्तन गर्ने प्रकृयामा परेका नेपालीहरु अन्यौलमा परेका छन् । तथापी युएई सरकारले युएईमै रहेकाहरुको हकमा भिसा स्थानान्तरण हुने र टुरिस्ट भिसा नबिकरण गर्न सकिने जनाएको छ ।

१७ तारिकबाट लागू हुने गरी ४ हप्तासम्मको लागि मस्जिदहरुमा प्राथर्ना गर्न रोक लगाइएको छ । त्यसैगरी चर्च र मन्दिरमा पनि भेला हुन प्रतिबन्ध लगाइएको छ ।

पर्यटक सम्बन्धित सेवाहरु बन्द गरिएको छ । स्वास्थ्यका आधारभूत नियमहरु पालना गर्न, सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।

दुबईले भारत र पाकिस्तानका उडानहरु बन्द गरेको छ । नेपालमा हुने सबै उडानहरु बन्द गरिएको छ । सरकारले प्रशस्त मात्रामा औषधि र खाद्यान्न भण्डारणमा रहेकोले 'पेनिक' नहुन र अनावश्यक किनमेल नगर्न आग्रह गरेको छ ।

सरकारले सरकारी र अर्ध सरकारी कम्पनीहरुका कर्मचारीहरुलाई घरबाटै काम गर्न आग्रह गरेको छ । प्राइभेट कम्पनीहरुलाई सरसफाइका नियम अनिवार्य पालना गर्न भनेको छ । कम्पनीहरुले कामदारहरुको नियमित चेक जाँच गर्न थालेका छन् ।

 पर्यटक नभएपछि टुरिजम क्षेत्रमा प्रभाव परेको छ । होटल तथा बारहरुमा काम गर्ने कामदारहरुलाई छुट्टी दिइएको छ । केहीलाई बेतलबी बिदा दिएको छ । सरकारले भने क्वारेन्टाईनमा रहेका कामदारहरुलाई तलब दिनुपर्ने नियम जारी गरेको छ ।

ठूला ठूला कम्पनीहरुको नियमित कार्यहरु चलिरहेकै छन् । कामहरु रोकिएका छैनन् । तर नयाँ काम शुरु गर्ने बारे भने अन्यौल छाएको हुनसक्छ । पर्ख र हेरौको अवस्थामा रहेको बुझिन्छ । लामो समयसम्म यस्तै अवस्था रहे रोजगारी कटौती हुने सम्भावना रहनेछ । त्यसको प्रभाव विशेषगरी हस्पिटालिटी क्षेत्रमा रहेका नेपाली कामदारहरुमा पनि पर्नेछ ।

नेपालीहरुले लगानी गरेका २०० भन्दा बढी व्यवसायहरुको जोखिम पनि बढेकै छ । नेपालीहरुको लगानी रहेको ट्राभल्स र रेस्टुराँ व्यवसायमा असर पुगेको छ ।

युएई सरकरले हाल देखिएको युएईको आर्थिक तरलता र अप्ठेरोलाई सम्बोधन गर्न १०० बिलियन डलरको सहयोग प्याकेज घोषणा गरेको छ । दुबई सरकारले बिजुली बत्ती पानीमा सहुलियत दिने घोषणा गरेको छ । अबुधाबी र दुबइमा सार्वजनिक यातायातका कर (टोल) हटाइएको छ । अन्य राज्यहरुले पनि राहतका प्याकेजहरु बनाइरहेको बुझिएको छ ।

नेपाल सरकारले ५५ देशहरुसँगको हवाई यातायात बन्द गरेकोले युएईमा रहेका केही नेपालीहरुमा अन्यौलता छाएको छ । नियमित छुट्टीमा जानेहरुले छुट्टी स्थगित गरेका छन् । घुम्न आएकाहरु केहीले भ्रमण स्थगित गरेर फर्किएका छन् । भिजिट भिसामा आएर काम खोजिरहेकाहरु थप मारमा परेका छन् । यस्तो अवस्थामा काम पाउने सम्भावना न्यून भएकोले लाखौं खर्च गरेर भिजिटमा काम खोज्न आएकाहरुको लगानी डुब्ने निश्चित जस्तै छ ।  

भिसा सकिएर घर भिर्ती हुन लागेका केही नेपालीहरु बिचल्लीमा परेका छन् । कम्पनीमा राजीनामा दिएर २८ तारिकको फ्लाईदुबईको टिकट लिएर बसिएकी ललितपुरकी निशा राइलाई अब के गर्ने भन्ने बारे अन्यौलता उत्पन्न भएको छ ।
 युएईका ट्राभल्सहरुले भिसा प्रतिबन्ध २ हप्ताको लागि मात्र भएकोले युएई सरकारले भिसा सम्बन्धी नयाँ नीति ल्याउन सक्ने भन्दै धैर्य गर्न भनेको छ । नेपाल सरकारले नै ५५ देशहरुसँगको सिधा संपर्क बन्द गरेको अवस्थामा त्यस्ता नेपालीहरु कती छन र के गर्ने भन्ने बारे नेपाली दूतावासले अहिले नै कुनै ठोस योजना बनाएको छैन ।  

नेपाली दुतावास अबुधाबीले बेलाबेला सूचना जरी गरी सतर्कता अपनाउन अनुरोध गरेको छ । दूतावाबाट हुने नियमित काम बाहेक श्रम डिमाण्ड प्रमाणीकरण स्थगित गरिएको छ । सरसफाइ तथा सुरक्षाका उपायहरु उपनाउन विज्ञप्ति मार्फत सूचित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मेघराज सापकोटा
मेघराज सापकोटा
लेखकबाट थप