बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

होमस्टेमै पर्यटक आउन छाडे, ब्यवसायी चिन्तित

बुधबार, १४ भदौ २०७४, १५ : ५७
बुधबार, १४ भदौ २०७४

परासी– नवलपरासीमा संचालित होमस्टेमा पर्यटक आउन छाडेपछि स्थानीय व्यवसायी चिन्तित बनेका छन् । जिल्लाको कावासोती नगरपालिका १५ स्थित बाघखोर गाउँमा संचालित होमस्टमा पर्यटकहरु घटेपछि त्यहाँका व्यपार पनि घटेको व्यवसायीले बताएका छन् ।

वर्षा सिजन र पहिरोले बाटोघाटो विग्रेका कारण पर्यटकको संख्यामा घट्दै गएको छ । २ महिनादेखि २ देखि ३ सयसम्म मात्र पर्यटकहरु होमस्टे भ्रमणमा आएको उनीहरुको भनाई छ ।  जाडो र गर्मी सिजनमा मासिक १५ हजारसम्म पर्यटकहरुको आउने गरेपनि यो वर्ष पर्यटक घटेको अमलटारी उपभोक्ता समितिले जनाएको छ । 

थारु संस्कृति जगेर्ना गर्ने तथा दिगो जीविकोपार्जन गर्ने उद्देश्यले विगत ५ वर्ष अगाडि नै अमलटारीमा हाल २४ वटा होमस्टे छन् । राष्ट्रिय निकुन्ज चितवनसँग जोडिएको र नारायणी नदीको छेउमा रहेको अमलटारी गाउँमा थारु, बोटे र मुसहर गरि २ सय १२ घरपरिवार बस्दै आएका छन् । यहाँ आउने पर्यटकलाई प्रत्येक घरमा आलोपालो गरेर पाहुना राख्ने ब्यबस्था मिलाईएको छ । पाहुनाको रोजाई अनुसारको चिचर, माछा, घोँगी, कुखुरा, हाँसको मासु र छोयला, लगायतका बिभिन्न परिकार खानाको व्यवस्था गरिने संस्थाका सचिव छन्नुराम महतोले जानकारी दिए ।

आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई होमस्टेमा बास गराउने, थारुका विभिन्न प्रकारका खाना खुवाउने, थारुका विभिन्न नाच प्रदर्शन गरी पर्यटकलाई मनोरन्जन गराउने, हात्ति सफारी, गाडा सफारी, बोटिङ्ग, फिसिङ्ग, चरा अवलोकन, वन्यजन्तु अवलोकन, थारु संग्राहालय देखाउने गरिएको होमस्टेका व्यवस्थापक धनीराम महतोले बताए ।

महतोका अनुसार यस होमस्टेमा नेपाल बाहेक भारत, अमेरिका, फ्रान्स, स्वीडेन, स्वीजरल्याण्ड, लगायतका बिदेशी पर्यटकहरु आउने गरेका छन् । विगतमा स्थानियबासीका लागि होमस्टे संचालकले मासिक ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेपनि अहिले मासिक १० देखि १२ हजारसम्म मात्र आम्दानी भइरहेको बताएका छन् ।

होमस्टेमा आउने पाहुनाबाट आम्दानी भएको रकमबाट १० प्रतिशत रकम समितिमा बुझाई ९० प्रतिशत रकम होमस्टे संचालकहरुले लिन पाउने व्यवस्था मिलाइएको छ । होमस्टेका संचालक बाहेक यहाँका स्थानीय व्यक्तिहरुले पनि हात्ती सफारी, बोटिङ्ग, फिसिङ्ग, चरा अवलोकन, बन्यजन्तु अवलोकन, गाउँ भ्रमण गराउन सँगै रेष्टुरेन्टहरु संचालन गरी राम्रो आम्दानी गर्ने गरेका छन् ।  

पर्यटक भित्राउन भ्यु टावरको निर्माण, चरा अवलोकन स्पोर्ट, ठुलो संग्राहालय, बाटोघाटोसहित विभिन्न आवश्यक भौतिक पुर्वाधार निर्माण गरेर व्यस्थित पर्यटनको रुपमा विकास गर्ने समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप