केन्द्रीय संस्करण

‘सर त तल्लो जातको हुनुहुँदो रैछ !’

person explore access_timeचैत ८, २०७६ chat_bubble_outline0

‘सर, तपाईंलाई हाकिम सरले बोलाउनुभएको छ ।’– महिलाको आवाज एक्कासी सुनेर म झसङ्ग भएँ । कम्प्युटरको स्क्रिनबाट आँखा हटाएर ढोकामा नजर लगाएँ । मैले काम गर्ने कार्यालयको सहयोगी दिदी रैछिन् । 

‘दिदी म एकछिनमा आउँछु है ।’ मसान्त भएकाले मासिक प्रतिवेदन तयार गर्न व्यस्त थिएँ । प्रतिवेदनको काम सिध्याएर कार्यालयको माथिल्लो तलामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा पुगें । 

‘ल मोतीजी बस्नुस् ।’ मेरो नमस्कारको जवाफको नफर्काईकन हाकिम सापले कुर्सीतर्फ संकेत गर्दै भने । म पुग्नुभन्दा पहिल्यै अरु कर्मचारी साथी उपस्थित भइससकेका थिए । दिउँसोको एक बजेको थियो । हाकिम सापले कार्यालय सहयोगी दिदीलाई चिया लिएर आउन भने । हामी सबैले सहमति जनायौं । हाकिम सापले प्रत्येक कर्मचारीसँग पालैपालो व्यक्तिगत सञ्चोबिसञ्चो सोधे । कार्यालयका कामबारे अनौपचारिक कुरा चलिरह्योे । कुराकानीबीच नै चिया आइपुग्यो, चियाको चुस्कीसँगै छलफलको विषय मोडियो ।

आकस्मिक बैठकमा कार्यालयको विविध विषयमा छलफल भयो । छलफलपछि कार्यालयका सवारी चालक शंकर नेपालीकी बहिनीको बिहेको निमन्त्रणा आएको जानकारी भयो । शंकर नेपालीलाई कार्यालयमा शंकर दाइको नामले चिन्छौँ । यसै कार्यालयमा कार्यरत भएको हुनाले शंकर दाइले आधिकारिक रुपमा हाकिम सापलाई निम्तो दिएका रहेछन् । 

‘ल किन ढिला गर्ने, छलफल गरौँ न ।’ हाकिम सापले सबैलाई विषय केन्द्रित गर्न खोजे ।

‘जान मन लागेका व्यक्तिहरु जाऔँ, यहाँ अफिस नि कुर्नुप-यो ।’ प्रशासन सहायक ललित कार्की सरले निर्णय सुनाए जसरी सुनाए । 

‘शंकर दाइले सम्मान गरेर बहिनीको बिहेमा निमन्त्रणा गर्नुभयो । कार्यालयका सबै कर्मचारी जाँदा राम्रो हुन्छ होला ।’ मदन थापा सरले विचार राखे । उनको भनाइलाई समर्थन गर्दै ‘सबै जाँदा सकारात्मक हुने’ मत

राखेँ । करिब बीस मिनेटको छलफलपछि अपरान्ह पाँच बजे सबै जना जाने निधो भयो ।

फरक–फरक भान्सा

‘ल बस्नुस्, बैठक सकिएको छैन ।’ बैठक सकिएको भन्ठानेर निस्कन लागेका हामी हाकिम सापको भनाइ सुनेर पुनः कुर्सीमा बस्यौँ । 

‘खाना के गर्ने ?’ हाकिम सापको अनपेक्षित प्रश्नको छेउटुप्पो छुट्याउन सकिन । 

‘खाना के गर्ने भन्नाले ?’ नयनराज सरले अनभिज्ञताको भाव प्रकट गरे । 

‘कुरा के भन्देखी आजको बिहेमा शंकरका आफन्त आएका हुन्छन् । भान्सामा उनीहरुले लसपस गरेका हुन सक्छन् । त्यस्तो अवस्थामा कसरी हामीले खान सक्छौं ? यदि उनीहरुले जबरजस्ती आफैले पकाएको भान्सामा खाना खान कर गरे भने हामी कोही त्यहाँ बस्दैनौँ, सबै जना उठेर आउँछौँ ।’ हाकिम सापले आदेशात्मक शैलीमा भने । 

‘हो हो, त्यो शंकरेको बैनीको बिहेमा त्यही सार्की, दमाई, कामी त होलान् । उनीहरुले लसपस गरेको भान्सामा खायो भने त मेरो बुढीले घरबाट निकालिदिन्छे ।’ कार्यालयका लेखा अधिकृत ललित कार्की सरले घरेलु त्रास पोखे । उनको अनुहारमा त्रासभन्दा बेसी घृणाको भाव स्पस्ट देखिन्थ्यो । 

राष्ट्रसेवामा खटिएका कर्मचारीको संवाद सुनेपछि मनमा बेचैनी बढ्यो । शंकर दाइले सम्मानका साथ बोलाएको भोजमा जान किन असजिलो भएको होला ? हाम्रै कार्यालयका रामप्रसाद ज्ञवाली दाइले बोलाएको भए यस्ता प्रश्न उठ्थे होलान त ? यस्ता जातिवाली सोचाइ भएका कर्मचारीले भरिएको कार्यालयमा कसरी काम गर्ने होला ? सोच्दासोच्दै अपरान्हको पाँच बजिसकेछ । 

कार्यालयबाट निस्कनै लाग्दा चौरमा हाकिम साप र लेखा अधिकृत उभिरहेको देखें । 

‘ल मोतीजी बिहेको निम्तोमा जाउँ ।’ हाकिम सापले भने । पाँच जना कर्मचारीलाई अनौठो भएछ । अचानक नै कोही बिरामी भएछ र कोहीलाई जुठो परेछ । हामी चार जना मात्रै शंकर दाइको घरमा गयौँ । विवाहित जोडीलाई दाम्पत्य जीवनको शुभकामना दियौं । शंकर दाइले खाजा खाएर जान अनुरोध गरे । हामी भान्सातिर गयौँ । दलित र ब्राह्मण–क्षेत्रीका लागि फरकफरक भान्साको व्यवस्था थियो । 

विभेदको जातीय पहिचान
ठ्याक्कै एक महिनाअघि कार्यालयमै काम गर्ने यामबहादुर मगर दाइको नातिनीको न्वारन थियो । निम्तो आएकोले सबै कर्मचारीले घर गई दिर्घायुको कामना गर्दै नातिनीलाई उपहार दियौँ । 

जब खाजा खाने समय भयो, यामबहादुर दाइले अन्कनाउँदै भने, ‘अब दुई समूह बनाएर खाजा खानुप¥यो ।’ उनले ब्राह्मण–क्षेत्री समुदायका कर्मचारीलाई भित्र लिएर गए । अब दुई जना मात्र बाँकी रह्यौं, जो उनीहरुका लागि अछूत थियौँ । हामीलाई बाहिरै राखेर खाजा दिइयो । ब्राह्मण–क्षेत्रीले मात्रै होइन, केही जनजातिले पनि जातीय विभेद गरे । 

नेपाल कुषि अनुसन्धान परिषद्बाट २०७४ फाल्गुन २३ मा नियुक्ति लिएर गुल्मी पुगेको थिएँ । रुरु गाउँपालिका–४, भण्डारीडाँडामा पुगेपछि कार्यालय नजिकैको चिया पसलमा गयौँ । 

‘अफिसका नयाँ सरहरुलाई स्वागत छ ।’ लगभग पैँतालीस वर्षकी महिलाले स्वागत गर्दै चिया दिइन् । चिया पिउँदै परिचय सुरु भएपछि उनको अनुहार अँध्यारो भयो । 

‘ए, म त क्षेत्री हुनुहुन्छ होला भन्याथें, सर त तल्लो जातको हुनुहुँदो रैछ ।’ मैले परिचय दिएपछि ती महिलाले बोलेको ‘तल्लो जात’ शब्दावली सुनेपछि पिउँदै गरेको चिया पनि नमिठो लाग्यो । 

गुल्मी आएर काम गर्ने क्रममा जातीय विभेदको अनुभव पटकपटक भोगियो । यी दुई घटनापछि मानसपटलमा केही प्रश्नले धेरै दिनसम्म डेरा जमाइरहे । शंकर नेपाली र यामबहादुर मगर कार्यालयका लागी समान व्यक्ति होइनन् र ? समान हैसियतका व्यक्तिहरुका लागि फरक फरक व्यवहार किन त ? यामबहादुर मगरको नातिनीको न्वारनमा सहभागी भएका कर्मचारी शंकर नेपालीकी बहिनीको बिहेमा किन सहभागी हुन इच्छुक भएनन् ? यदि शंकर नेपाली शंकरप्रसाद पौडेल भएका भए उनको घरमा निम्तो मान्न जाने र भोज खाने कि नखाने भन्ने प्रश्नमा कार्यालयमै छलफल हुन्थ्यो कि हँुदैनथ्यो होला ?

आदर्श र व्यवहारको घर्षण
प्रसंगवस जातीय विभेदको विषयमा कुरा हुनासाथ मेरा सहकर्मीहरु बडो आदर्शवादी कुरा गर्छन् । उनीहरु भन्ने गर्छन्, ‘आजभोलि नि के जातपातको कुरा गरेको होला ! जातीय विभेद छैन, हटिसक्यो ।’ व्यवहार हेरियो भने वर्णव्यवस्थामा हुर्किएका उनीहरुकै आचरण उनीहरुकै आदर्श र विचार विपरीत हुन्छ । 

भन्ने गरिन्छ, समाजमा शिक्षाको विकास भएपछि जातीय असमानता र लैङ्गिक विभेद कम हुन्छ । यस्ता कुरा सुन्दै आएका हामीले शिक्षित व्यक्ति र राष्ट्रसेवकहरुकै चाहिँ व्यवहार उल्टो पाउँछौ । अशिक्षित वा औपचारिक शिक्षा नलिएका मान्छेहरुभन्दा शिक्षित भनिने मानिसमा जातीय विभेदका घटनामा बढी संलग्नता पाइन्छ मेरो अनुभवमा । धार्मिक अगुवा, नेपालको सन्दर्भमा हिन्दु धर्मका अगुवा, शिक्षक, सरकारी निकायमा काम गर्ने व्यक्ति, सुरक्षा निकायका जिम्मेवार पदाधिकारीहरु नै जातीय विभेदका घटनामा प्रत्यक्ष सहभागिता हुन्छ । 

मेरो सहकर्मीहरुलाई मलाईभन्दा बेसी कण्ठस्थ छ, नेपालमा २०२० सालको नयाँ मुलुकी ऐनले जातीय भेदभावमा बन्देज लगाएको थियो । २०४७ सालको संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई संवैधानिक रुपमा अन्त्य गरेको थियो । त्यस्तै, २०६८ सालमा लागू भएको जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐनले निजी तथा सार्वजनिक क्षेत्रमा जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय बनाएको छ । 

उनीहरुलाई हामीलाई भन्दा बेसी ज्ञान र सूचना छ– संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधान २०७२ को प्रस्तावनामा सबै प्रकारका जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ । २०७२ सालको संविधानको मौलिक हक अन्र्तगत धारा १८,२४ र ४० मा सबै प्रकारका जातीय विभेद तथा छुवाछुतलाई गम्भीर सामाजिक अपराधका रुपमा कानुन बमोजिम दण्डनीय हुने व्यवस्था गरेको छ । 

मेरो मनमा उठेको प्रश्न के हो भने यही संविधान, कानुन र ऐन कार्यान्वयन गर्ने कर्मचारी नै विभेदकारी छन् भने लागू गर्न कसले ? दण्ड दिने र सुध्रिने चाहिँ को होला ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...